Friday 17 May 2013

दासढुंगा दुर्घटनाको दुईदशक, घटनाका साक्षी/आरोपी अमर लामा हत्याको नालीबेली

दुई दशकअघि आजकै दिन नेकपा एमालेका तत्कालीन महासचिव, नेपालका एक होनाहार राष्ट्रवादी नेता मदन भण्डारीको रहस्यमय हत्या भयो चितवनको दासढुंगामा । भण्डारी र एमालेका अर्का नेता जीवराज आश्रित सवार जीप त्रिशुलीमा खस्यो, दुवैजनाको स्वर्गारोहण भयो । तर, दुर्घटनामा बचेका अमर लामा पछिसम्म रहस्यमयी बनिरहे । कतिपयले उनको नियतमाथि प्रश्न गरिरहे, कतिपयले बाह्य शक्तिकेन्द्रले उनलाई प्रयोग गरेर भण्डारी र आश्रीतको मृत्युवरण गराएको अनुमानसमेत गरिरहे । तर सबै कुरा रहस्यको गर्भमा रहेकै बेला लामा पनि रहस्यमयी तरिकाले मारिए । लामा एकमात्र जीवित साक्षी थिए जीप दुर्घटनाको । आज मदन र आश्रीतप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै सो घटनाका एकमात्र प्रत्यक्षदर्शी लामाको हत्याको बिवरण प्रस्तुत गर्ने जमर्को गरेका छौं । लामा हत्याको नालीबेली २०६४ सालको नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो जहाँ लामाको हत्या तत्कालीन माओवादी कार्यकर्ताले नै गरेको भन्ने कुराको पुष्टि हुन्छ ।

 यसरी मारिए अमर लामा
-पर्शुराम काफ्ले /नयाँ पत्रिका-
काठमाडौँ एमालेका नेता मदन भण्डारीको विवादास्पद जिप दुर्घटना प्रकरणका एकमात्र सँक्षी डा«इभर अमर लामाको हत्या भएको चार वर्षपछि त्यसको भित्री रहस्य नयाँ पत्रिकाले फेला पारेको छ । लामाको हत्यामा तत्कालीन विद्रोही माओवादी कार्यकर्ताको संलग्नता रहेको पत्ता लागेको छ । हत्यामा माओवादीका तीन छापामार संलग्न भएको रहस्य समेत खुलेको छ  ।
भर्खरै माओवादी प्रवेश गरेका एमाले नेता कार्यकर्ताको सुझाव अनुसार माओवादीले ०६० साउनको दोस्रो साता लामालाई काठमाडौबाट उठाएर ललितपुर र मकवानपुरको सीमानामा पर्ने ठिंगन गाउँमा पु¥याउने योजना बनेको थियो । त्यतिवेला माओवादीका भ्याली कमाण्ड इन्चार्ज रामवहादुर थापा वादल थिए । समाचार स्रोतका ललितपुरको ग्वार्कोमा नक्कली खासा ब्यापारी बनेर बसेका वादल साउनको पहिलोसाता तिरै ठिंगन गाउँमा पुगेका थिए । ग्वार्कोमा बस्दा वादल ‘साईला’ तथा  ‘प्रेम दाइ’ नामले चिनिने गरेको माओवादी स्रोत बताउँछ ।
ठिंगनमा जनमुक्ति सेनाका कमिसार दिलीप प्रजापति लगायतले लामासित दासढुंगा हत्याकाण्डका बारेमा वयान लिने तयारी भइरहेको थियो । सोही प्रयोजनका लागि लामालाई नियन्त्रणमा लिएर जाने क्रममा कीर्तिपुरमा सो हत्याकान्ड भएको थियो ।
भदौ २०६० मा भारतको दिल्लीमा बसेको माओवादी पोलिटव्युरो वैठकमा समेत  अमर हत्याकाण्डको बारेमा चर्चा भएको माओवादी स्रोत बताउँछ । तर यस बारेमा माओवादी नेता केही पनि बोल्न चाहन्नन् ।
