Thursday 5 June 2014

कोइराला यसरी चीन जान तयार भए

Koirala at New Delhi before he became Prime Minister of Nepal : File photo

पर्शुराम काफ्ले/नयाँ पत्रिका
काठमाडौं, २१ जेठ
चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वासँग चीन नजाने अन्तर्वार्ता दिएको तीन सातापछि प्रधानमन्त्री सुशील कोइराला बिहीबार चीनको कुन्मिङ जाँदै छन् । भारत रिसाउने डरले उनले त्यतिवेला चीन भ्रमणमा नजाने मनस्थिति बनाएका थिए ।

भारतमा लोकसभा निर्वाचनपछि प्रधानमन्त्री भएका नरेन्द्र मोदीले आफ्नो शपथग्रहणमा कोइरालालाई पनि बोलाए । मोदीको शपथमा भारत भ्रमण गरिसकेपछि चीन जान प्रधानमन्त्री कोइराला मानसिक रूपमा तयार भएका हुन् । त्यसअघि उनलाई पहिले चीन भ्रमणमा गए भारत रिसाउने डर थियो ।

भारतमा मोदी प्रधानमन्त्री भएपछि शपथग्रहणमा आएको निम्तो स्विकारेका प्रधानमन्त्री कोइरालाले लगत्तै चीन जाने इच्छा व्यक्त गरेका थिए । उनले चिनियाँ राजदूत ऊ चुन्ताईलाई बालुवाटार बोलाएरै चीन जाने इच्छा व्यक्त गरेका थिए ।

प्रधानमन्त्री कोइरालालाई कुन्मिङका गभर्नरले दुई महिनाअघि नै काठमाडौं आएर चाइना–साउथ एसिया एक्स्पोमा सहभागी भइदिन आग्रह गरेका थिए । नेपालस्थित चिनियाँ दूतावासले पनि पटकपटक कोइरालासहित परराष्ट्रका उच्च अधिकारीलाई भ्रमणका लागि पटकपटक आग्रह गर्दै आएको थियो । भारत भ्रमणमा जानुअघिसम्म कोइरालाले चिनियाँ राजदूतलाई बोलाएर चीन जान नसक्ने बताएका थिए ।

‘प्रधानमन्त्री कोइरालाले सुरुमा नआउने जवाफ दिनु र पछि जम्बो टोली लिएर जान लाग्नु सर्वथा गलत छ,’ एक कूटनीतिज्ञले भने, ‘सुशीलजीको व्यवहारले नेपालको प्रतिष्ठा उँचो हुँदैन ।’

कोइरालाले भारतलाई नचिढ्याउन उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहलाई चीन पठाउन लागेका थिए । ‘मोदीजीको शपथमा उहाँ नजानुभएको भए प्रकाशमानजी चीन जाने तयारी भएको थियो, तर भारत गएपछि उहाँले निर्णय परिवर्तन गर्नुभयो,’ सरकारका एक मन्त्रीले नयाँ पत्रिकासँग भने ।

प्रधानमन्त्री कोइरालाले ३१ वैशाखमा सिन्ह्वाका काठमाडौं ब्युरो प्रमुख झाउ सेङपिङलाई बालुवाटारमा दिएको अन्तर्वार्तामा संविधान निर्माण प्रमुख प्राथमिकतामा रहेकाले आफू कुन्मिङ जान नसक्ने बताएका थिए । कोइराला १२ देखि १४ जेठसम्म भारत भ्रमणमा थिए ।

‘मेरो अहिलेसम्मको कार्यतालिकाले मलाई युनानको एक्स्पोमा जाने अनुमति दिने छैन । हामीले पहिला संविधानलाई पूर्णता दिनुछ, अरू सबै विषयभन्दा यो हाम्रो प्राथमिकता हो,’ प्रधानमन्त्री कोइरालाले सिन्ह्वा प्रमुख झाउसँग भनेका छन् । सिन्ह्वाको लगानीमा मासिक रूपमा प्रकाशित हुने एसिया प्यासिफिक डेलीमा कोइरालाको अन्तर्वार्ता छापिएको छ ।

कोइरालाले अन्तर्वार्ता दिएको दुई दिनपछि १६ मेमा भारतीय निर्वाचनको मतगणना सार्वजनिक भएको थियो । त्यसलगत्तै तय भएको मोदीको शपथग्रहणमा सहभागी हुन आएको निम्तो कोइरालाले सहर्ष स्वीकार गरेका थिए ।

‘प्रधानमन्त्रीको संविधान निर्माणको प्राथमिकताले भारत जान रोकेन, त्यसपछि चीन जानैपर्ने बाध्यता भयो,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘तर, चीनको सरकारी एजेन्सीलाई नै जान्न भनेर फेरि जान्छु भन्दा उहाँको कति इज्जत भयो ? उहाँलाई नै सोध्नुहोला ।’

पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीले पहिले भारत जाने परम्परा पछ्याएको आरोप लगाएका छन् । ‘भारत भ्रमण पहिले नगरी अन्यत्र जान नसक्ने दब्बु मानसिकताका कारण कुन्मिङ भ्रमणको निम्तो लामो समयसम्म त्यसै थन्केर बसेको थियो । धन्न नरेन्द्र मोदीको शपथग्रहण समारोहको निम्तोले बाटो खुल्यो,’ श्रेष्ठले भनेका छन्, ‘सार्वभौम एवं स्वाधीन राष्ट्र नेपाल र सार्वभौम सत्तासम्पन्न नेपाली जनताका बहुसंख्यक राजनीतिक प्रतिनिधिको यस्तो परामुखी प्रवृत्तिले हामी सबैलाई लज्जित तुल्याएको छ ।’

यसैबीच, प्रधानमन्त्री कोइरालाले कुन्मिङमा चिनियाँ प्रधानमन्त्री ली खछियाङ र उपराष्ट्रपति ली युयान्चाओसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । कोइरालाले बिहीबार अपराह्न ५:३० बजे चिनियाँ प्रधानमन्त्री खछियाङ र शुक्रबार बिहान ८:३० बजे उपराष्ट्रपति युयान्चाओसँग भेटवार्ता गर्ने तय भएको छ । बिहीबार अपराह्न तीन बजे कुन्मिङको होटल ग्रयान्ड प्लाजामा बस्ने कोइरालाले चिनियाँ अधिकारीलाई स्थानीय गार्डेन होटलमा भेट्नेछन् । कोइरालाको टोली शुक्रबार साँझ ६:२५ बजे काठमाडौं आइपुग्नेछ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, परराष्ट्रका निमित्त सचिव शंकरदास बैरागी र प्रमुख शिष्टाचार महापाल कालीप्रसाद पोखरेलले भ्रमण कार्यक्रमबारे कोइरालालाई बुधबार ब्रिफिङ गरेका थिए ।

-NAYAPATRIKA, JETH 23, 2071

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive