Monday 2 December 2013

एमाओवादी पराजयको लेखाजोखा

-पर्शुराम काफ्ले-
................................................
एमाओवादीको शंकामा सबैभन्दा ठूलो षड्यन्त्र काठमाडौ १० मा भयो । किनभने त्यहीँबाट ‘क्रान्तिनायक प्रचण्ड’ तेस्रो स्थानमा सर्मनाक हार व्यहोर्दै थिए । त्यो क्षेत्रको 'मुटु' कीर्तिपुरलाई प्रचण्डले आफ्नो राजनीतिको आस्थापुन्ज बनाएका थिए । कारण काक्र्स, लेनिन, माओ, स्टालिन, एंगेल्स थिएनन् । थियो– नेपाल एकीकरण कर्ता पृथ्वीनारायण शाहले राज्य एकीकरणका बेला कीर्तिपुरमाथि गरेको आक्रमणका  क्रममा भएको भनिएका प्रायोजित कथा । गोर्खाली सेनाले कीर्तिपुरेहरुको १७ धार्नी नाक काटिएको मिथकमा उभिएको जातीवादी चेतना प्रचण्डको ठूलो राजनीतिक आदर्श थियो ।
.. .........................................
 एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटकको चुनावमा धेरै सिट जित्ने अपेक्षा गर्नु अस्वभाविक थिएन । चुनावी सरकार निर्माण र निर्वाचन प्रक्रियाको माहौल बन्नुमा समकालीन शीर्ष नेतृत्वपंक्ति भन्दा उनकै देन बढी थियो । गत माघमा हेटौँडा महाधिवेशनबाट खिलराज सरकारको मोडेल प्रस्तुत गरेका प्रचण्डकै कारण नै नेकपा–माओवादीसहित ३३ दलीय मोर्चाको अबरोध छिचोलेर चुनाबी माहौल तयार भएको थियो । व्यापक आशंका र आलोचनाका बीचमा पनि उनको देशव्यापी ‘हेलिकोप्टर दौड’ले चुनाब हुन्छ भन्ने सन्देश दिएकै हो । त्यसकारण चुनावी सरकारको आत्मबल र तयारीले होइन, प्रचण्डहरुको दृढताले नै निर्वाचन सम्पन्न हुने अवस्था सिर्जना भएको हो । चौतर्फी आशंकाबीच प्रचण्डको विश्वासमा कांग्रेस र एमालेले प्रधानन्यायाधीश सरकार गठन स्वीकार गरेका हुन् । यसमा अदृष्य पाटोबाट निर्वाह भएको भूमिका वा देखाइएको रुची के थियो भन्नेबारेमा प्रचण्ड र अन्य शीर्ष नेताहरु नै अवगत छन् ।
यो सकारात्मक र उत्साहजनक परिस्थिति एमाओवादीका पक्षमा थियो कि लोकतन्त्रको पक्षमा भन्ने कसिबाट हेर्न एमाओवादी चुकेका कारण अहिलेको अन्यौल उत्पन्न भएको छ । हेलिकोप्टर दौडमा जाँदा देशैभरि प्रचण्डको वरिपरि झुम्मिएको भीडलाई एमाओवादीले आफ्ना मतदाता सम्झियो । प्रचण्डले जताततै दुईतिहाई आउने सम्भावना देखे । कार्यकर्ताका विविध च्यानलले प्रचण्डलाई भनिरह्यो–बहुमत निश्चित छ, दुई तिहाईको सम्भावना धेरै छ ।’ परिणामतः प्रचण्डहरु सम्भावित जीतको उत्तेजनामा डुब्दै गए । 

