Monday, 23 June 2014

डाक्टरको स्थलगत अनुभव: मुगुका मानिस भगवान्–भरोसामा बाँचेका छन्

डा. प्रशान्त कँडेल
....................................................


डा. प्रशान्त कँडेल कर्णालीस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अधिकृत हुन् । बंगलादेशबाट तीन वर्षअघि एमबिबिएस उत्तीर्ण गरेका उनी दुई वर्ष वीर अस्पताललगायत राजधानीका अस्पतालमा काम गरेपछि कर्णाली पुगेका हुन् । डा. कँडेलले कर्णालीको स्वास्थ्यबारे यस्तो धारणा राखे :
::::::::::::::::::::::::::::::::::::::::

बंगलादेशबाट एमबिबिएस पढेर फर्केपछि दुई वर्ष मैले काठमाडौंको वीर अस्पताललगायतमा काम गरेँ । त्यसपछि स्वास्थ्य मन्त्रालयले कर्णाली पठायो । एक वर्षदेखि उतै छु । यसबीच मैले मुगुमा आठ महिना बसेर सेवा गरेँ । मुगुको विकटताबारे सुनेको थिएँ, अहिले प्रत्यक्ष अनुभव गरेर फर्केको छु ।
०७० साउन २४ गते म जुम्लाबाट मुगुमा खटिएँ । एकजना गर्भवती महिलालाई अत्यधिक रक्तश्राव भएछ । उनको उपचार र अन्य बिरामीको चेकजाँच गर्न मलाई खटाइएको थियो । जुम्लाबाट ६ जना प्रहरीका साथ लागेर दुई दिनको पैदल हिँडी म मुगु सदरमुकाम गमबढी पुगेँ ।
म दुई दिनपछि पुग्दा गर्भवती महिला निको भइसकेकी रहिछन् । त्यहाँका अहेवले सोधपुछ गरेर औषधि चलाएछन्, मैले खासै उपचार गर्नुपरेन । म अन्य बिरामीको उपचारमा संलग्न भएँ । म जाँदा प्रमुख जिल्ला जनस्वास्थ्य अधिकृत थिएनन् । एमबिबिएस डाक्टर पनि त्यतातिर जाँदा रहेनछन् । केवल अहेवको भरमा अस्पताल चलेको रहेछ । 

