Tuesday 8 July 2014

भारतबाट फेरि ल्याइने भो इन्सास राइफल

 पर्शुराम काफ्ले/नयाँ पत्रिका
काठमाडौं, २३ असार

भारतमा समेत असफल भएको इन्सास राइफल सस्तोमा पाएको भन्दै नेपालले फेरि किन्ने भएको छ । दुईपक्षीय परामर्श समूहको आइतबार र सोमबार काठमाडौंमा भएको बैठकमा विवादास्पद इन्सास राइफल किन्ने सहमति भएको हो ।

सरकारले सस्तोमा किन्न लागेको इन्सास राइफल भारतको उच्च पहाडी र हिमाली क्षेत्रका लागि काम नलाग्ने ठहर भइसकेको छ । नेपालमा पनि त्यसको गुणस्तरबारे पटकपटक प्रश्न उठिसकेको छ । तर, भारतले जोड गरिरहेको र नेपालको आर्थिक सीमितताका कारण इन्सास नै ल्याउनुपरेको सैन्य स्रोत बताउँछ ।

सन् १९९९ मा पाकिस्तानसँगको कारगिल युद्धमा उच्च हिमाली क्षेत्रमा इन्सास प्रयोग भएको थियो । तर, त्यतिवेला चिसोमा जाम हुने, गोली भाँच्चिने र तीन राउन्ड फायर गरेपछि राइफल अटोमेटिक मोडमा जानेजस्ता कमजोरी भेटिएका थिए । त्यसबाहेक हतियार चलाउने सैनिकको आँखामा राइफलको तेल चुहिनेसम्मको समस्या देखिएको थियो । ‘कतिसम्म भने इन्सास फायरिङकै क्रममा भारतीय सैनिक घाइते नै भएका थिए,’ सेनाका एक पूर्वरथीले भने । कारगिल युद्धमा इन्सास असफल भएपछि भारतले उच्च हिमाली क्षेत्रमा खटिने सैनिकलाई एके ४७ राइफल उपलब्ध गराएको छ । तर, त्यही युद्धमा प्रयोग भएको भन्दै उसले इन्सास बेच्दै आएको छ ।

०६२ मा कालिकोटको पिलीमा माओवादी छापामारसँगको युद्धमा इन्सास नपड्किएका कारण ४३ सैनिक मारिएका थिए । त्यतिवेला सैनिक प्रवक्ता दीपक गुरुङले इन्सासको खराबीका कारण सेनालाई क्षति पुगेको टिप्पणी गरेका थिए । त्यसलगत्तै भारतीय दूतावासका प्रवक्ता गोपाल वाग्लेले उनको खण्डन गरेका थिए ।

तर, स्वयं भारत सरकारका तत्कालीन मन्त्रीले इन्सासको कमजोरी स्विकारेका थिए । ८ अगस्ट २०११ मा लोकसभामा तत्कालीन रक्षा राज्यमन्त्री पल्लम राजुले भनेका थिए, ‘इन्सासमा समस्या थियो, तर समाधान भइसकेको छ ।’

कारगिल युद्धमा राम्रो परिणाम नदिए पनि आफ्नै डिफेन्स उद्योगबाट उत्पादन गरिएका कारण भारतले भारी छुटमा सो हतियार बेच्दै आएको छ । ‘माओवादी युद्धका वेला इन्सास सय राउन्ड फायर भएपछि इन्सास तात्तिने र नपड्किने हुन्थ्यो, सेलाएपछि पुन: फायरिङ गर्नुपर्दा कस्तो भयो होला,’ सेनाका एक पूर्वउपरथीले भने, ‘त्यही क्वालिटीको हतियार सस्तो पाएको नाममा ल्याउनु राम्रो होइन ।’

सैन्य अधिकारीहरूका अनुसार नेपाल र भारतकै अनुभव सकारात्मक नभए पनि भारतले नेपाली द्वन्द्वमा प्रयोग भएको रेकर्ड देखाएर युगान्डा, कंगो, ओमनलगायतका मुलुकमा इन्सास बेचेको छ । भुटानको राष्ट्रिय सेनाले पनि इन्सास प्रयोग गर्दै आएको छ ।

नेपालले इन्सास राइफलको ०६३ सालसम्म तिर्नुपर्ने रकम एक अर्ब ४२ करोड रुपैयाँ भारतले मिनाहा गरेको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणका वेला रकम मिनाहा भएको थियो । त्यतिवेलासम्म २५ हजार इन्सास राइफल आइसकेको थियो । त्यसयता थप पाँच हजारजति इन्सास आइपुगेको सैनिक स्रोतले जनाएको छ ।

तत्कालीन प्रधानसेनापति प्यारजंग थापाका पालामा पाँच हजार मागिएकोमा भारतले दश हजार इन्सास राइफल पठाएको थियो । ‘सैन्य हेडक्वार्टरभित्रै समन्वय नहुँदा दुईजना अफिसरले पाँच–पाँच हजार डिमान्ड गरेछन्, एक–अर्कामा थाहा नहुँदा र चिफले पनि पत्तो नपाउँदा भारतले दश हजार थान राइफल खसालिदियो, हामी छक्क पर्‍यौँ,’ त्यतिवेलाका एक सैन्य अधिकृतले नयाँ पत्रिकासँग भने, ‘सेनाभित्रै कम्युनिकेसन ग्याप राखेर भारतले खेलेको रहेछ, पछि मात्र सबै कुरा थाहा भयो ।’

