नेपालबाट के चाहन्छन् मोदी ?

पर्शुराम काफ्ले/नयाँ पत्रिका
काठमाडौं, ३२ असार
-------------------------------------------------------
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ढिलोमा साउनको अन्तिम वा भदौ पहिलो साता (अगस्ट तेस्रो साता) नेपाल भ्रमण गर्ने भएका छन् । हाल ब्रिक्सको बैठकमा सहभागी हुन ब्राजिल पुगेका मोदी फर्केर जापान गएपछि नेपाल आउने तय भएको छ ।
प्रधानमन्त्री मोदीले नेपालको पूर्वाधार र जलस्रोतका क्षेत्रमा सहकार्य गर्ने इच्छा राखेका छन् । उनले भ्रमण प्रतीकात्मक नभएर उपलब्धिपूर्ण होस् भन्ने चाहेको सत्तारुढ भारतीय जनता पार्टीका नेताहरूले बताएका छन् । डेढ दशकपछि हुन लागेको भ्रमण भारतका लागि पनि महत्त्वपूर्ण हुने भारतीय जनता पार्टीको निष्कर्ष छ ।
‘प्रधानमन्त्री मोदीको भ्रमण मिति विदेशमन्त्री सुष्मा स्वराजजीको नेपाल भ्रमणमा तय हुन्छ, तर मोटामोटी अगस्टको तेस्रो साताभित्रै उहाँ आउने विषयमा कुराकानी भइरहेको छ,’ काठमाडौं आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रवक्ता डा. दत्तेस डी प्रभु पारुलेकरले नयाँ पत्रिकासँग भने, ‘उहाँको भ्रमण नेपाललाई मात्र होइन, हाम्रा लागि पनि महत्त्वपूर्ण हुनेछ ।’
डेढ दशकपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको भ्रमणबाट नेपाल–भारत सम्बन्धमा नयाँ युग थालनी हुने पारुलेकरको बुझाइ छ । ‘उहाँको भ्रमण भारत–नेपाल सम्बन्धमा नयाँ युग होस् भन्ने हामी चाहन्छौँ, वास्तवमा मोदीजी पनि सम्बन्धमा नयाँ सुरुवात गर्न चाहनुहुन्छ,’ प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष अमित शाहनिकट मानिने पारुलेकरले भने, ‘मोदीजी चाहनुहन्छ कि हामी सानो कदमबाट सहकार्य थालौँ र दुवै मुलुकलाई बराबरी लाभ पुग्नेगरी काम गरौँ ।’
भारतको छिमेक सम्बन्ध र विशेषगरी नेपाल सम्बन्धबारे काठमाडौं आउनुअघि प्रधानमन्त्री मोदी र भाजपाका शीर्ष नेतासँग आफूले छलफल गरेको पनि पारुलेकरले बताए । ‘मोदीको भ्रमण प्रतीकात्मक होइन, उपलब्धिमूलक होस् भन्ने चाहेका छौँ,’ उनले भने, ‘दुवै देशका लागि फाइदा हुने गरी महत्त्वपूर्ण परियोजना निर्माणमा सहमति हुँदै छ । यसले पनि छिमेक भारतका लागि महत्त्वपूर्ण छ र नेपालमा हाम्रो अपनत्व छ भन्ने कुरा पुष्टि गर्नेछ ।’
मोदीको भ्रमणमा दुई देशबीच व्यापार, लगानी र प्रविधिका क्षेत्रमा दीर्घकालीन सहकार्यबारे छलफल हुने पनि पारुलेकरले बताए । ‘मोदीजी नेपालमा दीर्घकालीन र विशेषखालको परियोजना सुरु गर्न पाइयोस् भन्ने चाहनुहुन्छ । उहाँको विशेष चासो पूर्वाधार र जलस्रोतको विकासमा छ,’ उनले भने, ‘अन्तरदेशीय पूर्वाधार विकासका लागि काम गर्न सकियो भने दुवै देशका जनता लाभान्वित हुनेछन् र पूर्वाधार संरक्षण पनि दुवै पक्षबाट हुनेछ भन्ने हाम्रो विश्वास छ ।’ 
===============================================================
------------------------------------------------------------------------------------------------
‘बडेभाइ मानसिकता गलत’
भारतीय जनता पार्टीको विदेश विभाग प्रवक्ता डा. पारुलेकरले छिमेकी साना मुलुकसँग भारतले बिग ब्रदर एटिच्युड प्रकट नगर्ने बताए । ‘भारत ठूलो देश हो, तर बडेभाइ मानसिकता गलत हो,’ पारुलेकरले भने, ‘यसअर्थमा गुजराल डक्ट्रिनको सेन्टिमेन्ट सही थियो । तर, कर्मचारीतन्त्रले उहाँको भावना बुझेन ।’
-------------------------------------------------------------------------------------
 भारतले ‘हिमालयन इकोनोमिक स्ट्राटेजी’अन्तर्गत पूर्वी कोरिडोर (उत्तरप्रदेश, बिहार, पश्चिम बंगाल, उडिसा)मा पूर्वाधार र ऊर्जा विकासका क्षेत्रमा सहकार्य गर्न चाहेको पारुलेकरले बताए । ‘विशेषगरी पूर्वी ऊर्जा कोरिडोरका लागि दुवै मुलुकलाई बराबरी लाभ पुग्नेगरी सहकार्य होस् भन्ने मोदीजीको चाहना छ,’ उनले भने, ‘हिमालयन इकोनोमिक स्ट्राटेजीअन्तर्गत उहाँ भुटान जानुभएको हो, यहीअनुसार भारतको उत्तरपूर्वी क्षेत्र र नेपालको विकास हुनेछ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ ।’
उनका अनुसार छिमेकको क्षमता विकास र संस्थागत सुधारमा मोदीको जोड छ । नेपालसँगको सीमावर्ती क्षेत्रलाई आर्थिक करिडोर बनाउने भारतको चाहना छ । ‘सीमावर्ती क्षेत्रमा सुरक्षा निकायको संख्या घटाउने र आर्थिक गतिविधि बढाउनुपर्छ । यसले मात्रै दुई देशका जनताबीच सुमधुर सम्बन्ध कायम हुन्छ,’ उनले भने, ‘दिल्ली फर्केपछि प्रधानमन्त्री मोदीलाई म यो विषयमा आश्वस्त पार्ने प्रयास गर्नेछु ।’
छिमेकसँग अघिल्लो सरकारले बिगारेको सम्बन्ध मोदी आउनासाथ सुमधुर हुन थालेको पारुलेकरको विश्लेषण छ । ‘यसपटक शपथग्रहणमा मोदीजीले सार्कका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखलाई बोलाउन भन्नुभयो, कर्मचारीतन्त्रले सकिन्न कि जस्तो गर्‍यो,’ उनले भने, ‘मोदीजीले भन्नुभयो कि एक सातामा उहाँहरूलाई बोलाउनुपर्छ, म अरू कुरा जान्दिनँ । शपथको दुई दिनअघिसम्म नसुतीकन उहाँ यसका लागि खट्नुभयो । अहिले सकारात्मक वातावरण बनेको छ ।’
सहज सम्बन्धलाई आपसी हितमा उपयोग गर्न र छिमेकको चाहनाअनुसार सहकार्य गर्न भारत तयार रहेको उनको भनाइ छ । ‘शपथग्रहणमा यो क्षेत्रका नेतालाई निमन्त्रणा गरेर छिमेकमा मोदीजीले सकारात्मक वातावरण बनाउनुभयो । मोदीजीको एउटा कदमले छिमेकमा भारतको इमेज राम्रो भयो,’ उनले भने, ‘मोदीजी डिसिसिभ प्रधानमन्त्री हुनुहुन्छ । नेपाल–भारतबीच आपसी सहकार्य थाल्न उहाँको भ्रमण उपयुक्त अवसर हुनेछ ।’
डा. पारुलेकर काठमाडौंस्थित एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स संस्थाको निम्तोमा सोमबार काठमाडौं आएका हुन् । प्रमुख दलका शीर्ष नेता, सभासद्सँग भेटवार्ता गरेर उनी बिहीबार नयाँदिल्ली फर्किंदै छन् । 
Nayapatrika, 1 Saun, 2071

Comments

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Importance of Pharm. D study in Nepal

Climate and Clean Air Coalition (CCAC) meets in Kathmandu to tackle air pollution

डा.भट्टराई, 'क्रान्ति'को कार्यकाल कति हो ?