Saturday, 6 February 2016

चार बर्षे बालकदेखि १०३ बर्षीय बृद्धाले सहयोग गरे


पूर्वपरराष्ट्रसचिव डा मदनकुमार भट्टराई जापानका लागि राजदूतको कार्यकाल सकेर मंसिरमा स्वदेश फर्र्किए । दुई महिनापछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीका कूटनीति तथा परराष्ट्रमामिला विज्ञ नियुक्त भएका छन् । नेपाल जापान सम्बन्धका विविध पाटा र गत बैशाखको ठूलो भूकम्पपछि जापानीहरुले नेपाललाई गरेको सहयोगबारे  राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ नियुक्त हुनुअघि डा भट्टराईले  पर्शुराम काफ्लेलाई बेलीविस्तार लगाए : 

------------------------------------------------------------

 
डा मदनकुमार भट्टराई
राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ, जापानका लागि पूर्व राजदूत 

==============================================

जापानमा सन् १९६५ मा नेपालले दुताबास खोल्यो । तीन बर्षपछि जापानले नेपालमा १९६८ मा दुताबास खोल्यो । जापानका १७ औं राजदूत नेपालमा छन्, म ११ औँ नेपाली राजदूतको कार्यकाल सकेर फर्केको छु । शुरुमा भरतराज राजभण्डारी र प्रकाश चन्द्र ठाकुर परराष्ट्र सेवाबाट जानुभयो, ३८ बर्षपछि म गएँ । त्यसबीचमा सेवाबाहिरबाट राजदूत जानुभयो । मैले फर्किँदै गर्दा परराष्ट्र मन्त्रालयलाई टर्मिनल रिपोर्ट पठाएको छु जसमा मैले के गर्न सकेँ, केगर्न सकिँन, कहाँ कहाँ फेल भएँ, कहाँ कहाँ सफल भएँ, अब के गर्ने भन्ने उल्लेख गरेको छु ।
जापानमा मैले  कोशिस गरेर पनि हवाईलिंकेज हो । एउटा प्राइभेट पार्टी (बीबी एयरलाइन्स)ले ल्याउन खोजेको थियो सकेन ।  जापानको ठूलो एयरलाइन्समध्ये अल निप्पोन एयरवेज (आना) र जाल (जापान एयरलाइन्स)सँग कुरा गरेँ । जाल त डुबेर भर्खरै तंग्रिदै थियो त्यसले आँट गरेन । आना तयार छ, तर उसले जेट एयरलाइन्सलगायतसँग मिलेर भारतमा चार्टर्ड फ्लाइट चलाइरहेको छ । यात्रुहरु बढेको अवस्थामा उडान भर्न आना तयार छ, अध्ययन पनि गरिरहेको छ ।
मैले नेपाल एयरलाइन्सका उच्च पदाधिकारीलाई भनेको थिएँ,  ‘तपाईँहरुले बर्मा(म्यानमार)बाट जापानमा उडान चलाउनुस् । म्यानमार र काठमाडौंबीच डाइरेक्ट प्mलाइट छैन । त्यसकारण हप्ताको दुई, तीनवटा उडान फिफ्थ प्रिडम (यात्रु ओराल्ने वा लिने) अधिकारसहित शुरु गर्नुस् ।’ त्यसमा के कति काम भयो थाहा छैन ।
००००००००००
जापानमा नेपालीहरुको संख्या ५० हजार नाघेको छ । २०११ मा म जाँदा यो संख्या १७ हजार जति थियो । पाँच बर्षमा तीन गुणा नेपाली बढे ।
जापानमा रहेका नेपालीहरुको केही विशेषता फरक छ ।
पहिलो, जापानमा दक्षिण एशियाकै सबैभन्दा ठूलो संख्या नेपाली हो । भारतीयहरुको संख्या २५ हजार भन्दा बढी छैन । नेपालीहरु ५० हजार नाघिसके ।