भारतले गोरखपुरस्थित भारतीय सेनाको कुनाघाट डिपोबाट दुई साताअघि इन्सासका गोली र विस्फोटक पदार्थ पठाएको थियो । त्यहीँबाट अब इन्सास पठाउने सहमति भएको छ । कुनाघाटमा भारतीय सेनाको बाहिनी छ । विगतमा बिहारको मुजफ्फरपुरबाट रक्सोल नाका हुँदै हतियार आउने गरेकोमा अहिले कुनाघाटबाटै आउने गरेको छ ।
इन्सासको मूल्य प्रतिगोटा पाँच सय अमेरिकी डलर रहेकोमा भारतले तीन सय डलर छुट दिएको छ । छुटपछि प्रतिगोटा इन्सासको दुई सय डलर तिर्नुपर्छ ।

सेनाले भारतबाहेकका मुलुकबाट ल्याएको हतियारको गुणस्तरमा प्रश्न उठेको छैन । धर्मपालवरसिंह थापा प्रधानसेनापति भएका वेला ५० करोड मूल्यबराबरको कोल्टकमान्डो हतियार ल्याइएको थियो । सोही हतियार यतिवेला सेनाको विशेष सुरक्षा फोर्सले प्रयोग गरिरहेको छ ।

सेनाले शान्ति मिसनमा पठाउने उद्देश्य देखाउँदै अमेरिकाबाट करिब २० हजार एम १६ हतियार ल्याएको थियो । ०६० मा इजरायलबाट एम १६ को एक जहाज गोली काठमाडौं ल्याउन लागिए पनि तत्कालीन राजा ज्ञानेन्द्रको शासनका कारण भारत सहमत भएन र सो गोली इजरायलले कंगो पठाएको थियो ।

नेपाली सेनालाई आवश्यक करिब ४२ हजार थान राइफलमध्ये करिब २८ हजार थान मागिएको परराष्ट्र स्रोतले जानकारी दिएको छ । यसबाहेक गाडी, हेलिकोप्टर, विस्फोटक पदार्थ, अस्पतालसहितका सैन्य उपकरण पनि भारतसँग मागिएको छ । भारतले ७० प्रतिशत अनुदान दिने भनेकोमा यसपटक ६० प्रतिशत मात्रै दिने भनेको छ । तर, परराष्ट्र मन्त्रालय र सेनाले यसबारे विस्तृत विवरण दिन मानेनन् ।

‘पाइपलाइनमा रहेका हतियारसहित सैन्य उपकरण, हामीलाई चाहिने हतियारको विस्तृत विवरण बैठकमा पेस भएको छ, भारतीय पक्षले सकारात्मक जवाफ दिएको छ,’ सैनिक प्रवक्ता सहायक रथी जगदीशचन्द्र पोखरेलले सोमबार साँझ नयाँ पत्रिकासँग भने, ‘यसबारे एकपटक दुवै पक्षबीच छलफल गरेर टुंग्याउने सहमति भएको छ । हतियार र सैन्य उपकरणबारे थप नसोध्नुहोला ।’

परराष्ट्र मन्त्रालयले बैठकमा सैन्य तथा सुरक्षा सहयोगबारे विस्तृतमा छलफल भएको जनाएको छ । विशेषगरी सैन्य तालिम, सैन्य हार्डवेयर, सूचना आदान–प्रदानमा छलफल केन्द्रित भएको परराष्ट्रद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । बैठकमा अघिल्लो वर्ष अप्रिलमा भारतको बेंग्लोरमा भएको छलफलको समीक्षासमेत भएको परराष्ट्रले उल्लेख गरेको छ । त्यसयता भारतले दुईपटक हतियार र गोलीगठ्ठासहित सवारीसाधन पठाएको छ ।
 
भारतले माग्यो सूचना
 
भारतले भारतविरोधी गतिविधिको सूचना नियमित उपलब्ध गराउन नेपालसँग आग्रह गरेको छ । दुई देशबीच पहिलो बैठकदेखि नै भारतले सूचना माग्दै आएको परराष्ट्रका एक अधिकारी बताउँछन् ।

नेपालका तर्फबाट मदनकुमार भट्टराई र भारतबाट तत्कालीन सहसचिव रञ्जित रे (हाल राजदूत) सहभागी पहिलो बैठकमा नेपाल र भारतका चार स्थानमा हटलाइन स्थापना गर्ने र सूचना आदान–प्रदान गर्ने सहमति भएको थियो ।

सोअनुसार विराटनगर–जोगबनी, काँकडभिट्टा–सिलिगुढी, नेपालगन्ज–पिलिभित र महेन्द्रनगर–वनबासामा नेपाल र भारतका सैन्य कार्यालयबाट हटलाइन टेलिफोनमार्फत सूचना आदनप्रदान हुने भनिएको थियो ।

त्यसको संयोजन दुवै सेनाका डिपार्टमेन्ट अफ मिलिट्री इन्टेलिजेन्स (डिएमआई)ले गर्ने सहमति भएको थियो । तर, त्यो प्रभावकारी नदेखिएपछि पुन: सूचना आदान–प्रदान गर्ने सहमति भएको छ ।

बैठकमा भारतीय पक्षले सीमा क्षेत्रमा विस्तार भएका मदरसा र नक्कली भारतीय मुद्रा नियन्त्रण गर्नुपर्ने प्रस्ताव राखेको छ । भारतले उसको राष्ट्रिय सुरक्षामा असर पर्ने गतिविधिबारे नियमित सूचना दिन नेपाली सेनासँग आग्रह गरेको हो ।

nayapatrika, Ashar 24, 2071..

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. Thank youu for sharing this

    ReplyDelete

top sidebar ads

समाचार

समाचार

recent posts comments tab