लामाको अकस्मात मृत्युपछि मदन हत्याका बारेमा नयाँ रहस्य खोतल्ने माओवादी योजना समेत तुहिन पुगेको थियो । तनहुँ भानु ८ का अमरजङ् तामाङ् ((अमर लामा) जेठ ३, २०५० को दासढुंगा प्रकरणपछि चर्चामा आएका थिए ।
३ जेठ २०५०मा चितवनको कालीदास गाविस २स्थित दासढुंगामा एमाले नेताद्वय मदनकुमार भण्डारी र जीवराज आश्रीतको रहस्यमय मृत्युसँगै लामा रहस्यका पात्र बनेका थिए । जनतामाझ लोकप्रिय नेता भण्डारीको मृत्युप्रकरणसित जोडिएका लामाको ११ साउन २०६०मा  हत्या भएको थियो ।
यसरी भयो हत्या
एमाले र मालेबाट माओवादी प्रवेश गरेकाहरुले अमर लामाबाट मदन हत्याकाण्डको वास्तविकता खोतल्न पहल गर्नुपर्ने सुभmाव दिदै आएको उपत्यकाका तत्कालीन माओवादी नेताहरुले बताएका छन् । ‘भर्खरै पार्टी प्रवेश गर्ने साथीहरुले अमरबाट दासढुंगा हत्याकाण्डबारे भित्री कुरा निकाल्न सुझाव धेरै पहिलेदेखि नै दिदै आएका थिए ’ उपत्यकामा खटिएका माओवादी जनमुक्ति सेनाका तत्कालीन कमिसार दिलीप प्रजापति भन्छन्, ‘अमरबाट कुरा वाहिर निकाल्नुपर्छ भन्ने कुरा पहिलेदेखि नै उठेको थियो । हामी उपयुक्त समयको खोजीमा थियौँ । ’ तर लामाको हत्यामा माओवादी संलग्नतालाई उनी  ठाडै अस्वीकार गर्छन् ।
तर माओवादीकै सुत्रले नयाँ पत्रिकालाई दिएको जानकारी अनुसार  उपत्यकामा खटाइएका जनमुक्ति सेनाका  कम्पनी कमाण्डर सदीपको नेतृत्वमा आएको तीनजनाको समूहले ११साउन २०६०को दिउँसो कालीकास्थानस्थित ताजा खवर साप्ताहिकको कार्यालयबाट उनलाई उठाएर लगेको थियो । उनी ५ साउनमा सो पत्रिकाको प्रवन्ध सम्पादक नियुक्त भएका थिए । लामालाई अपहरण गर्न सदीपको नेतृत्वमा तीन व्यक्ति सहभागी थिए । लामालाई बा १ ज २५६० नंवरको रातो रङ्को ट्याक्सीमा राखेर अपहरण गरिएको थियो । अपहरणकारीहरुले लामालाई ट्याक्सीमा हालेर कालीकास्थानबाट अनामनगर, माइतीघर, कुपण्डोल,सानेपा, चौधरी ग्रुपको कार्यालयको चोक हुँदै रिङ् रोडबाबाट बल्खु तारेर कीर्तिपुर पु¥याएका थिए । 
। कीर्तिपुरको ढाट राखिएको ठाउँमा १० रुपियाँ कर तिरेर पाँगाबाट पिपलको बोट काटेपछि उनीहरुले ट्याक्सी रोकेका थिए । त्यसदिन ३ः३० तिर कीर्तिपुरमा तत्कालीन शाही सेनाले सुरक्षा जाँच गरेको थियो । त्यतिवेला लामालाई कीर्तिपुरको नगाउँ दोवाटोमा पु¥याइएको थियो । सुरक्षा जाँच देखिएपछि माओवादी कार्यकर्ताले ट्याक्सी रोकेर आफ्नो ज्यान बचाउने दाउ शोचेका थिए । सेनालाई देखेपछि लामाले गुहार माग्ने र त्यसपछि अपहरणका संपूर्ण योजना खुल्ने डरले माओवादी कार्यकर्ताल्ो लामाको हत्या गरेर भाग्ने जुक्ति रचेको माओवादी स्रोतले बतायो ।
‘कीर्तिपुरमा पुगेपछि अगाडि शाही सेनाले चेक गरिरहेको थियो ’ स्रोतले नयाँ पत्रिकासित भन्यो, ‘सरासर गएको भए ऊ( अमर लामा ) बाँच्थ्यो तर उसलाई लैजानेहरु पक्राउ पर्ने वा मर्ने निश्चित थियो  । ’
माओवादी कार्यकर्ताले आफ्नो ज्यान बचाउन ट्याक्सी रोकेर अमरलाई ढोका खोलेर भाग्न भनेका थिए । ट्याक्सीको पछाडि सीटमा राखिएका अमर हतारिएर भाग्ने क्रममा अपहरणको नेतृत्व गरेका कमाण्डर सदीपले गोली हानेका थिए । स्रोतका अनुसार टाउकामा गोली लागेपछि लामा घोप्टो परेर ढलेका थिए ।  लामालाई गोली हानेपछि तीन माओवादी कार्यकर्ता तीनतिर तितरवितर भएका थिए । घटना कीर्तिपुर नयाँबजार र इलाका प्रहरी कार्यालय बीच रहेको राजु महर्जनको घर अगाडिको बाटोमा भएको प्रहरीको अनुसन्धानमा पनि उल्लेख छ । समाचार स्रोतका अनुसार तीनै जनालाई  पार्टी सम्पर्कमा आइपुग्न झण्डै एकसाता लागेको थियो ।
घटनाको भोलिपल्ट (१२ साउन)मा अपहरणमा संलग्न ट्याक्सी हाँक्ने दाताराम अधिकारीलाई प्रहरीले समातेको थियो । तर अनुसन्धानपछि अपहरणमा उनको संलग्नता नभएको भन्दै प्रहरीले उनलाई रिहा गरेको थियो । पक्राउ परेको भोलीपल्टै (१३ साउनमा ) ३५ वर्षीय दाताराम अधिकारीलाई प्रहरीले  भवानीप्रसाद पाठक नाम गरेका व्यक्तिको रोहवरमा रिहा गरेको थियो । उनलाई  आवश्यक परे पछि प्रहरीमा हाजिर हुने शर्तमा छाडिएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । त्रिभुवन विश्वविद्यालयस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका डाक्टर हरिहर वस्तीले पनि लामाको हत्या गोली प्रहारबाट भएको प्रतिवेदन दिएका थिए ।
एमाले नेता प्रदीप ज्ञवाली अमर हत्याका बारेमा पार्टीले कसैलाई शंका नगरेको बताउँछन् । ‘मदन भण्डारीको हत्याको रहस्य लुकाउनका लागि पनि अमरलाई कसैले हत्या गर्न सक्छन् भन्ने आशंका त भएको थियो ’ एमाले नेता ज्ञवाली भन्छन्, ‘तर हत्या यसरी नै भयो भन्ने जानकारी हामीलाई छैन । हामी त्यतापट्टि पुगिसकेका छैनौ ।’ 
के थियो दातारामको बयान ?
दातारामले आफू सामान्य डा«इभर मात्र रहेको र अमरको अपहरणमा आफ्नो संलग्नता नरहेको बयान प्रहरीलाई दिएका थिए । प्रहरी नै विश्वस्त हुने गरी उनले दिएको वयानमा   लामाको अपहरणमा कालो वर्ण, दारी लामो भएको, लाम्चो अनुहार भएको ,छोटो कपाल पालेको र ढाकाटोपी लगाएका व्यक्ति ट्याक्सीको अगाडि सीटमा बसेको उल्लेख छ । यसै गरी अपहरणमा संलग्न  अर्का व्यक्ति गोरो वर्ण, गोलो अनुहार, कालो टिसर्ट र नाक छोटो भएको वयान उनले प्रहरीलाई दिएका थिए ।
अनुसन्धानमा संलग्न प्रहरीसित उनले दिएको रोचक वयानमा भनिएको छ,‘ म २०४३ सालदेखि काठमाडौँमा बस्न थालेको हुँ । पहिला ठूलो गाडि चलाउँथे । सात वर्षदेखि ट्याक्सी चलाउँदै आएको छु । मैले चलाउने ट्याक्सी वानेश्वरका शम्भु तिवारीको हो । ’ सोही दिनको घटनाका बारेमा प्रहरीलाई दिएको वयानमा अधिकारीले साउन ११ गते मैतिदेवीबाट डिल्लीवजार आउँदै गर्दा कालीकास्थानमा आएपछि अपहरणकारीले ट्याक्सी रोकेको र त्यसपछि चेपतिरको बाटोमा गएको बताएका थिए । ‘ट्याक्सीको अगाडी १ जना र पछाडि ३ जना बसे अनि  अगाडि सीटमा बसेका सेतो सर्ट लगाएका व्यक्ति र अगाडिका व्यक्तिले समातेर ल्याए र ट्याक्सीमा हाले’ उनको वयानमा उल्लेख छ, ‘कालीकास्थानबाट अनामनगर, माइतीघर, कुपण्डोल,सानेपा, चौधरीग्रुपको कार्यालयको चोक हुँदै रिङ् रोडबाट बल्खुतिर लागियो । उनीहरुले कीर्तिपुर जाऊँ भने । मैले मानिन । तर जवर्जस्ती लगे ।’
कीर्तिपुरको ढाट राखिएको ठाउँमा उनीहरुले १० रुपियाको कर पनि तिरेको र पाँगा हुँदै पिपलको बोट कटेपछि अपहरणकारीले  ट्याक्सी रोक्न भनेको पनि उनले बताएका छन् । ट्याक्सीको मिटरमा १६५ रुपिया मात्र उठे पनि उनीहरुले २०० रुपियाँ दिएर ओरालो लागेको र आफू फर्केको उनको दावी छ ।
‘केही समयपछि अर्को ट्याक्सी ड्राइभर साथीले मलाई खबर ग¥यो र भन्यो–तेरो ट्याक्सीमा चढेर गएको अमर लामालाई मारेछन् नि । ’ एकछिनपछि मैले रेडियोमा समाचार सुने ।  मलाई त साह्रै नमज्जा लाग्यो । ’  प्रहरीलाई दिएको भनाईमा अधिकारीले अगाडि भनेका छन्, ‘आखा अगाडि देखेमा लामाको अपहरणमा संलग्न व्यक्तिलाई म चिन्न सक्छु ।’
प्रहरी उनको यस्तो वयानबाट प्रभावित भएका कारण थप अनुसन्धान गर्न तिर नलागेको सो घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत बताउँछन् । प्रहरी स्रोतका अनुसार हत्या भएकै दिन लामाको लास विश्वराज लामाले बुझेका थिए ।
प्रहरीले लामाको हत्याका बारेमा अनुसन्धान गर्न डीएसपी डेग वहादुर जीसीको नेतृत्वमा अनुसन्धाना टोली गठन गरेका थियो । उपत्यका अपराध अनुसन्धान शाखाका तत्कालीन डीएसपी जीसीले तयार पारेको प्रारम्भीक प्रतिवेदनमा अमरको हत्या माओवादीले गरेको आशंका गरिएको थियो ।  २१ भदौ २०६०मा जीसीले  तत्कालीन उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई बुझाएको प्रतिवेदनमा लामाले ‘माओवादीको गम्भीर प्रकृतिको राजनीतिक सुचना प्रवाह गरेकोले माओवादीले हत्या गराएको हुन सक्ने  तर त्यसको पुष्टि गर्न नसकिएको ’ उल्लेख छ । लामाले कस्तो गम्भिर प्रकृतिको सूचना प्रवाह गर्थे भन्ने बारे प्रहरीको प्रतिवेदनमा उल्लेख छैन ।
लामाको हत्या माओवादीबाटै भएको प्रहरी आशंका अब पुष्टि भएको छ । तर प्रहरीले हाल यससम्बन्धी केही पनि अनुसन्धान गरेको छैन । हत्यामा नेपाल प्रहरीसँग लुटेको आठ राउण्डको चाइनिज पेस्तोल र ८ दशमलव ६२ एमएमको गोलीको प्रयोग भएको निष्कर्ष प्रहरीले त्यतिवेलै निकालेको थियो । 
सरकारले पनि लामाको हत्याका बारेमा छानवीन गर्न २० साउन २०६० मा  पुनरावेदन अदालत पाटनका न्यायाधीश मधुसुधन श्रेष्ठको संयोजकत्वमा  एक सदस्यीय आयोग गठन गरेको थियो । तर आयोगले तयार पारेको प्रतिवेदन हालसम्म सार्वजनीक भएको छैन ।
(२०६४ साल साउन दोस्रोसाता प्रकाशित नयाँ पत्रिका दैनिकको समाचार)

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive