Wednesday 9 July 2014

मसाल, एमाओवादी र एमालेको सङ्गठनात्मक प्रणाली

मोहनविक्रम सिंह
 महामन्त्री, नेकपा मसाल
............................................
हेटौडा महाधिवेशन र विराटनगरको सम्मेलनपछि एमाओवादीमा र नवौँ महाधिवेशनका सन्दर्भमा एमालेमा तीव्र सङ्घर्ष देखा परेको छ । सामान्यतः एउटा माक्र्सवादी–लेनिनवादी पार्टीमा महाधिवेशन वा सम्मेलनका बेलामा व्यापक रूपले छलफल चल्नु स्वभाविक हो र त्यो प्रजातान्त्रिक पद्दति पनि हो । तर ती दुवै सङ्गठनहरूमा जसरी त्यो सङ्घर्ष चलेको छ, त्यो माक्र्सवादी–लेनिनवादी सङ्गठन प्रणाली अनुसार चलेको छैन र त्यो सङ्घर्ष बुर्जुवा पार्टीहरूमा जस्तै चल्ने गरेको छ । त्यो सङ्घर्षको क्रममा हददर्जाको अनुशासनविहीनता र अराजकता देखा पर्ने गरेको छ । ती दुवै सङ्गठनका नेता र कार्यकर्ताहरूले उनीहरूभित्र देखा परेको त्यो सङ्घर्ष स्वस्थ र अनुशासित प्रकारको नभएको कुरा महशुस गरेका छन् । त्यसरी त्यस प्रकारको सङ्घर्ष ती सङ्गठनहरूको नियन्त्रणभन्दा बाहिर गएको छ । 
वास्तवमा आज ती सङ्गठनहरूभित्र अनुशासनविहिन र अराजकतावादी प्रकारले जुन अन्तरद्वन्द चलेको देखिन्छ, त्यो अकस्मात अगाडि आएको कुरा होइन । त्यो उनीहरूले वर्षौँदेखि अपनाउँदै आएको गैर–माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक पद्दतिको परिणाम हो । हामीले यो बारम्बार भन्ने गरेका छौँ कि ती दुवै सङ्गठनहरूले माक्र्सवादी–लेनिनवादी सिद्धान्त वा राजनीतिक लाइनलाई त्यागिसकेका छन् वा तीव्र गतिले त्याग्ने क्रममा छन् । त्यस प्रकारको विचलन ती दुवै सङ्गठनहरूको नेपालमा पूँजीवादी प्रजातान्त्रिक क्रान्ति पूरा भैसक्यो वा त्यसका आधारभूत कार्यहरू पूरा भैसक्यो भन्ने अवधारणामा देखा परेको छ । यो निश्चित रूपले अवस्तुवादी र गैर माक्र्सवादी–लेनिनवादी सोचाइ हो । तर यो लेखमा हामीहरू उनीहरूको सैद्धान्तिक र राजनैतिक चिन्तन प्रणालीबारे छलफल गर्नेपट्टि लाग्दैनौँ र यो लेख मुख्य गरेर उनीहरूको सङ्गठनात्मक पक्षको चर्चासम्म मात्र सिमित रहने छ । त्यस सिलसिलामा ती दुवै सङ्गठनहरू र ने.क.पा.(मसाल)को सङ्गठन प्रणालीमा भएको अन्तरमाथि पनि प्रकाश हाल्ने हाम्रो प्रयत्न हुनेछ । 
कम्युनिष्ट पार्टीको सङ्गठन प्रणाली पूँजीवादी प्रजातान्त्रिक पार्टीहरूकोभन्दा मौलिक रूपले बेग्लै हुन्छ । माक्र्स, एङ्गेल्सको पालामा मजदुरहरूको पार्टीको नाम सामाजिक प्रजातान्त्रिक पार्टी थियो । माक्र्स–एङ्गेल्सले कम्युनिष्ट घोषणापत्र लेख्ने वेलामा त्यो वेलाको सङ्गठनको नाम कम्युनिष्ट लिग थियो । तर त्यसको विघटन भएपछि पार्टीको नाम सामाजिक प्रजातान्त्रिक पार्टी रहेको थियो । माक्र्सको मृत्युपछि एङ्गेल्सले नेतृत्व गरेको रपछि लेनिन समेत सहभागि भएको पार्टीको नाम पनि सामाजिक प्रजातान्त्रिक पार्टी नै थियो । रूसमा समाजवादी क्रान्ति सम्पन्न हुने वेलामा पनि पार्टीको नाम त्यही नै थियो ।पछि लेनिनले पार्टीको नाम बदलेर कम्युनिष्ट पार्टी राखे र कम्युनिष्ट पार्टीको सङ्गठन प्रणालीमा पनि नयाँ प्रकारले सङ्गठिन गर्ने कुरा जोड दिए । त्यस प्रकारको प्रणालीले माक्र्स वा एङ्गेल्सको पालाको प्रथम वा द्वितीय अन्तर्राष्ट्रिय वा विभिन्न देशका सामाजिक प्रजातान्त्रिक पार्टीहरूले अपनाउँदै आएको सङ्गठनात्मक प्रणालीभन्दा मौलिक रूपले बेग्लै थियो । त्यो सङ्गठन प्रणालीलाई लेनिनवादी सङ्गठनात्मक प्रणाली भन्ने गरिन्छ । स्तालिन र माओले त्यो प्रणालीलाई अरू उच्चस्तरमा विकसित गरे र संसारभरका माक्र्सवादी–लेनिनवादी पार्टीहरूले त्यो सङ्गठनात्मक प्रणालीको अभ्यास गर्दै आएका छन् । तरपछि कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवाद हावी हुँदै गएपछि उनीहरूले “सिर्जनात्मक विकास” को नाममा माक्र्सवादी–लेनिनवादी सिद्धान्त र मान्यताहरूलाई मात्र होइन, लेनिनवादी सङ्गठनात्मक प्रणालीमा पनि संशोधन गर्दै गए । 
लेनिनले यो कुरामा जोड दिएका थिए कि कम्युनिष्ट पार्टी सर्वहारा वर्गको पार्टी भएपनि त्यो आम जनताको पार्टी होइन र जनताका सचेत र अग्रगामी तत्वहरूको पार्टी हो । त्यस अनुसार त्यसको सङ्गठनात्मक प्रणाली पनि बुर्जुवा वा सामाजिक प्रजातान्त्रिक पार्टीहरूकोभन्दा बेग्लै र उच्च प्रकारको हुनुपर्दछ । लेनिनले त्यस प्रकारको सङ्गठनात्मक प्रणालीलाई विकसित गर्ने वेलामा खालि मेन्शेविक र दक्षिणपन्थीहरूको मात्र होइन, रोजा लग्जम्वर्ग जस्ता क्रान्तिकारीहरूका विरुद्ध पनि कडा सैद्धान्तिक सङ्घर्ष गर्नु परेको थियो । लेनिनको पार्टीलाई जनताका सचेत र अग्रगामी तत्वहरूको पार्टी बनाउने मान्यताका विरुद्ध ख्रुश्चेवले पार्टीलाई जनताको पार्टी बनाउने र त्यसरी त्यसमा खुला रूपले सदस्यता दिने अवधारणा अगाडि ल्याएका थिए । त्यसै गरेर विश्वका विभिन्न दक्षिणपन्थी संशोधनवादी पार्टीहरूले एक वा अर्को प्रकारले लेनिनवादी सङ्गठनात्मक प्रणालीलाई खुकुलो पार्दै लगे । त्यस प्रकारको संशोधनवादी सङ्गठनात्मक प्रणालीलाई एमाओवादी र एमालेले पनि अपनाउँदै गएका छन् । अहिले उनीहरूका सङ्गठनहरूभित्र देखा परेको चरम प्रकारको अनुशासनविहीनता, अराजकता, उनीहरूले अपनाएको त्यही दक्षिणपन्थी संशोधनवादी प्रणालीको नै परिणाम हो । 
