Wednesday 1 May 2013

दाहाललाई दिल्लीको सन्देश (तस्वीरसहित)


काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भाषाका आधारमा संघीय प्रणाली तय गर्न भारतले सुझाब दिएको बताएका छन् । शनीवार भारत भ्रमणमा गएका दाहालले मंगलवार स्वदेश फर्केपछि सञ्चारकर्मीसँगको अन्तरक्रियामा भारतसँग सम्बन्धको नयाँ आधार तय भएकोसमेत दाबी गरेका छन् । यसअघि चीन भ्रमण गरेका दाहालले नेपालको स्थिरता र आर्थिक सम्बृद्धिका लागि सहयोग गर्न दुवै छिमेकी तयार भएको तर यो नेपाली नेताहरुकै जिम्मामा आएको पनि स्पष्ट पारे । 
भारत, चीन र नेपालबीच नेपालको आर्थिक विकासमा त्रिदेशीय समझदारी हुनुपर्ने प्रस्ताव अस्वीकार गरेको भारतले स्थिरता र आर्थिक सम्बृद्धिका लागि नेपाललाई सक्दो सहयोग गर्न तयार रहेको आश्वासन दिएको पनि दाहालले बताए । ‘संघीय प्रणालीमा जानका लागि एउटा स्पष्ट आधार तय गर्नु आवश्यक हुन्छ भन्ने सुझाब भारतीय सरकार र राजनीतिक नेताहरुले दिएका छन्’ दाहालले भने, ‘संघीयताको आधार भाषा हुनसक्छ भन्ने उहाँहरुले अनुभवसहितको सुझाब दिनुभएको छ । शुरुमा भाषाका आधारमा संघीयतामा जाँदा भारत विभाजन होला कि भन्ने आशंका रहेछ, पछि त्यसले त झन मुलुलकलाई मजबुत गरेको अनुभव भारतीय मित्रहरुले सुनाउनुभएको छ ।’ जातीय पहिचानका आधारमा संघीय प्रणाली अपनाउने निर्णयमा अडिग रहेको एमाओवादीलाई अडान छाड्न चीनले सुझाब दिइसकेको छ । भारतले भाषाका आधारमा संघीयतामा जान सुझाब दिएर जातीय संघीयतालाई अस्वीकार गरेको सन्देश दिएको जानकारहरुको टिप्पणि छ ।
दाहालले स्वदेश फर्किनुअघि मंगलवारै भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह र विदेश मन्त्री सलमान खुर्सिदसँग भेटवार्ता गरेका थिए । सोमवार उनी उच्च राजनीतिक नेताहरुसँगको भेटवार्तामा सरिक थिए । तर दाहालले भारतीय सत्तारुढ गठबन्धनको नेतृत्वदायी पार्टी कांग्रेस आईका अध्यक्ष सोनिया गान्धीसँग भेट्न समय नपाएको स्रोतको भनाई छ । त्यसबाहेक भारतीय पूर्व कुटनीतिज्ञ र सुरक्षाविदहरुसँग थप अन्तरक्रिया गर्ने दाहालको चाहनासमेत यसपटक पूरा नभएको बुझिएको छ । दाहालले भारतीय प्रधानमन्त्रीलाई नयाँ दिल्लीस्थित उनकै निवास सेभेन रेसकोर्स भेटेका थिए ।
दाहालले काठमाडौं फर्केर शान्ति प्रक्रिया अन्तर्गत लडाकु समायोजन पूरा गरेकोमा बधाई दिएको र आगामी निर्वाचनका लागि सहयोग गर्ने भारतीय प्रतिवद्धता आएको पनि बताए । दाहालले यो भ्रमणबाट नेपाल भारत सम्बन्धमै नयाँ आयाम थपिएको समेत स्पष्ट पारे । ‘विगतमा कम्युनिकेसन ग्यापका कारण एक अर्काको बुझाईमा केही कमजोरी रहेकै हो, अब पुराना तीता मिठा कुरा बिर्सेर नयाँ आधारमा अघि बढ्ने कुरा भएको छ’ दाहालले भने, ‘ पुराना कमजोरी र बुझाईका समस्या चिर्र्दै नयाँ सिराबाट विश्वासको वातावरण बनाउनका लागि मेरो भ्रमणले आधार तयार गरेको छ ।’
भारतीय नेताहरुले नेपालमा चाँडै निर्वाचन होस् भन्ने चाहेको पनि बताए । भारतीय प्रधानमन्त्रीले तोकेरै मंसिरमा चुनाव होला त भनेर सोधेको र आफूले चुनाब हुने स्पष्ट पारेको पनि दाहालले बताए ।

‘त्रिदेशीय समझदारी पछि’ 
भारतीय प्रधानमन्त्री डा सिहले नेपाल भारतवीचको  दुई देशीय साझेदारीको अभिबृद्धि पछि मात्रै भारत नेपाल र  चिनवीचको त्रिपक्षीय साझेदारी सम्भव रहेको बताएका छन् । एमाओवादी अध्यक्ष दाहालसँग नयाँदिल्लीमा भएको भेटमा सिंहले यस्तो बताएका हुन् । दाहालले यसअघि चिन भ्रमणमा त्रिदेशीय साझेदारीको प्रस्ताव राखेका थिए । भारतीय प्रधानमन्त्रीसँग पनि सोही प्रस्ताव राखेपछि उनले दाहाललाई  पहिला नेपाल र भारतबीच दुईपक्षीय साझेदारी अभिबृद्धि गरेपछि त्रिदेशीय साझेदारीमा प्रवेश गर्ने प्रतिवद्धता दिएका थिए ।
भारतीय प्रधानमन्त्रीले  एकीकृत नेकपा माओवादीले हेटौडा महाधिवेशनपछि लिएको नयाँ राजनीतिक र आर्थिक अवधारणाको प्रशंसा गरेका थिए । सिंहले भारतको चाहना राजनीतिक रुपमा स्थायीत्व प्राप्त गरेको सम्पन्न नेपाल भएको पनि स्पष्ट पारेका थिए । साथै आर्थिक सम्बृद्धिका लागि नेपाललाई सक्दो सहयोग  गर्ने आश्वासन पनि सिंहले दिएका थिए । नेपालमा निर्वाचनकै लागि प्रधानन्यायधिसको नेतृत्वमा चुनावी सरकार गठन भएकोमा पनि सिंहले दाहालसमक्ष खुसी ब्यक्त गरेका थिए ।
सिंहले संविधानसभा मार्फत संविधान लेखेर नेपालको लोकतन्त्र बलियो बनाउन दाहाललाई सुभकामना दिए । उनले दुई देशको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको भन्दै विगतका प्रधानमन्त्रीको भ्रमणको क्रममा भएको सहमति कार्यान्वयन प्रक्रियालाई अघि बढाउने पनि आश्वासन दिए ।
सो क्रममा दाहालले भारतबाट लामो समयदेखि प्रधानमन्त्री तहको नेपाल भ्रमण हुन नसकेको भन्दै प्रधानमन्त्री सिंहलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । सिंहले आफू नेपाल आउन ईच्छुक भएको तथा उपयूक्त समयमा नेपाल भ्रमणमा आउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
अर्को प्रसंगमा दाहालले भारतको सुरक्षा चासोलाई संबोधन गर्न आफ्नो दल, सबै राजनीतिक पार्टीहरु र नेपाल सरकार संबेदनशिल भएको स्पष्ट पारेका थिए । उनले नेपालको भूमि प्रयोग गरेर हुने सबै खाले भारत विरोधी गतिविधी रोक्ने पनि प्रतिबद्धता ब्यक्त गरेका थिए ।
भेटवार्तामा एमाओवादी नेता  कृष्णबहादुर महरा तथा  भारतको तर्फबाट प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार शिवशंकर मेनन, विदेश सचिव रञ्जन मथाई, नेपाल हेर्ने सहसचिव अखिलेष मिश्र र नेपालका लागि भारतीय राजदुत जयन्त प्रसाद सहभागि थिए ।
यसैबीच, दाहालसँग मंगलवार भएको बेग्लै भेटमा भारतीय विदेशमन्त्री सलमान खुर्सिदले नेपालमा राजनीतिक स्थायीत्व र विकास भारतको मुख्य एजेण्डा भएको बताएका छन् ।
‘नेपालको राजनीतिक स्थायीत्व विकास भारतको एजेण्डा हो । नेपालमा स्थायीत्व र विकास हुनु पर्छ त्यसमा भारतले सक्दो सहयोग गर्न तयार छ’ विदेश मन्त्री खुर्सिदको भनाई थियो  ।  विदेश मन्त्री खुर्सिदले भारत नेपाल र चिनवीच त्रिपक्षीय साझेदारीको विषय कुनै कुराकानी नभएको भएको बताए ।

तर दाहालले नयाँ दिल्लीमा सञ्चारमकर्मीसँग कुरा गर्दै  नेपाल र भारतबीच अहिलेको एजेन्डा दुई पक्षीय विकास मात्रै भए पनि भविश्यमा त्रिदेशीय साझेदारीमा पुग्ने बारेमा आफूले स्पष्ट पारेको जानकारी दिए । खुर्सिदले पनि नेपालबाट भारत विरुद्ध गतिविधी नहोस भन्ने कुरा आफूहरुले स्पष्ट सँग राखेको दाहालले जानकारी दिए । दाहालले गौतमबुद्धको जन्मस्थान लुम्बिनीको विकास र कर्णाली चिसापानी जलविद्युत आयोजनाको विकासमा सहयोग गर्न भारत सरकारसमक्ष प्रस्ताव गरेका थिए ।

 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive