Thursday, 9 May 2013

पहिलो ट्रिपको एक करोड नक्कली भारु पक्राउ, करोडौं ल्याउने योजना छताछुल्ल

सुरेन्द्र भारद्वाज
काठमाडौं । नेपालको बाटो प्रयोग गर्दै भारत लान पाकिस्तानबाट ल्याएको १ करोड भारतीय रुपैयाँ प्रहरीको बिशेष ब्युरोले त्रिभूवन विमानस्थलमा नियन्त्रणमा लिएको छ । १ हजार दरका ७० हजार र ५ सय दरका ३० हजार भारतीय रुपैयाँसहित प्रहरीले एक पाकिस्तानी र एक नेपालीसमेत दुई जनालाई पक्राउ पनि गरेको छ ।
    कतार एयरको क्युआर–३५१ नम्बर उडान कराँचीबाट दोहाहुँदै त्रिभूवन बिमानस्थलमा अवतरण गर्दा ठूलो मात्रामा नक्कली भारतीय रुपैयाँ फेला परेको हो । पाकिस्तानी नागरिक फारुख शेख महम्मद (४८) ले उक्त रकम नेपाल ल्याएका हुन् । महम्मदले अगष्ट २०११ मा पाकिस्तानबाट डिएफ ८९६४६२१ नम्बरको राहदानी लिएको देखिन्छ ।
महम्मदले ल्याएको रकम लिन एयरपोर्टमा मोहम्मद नरुउल्लाह (६१) पुगेका थिए । काठमाडौं बागबजार स्थायी घर भएका नरुउल्लाह हाल भने म्यैहपी बस्दै आएका छन् । यो भारु ल्याउनमा पाकिस्तानको कराँची विमानस्थलमा चेकिङ नहुनु र सुरक्षाकर्मीले भारु बोकेर ल्याएका दुई वटा ब्रिफकेसलाई निर्वाध जहाजसम्म लान दिनुमा पाकिस्तानका उच्च र प्रतिष्ठित व्यक्तिको संलग्नता पुष्टि गर्छ ।
नरुउल्लाह बिचौलिया बनेर रकमकै लागि काम गर्दै आएको देखिन्छ । यो नक्कली भारु प्रकरणमा रबी सिंह र सुनिल श्रेष्ठले व्यवस्थापन जिम्मा लिएको अनुसन्धानबाट खुलेको छ । रबी र श्रेष्ठले नै नक्कली भारु भारततर्फ पठाउने गरेको देखिएको छ । फरार रहेका उनीहरुको खोजीमा प्रहरीले सक्रियता देखाइसकेको छ ।
पहिलो ट्रिप मै नक्कली भारु पक्रन नेपाल प्रहरीको बिशेष ब्युरो सफल भएको छ । यो ट्रिप सफल भएको भए पुनः अरु नक्कली भारु नेपाल भित्रने र भारत पुग्ने देखिन्छ । रबी र नरुउल्लाहको भारतीय पेशेवर हत्याराबाट हत्या गरिएका सञ्चार उद्यमी जमिम शाहसँग पनि सम्वन्ध रहेको खुलेको छ । नरुउल्लाहले भने, ‘म र जमिम शाहले मिलेर ब्यापार पनि ग¥यौं, यस्तो नक्कली रुपैयाँको कारोवार होइन, सामान्य व्यापार गरेका थियौं ।’

संलग्नहरुको बयान


फारुख शेख महम्मद
पाकिस्तानी नागरिक
व्यापारिक कारोबारका क्रममा दुबई जाँदा जुबेर भन्ने व्यक्तिसँग मेरो चिनजान भएको थियो । मलाई जुबेरले सुल्तानसँग चिनायो । सुल्तानले नेपालमा रुपैयाँ लैजाने काम छ, एक पटकमा २५ हजार रुपैयाँ दिने प्रस्ताव राखे । यही मे महिनामा दुई पटक भेट भएर छलफलपछि सुल्तानले नै सबै व्यवस्था मिलाएर यो रकम नेपाल ल्याएको हो । नुरुल्लाह नम्बर दिएर एयरपोर्टमा नुरुल्लाह नै लिन आउने सुल्तानले बताएका थिए । नुरुल्लाहसँग मेरो पाकिस्तानमा चिनजान भएको हो ।
नेपाल आउनेक्रममा एक जना नचिनेको व्यक्तिले मलाई पैसाको ब्याग दिए । ती व्यक्तिले पैसा सिधैं जहाज चढ्ने स्थानसम्म पु¥याए । ती व्यक्तिलाई एयरपोर्टमा सुरक्षा गार्डहरुले सम्मान र अभिवादन गरेका थिए ।

मोहम्मद नरुल्लाह
म्यैहपी, काठमाडौं

तीस वर्षअघि दुबईमा सुनको कारोबार गर्ने सिलसिलामा पाकिस्तानी नागरिक हाजीसँग चिनजान भयो । हालम्म पनि हाजीसँग सम्पर्क भइरहेको छ । हाजीमार्फत नै मैले यो कारोबार थालेको हो । यस पटक डिल गर्न गत अप्रिलमा म पाकिस्तान गएको थिएँ । डिल गरे अनुसारको यो पहिलो ट्रिप हो । यस पटक सफल भएको भए नक्कली रकम फेरी आउने थियो ।
यसभन्दा अघि माघको अन्तिम तिर पाकिस्तानबाट अपरिचित व्यक्तिले फोन गरेर अलिकति सामान लिएर पाकिस्तानी मानिस आउदै गरेका र त्यो समान लिएर रबी सिंहलाई हिन भने । मलाई भनिएअनुसार नै जमलमा आएर बसेका पाकिस्तानी नागरिकलाई लिएर रबी सिंहको घरमा गएँ । पाकिस्तानीले रबी सिंहलाई ५ लाख नक्कली भारु दिए । सोवापत मैले १५ हजार नेपाली रुपैयाँ पाएँ । यस पटकको यो सामान डेलिभरी गर्न पाएको भए ३ लाख भारु पाउने थिएँ ।
रबी सिंहसँग धेरै अघि चिनजान भएको हो । सिंहको काठमाडौं रातो पुलमा घर छ । जमिम शाह, रबी सिंह र मेरो बीचमा राम्रो सम्बन्ध थियो । च्यानल नेपाल टेलिभिजनमा मैले कोअर्डिनेटरको रुपमा काम गरेको थिएँ । रबी सिंहले भारतमा हाउजिङको व्यापार पनि गर्दै आएका छन् । सुनिलसँग मेरो ५– ६ महिनाअघि शिखर मेनपावरको लाजिम्पाट कार्यालयमा अनुप श्रेष्ठमार्फत चिनजान भएको हो । उनी नक्कली नोटको कारोबार गर्छन् । म अप्रिलमा पाकिस्तान जानआउन रबी सिंह र सुनिलले खर्च गरेका थिए । रबीले मलाई ३ सय डलर खर्च दिएका थिए ।
 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...