प्रचण्डले मतगणना आरम्भ हुँदासम्म आफ्नो पार्टीको देशव्यापी प्रभावबारे जे बुझेका थिए, त्यो क्रमशः मिथ्या सावित भयो । वरिपरि झुम्मिएका कार्यकर्ता, लेखक, बुद्धिजीविले जे रिपोर्ट दिएर उनलाई खुशी पारेका थिए, प्रचण्डका लागि ती सबै एकाएक निरासामा बदलिए । काठमाडौं १०को मतगणना हुँदै गर्दा देखियो कि रेसको तेस्रो लाईनमा प्रचण्डको मत कनिकुथी दौडिँदै छ । समग्र प्रक्रियाको पहलकर्ताका दृष्टिले प्रचण्डलाई मतपरिणाम स्वीकार गर्न सक्ने अवस्थै रहेन । त्यसपछि एकै दिन ६ मंसिरमा पार्टीका तर्फबाट दुईपटक बक्तव्यबाजी भयो एउटा प्रचण्ड र अर्को प्रबक्ता अग्नि सापकोटाको हस्ताक्षरमा । त्यसअघि प्रचण्डले डा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ प्रकाश र पोष्टबहादुर बोगटीलाई बोलाएर लाजिम्पाटमा बिलौना गरिसकेका थिए । प्रचण्डले सुनेजानेको षड्यन्त्रको बासना तीनै नेताले आत्मसात गरिसकेका थिए । बरू डा. भट्टराईले सुनेजानेका षड्यन्त्रका कथा त्यो वैठकमा थपिएको थियो ।
चुनावमा पराजयको प्रष्ट क्षितिज प्रकट भइरहँदा प्रचण्डहरुले देखे– निर्वाचनअघि अग्रगामी भनिएका सबै मुद्दा आफैँसँग छन् । पहिचान (जातीय) सहितको संघीयता, धर्मनिरपेक्षता, संघीय लोकतान्त्रिक गणतन्त्र आफ्नै पोल्टामा छ । केबल जनमत कांग्रेस र एमालेसँग छ । मुद्दा आफूसँग, आफ्ना मुद्दामा कनिकुथी पछि लाग्ने अपेक्षा गरिएका कांग्रेस एमाले प्रचण्डहरुका दृष्टिमा केबल फड्के किनाराका साक्षी मात्रै हुन् । त्यसकारण प्रचण्डहरुले छलफल गरे– परिवर्तनका एजेन्डा हामीसँग, जनमत कांग्रेससँग । यो कसरी सम्भव हुन्छ ?’  प्रचण्डहरुको दृष्टिगोचरमा यस्तो सम्भव हुने एउटै अवस्था छ त्यो हो धाँधली ।
उनीहरुले मतदान प्रक्रियामा धाँधली देखेनन् (किनभने छिटपुटबाहेक भएकै थिएन) । मध्यरातमा धाँधलीको संकेत उनीहरुले मतगणनामा देखे । अनि प्रचण्ड निवासमा तयार भयो धाँँधलीको मनचिन्ते पहाड । लगत्तै एमाओवादी हेडक्वार्टरले  कार्यकर्तालाई सन्देश फर्मायो, ‘मतगणना जहाँ जस्तो अवस्थामा छ, बहिस्कार गरेर बाहिर निस्क । आफ्नो पराजयको रमिता हेरेर नबस । परिवर्तनका एजेन्डा हामीसँग छन् ।’ एमाओवादीले आत्मसात गर्न सकेन कि उनीहरुले देखेका, बुझेका वा पढाएका ‘अग्रगामी मुद्दा (विशेष गरी जातीय आधारमा संघीयता) जनअदालतमा तिरस्कृत भइसकेका थिए । जनताले केबल स्वीकार गरे–संघीय लोकतान्त्रिक गणतन्त्र र सामथ्र्यका आधारमा संघीयता ।
प्रचण्डलाई धक्का
ठूलो विजयको प्रतिक्षामा बसेका प्रचण्डलाई परेको झस्का अन्ततः अध्यक्ष पदसम्म पुगेर ठोक्कियो । नैतिकता भन्ने चीज दिमागको कुनै कुनामा थियो भने प्रचण्डका लागि पार्टीसत्ता हरेक पल प्रतिकुल थियो । तर चुनाबी पराजयसँग जोडिको नेतृत्वको असफलता, पार्टी नीति र पार्टी पंक्तिको शैलीलाई प्रचण्ड टीमले आत्मसात गर्नु अर्को प्रतिगामी कदम ठार ग¥यो । बरू लाजिम्पाटको छलफलमै प्रचण्डटीमले शंकाको यात्रा शुरु ग¥यो । अघिल्लो चुनाबमा गिरिजाप्रसाद कोइरालाले सत्ता हस्तान्तरण गर्न किन समय लगाए ? प्रधानसेनापति रुक्मांगद  कटवाल हटाउँदा रोक्ने कोको थिए ? प्रचण्डहरुको आँखा अगाडि पूर्व सेनापति कटवाल, तत्कालीन भारतीय राजदूत राकेश सूद, राष्ट्रपति रामवरण यादब, कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, एमालेका अध्यक्ष झनाथ खनाल क्रमैसँग आउँदै थिए । यतिमात्र होइन, प्रचण्डले यतिसम्म शंका गरे, ‘अघिल्लो माघमा आफूले प्रस्ताब गरे पनि खिलराज सरकारको वास्तविक प्रस्ताबक कुन उपरवाला थियो ? निर्वाचनमा नेपाली सेना परिचालन कसरी भयो ?’ यी सब शंकाको जबाफ प्रचण्डहरुसँग थियो किनभने यो गेममा उनीहरु पनि सहभागी थिए । तर शंकाको यात्रा केही माइल तय गर्दा प्रचण्डहरुले स्पष्टरुपमा षड्यन्त्रको तस्वीर देखे । किनभने एमाओवादी राजनीति धेरै हदसम्म षड्यन्त्रको सिद्धान्त (कन्सपिरेसी थ्यौरी)द्धारा निर्देशित छ । त्यसपछि कथा बुनियो –मतदानसम्म ठिकै थियो । (किनभने मतदान शान्तिपूर्ण भयो भनेर विज्ञप्ति सबैभन्दा पहिले जारी गर्ने प्रचण्ड नै थिए ) मतदानकेन्द्रदेखि मतगणनास्थलसम्म मतपेटिका पु¥याउने केला धाँधली भयो,  मतपेटिका साटियो । २४० वटै क्षेत्रमा षड्यन्त्र भयो ।’ तर जितेका २६ सिटमा धाँधली र षड्यन्त्र भएन । किनभने त्यहाँ एमाओवादीका उम्मेदवारले जितेका छन् । 
एमाओवादीको शंकामा सबैभन्दा ठूलो षड्यन्त्र काठमाडौ १० मा भयो । किनभने त्यहीँबाट ‘क्रान्तिनायक प्रचण्ड’ तेस्रो स्थानमा सर्मनाक हार व्यहोर्दै थिए । त्यो क्षेत्रको मुटु कीर्तिपुरलाई प्रचण्डले आफ्नो राजनीतिको आस्थापुन्ज बनाएका थिए । कारण काक्र्स, लेनिन, माओ, स्टालिन, एंगेल्स थिएनन् । थियो– नेपाल एकीकरण कर्ता पृथ्वीनारायण शाहले राज्य एकीकरणका बेला कीर्तिपुरमाथि गरेको आक्रमणका  क्रममा भएको भनिएका प्रायोजित कथा । गोर्खाली सेनाले कीर्तिपुरेहरुको १७ धार्नी नाक काटिएको मिथकमा उभिएको जातीवादी चेतना प्रचण्डको ठूलो राजनीतिक आदर्श थियो । गोर्खालीविरोधी त्यो बेलाको प्रतिरोधी मानसिकतालाई उनले अहिले यथार्थमा बदल्न खोजे । अनि आफूलाई प्रचण्डले गोर्खालीहरुसँग लड्ने तत्कालीन कीर्तिपुरेहरुको पछिल्लो उत्तराधिकारी ठाने । प्रचण्डले मतदानको केही दिनअघि ‘कीर्तिपुरले सामन्ती राजा पृथ्वीनारायण शाहको प्रतिरोध गरेको गाथा’ आफ्नो पनि आदर्श रहेको बताउँदै  थिए । त्यो बेला भएको अत्याचारको हिसाबकिताब गर्ने, क्षतिपूर्ति दिने प्रचण्डको घोषणा स्वयम् त्यहाँका जनताका लागि हाँसोको बिषय बनेको थियो । किनभने त्यो बेलाको घटना इतिहासको आवश्यक मोड थियो भन्नेमा अहिले कसैलाई पनि सन्देह छैन । तर केही बुद्धिजीविहरु पनि प्रचण्डको त्यो महान् बुद्धिमताको पछि दौडिए । तर प्रचण्डहरुको जातीवादी मान्यतालाई कीर्तिपुरले नै अस्वीकार गरिदियो । प्रचण्डका लागि शान्तिपूर्ण राजनीतिमा आएपछिको यो वैचारिक पनि हार थियो । तर उनले यसलाई षड्यन्त्रका कथातिर मिल्काए र उनको नेतृत्वमा एमाओवादी पुनः एक ढिक्का भयो ।
राजनीतिक मोलतोल
प्रचण्ड यस्ता राजनीतिक खेलाडी हुन् जसले धाँधली प्रकरणको ठूलो पहाड खडा गरेर कमजोरी र जिम्मेबारीबोध गर्नुपर्ने अवस्थाबाट आफूलाई मुक्त गराए । प्रचण्डले पार्टीको सर्मनाक पराजयको जिम्मेबार नेतृत्व होइन भन्ने सन्देश कार्यकर्तामाझ दिएका छन् जसका कारण हल्लिनुपर्ने उनको गद्दि अझ कसिलो हुँदै गयो । सानो संकटलाई ठूलो संकट खडा गरेर पन्छाइदिने प्रचण्ड कलाले एमाओवादीभित्र फेरि पनि सफलता हात पा¥यो । उनले पार्टीका आन्तरिक कमजोरी, एजेन्डाहरुको असफलताको यथार्थभन्दा पार्टीपंक्तिलाई अर्कै डुंगामा सवार गराए । पार्टीपंक्तिको ध्यान धाँधली प्रकरणमा गयो । त्यसपछि प्रचण्डले थाले–राजनीतिक बार्गेनिङको दोस्रो च्याप्टर ।
