Tuesday, 10 June 2014

नेपालले हामीलाई चासो दिएन :रुसी राजदूत

 -रुसी राजदूत डा. सेर्गेइ भेलिचकिन-
                   ............................................................
रुसी राजदूत डा. सेर्गेइ भेलिचकिन सन् २०१० डिसेम्बरदेखि काठमाडौंमा छन् । सन् १९७३ मा रुसी कूटनीतिक सेवामा प्रवेश गरेका उनी दक्षिण एसियामा मात्रै करिब २० वर्ष बसेका छन् । भारतमा दश र बंगलादेशमा पाँच वर्ष बसेका उनी नेपाल बसेको पनि पाँच वर्ष लाग्दै छ । दक्षिण एसियाको सुरक्षा, आर्थिक र राजनीतिक मामिलाका जानकार राजदूत भेलिचकिनले क्रिमिया रुसमा विलय भएपछि पश्चिमा देशको कडा विरोध गर्दै आएका छन् । पत्रकारहरूसँग खुलेर कुरा गर्न रुचाउने उनले नयाँ पत्रिकासँग रुसको विश्वव्यापी कूटनीति, दक्षिण एसियामा उसको स्वार्थ र नेपालमा उसको रुचिबारे विस्तारमा बताए :
..................................................                                                                    ........................................
नेपाल र तत्कालीन सोभियत संघबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसको दुई वर्षपछि नेपालमा दूतावास स्थापना भयो । त्यसको चार वर्षभित्रै राष्ट्रपतिसरह हैसियत राख्ने सोभियत जनसभा अध्यक्ष बरास्लोभको नेतृत्वमा नेपालको उच्चस्तरीय भ्रमण भयो । १९६० देखि हामीले नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा पढाउन थाल्यौँ । रुस पढेका सबैजसोले नेपाल फर्केर देशका लागि महत्त्वपूर्ण योगदान दिएका छन् । तीमध्ये ६ जना मन्त्री नै भइसकेका छन् ।
हामीसँग सम्बन्ध स्थापनाको समयमा नेपाल आधारभूत उद्योग र पूर्वाधार स्थापना गर्ने चरणमा थियो । त्यसवेला सोभियत संघ पनि सहयोगी बन्ने अवसर पायो । जनकपुरमा चुरोट कारखाना, वीरगन्जमा चिनी र कृषि सामग्री लिमिटेड तथा पनौतीमा सानै भए पनि जलविद्युत् आयोजना हाम्रो लगानीमा सञ्चालन भयो । जनकपुर चुरोट कारखानाले कुनैवेला नेपालको कुल राजस्वको ४० प्रतिशत ओगट्थ्यो । महेन्द्र राजमार्गको पथलैयादेखि ढल्केवरसम्म एक सय नौ किलोमिटर सडक निर्माणमा लगानी गर्‍यौँ । काठमाडौंमा अस्पताल पनि खोलिदियौँ ।
नेपालका लागि लगानीको वातावरण अहिलेको मुख्य सरोकार हो । यसको ग्यारेन्टी भएमा रुसी लगानीकर्ता यहाँ आउन तयार छन् । रुसी व्यापारी मलाई सोध्छन्, रुसी लगानीका पुराना परियोजनाको हालत के छ ? तर, दु:खको कुरा, अव्यवस्थापन वा अरू कारणले हामीले बनाइदिएका धेरै परियोजना बन्द छन् । यसको कारण मैले भनिरहनुपर्दैन ।
०००

रुस ‘नेसनल फाइनान्सियल इन्स्टिच्युसन्स’ सुधारका पक्षमा ब्रिक्सका साझेदारसँग काम गरिरहेको छ । हाम्रै पहलमा जी–२० गठन भयो । यसको अध्यक्षका रूपमा हामीले सुधारका केही प्रस्ताव गर्‍यौँ । रुसले एपेक (एसिया पेसिफिक इकोनोमिक कोअपरेसन)को पनि नेतृत्व गरिरहेको छ । एसिया प्रशान्त क्षेत्रमा हामी काम गरिरहेका छौँ ।
गत २१ मेमा रुसका राष्ट्रपति र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच चीनको सांघाईमा ५० भन्दा बढी सम्झौतामा हस्ताक्षर भयो । यीमध्ये ग्यास आपूर्तिसम्बन्धी सम्झौता बढी महत्त्वपूर्ण छ । चार सय अर्ब डलरमा रुसबाट ३० खर्ब क्युविक मिटर ग्यास ३० वर्षमा चीनमा आपूर्ति हुँदै छ । यसका लागि ५० खर्ब क्युविक मिटर ग्यास भण्डार निर्माण हुँदै छ । सम्झौता कार्यान्वयनका लागि रुसले ५५ अर्ब र चीनले २२ अर्ब डलर लगानी गर्दै छन् ।
भारतमा हाम्रा अनेकौँ परियोजना छन् । भारतको उडनकोलामा १६ वटा ‘प्रिलिमिनरी न्युक्लियर पावर ब्लक’ बनाउँदै छौँ । भारतसँग सैन्य तथा प्राविधिक सहयोगको अर्को पाटो पनि छ । हामी आपूर्तिकर्ता मात्र होइनौँ, साझेदार हौँ । हामीले ब्रह्मपुत्र र मस्कोको सामूहिक चिनारी दिने गरी भारतमा ब्रह्स नामको मिसाइल निर्माण गर्‍यौँ ।
०००

नेपालको छेउछाउमा रुसले धेरै लगानी गरिरहेको छ । तर, नेपाल बाइपास भएको छ । लगानी वातावरण र पहलकदमी अभाव त्यसको मुख्य कारण हो । त्यसका लागि सरकार र नेपाली दूतावासको सक्रियता बढाउनु जरुरी छ । संसद्ले पनि पहल लिन सक्छ ।
२०११ मार्चमा रुसी संसदीय टोली नेपाल भ्रमणमा आयो । त्यही वर्ष रुसका ३३ जना व्यापारिक प्रतिनिधि पनि नेपाल आए । नौजना नेपाली व्यवसायी रुस गए । नेपाल उद्योग वाणिज्य महासंघको सक्रियता प्रशंसनीय छ । जुलाई २०११ मा तत्कालीन अध्यक्ष सुरज वैद्य रुस गएर रुसी चेम्बर अफ ट्रेड एन्ड कमर्ससँग सम्झौतामा हस्ताक्षर गरे । अक्टोबर २०१२ मा अर्को व्यापारिक टोली नेपाल आयो । रुसी दूतावासले अन्तक्र्रियामा सहजीकरण गर्‍यो ।
राजनीतिक अस्थिरताका कारण नेपाल लगानीबाट वञ्चित भएको छ । व्यावसायिक वातावरण बन्न सकेको छैन । मार्च २०११ मा नेपालमा ऊर्जासंकट घोषणा भयो । त्यसको फलोअप भएको छैन । बारम्बार सरकार परिवर्तन, कर्मचारीको फेरबदलले लगानीको वातावरण प्रभावित भएको छ । तर, सरकारले यसमा केही नयाँपन ल्याउला भनेर विश्वास गरौँ ।
सरकारले कानुन निर्माण, नियमन, कार्यान्वयन, पारदर्शिता र लगानीको वातावरण बनाइदिनुपर्छ र निजी क्षेत्रलाई वैदेशिक साझेदारसँग सहकार्यका लागि खुला गरिदिनुपर्छ । अन्यथा, नेपालको अवस्था यही रहनेछ ।
०००

उच्चस्तरीय भ्रमण विदेशनीतिका साधन हुन् । देशको राष्ट्रिय हितको पृष्ठभूमिमा यसलाई हेर्नुपर्छ । नेपाल र रुसबीच उच्चस्तरीय भ्रमण भएका छैनन् । २००२ मा रुसी विदेश मन्त्रालयको एसिया डिपार्टमेन्टका निर्देशक नेपाल आए । २००५ मा परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले मस्को भ्रमण गरे । २०१० मा म आएपछि भ्रमणका लागि गृहकार्य गरेँ । तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादव जुलाई २०११ मा मस्को गए । त्यसपछि निरन्तरता छैन ।
२४ नोभेम्बर २०१० मा सेन्टपिट्र्सबर्गमा विश्व बाघ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन प्रधानमन्त्री (हाल राष्ट्रपति) पुटिनबीच महत्त्वपूर्ण कुराकानी भयो । म काठमाडौं आउनुभन्दा १० दिनअघिको कुरा हो । लामो पृष्ठभूमि र छलफलको महत्त्वका आधारमा दुईपक्षीय भ्रमण गराउन मैले गृहकार्य गरेँ । तर, नेपाली पक्षले त्यति धेरै चासो राखेको मैले पाइनँ ।
०००

सोभियत युनियन पतनपछि हाम्रो विदेशनीति पनि संकटमा पर्‍यो । चरम अस्थिरता उत्पन्न भयो । छिमेकी र शीतयुद्धको प्रतिपक्षी अमेरिकासँग झेल्न हामी केन्द्रित भयौँ । चेचेन्यादेखि अन्य संकट व्यहोर्नुपर्‍यो । मुलुकको आर्थिक र सामाजिक आवश्यकतामा समय खर्च भयो । तर, त्यो छोटो अवधि छाड्ने हो भने विगत १४ वर्षमा परिस्थिति बदलिएको छ । २१औँ शताब्दीमा रुस स्पष्ट राष्ट्रिय स्वार्थका एजेन्डा र कार्यान्वयन गर्ने सामथ्र्यसाथ आएको छ ।
सोभियत विदेशनीति तत्कालीन देशको चरित्रका आधारमा तय भएको थियो । सत्तारुढ कम्युनिस्ट पार्टीको सिद्धान्तका आधारमा मुलुक सञ्चालन भयो र पार्टीको वैचारिक धरातलले विदेशनीति सञ्चालन गर्‍यो । तर, अहिले हामी ‘मल्टिफ्याक्टर फरेन पोलिसी’मा आइपुगेका छौँ ।
हामी एक धु्रवीय विश्वको अवधारणा दृढतापूर्वक अस्वीकार गर्छौं । ९० पछि आएको एक धु्रवीय विश्वको अवधारणाले बमबारीबाट बेलग्रेडमा हजारौँ मानिस मारिए । एक धु्रवीय विश्वको नेतृत्वकर्ता भनिनेहरूबाट इराक, अफगानिस्तान, लिबियामा आममानिसको हत्या भयो । अहिले सिरियामा त्यही भइरहेको छ । त्यसकारण, अब निश्चित प्रकारको प्रजातन्त्रको व्याख्याले सबैतिर काम गर्दैन । एक धु्रवीय विश्वका नेतृत्वकर्ताकै कारण २००८ मा विश्वव्यापी आर्थिक संकट आयो । अब ‘कोल्डवार लजिक’को सान्दर्भिकता छैन । मैले जितेर तपाईं हार्ने खालको सुरक्षा अब व्यावहारिक हुँदैन । सामूहिक सुरक्षाको अवधारणामा जानुपर्छ । अहिले ‘कोअपरेटिभ मल्टिपोलारिटी’ले एक धु्रवीय विश्वलाई चुनौती दिइरहेको छ ।
अब सामूहिक प्रयत्नबाट मात्रै विश्व परिवर्तन गर्न सक्छौँ, गठबन्धनको मानसिकता अब काम लाग्दैन । अन्तर्राष्ट्रिय सम्बन्ध र शीतयुद्धको इतिहासबाट सिक्नुपर्छ । पूर्वसोभियत गठबन्धन नवीकरण गर्ने पक्षमा हामी छैनौँ । विश्वमा शक्तिशाली रूपमा उदाउँदै गरेका चीन, भारत, अन्य मुलुकहरू आफैँमा एक/एक केन्द्र हुन् ।
गठबन्धन होइन, हामीले सहकार्यको सामूहिक प्रयास थालेका छौँ । ब्रिक्सलाई हेरौँ । उदाउँदो मुलुकहरूको साझा धारणा बनाउने फोरम हो यो । यसले जी–२० को बैठकलाई नै प्रभावित पारिदिएको छ । ब्रिक्स ‘बिग आइल्यान्ड’ का रूपमा केही ग्लोबल सेन्टरहरूको साझा एजेन्डा प्रस्तुत गर्ने कामयावी र प्रभावकारी फोरम भएको छ । यहीमार्फत विश्वको शासन प्रणाली सुधारका सन्दर्भमा हामी काम गरिरहेका छौँ ।
सांघाई कर्पोरेसन अर्को महत्त्वपूर्ण क्षेत्रीय फोरम हो, जसले विश्वको एउटा भागलाई प्रतिनिधित्व गर्छ । यसको रुस र चीन संस्थापक हुन् । भारत सुरुदेखि नै पर्यवेक्षक हो । यस वर्ष भारत, पाकिस्तान, इरान पूर्ण सदस्य हुँदै छन् । अफगानिस्तान, मंगोलिया पर्यवेक्षक हुन् । श्रीलंका, बेलारुस डायलग पार्टनरका रूपमा आएका छन् । नेपालले पनि श्रीलंकाभन्दा अगाडि सहभागिताका लागि चासो प्रकट गरेको थियो । बंगलादेशले पनि ढोका ढकढक्याइरहेको छ । नेपालले आफैँ निर्णय लिने हो । सांघाई कर्पोरेसनका दुई मुलुक चीन र भारतबीच नेपाल गतिशील पुल बन्ने अवधारणा यसरी कार्यान्वयन हुन्छ कि हुँदैन, नेपालीहरूको मामला हो । तर, चीन र भारत भविष्यमा कुनै पनि ‘प्रिन्सिपल इन्ट्रेस्ट’ नगुमाईकन नजिक आउँदै छन् । त्यो परिस्थितिको फाइदा नेपालले लिनसक्नुपर्छ, जान्नुपर्छ ।
सोभियतपछिको अवस्थामा आर्थिक एजेन्डाका लागि गठबन्धन हुन सक्छ । एपेक, एसियन रिजनल फोरम (एआरएफ), इस्टर्न एसिया डायलगजस्ता फोरम यसमा काफी छन् ।
०००

दक्षिण एसियामा रुसको प्राथमिक चासो सुरक्षा हो । सोभियत समयमा दक्षिण एसिया हाम्रोविरुद्ध प्रयोग भएको छ । पाकिस्तानमा १९५४ मा हामीविरुद्ध तीनवटा सैन्य ब्लक खडा थिए । सिएटो (साउथ इस्ट एसिया ट्रिटी अर्गनाइजेसन), सेन्टो र अमेरिकी मिलिट्री बेस । ३१ अप्रिल १९६० मा पेसावरबाट रुस पठाइएको गुप्तचर विमानलाई हाम्रो एन्टी एयरक्र्याफ्ट मिसाइलले ध्वस्त पार्‍यो । हाम्रो सैन्य तैनाथीको फोटो खिचेर गुप्तचरी गर्न पठाएको प्लेन कब्जा गरेर हामीले धेरै कुरा थाहा पायौँ ।
भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले भने, ‘हामी असंलग्न हुन्छौँ ।’ हाम्रोविरुद्ध नलाग्ने उनको उद्घोषपछि हामीले भारतसँग सहकार्य गर्‍यौँ । पाकिस्तानीहरू सोभियतविरुद्ध थिए । त्यो वेला असंख्य आक्रमण भोग्यौँ ।
अहिले परिस्थिति बदलिएको छ । दक्षिण एसियामा अफगानिस्तानको सान्दर्भिकता बढिरहेको छ । सार्कको सदस्यता पाइसकेको उसले सुरक्षा सचेतनामा नयाँ आयाम दिइरहेको छ । सोभियत विघटनपछि पनि पश्चिम एसियाली मुलुकमा हाम्रो आर्थिक, मानवीय चासो छ । त्यहाँ हाम्रा मानिसहरू पनि बस्दै आएका छन् ।
भारतसँग हाम्रो राम्रो सम्बन्ध छ । बंगलादेशसँग ऐतिहासिक सम्बन्ध छ । सोभियत संघको सहयोग र ऐक्यबद्धता हुन्थेन भने बंगलादेश स्वतन्त्र हुने थिएन । किनकि, त्योवेला पाकिस्तानलाई सघाउन अमेरिकी सेना बंगालको खाडीसम्म आएका थिए । अहिले हामीले बंगलादेशमा आणविक भट्टी निर्माण गरेका छौँ । दुईवटा ऊर्जा केन्द्र बनाएका छौँ । बंगलादेशमा ऊर्जाको अवस्था सन्तोषजनक हुनुको कारण रुसी सहयोग नै हो ।
श्रीलंकासँग पनि राम्रो सम्बन्ध छ । सुरुमै हामीले तमिल पृथकतावादी लडाइँमा सरकारलाई सहयोग गरेका छौँ । अहिले व्यापारिक सम्बन्ध छ । त्यहाँको चिया उत्कृष्ट छ । श्रीलंकाबाट अत्यधिक पर्यटक रुस आउँछन् । मालदिभ्ससँग हाम्रो पर्यटकीय सम्बन्ध छ । अतीत बिर्सेर पाकिस्तानले हामीसँग सुमधुर सम्बन्ध राख्दै आएको छ । तर, उसको अफगानिस्तान नीतिले सम्बन्धको भविष्य निर्भर गर्छ । पाकिस्तानको ऊर्जामा हाम्रो लगानी छ । इरान र अफगानिस्तानमा हाम्रो चासो र सरोकार छ । हामीले नै यी मुलुकमा हाइड्रोकार्बन र ग्यास आपूर्ति गरिरहेका छौँ ।
०००

नेपालसँग हाइड्रोपावरको प्रचुर सम्भावना छ । यसका लागि रुसी लगानीको सम्भावना छ । नेपालले नर्वे, डेनमार्कलगायत मुलुकसँग ऊर्जामा लगानीको कुरा गरिरहेको छ, रुससँग छलफल नै गर्न चाहेको छैन । नेपालको जलस्रोतमा हामी ठूला लगानीकर्ता हुन सक्छौँ । रुसबाट सय अर्ब डलर हरेक वर्ष बाहिर गएको छ । केही मान्छे रुसका विषयमा भ्रम फैलाएर रुसबाट डलर आउने बाटो रोकिरहेका छन् । राजनीतिक अस्थिरता र लगानीको वातावरणलगायत कारण नेपालमा लगानी आइरहेको छैन ।
अनौठो कुरा, भारतीयहरू तल्लो तटीय क्षेत्र (भारत)मा नेपालबाट बगेको पानीबाट जलविद्युत् उत्पादनका लागि रुसी व्यवसायीलाई निम्त्याइरहेका छन् । नेपालीले एउटा पार्टनर गुमाइरहेको छ । नेपाल हुँदै बग्ने तल्लो तटीय क्षेत्र (भारत)मा लगानी गर्न रुसी लगानीकर्ताहरू आकर्षित छन् । मैले भारतलाई आदर्शका रूपमा व्याख्या गरिरहेको छैन । भारतमा लगानीको वातावरण छ, पारदर्शिता छ । नेपालले यही प्रस्ताव किन नगर्ने ? यत्रो ठूलो अवसर किन गुमाउने ? 

NAYAPATRIKA, JETH 27, 2071

प्रस्तुति : पर्शुराम काफ्ले
pkaphle@gmail.com

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

नेपालकी प्रथम महिला राजदुत विन्देश्वरी रहिनन्

पर्शुराम काफ्ले    (नयाँ पत्रिका दैनिकमा १८ पुस २०८१ मा प्रकाशित)  नेपालको पहिलो महिला राजदूत तथा परराष्ट्र सेवाकै पहिलो महिला अधिकृत बिन्दे...