दोस्रो, जापानमा अधिकांश नेपाली व्यवसायमा संलग्न छन् । अन्य मुलुकमा जागिर खाने नेपालीहरु धेरै छन् । मैले जापानमा दक्ष जनशक्ति पठाउन खोजेँ । रेस्टुरेन्ट व्यवसाय वा कामलाई पनि जापानमा स्किल्ड नै मानिन्छ । अलिक माथिल्लो स्तरका पठाउँदा जापानको माथिल्लो तहमा नेपालको एप्रोच बढ्छ भन्ने भयो । यसमा सामान्यरुपमा म सफल भएँ ।
तेस्रो, जापानमा बुद्धबृद्धा धेरै छन् । सरकारले सामाजिक सुरक्षा दिएको छ । २०२५ सम्म जापानमा आठदेखि दशलाख जना बृद्धबृद्धा हुने आँकलन छ । हामीले गुणस्तरीय केयर गिभर पठाउन सकिने सम्भावना छ । यो धेरै पैसा आउने, सुरक्षित सेवा हो । हामीकहाँ खुलेका नर्सिङ कलेजले जापानी भाषा पनि पढाउन् भन्ने भयो । हाम्रा बहिनीहरु चार बर्ष यहाँ पढेर ग्रयाजुएसन गर्दा भाषा जानुन् भन्ने छ ।
जापानले केयर गिभरका लागि जनशक्ति इपिए (इकोनोमिक पार्टनरसिप एग्रीमेन्ट) गरेका मुलुकबाट मात्रै लिन्छ । नेपाल र जापानबीच इपीए भएको छैन । इपीए गर्दा जापानलाई भन्सार र अन्य सहुलियत दिनुपर्छ । यसो गर्दा छिमेकी मुलुकसँग हामीले गरेका  आर्थिक सम्झौता पुनरावलोकन वा संशोधन गर्नुपर्ने हुन्छ, यसमा केही झमेला छन्  ।
मैले जापान सरकारका अधिकारीसँग् भनें, ‘किन इपीए मुलुकमात्रै, हामीसँग पनि त्यस्ता जनशक्ति छन्, हामी पनि पठाउन चाहन्छौँ ।’ उनीहरुले सकारात्मकरुपमा लिएका छन् र मेरो सूचना अनुसार आगामी जुलाईसम्म जापानले इपिए नभएको मुलुकबाट पनि केयरगिभरका लागि जान पाउने गरी खुला गर्दैछ ।
जापानमा नेपालीहरुको संख्या बढेपछि नेपाली दुताबासको कन्सुलरको लोड बढेको छ । नेपालीहरुको समस्या पनि बढेको छ, त्यसको समाधानका लागि प्रयास पनि भएको छ । त्यहाँ गैरआवासीय नेपाली साथीहरुको सक्रियता यसमा उल्लेखनीय छ ।
०००
जापान र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० बर्ष हुँदैछ । यो अवसरमा उच्चस्तरीय भ्रमण गराउनुपर्छ भन्नेमा हामी थियौँ । म फर्किए पनि दुताबासका तर्फबाट पहल भइरहेको छ ।
मेरो कार्यकालको शुरुमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ जापान भ्रमणमा जानुभयो । उहाँ उपचारका लागि गए पनि परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्नुभयो । पछि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जापानका समकक्षीको निमन्त्रणामा औपचारिक भ्रमणमा गर्नुभयो । धेरै बर्षको अन्तरालपछि  जापानका परराष्ट्रमन्त्री फुमियो किसिदाले नेपाल भ्रमण गर्नुभयो ।
परराष्ट्रमन्त्री किसिदा जापानका भावि प्रधानमनत्रीका रुपमा चर्चामा हुनुहुन्छ । जापानको संविधान अनुसार प्रधानमन्त्रीको कार्यकाल दुईपटक मात्रै हुन्छ । त्यसअनुसार प्रधानमन्त्री सिन्जो आबे २०१८ मा अवकास लिनुहुन्छ । त्यसपछि किसिदा, इसिबालगायतका नेताहरु दाबेदार हुनुहुन्छ ।
परराष्ट्रमन्त्री किसिदाले नेपालको संविधानप्रति सकारात्मक बक्तव्य दिनुभएको छ । जापानको विज्ञप्ति अत्यन्तै विस्तृत र महत्वपूर्ण छ । उहाँलाई अहिले नेपालका तर्फबाट स्ट्याण्डिङ इन्भाइटेशन छ । २०१४ अक्टोबरमा परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले जापान भ्रमण गरेर निमन्त्रणा दिनुभएको हो ।  अब एकपटक परराष्ट्रमन्त्रीको भ्रमण गराउन सकियो भने त्यसले जापानको राष्ट्राध्यक्ष वा प्रधानमन्त्रीको स्तरमा नेपालमा भ्रमण गराउन मार्गप्रशस्त गर्नेछ ।
हाम्रो परराष्ट्रमन्त्रालयमा अहिले सक्षम नेतृत्व छ । अनुभवी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुनुहुन्छ । परराष्ट्रसचिव पनि युवा र क्षमतावान हुनुहुन्छ । नेपाल र जापानबीच सम्बन्धको ६० औं बर्षगाठ मनाउने यो  बडो सुन्दर मौका हो ।
००००००००
जापानले कानूनी शासन राम्रो भएको, प्रणालीले काम गर्ने मुलुकलाई ओडीए (ओभरसिज डेभलेपमेन्ट एसिस्टेन्स) दिन्छ । यो एक प्रकारको ऋण अनुदान हो । जापानले २००१ देखि हामीलाई ऋण बन्द गरेको थियो । जापानले खर्च गर्ने क्षमता नभएको मुलुकलाई ऋण पनि दिँदैन । हामीकहाँ द्धन्द्धका कारण रोकेका थिए । जापानी अधिकारीहरु मसँग भन्थे, पहिला संविधान आवस्, हामी ओडीए दिन्छौँ ।’ मैले भनेको थिएँ, ‘संविधान न आइहाल्छ । आर्थिकरुपमा हामी धान्ने स्थिति भएन भने राजनीतिक विकासक्रमले मात्रै केही हुँदैन, सहयोेग गर्नुस् ।’ फलस्वरुप २०१३ मा जापानले ओडीए दिने निर्णय ग¥यो । तनहुँ हाइड्रो, एयरपोर्टको राडारजस्ता परियोजनामा उसले ऋण दिएको छ । हामीले परियोजना छनौट गरेर ऋणका लागि आग्रह गर्ने हो भने जापानले दिने सम्भावना छ ।
जापानका प्रधानमन्त्री सिन्जो आबेले गुणस्तरीय पूर्वाधारका लागि सहयोग गर्ने भन्नुभएको छ । हामीले सहयोग लिने वातावरण बनाउनुपर्छ । २०२० मा टोकियो ओलम्पिक आयोजना गर्न लागेको छ । उसले खेलकुद र संस्कृतिलाई फोकस गरेर सहयोग बढाउन खोजिरहेको छ । यसमा हामीलाई अबसर छ । जापान पर्यटनमा पनि सहयोग गर्न तयार छ । तर नेपाल पर्यटन बोर्डको निस्कृयताका कारण  विगतमा पहलकदमी भएन । होटललगायतका क्षेत्रमा लगानी गर्न उनीहरु तयार छन् । सम्बन्ध स्थापनाको ६० औँ बर्षगाँठका सन्दर्भमा हामीले यी क्षेत्रमा जापानलाई काम गर्न आकर्षित गर्न सकिने ठाउँ छ ।
००००
वैशाख १२ को भूकम्पपछि नेपालका बारेमा जापान सरकार, राजनीतिक दलहरु, विभिन्न दिग्गज व्यक्तित्व, शैशिक्ष संस्थादेखि आम जनमानसमा चासो र सहानुभूति बढ्यो । उनीहरुपनि भूकम्पपीडित भएको नाताले यो स्वभाविक थियो  ।  भूकम्पलगत्तै मैले त्यहाँको उच्च नेतृत्वकहाँ सम्पर्क गरेर भनेँ, ‘तपाईँहरुले टोकनका रुपमा अलिकति योगदान गरिदिनुभयो भने र मैले वेवसाइटमा राख्न पाएँ भने सहयोग संकलन गर्न सजिलो हुन्छ । नेपाल अहिले अप्ठेरो अवस्थामा छ ।’  जापानको समाज अत्यन्तै अनुशासित छ । नेतृत्वले यसो गरौं भनेपछि त्यसलाई सबै तप्काले मान्छन् भलै आणविकलगायतका बिषयहरुमा त्यहाँ मतैक्य नहोला । 