म गमबढी पुग्दा जिल्ला जनस्वास्थ्य कार्यालयमा हल्लीखल्ली भएछ । स्वास्थ्य मन्त्रालयबाट अनुगमनका लागि टोली आउँदै छ भनेर सबैजना सतर्क भएका रहेछन् । तर, मलाई सरकारले अर्को व्यवस्था नभएसम्मका लागि पठाएको थियो । १५ दिनसम्म कर्मचारीले मलाई टेरे । तर, मेरो म्याद थपिएपछि उनीहरूलाई लागेछ, यो पनि हामीजस्तै जागिर खान आएको हो । त्यसपछि मलाई टेर्न छोडे । झर्केर बोल्न थाले ।
०००
कात्तिक दोस्रो साता धैनकोट र भिई गाविसमा महामारी फैलिएको खबर आयो । सदरमुकामबाट धैनकोट दुई दिन र भिई तीन दिनको पैदल बाटोमा पर्छ । सुरूमा अहेवको नेतृत्वमा हामीले रेस्पोन्स टिम र दुवै गाविसका लागि एक/एक बोरा औषधि पठायौँ । अहेव टोलीले ठूलो घटना केही भएको छैन भन्ने रिपोर्ट ल्यायो ।
केही समयपछि मिडियामा ठूलै समाचार आयो । मेरो नेतृत्वमा चारजनाको टोली मंसिर पहिलो साता दुवै गाविसतर्फ लाग्यो । पहिले भिई गयौँ । तीन दिनको उकालो–ओरालो हिँडेर पुग्यौँ । ठाउँ रमणीय रहेछ । पहाडको टुप्पामा बस्ती, छेउमा कर्णाली बगिरहेको । धान र मूला मात्र फल्दो रहेछ । अरू तरकारी केही नहुने ।
त्यहाँका मानिस बिरामी थिए । अहेव थिएनन् । अहेव महिना, दुई महिनामा एकपटक आउने, दुई दिन बसेर हाजिर बजाउने र गमबढी फर्किने गर्दा रहेछन् । अहेवको अनुगमन गर्ने चलन रहेनछ ।
हामी पुग्दा भिईमा अहेव थिएनन् । तीन दिन बसेर जनताको उपचार गर्‍यौँँ । अहेव आएनन् । हामीले स्थानीयको रोहवरमा अहेव अनुपस्थित रहेको भनेर सहीछाप गर्‍यौँ र कारबाहीका लागि सिफारिस गर्‍यौँ । हामी भिई पुग्दा जनता खुसी भए, सँगै आक्रोशित पनि । हामीलाई अप्ठेरो पर्दा मात्र आउने, अरू वेला वास्तै नगर्ने भन्दै गाली गरे । उनीहरूको आक्रोश जायज थियो । अहेवहरू काज मिलाएर सदरमुकाम बस्दा रहेछन् । पटक–पटक कसरी काज मिल्छ सदरमुकाममा ? मैले बुझ्न सकिनँ ।
एकपटक भिई गाउँमा बालबालिका बिरामी परेछन् । अहेव रहेनछन् । स्थानीय जनताले हेल्थ पोस्टको ढोका फोरेर औषधि निकालेछन् । त्यो सुनेर म चकित परेँ ।
धैनकोट भिईभन्दा ठूलो रहेछ । धैनकोट र भिई बाजुरासँग जोडिएका गाविस हुन् । धैनकोटमा हामीले स्थानीयबाट स्वागत पायौँ । उनीहरूको बुझाइ थियो, हामी सरकारले पठाएर आएका हौँ, आफैँ आएका होइनौँ ।
०००
सदरमुकामबाट दुई दिनको बाटोमा सोरू गाउँ पर्छ । गत फागुनमा त्यहाँ कांग्रेस समर्थकको मृत्यु भएको रहेछ । कांग्रेसका प्रतिनिधिहरू सदरमुकाम आएर मसँग भने, ‘पोस्टमार्टमका लागि गाउँ गइदिनुपर्‍यो ।’ मलाई अचम्म लाग्यो । ‘गाउँमै गएर पोस्टमार्टम गर्ने ?,’ मैले सोधेँ, ‘त्यसो गर्न मिल्दैन । लास अस्पतालमै ल्याउनु’स् ।’ यही विषयमा कांग्रेसका मान्छेसँग करिब एक घन्टा विवाद चल्यो । मैले उनीहरूको ढिपी मान्ने कुरै थिएन । उनीहरू फर्किए ।
भोलिपल्ट बिहानै प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले फोन गरेर भन्नुभयो, ‘तपाईँ गइदिनुपर्‍यो ।’ डिएसपी र सिडिओलाई एकै ठाउँमा राखेर कांग्रेसका मान्छेले दबाब दिएछन् ।’ मैले सिडिओसँग गाउँमै गएर पोस्टमार्टम गर्न मिल्दैन भनेको थिएँ ।
कांग्रेसका मान्छे पुन: अस्पताल आएर जिद्दी गर्न थाले । उनीहरूले भने, ‘अन्तिमपटक गइदिनु’स् । अबदेखि अस्पतालमै ल्याउनुपर्छ भनेर सर्वदलीय बैठक बोलाएर निर्णय गराउँछौँ ।’ पछि पो बुझेँ, मुगुमा लासमाथि पनि राजनीति हुने रहेछ । सदरमुकामबाट पोस्टमार्टम गर्न डाक्टरलाई घरै ल्याएँ भनेर गाउँका ठूलाबडाले फुइँ लडाउँदा रहेछन् र उनीहरूको क्षमता देखेर सर्वसाधारण मख्ख पर्दा रहेछन् ।
जाँदै जान्नँ भनेर अड्डी कसिरहेँ । तर, केही लागेन । अबदेखि पोस्टमार्टमका लागि अस्पतालमै ल्याउने भन्ने उनीहरूले कागज गरेपछि जान तयार भएँ । दुई दिन हिँडेरै गई पोस्टमार्टम गरिदिएँ ।
०००
