मकालु–बरुण निकुन्ज र ढोरपाटन आरक्षमा नेपाली सेना पठाउने तयारी

हालसम्म ९ वटा निकुन्ज र तीनवटा वन्यजन्तु आरक्षको सुरक्षाका लागि खटिँदै आएकोमा अब नेपाली सेना मकालु–बरुण राष्ट्रिय निकुन्ज र ढोरपाटन शिकार आरक्षको सुरक्षामा खटिने भएको छ ।
पर्शुराम काफ्ले


सरकारले पूर्वी नेपालको मकालु–बरुण राष्ट्रिय निकुन्ज र पश्चिमको ढोरपाटन शिकार आरक्षको सुरक्षाका लागि नेपाली सेना खटाउने भएको छ । निकुन्जमा चोरी–शिकारी अनियन्त्रितरुपमा बढेको र ढोरपाटन आरक्ष स्थानीयले अतिक्रमित गर्न थालेपछि संरक्षणका लागि सेना पठाउन लागिएको हो । ढोरपाटन शिकार प्रयोजनका लागि सञ्चालित एकमात्र आरक्ष हो ।
‘मकालु–बरुण निकुन्ज र ढोरपाटन शिकार आरक्षको सुरक्षाका बिषयमा अहिले लेखापढी भइरहेको छ, ‘सैनिक प्रबक्ता सहायकथी जगदीशचन्द्र पोखरेलले भने, ‘सम्बन्धित माथिल्लो निकायले निर्णय गर्नासाथ नेपाली सेना खटिन तयार छ ।’ मकालु र ढोरपाटनमा सेनाका एकएक वटा गुल्म राख्न लागिएको हो । मकालु–बरुण निकुन्जमा एउटा गण राख्न माग भए पनि जनशक्ति र बजेट सीमितताका कारण गुल्ममात्र राख्न लागिएको हो । एउटा गुल्ममा करिब तीनसय सैनिक खटिने गरेका छन् जसको नेतृत्व सेनानी (मेजर) तहका सैनिक अधिकृतले गर्दै आएका छन् । 
हालसालै रक्षामन्त्रालयले सो निकुन्ज र आरक्षमा सेना पठाउनेबिषयमा सैनिक मुख्यालयको राय मागेको छ । ‘हामीले सेनासँग राय मागेका छौँ, पहिले पनि यसबारे छलफल भएको हुनाले उसको राय समेटेर आवश्यक निर्णय गर्छौैँ’ रक्षा स्रोतले भन्यो, ‘सेना खटाउन सरकारलाई समस्या छैन ।’ बजेट अभावका कारण संरक्षणका लागि अहिले खटिएकै युनिटबाट झिकेर निकुन्ज र आरक्षमा दुई गुल्म सैनिक खटाउनेबारे रक्षा, वनमन्त्रालय तथा जंगी अड्डाबीच छलफल भइरहेको छ । ‘सरकारलाई सामान्यवाहेक थप व्ययभार नपर्ने गरी दुईवटा गुल्म पठाउने बिषयमा अन्तिम चरणमा कुराकानी भएको छ’ वनमन्त्रालयका एक अधिकारीले भने, ‘आगामी बजेटमा त्यो बिषय पनि समेटेपछि त्यही अनुसार नयाँ व्यवस्था हुनेछ ।’
मुलुकभर जम्मा १० वटा राष्ट्रिय निकुन्ज, तीनवटा वन्यजन्तु आरक्ष, ६ वटा संरक्षण क्षेत्र, एउटा शिकार आरक्ष तोकिएका छन् । यसअघि नेपाली सेना चितवन, लाङटाङ, खप्तड, बर्दिया, शिवपुरी–नागार्जुन, सगरमाथा, रारा, शे–फोक्ुन्डो र बाँके  राष्ट्रिय निकुन्जको सुरक्षाका लागि खटिँदै आएको छ । सेना हालसम्म ९ वटा निकुन्ज र तीनवटा वन्यजन्तु आरक्षको सुरक्षामा तैनाथ छ । सातवटा गण र सातवटा गुल्ममा जम्मा ७ हजार ६ सय सैनिक खटिँदै आएका छन् भने उनीहरुलाई जम्मा १ सय५१ वटा सुरक्षा पोष्टमा ड्युटीमा खटाइएको छ । ४० बर्षदेखि सेना प्रकृति र वन्यजन्तु संरक्षणका लागि खटिँदै आएको छ ।
शिवपुरी नागार्जुनवाहेकका ९ वटा राष्ट्रिय निकुन्ज र शुकलाफाँटा, पर्सा र कोशीटप्पु वन्यजन्तु आरक्ष वरिपरी जम्मा १२ वटा मध्यवर्ती क्षेत्रसमेत रहेका छन् । नेपालको कुल क्षेत्रफलको करिब २३ प्रतिशत संरक्षण क्षेत्र रहेको छ ।
वन्यजन्तु तथा राष्टिय निकुन्ज  विभागका महानिर्देशक टीकाराम अधिकारीले तीन बर्षअघि नै वन मन्त्रालयमार्फत् मकालु निकुन्ज र ढोरपाटनमा सेना खटाउन माग गरिएको तर अहिलेसम्म निर्णय भइनसकेको बताए । ‘हामीले तीन बर्षअघि नै वनमन्त्रालयमार्फत् रक्षामन्त्रालयमा लेखी पठाएका थियौँ, त्यसको प्रक्रिया अघि बढे पनि अहिले कहाँ पुगेको छ भन्ने जानकारी विभागमा आइसकेको छैन’ अधिकारीले भने । सेनाले संरक्षणका प्रकृति र वन्यजन्तुको सुरक्षाका लागि दक्ष जनशक्ति र अत्याधुनिक हतियारसहित कम्तिमा १० हजार सैनिक खटाउनुपर्ने मौखिक प्रस्ताब सरकारलाई गर्दै आएको छ । सेनाको राष्टिय निकुन्ज तथा बन्यजन्तु आरक्ष निर्देशनालयले संरक्षणको कार्य हेरिरहेको छ जसको नेतृत्व अहिले महासेनानी वाबुकृष्ण कार्कीले सम्हालिरहेका छन् ।
करिब १५ सय बर्गकिलोमिटर क्षेत्रफल ओगटेको मकालु वरुण निकुन्ज २०४९ सालमा स्थापना भएको हो । सोलुखुम्बु र संखुवासभाको भाग यसमा समेटिएको छ । निकुन्जको मध्यवर्ती क्षेत्र ८३० बर्गकिलोमिटर छ । विज्ञहरुका अनुसार सो क्षेत्रमा लालीगुँरासका २५ प्रजाति, ४७ प्रकारका चरा, ५६ प्रकारका दुर्लभ वनस्पति छन् । निकुन्जमा हिम चितुवा,रेड पाण्डा, जंगली भालुलगायतको पनि वासस्थान रहेको छ ।  जनताद्वारा सञ्चालित भनिएको सो निकुन्जमा यसअघि सरकारी सुरक्षा थिएन । संखुवासभाका १० गाविस र सोलुखुम्बुका बुङ र छेस्काम गाविस निकुन्जमा समेटिएका छन् ।
धौलागिरी हिम सृंखलाका बाग्लुङ, रुकुम र म्याग्दीमा रहेको ढोरपाटन शिकार आरक्ष २०४० सालमा स्थापना भए पनि २०४४ सालमा मात्रै सरकारले मान्यता दिएको हो ।  १३२५ बर्गकिलोमिटर क्षेत्रफलमा रहेको आरक्ष वरपरका तीनसय घरधुरीले दुईसय २६ हेक्टर जमिन अतिक्रमण गरेको विवरण सार्वजनिक भइसकेको छ । म्याग्दीको लुलाङ, गुर्जाघाट, खोरिया, गुरुघाट, रुकुमको दुले, मैकोट, घुस्तुङ, बाग्लुङको तराम्ची, निशी, उत्तरगंगा, माझचौर, छेन्तुङमा निकुन्जको जमिन अतिक्रमण भएको छ । आरक्षभित्र सरकारले ठूलो रकम तिरेर नाउर र झारलको शिकार गर्ने अनुमति दिँदै आएको छ । ढोरपाटन आरक्षमा ३२ प्रकारका स्तनधारी बन्यजन्तु, १३७ प्रजातिका चरा छन् भने आरक्षको आधा भूभाग घाँसे मैदानले ढाकेको छ ।
(नयाँ पत्रिका दैनिकमा २०७१ फागुन ३ गते प्रकाशित)

Comments

Popular posts from this blog

Importance of Pharm. D study in Nepal

Climate and Clean Air Coalition (CCAC) meets in Kathmandu to tackle air pollution

डा.भट्टराई, 'क्रान्ति'को कार्यकाल कति हो ?