Monday, 25 April 2016

प्रा. डा. राजेश खरात-मोदीको जनकपुर भ्रमण रोकिँदा बिग्रियो सम्बन्ध


प्रा. डा. राजेश खरात
अध्यक्ष, दक्षिण एसिया अध्ययन केन्द्र, जेएनयू
 .........................................................................................................................................................
प्रा. डा. राजेश खरात नेपाल–भारत सम्बन्धका जानकार हुन् । उनी नयाादिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) को दक्षिण एसिया अध्ययन केन्द्रका अध्यक्ष हुन् । भारतले नेपाल मामिला प्रभावकारी सञ्चालन गर्न नसक्दा अविश्वास उत्पन्न भएको उनको बुझाइ छ । नेपाललाई भारतले ‘गुजराल डक्ट्रिन’का आधारमा हेर्नुपर्ने धारणा राख्दै आएका खरातसग जेएनयूस्थित निवासमा नयाँ पत्रिकाका पर्शुराम काफ्लेले गरेको कुराकानी : 
===================================================== 


परिवर्तित सन्दर्भमा भारतले नेपाललाई के–कति महत्त्व दिएको छ ?
पाकिस्तानपछि निश्चय पनि नेपाल भारतका लागि महत्त्वपूर्ण छ । नेपालमा भारत अझ बढी केन्द्रित हुनुपर्छ भन्ने म ठान्छु । भारत र पाकिस्तानबीच विभाजनको इतिहास छ, उपनिवेशको इतिहास छ । यी दुई सरकार र समुदायबीच एकखालको घृणाको सम्बन्ध रहँदै आएको छ । तर, भारतको नेपाल सम्बन्ध सरकार र जनता दुवैको तहबाट प्रेमपूर्ण रहँदै आएको छ । नेपाल र भारत दुवै पक्षबाट यो ‘लभ लभ रिलेसन्स’ कायम राख्नुपर्छ । सांस्कृतिक रूपमा भारतको नेपालसँगको सम्बन्ध पाकिस्तान वा अरूसँग तुलनै हुन सक्दैन । यसको कारण नेपाल एउटा हिन्दू राष्ट्र थियो वा भारतमा बहुसंख्यक हिन्दू छन् भन्ने हिसाबले मात्र होइन, बौद्ध धर्म पनि अर्को कारण हो । नेपाल र भारतका जनताबीचको पूजाआजा, परम्परा, मान्यता, संस्कार सबै समान छन् । यी सबै पृष्ठभूमिका आधारमा म भन्छु कि भारतले नेपालसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्छ । भारतका नीति निर्माताले पाकिस्तान वा अरू मुलुकसँग तुलना गरेर नेपालसँगको सम्बन्ध हेर्नु हुँदैन ।

तर, त्यस्तो निकट सम्बन्ध पनि अहिलेसम्म प्रिय बन्न सकेको छैन नि ? 