एमालेले सैद्धान्तिक र राजनैतिक रूपले दक्षिणपन्थी दिशा समात्ने क्रममा सङ्गठनात्मक रूपले पनि दक्षिणपन्थी संशोधनवादी प्रणाली अपनाउँदै गयो । उनीहरूले आफ्नो सङ्गठनलाई ठूलो बनाउने क्रममा सदस्यता वा नेतृत्वमा पदोन्नतिसम्बन्धी माक्र्सवादी–लेनिनवादी पद्धतिलाई तिलाञ्जली दिदै गए र सबै प्रकारका मानिसहरूलाई आफ्नो सङ्गठनभित्र सामेल गर्दै गए । त्यसरी उनीहरूको सङ्गठन ठूलो बन्दै गयो । तर त्यसभित्रको माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक प्रणाली समाप्त हुँदै गयो । त्यसको परिणामस्वरूप उनीहरूको सङ्गठनका विभिन्न स्तरमा सही दृष्टिकोणका आधारमाभन्दा पनि आर्थिक लाभ, व्यक्तिगत फाइदा वा महत्वकांक्षाका आधारमा काम गर्ने व्यक्तिहरूको नै नेतृत्व तहमा कब्जा हुँदै गयो र उनीहरूका आधारमा नै बेग्ला–बेग्लै गुटहरूको निर्माण हुन थाल्यो । उनीहरूभित्र कुनै सिद्धान्त वा विचारका आधारमा होइन, व्यक्तिगत फाइदा वा महत्वकांक्षाका आधारमा नै बेग्लाबेग्लै गुटहरूको निर्माण हुने गरेको छ । उनीहरूले लेनिनवादी सङ्गठनात्मक प्रणालीमा सृजनात्मक विकासको नाममा जुन सङ्गठनात्मक प्रणाली अपनाए, ती सबैको संयुक्त परिणाम नै अहिले उनीहरूमा देखा परेको चरम प्रकारको अनुशासनविहीनता, अराजकता र गुटवन्दी हुन् । उनीहरूको नवौँ महाधिवेशनको सन्दर्भमा त्यस प्रकारका कुराहरू खुला रूपले बाहिर आएका छन् । महाधिवेशन सम्पन्न हुने वेलासम्म वा त्यसपछि पनि त्यस प्रकारका प्रवृत्तिहरूको परिणाम के हुने हो ? त्यसबारेपछि नै थाहा हुनेछ ।
माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक प्रणालीको चर्चा गर्दा त्यसभित्र देखा पर्ने नोकरशाही पद्दतितिर पनि हाम्रो ध्यान जानु पर्दछ । प्रचण्डको नेतृत्वमा त्यस प्रकारको पद्दतिले चरम रूपमा विकास गर्यो । त्यो सङ्गठनभित्र अराजकतावादी व्यक्तिवाद हावी भयो । सबै अधिकार उनको हातमा केन्द्रित भयो । सङ्गठनभित्र जनवादलाई पूरै दवाइयो । पार्टीको कुनै नेता वा सदस्यले कुनै पनि मतभेद देखाउने वित्तिकै त्यसमाथि पूरै दमन गर्ने नीति अपनाइयो । स्वयं डा. बाबुराम भट्टराइ पनि त्यस प्रकारको दमनको शिकार बनेका थिए । उनीहरूको सङ्गठन छाड्ने कुनै पार्टी सदस्यलाई हत्यासम्म गर्ने कार्य गरियो । का. रुद्र तिमिल्सिनाले माओवादी सङ्गठनलाई छाडेर हाम्रो सङ्गठनमा सामेल भएको कारणले नै उनको हत्या गरिएको थियो । रोल्पाबाट उनका लडाकू दस्ताहरू छाडेर