मेरो प्रस्ताबलाई सकारात्मकरुपमा लिँदै जापानको दुवै संसद (हाउस अफ रेप्रिजेन्टेटिभ्स र हाउस अफ काउन्सिलर्स)मा मलाई बोलाइयो । ४७५ जना सांसद सबैले पाँच पाँच हजार रुपियाँका दरले कटाएर मलाई २६ लाख ७५ हजार यानको चेक दिइयो । मिडियाले समाचार दिए । त्यसपछि जापानमा  नेपाललाई सहयोग गर्नेहरु बढे ।
जापानका पर्वतारोहीहरुसँग मेरो पुरानो सम्बन्ध थियो । सगरमाथा चढ्ने बृद्ध युइचिरो मियुरा,  पहिलो महिला आरोही जुन्को ताबेइ मेरा पुराना साथी हुन् । दुवैको जन्मदिनमा मैले कार्यक्रम आयोजना दिएको थिएँ । उहाँहरुले ठूलो सहयोग गर्नुभयो । उहाँहरुले गरेको सहयोग हामीले प्रधानमन्त्री राहत कोषमा पठाएको ६२ करोड ५७ लाखमा परेको छैन । युइचिरो मियुरा विश्व खाद्य कार्यक्रम (डब्लु एफ पी)को सद्भावना दुत हुनुहुन्छ । उहाँको नेतृत्वमा उठाइएको करिब आठ अर्ब पैसा विश्व खाद्य कार्यक्रमले नै खर्च गर्छ । जुन्को ताबेइ र म बसेर एउटा कार्यक्रम आयोजना गर्दा चार अर्ब रुपियाँ पैसा उठेको छ । त्यो युनिसेफले खर्च गर्छ । जापानमा अन्य संस्थाहरुले पनि पैसा उठाएर पठाएका छन् । हामीकहाँ अर्बौँ पैसा आएको छ ।
म जापान गएपछि शैक्षिक संस्थाहरु विशेष गरी विश्वविद्यालयसँग सम्बन्ध राखेँ । मैले चार बर्षमा ४३ वटा विश्वविद्यालयमा ४४ वटा लेक्चर लिएँ । भूकम्पपछि नेपाललाई हरेक विश्वविद्यालयले सहयोग गरे । मलाई बोलाई बोलाई उनीहरुले पैसा दिए । सबै राजनीतिक दलले पैसा अनुदान दिए ।
सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टीका महासचिव सादाकाजु तानीगाकीले नै सहयोग गर्नुभयो । सबै बौद्ध गुम्बाबाट पैसा आयो । एफएम स्टेशनबाट पनि पैसा आयो । म पूर्व पत्रकार भएको हिसाबले पनि मिडियाले ठूलो सहयोग गरे ।
चारबर्षको मेगाचान भन्ने बच्चाले गरेको सहयोग अहिले पनि झल्झलि सम्झिरहेको छु । टिभीले भुकम्पका कारण नेपाल हल्लिएको देखाएपछि उनले भनिछन्, –मजस्ता बच्चा कति पीडित होलान् । म सहयोग गर्छु ।’ उनले कापी कलम, किताब बेचेर पैसा जम्मा गर्दिन बाआमालाई भनिछन् । बाआमा, नाता गोताले पनि थपिदिएछन् र मकहाँ बच्चा लिएर उनका बाआमा आए । मैले उनालाई बोकेर फोटो खिचेँ । मैले चिफ गेस्ट त्यो बच्चीलाई बनाएर एउटा डिनर आयोजना गरेँ, थुप्रै मानिसहरु आए । एकजना एकसय ३ बर्षका बृद्धाले किताब बेचेर जम्मा गरेको पैसा ८३ बर्षीय छोरीलाई पठाए । यसरी चार बर्षको बच्चादेखि १०३ बर्षका बुद्धालेसम्म नेपालका लागि सहयोग गरे । परराष्ट्रमन्त्री, कृषिमन्त्रीका पत्नी आफैँ सहयोग गर्न आउनुभयो । नेपालप्रति उहाँहरुले देखाएको सद्भाव म विर्सन सक्दिन ।
जापानले अन्तराष्टिय दाता सम्मेलन आयोजना गर्न प्रस्ताब गरेको हो । अजरबैजानको बाकुमा भएको एडीबीको वैठकमा जापानी अर्थमन्त्री तारोआसोले प्रस्ताब गर्नुभयो । नेपालमा आयोजित  सम्मेलनमा राज्यमन्त्री आएर सहयोग गर्नुभयो ।  जापानले हामीलाई सहयोग गर्न तयार छ । तर परियोजना छनौट गरेर जानुपर्छ, जापानसँग कुराकानी गर्नुपर्छ ।
००००
धेरै समयदेखि नेपाल र जापानबीच उच्चस्तरीय भ्रमण आदनप्रदान भएको छैन । जापानको साम्राट १९७५ मा युवराज हुँदा राजा वीरेन्दको राज्याभिषेकमा आउनुभयो ।  प्रधानमन्त्री युसिरो मुरी २००० मा आउनुभयो । नेपालबाट गिरिजाबाबु जानुभएको छ । धेरै बर्षको ग्यापपछि परराष्ट्रमन्त्री आउनुभयो ।
मेरो उत्कट अभिलाषा जापानको राजपरिवार, प्रधानमन्त्रीलाई भ्रमण गराउने, हाम्रो प्रम, राष्ट्रपतिको भ्रमण गराउने थियो । सम्भव भएन । ६० औँ बर्षगाँठ मनाउन उपप्रधानमन्त्रीको नेतृत्वमा समिति बन्ला, त्यसपछि उच्चस्तरीय भ्रमणका लागि पहल होला  ।
००००००
भूकम्पपछि नेपालमा भूकम्पीय जागरण केन्द्र (अर्थक्वेक अवेरनेस सेन्टर)को आवश्यकता बढेको छ । यो सन्दर्भमा जापानबाट हामीले सिक्नुपर्छ ।  १९९५ र २०११ को बीचमा जापानले ठूलो भूकम्प सामना ग¥यो । हाननिआवाजी र तोहुको भूकम्पपछि जापानले  केन्द्र स्थापना ग¥यो जसका कारण ठूला भूकम्प जाँदा पनि मानवीय क्षति न्यून भएको छ । म सिजुओका प्रान्तमा घुम्न गएको थिएँ त्यहाँ अर्थक्वेक अवेरनेस सेन्टर राखिएको छ । सम्बन्धित अधिकारीले मलाई भने, ‘हामीकहाँ जति ठूलो भूकम्प आए पनि मानवीय क्षति हुँदैन । हामीलाई सुनामी आउला भन्ने मात्रै चिन्ता हो ।’
नेपालमा समुद्र नभएका कारण सुनामीको खतरा छैन । आणबीक भट्टी पड्किएला भन्ने चिन्ता हामीकहाँ छैन । ज्वालामुखी विस्फोट होला भन्ने तनाब पनि हामीलाई छैन । तर भूकम्पको जोखिममा हामी भएकोले अर्थक्वेक अवेरनेस सेन्टर बनाउनेतिर शोच्नुपर्छ ।
१९९० साल माघ २ गते भुकम्पीय सुरक्षा दिवस मनाउँछौँ, तर यो मनाई सैद्धान्तिक खालको मात्रै छ । जापानले सेप्टेम्बर १ लाई ग्रेट कान्तो अर्थक्वेक दिवस मनाउँछ । १९२३मा ठूलो भूकम्प गएको थियो । त्यो दिनको सम्झनामा जापानले डिजास्टर्स प्रिपेयर्डनेस डे मनाउँछ ।
भूकम्प प्रतिरोधक घर बनाउने कुरामा हामीले जापानबाट प्रविधि ल्याउन सक्छौँ । भूकम्पका कारण हाम्रो धेरै पुरातात्विक संरचना भताभुंग छन् । हामीकहाँजस्तै जापानमा पनि यस्ता संरचना काठ, ढुंगा र इँटाले बनेका छन् । उसको भूकम्प प्रतिरोधक छ, हामीले पनि त्यहाँबाट सिक्नुपर्छ । जापान सहयोग गर्न तयार छ ।


























No comments:

Post a comment

top sidebar ads

समाचार

समाचार

recent posts comments tab