प्रचण्डले मोहन बैद्यलाई भेटेर भने–गल्ती गरिएछ । अहिले थाहा भयो ।’ बैद्यले भने –संविधानसभामा जाँदैनौ भने कार्यगत एकता हुनसक्छ ।’ त्यसपछि प्रचण्ड र उनको टीमले सन्देश दिए– शान्तिप्रक्रियाको एउटा पक्ष माओवादी हो । एउटा माओवादी शुरुदेखि नै बाहिर छ, एमाओवादी पनि बाहिर बस्दैछ । दुवै माओवादीलाई बाहिर राखेर कसरी संविधान बन्दोरहेछ, हामी पनि हेर्छौँ ।’ तर बैद्यहरुलाई चुनाबमा आउन नदिने प्रचण्डहरु नै हुन् भन्ने कुरा लोकले जानिसकेको छ ।
प्रचण्डले बार्गेनिङकै लागि मधेश आन्दोलनको उठानकर्ता उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतो, जनजाति सेन्टिमेन्ट बोकेका अशोक राईहरुलाई समेटेर मोर्चाबन्दीको शुरुवात गरे । जातीय संघीयताका पक्षपोषक, तराईलाई एक प्रदेश बनाउने मुद्दाका पक्षपोषकले राजनीतिक सुरक्षाका लागि पनि एमाओवादीको धुरी समात्नुपर्ने बाध्यता थियो । उपेन्द्र यादब, महन्थ ठाकुर, राजेन्द्र महतो, अशोक राईहरु एमाओवादीसँग हतारिए र बक्तव्यबाजी पनि गरे । जातीय मुद्दामा बैद्य माओवादी पनि एमाओवादी भन्दा भिन्न नभएका कारण अहिले प्रचण्डको कसरत अबको संविधानसभा भित्र र बाहिरबाट  आफ्ना पराजित मुद्दा जबर्जस्त लागू गराउनतिर केन्द्रित छ । संविधानसभामा उनीहरु सहभागी हुने निश्चित भए पनि त्यहाँको ‘विजनेस’ प्रचण्डहरुबाट प्रभावित हुने धरातल बन्दै गएको छ ।
तर बैद्यको समग्र एजेन्डामा प्रचण्ड प्रवेश गर्ने सम्भावना अहिले छैन । पराजयको आवेशमा जे प्रतिक्रिया दिए पनि केन्द्रिय समितिको वैठकबाट एमाओवादीले स्पष्ट सन्देश दिएको छ, ऊ संविधानसभा बाहिर बस्नेछैन । सातौँ महाधिवेशनले लिएको ‘पहिचान सहितको संघीयता, संघीयतासहितको संविधान, संविधानसभाबाटै संविधान ’ भन्ने नारामा उसले पुनः प्रतिवद्धता जनाएको छ । बैद्य माओवादीले नै यो अवस्थामा प्रचण्डहरुसँग सहकार्य गर्न नसक्ने भनिसकेको छ । तर स्मरण रहोस् –जातीय मुद्दामा उनीहरुबीच भविश्यमा मोर्चाबन्दी हुने खतरा टरिसकेको छैन ।
र, अन्त्यमा
एमाओवादीले आफूलाई अझै पनि शान्ति प्रक्रियाको एउटा पक्ष दाबी गर्नु र सत्ताको अर्को पक्षका रुपमा स्थापित गर्न खोज्नु अत्यन्त अस्वभाविक छ । विस्तृत शान्ति सम्झौता अनुसार लडाकुको समायोजन र व्यवस्थापन सम्पन्न भइसकेको छ । दुईपटक सरकारको नेतृत्व समेत उसले लिइसकेको छ । अब एमाओवादी कांग्रेस, एमाले, नेकपा माले, राप्रपाजस्तै एउटा राजनीतिक दल मात्र हो । यो यथार्थबाट कांग्रेस र एमालेका नेतृत्व विचलित भएनन् भने आगामी प्रक्रिया सहज हुनेछ । उत्तेजनामा आएर एमाओवादीको प्रतिक्रिया जे जस्तो भए पनि उनीहरु यो प्रक्रियामा सहभागी हुनुको विकल्प छैन । विशेष गरी नेपाली कांग्रेसका शीर्ष नेतामा एमाओवादीलाई समेत समेटेर जाने गरी धैर्य र परिपक्वता अपेक्षित छ । किनभने जनताले आगामी राजनीतिको स्पष्ट मार्गचित्र मतमार्फत् प्रस्तुत गरिसकेका छन् ।  
TARUN WEEKLY, २०७०, मंसिर १७
pkaphle@gmail.com

2 comments:

  1. so different between Chunbang Rukum and Kirtipur.

    ReplyDelete
  2. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

top sidebar ads

समाचार

समाचार

recent posts comments tab