सन् १९८९ र २०१५ मा नाकाबन्दी भयो । यतिवेला धेरै नेपालीले अघिल्लो नाकाबन्दी बिर्सिसकेका थिए । तर, अहिले जे भयो त्यसलाई डाइजेस्ट गर्न धेरै नै मुस्किल भइरहेको छ । दिनानुदिन नेपालका शिक्षित युवापुस्ता विश्वमा के भइरहेको छ भन्नेमा अपडेट छन् । विश्वव्यापीकरण, मिडिया, सूचना प्रविधि, सञ्चारबारे उनीहरू जानकार छन् । नेपालमा स्वतन्त्रताको काफी अभ्यास भइरहेको छ । उनीहरू भारतले नाकाबन्दी लगाएको भन्दै विरोध गरिरहेका छन्, भलै नाकाबन्दी कसले लगाएको भन्ने द्विविधा यहाँ (दिल्लीमा) पनि छ । नाकाबन्दीको ‘फेस भ्याल्यु’मा भारत थिएन, नेपालका मधेसी थिए । तर, यो सत्य हो कि भारतले नेपालसँगको सम्बन्ध प्रभावकारी रूपमा सम्हाल्न सकेन । यसको कारणबारे नीति–निर्मार्ताले नै भन्न सक्लान् ।
प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालीले नेपालमा प्रेमपूर्वक स्वागत गरे । पशुपतिनाथमा गएर उनले लामो दर्शन गरे । तर, दोस्रोपटक मोदी नेपाल जाँदा त्यस्तो अवस्था किन भएन ? भारतले यसबारे सोच्न सक्नुपर्छ । किनभने मोदीले जनकपुर भ्रमण गर्न चाहेका थिए । सार्कका लागि काठमाडौं जाँदा मोदीलाई सीताको माइती जनकपुर जानबाट रोकियो । मलाई लाग्छ, मोदीलाई जनकपुर जानबाट रोकिएपछि नेपाल–भारत सम्बन्धमा ‘सेटब्याक’ सुरु भएको हो । त्यसले मधेसी आन्दोलनसम्मको परिस्थिति निम्त्याएको हो, जुन आन्दोलनलाई भारतले ब्याकिङ गरेको आरोप लागिरहेको छ । पछि नेपालका संविधान निर्मार्ताले मधेसीको नागरिकता, उनीहरूको भौगोलिक प्रतिनिधित्व समावेश नगरेका कारण सम्बन्ध बिग्रिएर यहाँसम्म आयो । अब कसरी समाधान गर्ने भन्ने भारत र नेपालका नीति–निर्माताका लागि गम्भीर चुनौती हो ।

तपाईंले भन्नुभयो कि मोदीको जनकपुर भ्रमण रोकिँदा सम्बन्धमा असमझदारी सुरु भयो । नेपालका मन्त्री मोदीको स्वागत गर्न जनकपुर गएका थिए, यसमा भारत सरकार नै जिम्मेवार छैन र ?

भारतले कसरी भ्रमण रद्द गर्छ ? मोदीलाई नेपालले निमन्त्रणा गरेको थियो । त्यस सन्दर्भमा बल नेपालको कोर्टमा थियो । जनकपुर क्षेत्रको नेपाली जनसंख्या र केही समूहले कालो झन्डा देखाउने तयारी गरेका थिए । भ्रमणको अगाडि नै विरोध सुरु भएको थियो । मोदी स्थलमार्ग हुँदै जनकपुर जाँदै थिए । त्यहाँबाट उनी काठमाडौं जाने तय भएको थियो । सरकार स्वागतको तयारीमा रहे पनि सायद स्थानीय जनता र केही समूह मोदी भ्रमणको विपक्षमा थिए । देवी सीताको माइतीमा म जान्नँ भन्ने सायद कोही पनि भारतीय नेता वा प्रधानमन्त्री हुँदैनन् । उनीहरू हमेसा जान चाहन्छन् । त्यहाँ मोदीले साइकल वितरण गर्ने कार्यक्रम थियो, त्यसलाई लिएर पनि सायद विरोध भयो । मोदी आफैँले साइकल बाँड्न चाहनुहुन्थ्यो, तर नेपालका विपक्षीले त्यसलाई राम्रो मानेनन् । त्यसकारण मोदीको भ्रमण रोकियो र गडबड त्यहीँबाट सुरु भयो ।

तपाईंले नेपाल र भारतको सम्बन्ध मायामा आधारित भन्नुभयो । तर, जहिले पनि नेपाल भारतबाट आफ्नो सार्वभौमसत्ता, अखण्डताप्रति विश्वस्त हुन सकेको छैन । भारत पनि नेपालतिर सुरक्षाका हिसाबले आश्वस्त हुन सकेको छैन र सधैँ भारतविरोधी गतिविधि भइरहेको भन्दै आएको छ । दुवै एक–अर्काप्रति किन सशंकित भइरहनुपरेको हो ? 

नेपाल सधैँ सार्वभौम छ । कसैले यसमा चुनौती दिन सक्दैन र जरुरी पनि छैन । तपाईंहरूको सार्वभौमसत्तामाथि भारतबाट खतरा भयो भन्ने महसुस भएको अवस्थामा संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय निकायमा जान सक्नुहुन्छ । त्यसकारण तपाईंहरू किन बारम्बार नेपाल सार्वभौम राष्ट्र हो भनिरहनुभएको छ । जब कि यसमा कसैले प्रश्न उठाएकै छैन र उठाउन मिल्दैन पनि । अब यसभन्दा माथि उठेर अघि बढ्नुपर्छ । अन्य मुद्दामा भारत र नेपालबीच सल्टाउनुपर्ने विषय छन् भने कुराकानी गर्नुपर्छ । प्रधानमन्त्री ओली दिल्ली आउँदा भारतीय विश्व मामिला परिषद्मा भारतका विदेशमन्त्री सुष्मा स्वराजले भनेकी थिइन्, ‘भारत नेपालको बिग ब्रदर होइन, इल्डर ब्रदर हो ।’ बिग ब्रदरबाट इल्डर ब्रदरसम्म भारत आइपुग्यो । यहीअनुसार अघि बढौँ भन्ने भारत सरकारको कुरा छ । तर, म देख्छु नेपालीले अझै भारतलाई बिग ब्रदरकै हिसाबले डिल गर्न खोजिरहेका छन् । नेपालको परिप्रेक्ष्य किन बदलिएको छैन, बुझ्न सकिएको छैन । विगतमा भारतले बिग ब्रदरजस्तो आचरण देखाउनुमा चीन फ्याक्टर, भूराजनीतिक चासो, भूरणनीतिक चासो केही परिस्थितिजन्य कारण होलान् । तर, अहिले त्यो छैन र नेपालले यसलाई मात्रै सम्झिरहनु जरुरी छैन ।
अब जहाँसम्म चीनको सवाल छ, नेपाल–चीन सम्बन्ध सबै कुरामा सिम्बोलिक (सांकेतिक) छ । चीनसँग डिल गर्ने, सम्बन्ध राख्ने सार्वभौम देशका हिसाबले नेपालको आफ्नो निर्णय हो । तर, चीनसँग सम्बन्धित नेपालको निर्णयकै कारण भारत झस्किनु आवश्यक छैन । चीनबारे जसरी यहाँ (दिल्लीमा) व्याख्या भइरहेको छ, मैले त्यसलाई ‘ननसेन्स’ भन्ने गरेको छु ।

तर, चीन र नेपालसँगको खुला सिमानालाई देखाउँदै भारतका सरकारी अधिकारीले नेपालबाट सुरक्षा खतरा बढ्यो भनिरहेका छन् नि त ?

म नेपालबाट भारतमा चीनको खतरा देख्दिनँ । उनीहरू के आधारमा त्यत्रा हिमाल पार गरेर नेपाल आउँछन् ? अनि नेपाली जनमानसले उसको प्रवेशलाई स्वीकार कसरी गर्छ ? यो बेकारको कुरा हो । नेपालीहरू सांस्कृतिक हिसाबले पनि चीनियाँहरूसँग नजिक हुँदैनन् । उनीहरू चाइनिज खाना खाँदैनन्, आफ्नै थकाली, नेवारी थाली खान्छन् । अहिले चीन फ्याक्टर बेकारको कुरा हो । तर, कुनै यस्तो समय थियो, त्यतिवेला भारत र नेपाल दुवैले चीन फ्याक्टरको सदुपयोग र दुरुपयोग दुवै गरेका थिए । अहिले भारत सरकार चाइना फ्याक्टरबाट मुक्त हुनुपर्छ । उनीहरू आउनु नै छ भने भारतकै अर्को सीमाबाट आउन सक्छन्, नेपालबाट किन ? भुटानको पनि त सिमाना छ, खुला बोर्डर छ । भुटान बौद्धमार्गी देश हो र भुटान हुँदै चीन भारततिर नजिकको दूरीमा छ, जब कि नेपालतिर ऊ टाढा छ । म विश्वास गर्दिनँ कि अब चीन त्यसरी भारतमा आउनेवाला छ । चीनलाई धेरै कुरा गर्नु छ । र, यो समयमा चीनले नेपालजस्तो सानो मुलुकका लागि भारतसँगको बृहत् व्यापारिक सम्बन्धलाई तिलाञ्जली दिन सक्दैन । चीनलाई ल्याटिन अमेरिका, अफ्रिका, युरोपमा अमेरिकासँग प्रतिस्पर्धा गर्नु छ । चीनले भारतविरुद्ध लड्न नेपाललाई प्रयोग गर्दै छ भन्नेमा म विश्वास गर्दिनँ ।

नेपालसँग सम्बन्ध विस्तारका लागि भारतले अब के गर्नुपर्छ ? 