सरकारले मुगुमा औषधि पठाएको छ । जनशक्तिको पनि व्यवस्था गरेको छ । तर, जनशक्ति र औषधि दुवै गाउँसम्म नपुगेपछि के गर्ने ? सबै चीजको व्यवस्था भएर पनि त्यहाँका जनता सामान्य उपचारबाट पनि वञ्चित छन् । मुगुका २४ गाविसमध्ये दुई गाविसमा अहेव बस्छन्, २२ गाविसमा बस्दैनन् । सामान्य ज्वरोको पनि उपचार हुँदैन । सिटामोल खान नपाएर मानिस मरिरहेका छन् । मुगुका मानिस भगवान्–भरोसामा बाँचेका छन् ।
०००
मुगुमा मुटुका बिरामी धेरै छन् । सुर्ती, बिँडीबाट उत्पन्न हुने रोगबाट पीडितको संख्या पनि उल्लेख्य छ । त्यहाँका मानिस चुरोट, बिँडी आदि सेवन गर्छन् । त्यहाँका बच्चालाई पनि टिबी रोग लाग्दो रहेछ । मैले सात वर्षको बच्चामा पनि टिबी भेटेँ । तीनजना बच्चालाई टिबीको औषधि चलाएँ । प्रेसरका रोगी पनि टन्नै छन् ।
चार दिन पैदल हिँडेर ज्वरोका बिरामी उपचार गराउन गमबढीसम्म आउने गर्छन् । हुम्लाबाट पनि धेरै बिरामी आउँछन् । मैले बुझेसम्म मुगुभन्दा हुम्लामा बढी समस्या छ । हातखुट्टा भाँच्चिएका, चोटपटक लागेकाहरू टाढा–टाढाबाट गमबढी आउँछन् । मैले हातखुट्टा भाँच्चिएका मान्छेहरूको बिजोग देखेको छु । भित्र हड्डी भाँच्चिएको हुन्छ, अस्पताल आइपुग्दा भाँच्चिएको भागको बाहिरी छाला कुहिसकेको हुन्छ ।
०००
मुगु अस्पतालको बेथिति बताई साध्य छैन । कर्मचारी नियमित रूपमा आउँदैनन्, कार्यालय समयसम्म बस्दैनन् । इमर्जेन्सीमा काम गर्ने एचए, अहेव पनि बस्दैनन् । सिडिओलाई भनेर एक/दुईपटक छड्के निरीक्षण गराएँ, तर ट्रयाकमा ल्याउन नसकिने रहेछ । अनुगमन नहुँदा कर्मचारीहरू कामै गर्दैनन् ।
चार महिनाअघि जिल्लामा कुन रोगका बिरामी कति रहेछन् भन्ने तथ्यांक संकलन गर्नुपर्ने थियो । मेरो छेउमा, सदरमुकाममै बसेर कर्मचारीले अन्दाजको भरमा डाटा भरिरहेका थिए । वास्तवमा जथाभाबी डाटा बनाएर सरकारी रकम दुरुपयोग भइरहेको छ । मुगुमा यस्तो लुट छ कि राज्य छ/छैन मैले नै भेउ पाउन सकिनँ ।
०००
मुगुको जिल्ला अस्पताल आफैँ रोगी छ । पुरानो मेसिन छ, छातीको एक्सरे हुँदैन । प्लेट सकिएको महिनौँ भयो, ल्याइएको छैन । बच्चाहरूको सामान्य एक्सरे मात्र हुन्छ । व्यवस्थित ल्याब छैन । रगत र पिसाबको सामान्य जाँच हुन्छ । ल्याब अस्पतालको मेरुदण्ड हो । अनुमानका भरमा जाँच्ने, औषधि दिने काम हुन्छ ।
मुगु अस्पताल १५ बेडको छ । त्यति बेडमा एकपटक मैले २५ जना बिरामी भर्ना गरेँ । १० जनालाई भुइँमै सुताउनुपर्‍यो । ब्लड बैंक छैन । रगत चाहियो भने प्रहरी, सशस्त्र, सेनाकहाँँ कुद्नुपर्छ ।
स्वास्थ्य क्षेत्रको अनुगमन व्यवस्था त्यहाँ अत्यन्तै फितलो छ । म आठ महिना बस्दा एकपटक पनि अनुगमन भएन । एकपटक महालेखा परीक्षकको टोली पुगेको थियो, तर उसले के गर्‍यो थाहा भएन । कार्यालय–प्रमुख, लेखापाल महिनामा एकपटक पुग्छन् । कहिलेकाहीँ दुई महिनामा पुग्छन् । कसैले सोधखोज गर्दैन । जिल्ला अस्पताल विकास समितिले उठाएको पैसाको दुरुपयोग भएको छ । रक्सी र मासुमा पैसा उडाउने काम भइरहेको छ ।
डेढ/दुई वर्षदेखि मुगुका गाउँमा नियमित खोप पुगेको छैन । यसपालि पोलियो खोप पुग्यो । बाँकी खोप सदरमुकामबाहिर पुगेको छैन । डेढ वर्षदेखि खोप लगाउन नपाएका बच्चाहरूको अवस्थाबारे कसैलाई मतलब छैन । सरकारले खोप नपठाएको होइन । तर, खोप बोकेर लैजानेले बाटैमा फालिदिँदा रहेछन् । लेखापालदेखि हाकिमसम्मले खोप बोकेर लानेहरूको भत्ता खाँदा रहेछन् । तर, खोपचाहिँ पुग्दैन रहेछ । यो सबैले बुझेका छन्, तर कारबाही हुँदैन । सिडिओले पनि केही गर्न सक्दा रहेनछन् ।
०००
कर्णालीका जनतालाई सरकारले र एनजिओहरूले धेरै लगानी गरेका छन् । शिक्षामा धेरै पैसा खर्च भएको छ । मुगुमा मात्र तीन सय ६५ वटा एनजिओ दर्ता छन् । ६०/७० वटा चलिरहेका छन् । कतिपय एनजिओले राम्रै काम पनि गरेका छन् । तर, एनजिओमार्फत पैसा भित्र्याउनेले जम्मै आफैँ हजम गर्दा रहेछन् । त्यहाँका मानिसको सोच नै पिछडिएको छ । बाहिरी दुनियाँसँग कसरी सहकार्य गर्ने, चेतनाका हिसाबले कसरी माथि उठ्ने भन्ने सोच कसैमा छैन ।

प्रस्तुति: पर्शुराम काफ्ले @ NAYAPATRIKA, JETH 14, 2071

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...