Thursday, 19 February 2015

यही बेला किन बोले पूर्वराजा ?




'गिरिजाबाबुले आस्वासन दिएकै हो 

 -कुमुद लोहनी, गिरिजाप्रसाद कोइराला निकट नेता-

माओवादी आएपछि सम्झौता तोडियो

              ज्ञानेन्द्रका तत्कालीन एडीसी   टीका धमला,

(पूर्वराजाको घोषणाको पूर्णविवरणसहित)


-पर्शुराम काफ्ले-
                             
        ...................................
पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरु र उनीबीच दोस्रो जनआन्दोलनको समाप्तिअघि समझदारी भएको तर्फ आम नेपालीहरुको ध्यान केन्द्रित गर्दै सम्बन्धित दलहरुलाई कार्यान्वयनको माग गरेका छन् । ६ फागुनमा प्रजातन्त्र दिवसका अबसरमा दिएको सन्देशमा पूर्वराजाले दलहरुसँग भएको सहमति के थियो भन्ने नखुलाई कार्यान्वयनको माग गरेका छन् । संविधान निर्माणमा अबरोध उत्पन्न भइरहेको, एमाओवादीले कांग्रेस र एमाले विस्तृत शान्ति सम्झौताभन्दा पछि फर्किन खोजेको आरोप लगाइरहको र भारतीय जनता पार्टीका बरिष्ठतम नेताहरुले नेपालमा आएर हिन्दु राष्ट्रसहित राजसंस्थाको औचित्यका बारेमा कुरा गरिरहेका बेला पूर्वराजाको भनाई सार्वजनिक हुनुलाई महत्वपूर्ण मानिएको छ ।
कांग्रेस, एमालेसहित तत्कालीन आन्दोलनरत सात दल र पूर्वराजाबीचको समझदारीका आधारमा २०६३ वैशाख ११ गते प्रतिनिधिसभा पुनस्र्थापन भएसँगै दोस्रो जनआन्दोलन अन्त्य भएको थियो । पूर्वराजाले पछिल्लोपटक हरेक राजनीतिक परिवर्तनलाई सहजरुपमा स्वीकार गर्दै गद्दि छाड्नुलाई रहस्यका रुपमा लिइरहेका जमातहरुका लागि उनको पछिल्लो खुलासा थप जिज्ञासा भएको छ ।
‘तत्कालीन राजनीतिक दलहरु र मेरा बीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जेजति सहमति, समझदारी एवं व्यवस्थापकीय गतिविधि भएका थिए, तिनको स्मरण र अनुसरण गर्दै त्यसलाई सहीरुप्मा मुलुकलाई दिगो शान्ति, स्थायित्व र सम्बृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पुनित दिवसको सार्थकता रहन्छ’ पूर्वराजाले जारी गरेको सन्देशमा उल्लेख छ । राजाको शाही घोषणाका आधारमा पुनस्र्थापित संसदले त्यतिबेला कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री नियुक्त गरेको थियो । कोइरालाले नारायणहिटी दरवारमा तत्कालीन राजा ज्ञानेन्द्रबाट शपथ लिएका थिए । 
.................................................................................................
दरवारका लागि सहजता

-तत्कालीन सात दलको संविधानसभामा दुईतिहाई मत
-भारतीय जनता पार्टीको सद्भाव
-संविधान निर्माणमा कांग्रेस–एमाले र एमाओवादी मिल्नै नसकने अवस्था
-धर्मनिरपेक्षताविरुद्ध प्रमुख दलमा उत्पन्न धु्रवीकरण
...................................................................................
त्यसपछिका राजनीतिक घटनाक्रममा पूर्वराजाले कहिल्यै पनि सार्वजनिक असन्तुष्टि जनाएर विरोध गरेका छैनन् । उनले २०६५ जेठ १५ गते मुलुकमा संविधानसभाबाट गणतन्त्र घोषणा भएपछि त्यसलाई जनताको निर्णय भन्दै कार्यान्वयन गरेका थिए । उनले सहजरुपमा नारायणहिटी राजदरबार छाडेर नागार्जुनस्थित निजि निवास सरेका थिए भने सञ्चारमाध्यमसँग उनले आफ्नो भूमिका जनताको चाहनामा भर पर्ने बताउँदै आएका छन् । पूर्वराजाले सहमति कार्यान्वयनका लागि तत्कालीन सात दललाई लक्षित गर्दै पहिलोपटक आग्रह गरेका हुन् । वर्तमान संविधानसभामा तत्कालीन सात दलको दुईतिहाई मत छ । योसहित भारतको सकारात्मक  दृष्टिकोण रहेका बेला पूर्वराजाले एउटा राजनीतिक कार्डका रुपमा यो तुरुप प्रयोग गरेको विश्लेषण पनि हुन थालेको छ ।
पूर्वराजाले विगतमा सञ्चारमाध्यमहरुलाई दिएको अन्तर्वार्तामा तत्कालीन सात दल र आफूबीच राजसंस्थाको निरन्तरताका बिषयमा सम्झौता भएको तर एमाओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि त्यो कार्यान्वयन नभएको उल्लेख गर्दै आएका छन् । तत्कालीन गृहमन्त्री रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि राजसंस्था राख्ने सहमति तत्कालीन सात दलले तोडेको टिप्पणि गर्दै आएका छन् ।
पूर्वराजाले २००७ सालमा प्रजातन्त्रको जग बसाउने कार्यमा पूर्वराजा त्रिभुवन, तत्कालीन शहीदहरु र आफ्नोसमेत भूमिका रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । आफूले बाल्यकालमा तयार गराएको प्रजातन्त्रको कार्यविधिले प्रजातन्त्रलाई बलियो बनाएको पनि उनको जिकिर छ ।  ‘६४ बर्षअघि हाम्रा जिज्युबुबाले र ९ बर्षअघिको बर्षारम्भमै म स्वयम्ले गरेगराएको कार्यविधि पनि प्रजातन्त्र र त्यसको आधार राष्ट्रियतालाई बलियो बनाउने कदम थियो भन्ने कुरा म पुन: स्मरण गराउन चाहन्छु’ पूर्वराजाले सन्देशमा भनेका छन् ।
मुलुकको भूबनौट, राष्ट्रिय समाजको स्वरुप, धर्म र परम्पराका आधारमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् । प्रजातन्त्र दिवसका अबसरमा बुधवार जारी सन्देशमा पूर्वराजाले अन्यौल र कचिंगलमा समय व्यतित नगर्न उनले आग्रह गरेका छन् । तर उनले कुनै दलको नाम लिएका छैनन् ।
‘निषेध, विभेद, अन्यौल अलमल र कचिगंल मै समय विताउनुभन्दा राष्ट्रको भूवनौट, राष्ट्रिय समाजको स्वरुप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर सही दिग्दर्शन गर्नेतर्फ अगाडि बढ्नु नै आजको आवश्यकता हो’ पूर्वराजाको सन्देशमा उल्लेख छ । आफूसँगको समझदारीका आधारमा मुलुकले मूल कानून निर्माण होस् र मुलुकमा स्थिरता होस् भन्नेसमेत उनको कामना छ । ‘नेपालको मूल कानून परिपूर्णरुपमा आवस्, मुलुकको राज्यव्यवस्थाले स्थिरता र गतिशिलता प्राप्त गरोस्, यही मेरो शुभकामना छ’ पूर्वराजाले भनेका छन् । पूर्वराजा र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच भएको भनिएको सम्झौताको बिषयमा सम्वद्ध दलका नेताहरु अहिले मौन छन् । कोइरालाको निधन भइसकेको छ भने पूर्वराजाले देखाएको असहज व्यवहारका कारण एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले सम्झौता भएको बिषयलाई अस्वीकार गर्दै आएका छन् । तर पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल, गिरिजाप्रसाद कोइरालाका निकट राजनीतिक कार्यकर्ता कुमुद लोहनी, पूर्वराजाका एडीसी सेनाका तत्कालीन उपरथी टीका धमलाले राजा र सात दलबीच सहमति भएको बताउँदै आएका छन् ।
.......................................................................................................
गिरिजाबाबुले आस्वासन दिएकै हो

                       -कुमुद लोहनी, गिरिजाप्रसाद कोइराला निकट नेता-

राजा ज्ञानेन्द्रले दरबार छाड्नु सवा महिनाअघि भेटेँ । पौने चार घण्टा कुराकानी गरेँ । उहाँलाई पनि घेरेर राखेका रहेछन् । कांग्रेस दुस्मन हो भनेर मिस्गाइड गरेका रहेछन् । म गिरिजाबाबुलाई सोधेर गएको थिएँ । मैले भनेँ, ‘डिप्लोमेसी खेलिबक्स्योस् ।’ राजाले भन्नुभयो, ‘लोहनीजी मैले तपाईँको कुरा बुझैँ । चाबी गिरिजाबाबुको गोजीमा छ । मिलाउनुस् । तपाईँले भनेका सबै कुरा मान्न तयार छु । तपाईँको फोन आयो भने राती १२ बजे पनि उठाउन तयार छु ।’ यहाँभन्दा उहाँले कति भन्ने रु गिरिजाबाबु प्रधानमन्त्री भइसक्नुभएको थियो । मैले गिरिजाबाबुलाई भेटको सबै कुरा सुनाएँ । उहाँले भन्नुभयो, ‘म राजसंस्थालाई पनि एड्जस्ट गर्छु ।’
....................................................................................... 