नेपाल–भारत सम्बन्धमा नराम्रो दाग लागेको छ । यो मेटाउन विश्वासको वातावरण निर्माण गर्नु आवश्यक छ । भारतले नेपाली जनता, नीति निर्माता, राजनीतिक नेतृत्वसँग विश्वासका लागि नयाँ हिसाबले पहलकदमी लिनुपर्छ । भारतले सबै पक्षलाई बराबरीको व्यवहार गर्नुपर्छ सायद यसमा कमी छ । भारतले मधेसी, पहाडी, लिम्बू, गुरुङ वा जोकोहीलाई समान व्यवहार गर्नुपर्छ । त्यसबाहेक नेपालको विकासमा के सहयोग गर्ने हो, त्यो गर्नुपर्छ । नेपालीलाई छात्रवृत्तिको संख्या बढाउनुपर्छ । हरेक शैक्षिक फ्याकल्टीमा नेपालीलाई कोटा दिनुपर्छ । आर्मीमा त छँदै छ गोर्खा रेजिमेन्ट । नेपालको विकासमा भारतले विनासर्त सहयोग गर्नुपर्छ । प्रधानमन्त्री आइके गुजरालले तय गरेको गुजराल डक्ट्रिन लागू गर्नुपर्छ नेपालका सन्दर्भमा । भारतले नेपालसँग समानता होइन, गुजरालले भनेजस्तो बढी दिनुपर्छ । गुजराल डक्ट्रिन लागू हुने हो भने द्विपक्षीय सम्बन्ध सुमधुर हुन्छ । अर्को, ‘कन्सेप्ट अफ बेनिफिसियल वाइल्याट्रलिज्म’ (द्विपक्षीय फाइदामा आधारित अवधारणा), जसलाई भारतीय जनता पार्टीको सरकारका विदेशमन्त्री हुँदा अटल विहारी बाजपेयीले १९७७ मा अघि सार्नुभएको थियो, गुजराल डक्ट्रिनको आधार यही थियो । नेपालसँग एक हातले लिने, अर्काे हातले दिने सम्बन्ध होइन, नेपाललाई केबल दिने उताबाट नलिने नीति लागू गर्नुपर्छ । नेपालसँग भारतलाई दिने चीन सद्भावबाहेक के छ र ? यदि भारतलाई नेपालको सद्भाव नै चाहिन्न भने यथास्थितिमा रहन्छ सम्बन्ध । भारतले नेपालबाट सद्भाव लिने र नेपाललाई सकेको मद्दत गर्ने पहलकदमी लिनुपर्छ ।
पाँच महिनाको नाकाबन्दीका समयमा भारतले स्पष्ट अडान लिएन । काठमाडौंसँग के गर्ने, मधेसीसँग के गर्ने भन्नेमा भारतको भूमिका स्पष्ट भएन । भारत द्विविधामा थियो । मधेसीले भारत सरकारबाट जस्तो मद्दत चाहेका थिए, त्यो पाएनन् । मधेसीले नै भारतका ट्रकवालामाथि आक्रमण गरेका हुन् । मधेसीले काठमाडौं र भारतको बीचमा मधेसलाई स्यान्डविच बनाउन खोजेका थिए । अन्तत: उनीहरूकै हालत खराब भयो । न काठमाडौंसँग राम्रो भयो, न भारतसँग मधेसीको राम्रो भयो, न त जनता नै साथमा रहे । भारतले मधेसी आन्दोलनलाई राम्रोसँग बुझ्न सकेन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणपछि नेपाल–भारत सम्बन्ध सुमधुर भएको हो कि उस्तै छ ? 

प्रधानमन्त्री ओली भारत आउनुभयो, केही समझदारी भए । तर, नेपाल भारत असमझदारी हटेको छैन । यसका लागि समय लाग्छ । विदेशमन्त्री स्वराजले भन्नुभयो, ‘हामीबीच कम्तीमा भारत पक्षतिर असमझदारी छैन । अब असमझदारी छ कि छैन भन्ने पुष्टि नेपाली पक्षले गर्नुपर्छ ।’

ओलीको चीन भ्रमणलाई दिल्लीमा किन संशयसाथ हेरियो नि ? 

उहाँ चीन जानुभयो । यो सामान्य परम्परा हो । उहाँ चीन गएर भारत आउनुभएन, भारत आएर चीन जानुभयो । प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई लिएर भारत सरकार चिन्तित हुनुपर्ने म कारण देख्दिनँ ।

फरक प्रसंग, नेपाल–भारत सम्बन्ध सञ्चालनका विषयमा भारतमा निर्णायक पक्ष को हो ? प्रधानमन्त्री, विदेश मन्त्रालय, खुफिया एजेन्सी, राजनीतिक दलको नेतत्वपंक्ति वा अरू कोही ?

विदेश–नीति सञ्चालनमा निर्णायक फ्याक्टर प्रधानमन्त्री नै हुन् । नेपालका सन्दर्भमा पनि निर्णयकर्ता प्रधानमन्त्री मोदी हुन् । मोदीले कसैको कुरा सुनेर नेपालका सन्दर्भमा निर्णय लिन्छन् जस्तो मलाई लाग्दैन । उनी हरेक कर्नरबाट विचार लिइरहेका छन् । अनि आफ्नो निर्णय गरिरहेका छन् । नेपाली धरातलबाट सूचना, सुझाब सल्लाह पनि मोदीकहाँ पुगिरहेको हुन्छ । अब मलाई लाग्छ कि नेपाल र भारतबीच सुमधुर सम्बन्ध कसले चाहेको छैन भन्ने पनि नीति–निर्माताले राम्रो अध्ययन गर्नुपर्छ । त्यहीँबाट नयाँ पहलकदमी लिनुपर्छ ।

भारत नेपालमा हिन्दू राष्ट्र चाहन्छ भन्ने एकथरिको बुझाइ छ । नेपालसँग भारतको असमझदारीको कारण यो पनि हो ? 

भारतमा केही मानिस थिए, जो नेपाल हिन्दू राष्ट्र भएको हेर्न चाहन्थे । तर, यो भारतको समग्र दृष्टिकोण होइन । भारत सरकारको पनि यो दृष्टिकोण होइन । शंकराचार्य पीठमा बस्नेहरू, गोरखपुरका आदित्यनाथलगायत केहीले मन नपराएका हुन् । तर, नेपाल जेसुकै भए पनि यहाँ फरक पर्दैन । हिन्दू राष्ट्र हुँदा पनि भारतलाई फरक थिएन, भारतको राम्रो सम्बन्ध थियो, अहिले धर्मनिरपेक्षता हुँदा पनि फरक छैन । नेपालको धर्म भारतका जनताको चासोको विषय होइन । हिन्दू यदि एजेन्डा थियो भने नेपालमा मधेसी हिन्दू छन्, पहाडी हिन्दू छन्, जनजाति हिन्दू होलान् । किन उनीहरूबीच दरार आइरहेको छ ? मेरो दृष्टिकोणमा राज्यसञ्चालनको मामिलामा धर्म जोडिनु हुँदैन ।

नेपाल र भारतको खुला सिमाना सुरक्षाका दृष्टिले संवेदनशील हुँदै गएको र बन्द गर्नुपर्छ भन्ने धारणा पनि कतिपय वृत्तबाट आएको छ । तपाईंलाई यसबारे के लाग्छ ?

कुन सुरक्षा ? सामाजिक सुरक्षा, आर्थिक सुरक्षा, रणनीतिक सुरक्षा वा के ? नेपालबाट के सुरक्षा खतरा छ ? खुला सिमानाबाट मानव तस्करी भइरहेको छ, यो खतरालाई रोक्नुपर्छ । खुला सिमानाबाट अरू के असुरक्षा छ भारतलाई ? किन सिमाना बन्द गर्ने ? यो आवश्यक छैन । घरको ढोका किन बन्द गर्ने ? तपाईं युरोपमा पेरिस पुग्नुभयो भने सीधै डेनमार्क, नर्वे, फिनल्यान्ड पुग्न खुला छ । संसारमा सिमाना खुला हुँदै गएका वेला भारत–नेपाल सिमाना बन्द गर्ने अवधारणाको औचित्य म देख्दिनँ । सीमा बन्द गरेर कसैलाई फाइदा हुँदैन, यो बेकारको बहस हो ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको भूमिकाबारे के भन्नुहुन्छ ? 

सार्क प्रभावकारी छैन । आसियान, इयू हेर्नुहुन्छ भने सार्क काहीँ छैन । वास्तवमा सार्क एउटा अवसर थियो, तर अहिले त्यसलाई भार बनाइएको छ । यो भारत र पाकिस्तानका लागि होइन, साना र कमजोर मुलुक नेपाल, भुटान, श्रीलंका, बंगलादेश, मालदिभ्सका लागि राम्रो अवसर हो । साना मुलुकहरू अन्तर्राष्ट्रिय प्लेटफर्ममा गएर आफ्ना कुरा राख्ने अवस्था हुँदैन, सार्कजस्ता क्षेत्रीय फोरम त्यसका लागि उपयुक्त हुन सक्छ । सार्कलाई साना मुलुकका पक्षमा प्रभावकारी बनाउनुपर्छ, यसको औचित्य खत्तम भइसकेको छैन । सार्कका साना मुलुकबीच उपक्षेत्रीय साझेदारी जरुरी छ ।

सार्कमा चीनको प्रवेश आवश्यक छ कि छैन ? 

मेरो विचारमा चीन सार्कको सदस्य राष्ट्रका रूपमा आएपछि मात्रै आर्थिक गतिविधि बढ्नेछ र सार्कको प्रभावकारिता पनि देखिनेछ । तर, चीन आयो भने खान्छ भन्ने डरबाट भारत प्रभावित छ । पाकिस्तानलाई अहिले भारतले डोमिनेसन गरिरहेको भन्ने डर भएजस्तै भारतलाई चीनको डर छ । चीन र पाकिस्तान मिले भने भारतलाई खतरा हुन्छ र नेपाल पनि उतैतिर जान्छ भन्ने भारतीय नीति निर्माताको बुझाइ छ । चीन अहिले पर्यवेक्षक छ, त्यही रूपमा रहोस् भन्ने भारतको चाहना छ । त्यसकारण अहिले चीनलाई सार्कको पूर्ण सदस्यका रूपमा कोही पनि भारतीय उसलाई स्वागत गर्न तयार छैनन् । तर, सार्कमा चीनलाई रोक्न भारतले सक्दैन । आज रोक्न सक्ला, तर सधैँ सक्दैन । आगामी पाँच वर्षमा सार्कमा चीन आउँछ । यदि पाँच वर्षमा चीन आउँछ नै भने अहिले नै किन नल्याउने ? चीन सार्कका लागि अभिशाप वा वरदान दुवै सावित हुन सक्छ । यसका लागि पर्खिनुपर्छ । पहिल्यै चीनलाई इन्कार गर्नु ठीक हुँदैन । चीन सदस्य हुँदैमा भारतसँगको व्यापार घट्ने होइन । सार्कमा चीन आउँदैमा नेपालमा आकाशबाट सामान खसाउने हो र ? चीनको सबैभन्दा आर्थिक साझेदारी भारतसँगै हुने हो, चाहे ऊ सार्कमा आओस् वा नआओस् ।
PUBLISHED A@NAYAPATRIKA DAILY- APRIL 25, 2016 (2073-1-13)

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...