प्यूठानतर्फ आएका कतिपय महिलाहरूलाई दाम्लाले बाँधेर पिट्दै लगेका कैयौँ उदाहरणहरू छन् । कतिपय महिला लडाकूहरूलाई हाम्रो पार्टीले आश्रय दिएर रक्षा गर्ने काम गरेको थियो । त्यही प्रकारले कतिपय निरपराध जनता वा विरोधी पार्टीका कार्यकर्ताहरूलाई अपहरण वा हत्या गरेका पनि कैयौँ उदाहरणहरू छन् । हाम्रो पार्टीका कैयौँ कार्यकर्ताहरूलाई अपहरण गरेका वा हत्या गरेका पनि कैयौँ उदाहरणहरू छन् । त्यो निश्चित रूपले सामाजिक फासिवादी प्रकारको सङ्गठनात्मक प्रणाली थियो । त्यो प्रणालीपछि दक्षिणपन्थी संशोधनवादी रूप लिदै गयो । 
माओवादीले आफ्नो सङ्गठनलाई ठूलो र शक्तिशाली बनाउने नाममा पार्टी सदस्यता सम्वन्धी माक्र्सवादी– लेनिनवादी पद्धतिलाई तिलाञ्जली दिएर करिब करिब खुला प्रकारले आफ्नो सङ्गठनमा सदस्यहरू भर्ती गर्ने नीति अपनाए । त्यस सिलसिलामा उनीहरूले पार्टी सदस्यतालाई आवश्यक पर्ने न्यूनतम शर्तहरू समेतको ख्याल नगरिकन आवारा सर्वहारा वर्ग, समाज विरोधी तत्व र अन्य विभिन्न प्रकारका अवाञ्छित तत्वहरू समेतलाई आफ्नो सङ्गठनमा सामेल गर्दै गए । विभिन्न कमिटी वा नेतृत्वमा पदोन्नति गर्ने सन्दर्भमा पनि उनीहरूले माक्र्सवादी–लेनिनवादी पद्दतिहरूको उपेक्षा गर्दै गए । कुनै व्यक्तिलाई नेतृत्वमा पद्दोन्नति गर्ने वेलामा उसको दृष्टिकोण, अनुशासन, जिम्मेवारीको भावना र सबैभन्दा मुख्य रूपमा उसमा सर्वहारा दृष्टिकोणको कति विकास भएको छ, त्यो कुरामाथि ध्यान दिनुपर्ने आवश्यकता हुन्छ । तर उनीहरूले ती सबै कुराहरूको उपेक्षा गर्ने नीति अपनाए विभिन्न स्तरका कमिटि र नेतृत्वदायी समितिहरूामा समेत अराजक र अनुशासनविहिन तत्वहरूको सङ्ख्या बढ्दै गयो । यहाँसम्म कि सशस्त्र सङ्घर्षको कालमा ठूलो पैमानामा जनतामाथि कुटपिट, लुटपिट गर्ने वा त्यसरी लुटिएको सम्पत्तिलाई व्यक्तिगत सम्पत्तिको रूपमा जम्मा गर्ने व्यक्तिहरूलाई पनि नेतृत्वमा पदोन्नति गर्ने कार्यप्रणाली अपनाइयो । दैलेखको डेकेन्द्रराज हत्याकाण्ड वा अधिकारी दम्पतिका पुत्रको हत्या जस्ता अपराधको लागि जिम्मेवार कार्यकर्ताहरूमाथि तुरुन्तै कार्वाही गरिनु पथ्र्यो । तर उनीहरूलाई बचाउने नीति अपनाइएको छ । त्यसबाट उनीहरूको त्यस प्रकारको सम्पूर्ण सङ्गठन प्रणाली नै सामाजिक फासिवादी प्रकारको भएको कुरा बुझिन्छ । ती सबै कुराहरूको सम्मिलित परिणाम अहिले उनीहरूभित्र चरम प्रकारको अनुशासनविहीनता, अराजकता वा अन्तरद्वन्द्व प्रकट भएको छ । यहाँ उल्लेखनीय छ कि उनीहरूभित्र जुन अन्तरद्वन्द्व चलिरहेको छ, त्यो कुनै सिद्धान्त वा विचारमा आधारित छैन र एकप्रकारको व्यक्तिगत प्रतिष्पर्धा वा सङ्गठनात्मक गुटवन्दीमाथि नै आधारित छ । 
एमाओवादी र एमाले समेतले अपनाएको त्यस प्रकारको सङ्गठनात्मक प्रणालीभन्दा मसालको सङ्गठनात्मक प्रणाली बेग्लै छ । हाम्रो पार्टीले लगातार नै लेनिनवादी सङ्गठनात्मक प्रणालीका आधारमा पार्टीको सङ्गठनलाई सुदृढ गर्ने प्रयत्न गर्दै आएको छ । हाम्रो पार्टीको इतिहासमा पनि कैयौँपल्ट चरम प्रकारका अनुशासनविहीनता, अराजकता वा गुटवन्दीका अवस्थाहरू देखा पर्ने गरेका छन् । द्वितीय महाधिवेशन, तृतीय महाधिवेशन, चौथो महाधिवेशन, पाँचौँ महाधिवेशन वा छैठौँ महाधिवेशनपछि एकताकेन्द्रसित पार्टी एकता गरेपछि पनि हाम्रो पार्टीमा त्यस प्रकारका अवस्थाहरू उत्पन्न हुने गरेका छन् । तर त्यस प्रकारका स्थितिहरूको सामना गर्दै हामीले सधै लेनिनवादी सङ्गठनात्मक पद्धति अनुसार पार्टीलाई सुदृढ गर्ने प्रयत्न गर्दै आएका छौँ । हामीले एकातिर जनवाद र अर्कातिर केन्द्रियताका बीचमा सामन्जस्यता कायम गर्ने प्रयत्न गर्दै आएका छौँ । हाम्रो पार्टीमा नेतृत्व तहदेखि आम सदस्यहरूसम्ममा विश्व दृष्टिकोण र लेनिनवादी सङ्गठन प्रणालीबारे प्रशिक्षण दिने लगातार प्रयत्न गरिन्छ । त्यसका लागि नियमित रूपले पार्टी स्कूलको सञ्चालन गर्नुको साथै जिल्लास्तरमा पनि लगातार पार्टी प्रशिक्षणको व्यवस्था गरिन्छ । पार्टी सदस्य बनाउँदा सदस्यतासम्बन्धी नियमहरूलाई पालन गर्ने प्रयत्न गरिन्छ । कसैलाई कुनै कमिटीमा वा नेतृत्व तहमा समेत पदोन्नती गर्दा उनीहरूको दृष्टिकोण, अनुशासन सक्रियता वा सम्पूर्ण रिकर्ड कुन प्रकारको छ ? त्यसको मूल्याङ्कन गरिन्छ । कुनै साथीहरूमा नीतिगत, सङ्गठनात्मक वा व्यवहारिक रूपमा पनि कुनै कमजोरी देखा परेमा त्यसबारे छानविन गर्ने, वा आवश्यकताअनुसार आलोचना र कार्वाही पनि गर्ने गरिन्छ । केन्द्रीय कमिटी, पि.वी. वा केन्द्रिय कार्यालयका वैठकहरू नियमित रूपले हुन्छन् र सामुहिक रूपले निर्णयहरू गरिन्छन् । पार्टीको अनुशासन उल्लङ्घन गर्ने, जिम्मेवारी पूरा नगर्ने कार्यहरूको लागि निष्पक्षतापूर्वक छानवीन गरेर अनुशासनका कार्वाहीहरू गरिन्छन् । सार्वजनिक रूपमा भएका गल्तीहरूका लागि सार्वजनिक रूपमा नै आलोचना गरिन्छ भने आन्तरिक रूपमा भएका गल्तीहरूका लागि सम्बन्धित कमिटीदेखि तलसम्म आलोचना गर्ने गरेर सर्कुलर गरिन्छ । हाम्रो पार्टीमा महामन्त्री, पि.वि.एम.वा केन्द्रिय समितिका सदस्यहरू समेतमाथि त्यस प्रकारका कार्वाहीहरू गरिएका कैयौँ उदाहरणहरू छन् । 
कुनै पनि विषयमा निर्णय गर्दा सामुहिक रूपले छलफल गरिन्छ । तर पार्टी बाहिर केन्द्रद्वारा पारित भएका नीतिहरूलाई नै लगिन्छ र सार्वजनिक रूपमा कुनै मतभेद प्रकट गर्ने गरिन्न । मतभेद राख्ने साथीहरूले पनि आफ्नो मतलाई पार्टीभित्र नियम अनुसार सञ्चालन गर्न पाउने अधिकारलाई सुरक्षित राख्दै पार्टी बाहिर स्वीकृत नीतिलाई नै लैजाने प्रणालीको कडाइपूर्वक अभ्यास गरिन्छ । बताइराख्नु पर्ने आवश्यकता छैन कि एमाओवादी र एमालेमा अहिले देखा परिरहेको प्रणालीका विपरित मसालले अपनाएको त्यो प्रणाली नै सही माक्र्सवादी–लेनिनवादी पद्धति हो । 
हाम्रो पार्टीले केही पहिले दुई÷तीन वर्षसम्म सुदृढीकरण कार्यक्रमको सञ्चालन गरेको थियो भने अहिले आठौँ महाधिवेशनको तैयारीको रूपमा शुद्धीकरण कार्यक्रमको सञ्चालन गरिरहेको छ र त्यो कार्यक्रमको पूर्व तैयारीका रूपमा शुद्धीकरणसम्बन्धी प्रशिक्षणको सञ्चालन गरिरहेको छ । वैशाखदेखि शुरु भएको त्यो कार्यक्रम साउन सम्ममा समाप्त हुनेछ । त्यो कार्यक्रमको सिलसिलामा नेतृत्वदेखि आम पार्टी सदस्यहरूको पार्टीप्रतिको दृष्टिकोण, अनुशासन, सक्रियता, जिम्मेवारीको भावना समेतलाई माक्र्सवादी–लेनिनवादी दृष्टिकोण अनुसार विकसित गर्ने प्रयत्न हुँदै आएको छ । हामीलाई विश्वास छ, त्यसरी पार्टीको आठौँ महाधिवेशनलाई सही अर्थमा सफल पार्न मद्दत पुग्नेछ । 
हाम्रो पार्टीले माक्र्सवादी–लेनिनवादी मान्यता र सङ्गठनात्मक प्रणाली वा जनवादी केन्द्रियताका आधारमा नै आफ्नो सङ्गठनलाई विकसित गर्ने वा सुदृढ गर्ने प्रयत्न गर्दै आएको हुनाले नै अहिले हाम्रो पार्टीमा तलदेखि माथिसम्म दृढ पार्टी एकता कायम छ । पार्टीमा कुनै गुटवन्दी छैन । पार्टीले पारित गरेका कुनै नीति वा कार्यक्रमहरू विना कुनै मतभेद वा विरोध देशव्यापी रूपमा लागू हुने गर्दछन् । पार्टीको यस प्रकारको स्थिति तथा एमाओवादी र एमालेहरूको सङ्गठनात्मक स्थितिहरूको बीचमा सरसरी प्रकारले पनि अध्ययन गर्ने हो भने दुवै पक्षको सङ्गठनात्मक प्रणालीको बीचमा भएको मौलिक अन्तरलाई बुझ्न गारो पर्ने छैन । त्यसबाट पार्टीको सङ्गठनलाई मसालले झैं माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक प्रणाली अनुसार सङ्गठित गर्नु र एमाओवादी तथा एमालेले झैं माक्र्सवादी–लेनिनवादी मान्यताहरू छाडेर सङ्गठन गर्नुका बीचमा के फरक हुँदो रहेछ ? त्यो बुझ्न पनि गारो पर्दैन । 
हाम्रो पार्टीको अहिलेको सङ्गठनात्मक अवस्था स्वतः तयार भएको होइन । हामीले पार्टी सङ्गठनभित्र वा बाहिरका गलत विचारहरूका विरुद्ध लामो, कडा र सम्झौताहीन सङ्घर्ष गरेर नै पार्टीको आजको अवस्था कायम भएको हो । विश्वव्यापी रूपमा र नेपालमा पनि लेनिनवादी सङ्गठनात्मक प्रणालीलाई तिलाञ्जली दिने एक प्रकारको लहर नै आएको छ । त्यस प्रकारको लहरका विरुद्ध हामीले कडा, सैद्धान्तिक र सङ्गठनात्मक सङ्घर्ष गर्नु परेको छ । देशको अहिलेको समाजको संरचनाले गर्दा पार्टीमा मुख्य रूपले निम्न पूँजीपति वर्गबाट नै सदस्यहरू आउने गर्दछन् र त्यसरी सङ्गठनको स्वरूप मूल रूपले निम्न पूँजीवादी प्रकारको नै छ । त्यसको परिणामस्वरूप पार्टी सङ्गठनमा निम्न पूँजीवादी सोचाइहरू बारम्बार र विभिन्न रूपमा देखा पर्ने गर्दछन् । सैद्धान्तिक र सङ्गठनात्मक रूपले धेरै परिश्रम गरेपछि नै तिनीहरूमाथि विजय प्राप्त गर्न सकिन्छ र हामीले लगातार योजनावद्ध र सङ्गठित रूपले त्यो दिशामा प्रयत्न गर्दै आएका छौँ । तर एकपल्ट त्यस प्रकारको सफलता प्राप्त गरिसकेपछि पनि लगातार त्यो दिशामा सङ्घर्ष गरिरहनु पर्दछ । त्यसरी नै हामीले पार्टीको माक्र्सवादी–लेनिनवादी चरित्रलाई बचाउन सक्छौँ र सक्नु पर्दछ । तर यस सन्दर्भमा हामी एउटा कुरामा स्पष्ट हुनुपर्दछ ः जब पनि हाम्रो त्यस प्रकारको प्रयत्नमा शिथिलता आउँछ वा एक वा अर्को प्रकारले हाम्रो त्यस प्रकारको प्रयत्न असफल हुन्छ भने त्यो अवस्थामा हाम्रो पार्टी पनि सङ्गठनात्मक रूपले एमाओवादी वा एमालेको जस्तै सङ्गठनात्मक अवस्थामा पतन हुनु अवश्यवम्भावी छ । संसारका धेरै कम्युनिष्ट पार्टीहरूको त्यसरी पतन भएका उदाहरणहरू छन् । त्यसैले त्यस प्रकारको स्थिति आउन नदिनका लागि हामीहरू सैद्धान्तिक र सङ्गठनात्मक रूपले पनि लगातार प्रयत्नशील हुनुपर्ने आवश्यकता छ । 
अन्तमा एउटा कुरा । यहाँ हामीहरूले खालि सङ्गठनात्मक पक्षको नै चर्चा गरेका छौँ । तर निर्णयात्मक कुरा सैद्धान्तिक र राजनैतिक पक्ष हो । कुनै पार्टी वा सङ्गठनको सिद्धान्त वा राजनैतिक लाइन गलत भएपछि त्यसको असर सङ्गठनात्मक पक्ष वा कार्यप्रणालीमा पनि पर्दछ । एमाओवादी र एमालेको माक्र्सवादी–लेनिनवादी सिद्धान्त वा क्रान्तिकारी राजनीतिक लाइनबाट विचलन हुँदै गएपछि त्यस अनुसार उनीहरूको सङ्गठनात्मक प्रणालीले पनि गैर माक्र्सवादी–लेनिनवादी स्वरूप लिंदै जानु स्वभाविक हो र त्यही हुँदै गएको छ । तर यो लेखमा, जस्तो किमाथि भनियो, हामी त्यो पक्षको चर्चा गर्नपट्टि लाग्दैनौँ ।
मिति ः २०७१ असार २४ गते

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

top sidebar ads

समाचार

समाचार

recent posts comments tab