 माओवादी आएपछि सम्झौता तोडियो
अवकासप्राप्त उपरथी टीका धमला,
 ज्ञानेन्द्रका तत्कालीन एडीसी
राजासँग आन्दोलनरत सात पार्टीको समझदारीका आधारमा त्यतिबेला संसदको पुनस्र्थापना भएको हो । संसद पुनस्र्थापना गर्ने संविधानमा काहिँ ठाउँ नभए पनि राजाबाट त्यो कदम सहमतिका आधरमा लिइएको थियो । २०४७ सालको संविधानअन्तर्गत नै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दरवारमा गएर राजासँग शपथ खानुभएको थियो । त्यतिबेला सात पार्टी र राजाबीच अब कसरी जाने भन्ने कुराको मार्गचित्र बनेको थियो र त्यही विश्वासका आधारमा राजाबाट संसद पुनस्र्थापित भएको थियो । तर जब एमालेको सिटसंख्या सरह माओवादीहरुलाई संसदमा प्रवेश गराइयो र जेठ ११ गते राजाको अधिकार कटौति गर्ने, राष्ट्रिय गान फेर्नेजस्ता काम भए त्यसपछिका घटनाक्रममा पूर्वराजाको संलग्नता छैन । त्यही दिनदेखि पूर्वराजासँगका सबै सम्झौता कार्यान्वयन गर्न दलहरु चुकेका हुन् । अहिले पूर्वराजाबाट त्यही कुरा दोहोर्‍याउन खोजिएको हो । त्योबेला के के सम्झौता भएको हो, सम्झौताकारीहरुले जान्ने र स्मरण गर्ने कुरा हो ।
..................................................................................................................

पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अबसरमा बक्सेको शुभकामना

प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइ,
६५औं प्रजातन्त्र दिवसको यस अवसरमा म समस्त नेपालीहरुमा हार्दिक शूभकामना व्यक्त गर्दछु । आज भन्दा ६४ बर्ष अघि प्रजातन्त्र प्रेमी जनता र राजाको समन्वयकारी सत् प्रयासबाट नेपाली जमीन र जनजिवनमा प्रजातन्त्रको विजारोपण भएको हो । प्रजातन्त्रको लागि त्याग र उदारता प्रस्तूत गर्ने हाम्रा जिज्युबूवा राष्ट्र््रपिता स्व.श्री ५त्रिभूवन र वलिदान एवं जीवन उत्सर्ग गर्ने शहिदहरु प्रति म हार्दिक श्रद्धाभाव र श्रद्धाञ्जली प्रकट गर्दछु ।
प्रजातन्त्र राष्ट्रको अलंकार हो र जनता जनार्दनको भाग्य भविष्यको आधार हो । राज्य संचालन र विधि व्यवस्थापनका निम्ति चाहिने मूख्य विषय आपसी सूझबूझ, समझदारी र अनूभवयूक्त प्रयत्न हो । निषेध, विभेद, अन्यौल, अलमल र कचिंगल मै समय विताउनु भन्दा राष्ट्रको भूवनोट, राष्ट्रिय समाजको स्वरुप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर सहि दिग्दर्शन गर्नेतर्फ अगाडि बढ्नु नै आजको आवश्यकता हो । ६४ बर्ष अघि हाम्रा जिज्यू वूवाले र ९ बर्ष अघिको बर्षारम्भमै म स्वयंले गरे गराएको कार्यविधी पनि प्रजातन्त्र र त्यसको आधार राष्ट्रियतालाई बलियो बनाउने कार्य कदम थियो भन्ने कूरा म पूनःस्मरण गराउन चाहन्छु । त्यसैले तत्कालिन राजनीतिक दलहरु र मेरा वीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जे जती सहमती, समझदारी एवं व्यवस्थापकीय गतिविधी भएका थिए तिनको स्मरण  र अनुसरण गदैें त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मूलूकलाई दिगो शान्ति, स्थायीत्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पूनित दिवसकोे सार्थकता रहन्छ ।
नेपालको मूल कानून परिपुर्ण रुपमा आवोस्, मूलूकको राज्य व्यवस्थाले स्थिरता र गतिशिलता प्राप्त गरोस् यही मेरो शूभकामना छ ।
श्री पशूपतिनाथले हामी सबैको कल्याण गरुन् ।
जय नेपाल ।

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...