एमाओवादी पराजयको लेखाजोखा
-पर्शुराम काफ्ले- |
एमाओवादीको शंकामा सबैभन्दा ठूलो षड्यन्त्र काठमाडौ १० मा भयो । किनभने त्यहीँबाट ‘क्रान्तिनायक प्रचण्ड’ तेस्रो स्थानमा सर्मनाक हार व्यहोर्दै थिए । त्यो क्षेत्रको 'मुटु' कीर्तिपुरलाई प्रचण्डले आफ्नो राजनीतिको आस्थापुन्ज बनाएका थिए । कारण काक्र्स, लेनिन, माओ, स्टालिन, एंगेल्स थिएनन् । थियो– नेपाल एकीकरण कर्ता पृथ्वीनारायण शाहले राज्य एकीकरणका बेला कीर्तिपुरमाथि गरेको आक्रमणका क्रममा भएको भनिएका प्रायोजित कथा । गोर्खाली सेनाले कीर्तिपुरेहरुको १७ धार्नी नाक काटिएको मिथकमा उभिएको जातीवादी चेतना प्रचण्डको ठूलो राजनीतिक आदर्श थियो ।
.. .........................................
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटकको चुनावमा धेरै सिट जित्ने अपेक्षा गर्नु अस्वभाविक थिएन । चुनावी सरकार निर्माण र निर्वाचन प्रक्रियाको माहौल बन्नुमा समकालीन शीर्ष नेतृत्वपंक्ति भन्दा उनकै देन बढी थियो । गत माघमा हेटौँडा महाधिवेशनबाट खिलराज सरकारको मोडेल प्रस्तुत गरेका प्रचण्डकै कारण नै नेकपा–माओवादीसहित ३३ दलीय मोर्चाको अबरोध छिचोलेर चुनाबी माहौल तयार भएको थियो । व्यापक आशंका र आलोचनाका बीचमा पनि उनको देशव्यापी ‘हेलिकोप्टर दौड’ले चुनाब हुन्छ भन्ने सन्देश दिएकै हो । त्यसकारण चुनावी सरकारको आत्मबल र तयारीले होइन, प्रचण्डहरुको दृढताले नै निर्वाचन सम्पन्न हुने अवस्था सिर्जना भएको हो । चौतर्फी आशंकाबीच प्रचण्डको विश्वासमा कांग्रेस र एमालेले प्रधानन्यायाधीश सरकार गठन स्वीकार गरेका हुन् । यसमा अदृष्य पाटोबाट निर्वाह भएको भूमिका वा देखाइएको रुची के थियो भन्नेबारेमा प्रचण्ड र अन्य शीर्ष नेताहरु नै अवगत छन् ।
यो सकारात्मक र उत्साहजनक परिस्थिति एमाओवादीका पक्षमा थियो कि लोकतन्त्रको पक्षमा भन्ने कसिबाट हेर्न एमाओवादी चुकेका कारण अहिलेको अन्यौल उत्पन्न भएको छ । हेलिकोप्टर दौडमा जाँदा देशैभरि प्रचण्डको वरिपरि झुम्मिएको भीडलाई एमाओवादीले आफ्ना मतदाता सम्झियो । प्रचण्डले जताततै दुईतिहाई आउने सम्भावना देखे । कार्यकर्ताका विविध च्यानलले प्रचण्डलाई भनिरह्यो–बहुमत निश्चित छ, दुई तिहाईको सम्भावना धेरै छ ।’ परिणामतः प्रचण्डहरु सम्भावित जीतको उत्तेजनामा डुब्दै गए ।
प्रचण्डले मतगणना आरम्भ हुँदासम्म आफ्नो पार्टीको देशव्यापी प्रभावबारे जे बुझेका थिए, त्यो क्रमशः मिथ्या सावित भयो । वरिपरि झुम्मिएका कार्यकर्ता, लेखक, बुद्धिजीविले जे रिपोर्ट दिएर उनलाई खुशी पारेका थिए, प्रचण्डका लागि ती सबै एकाएक निरासामा बदलिए । काठमाडौं १०को मतगणना हुँदै गर्दा देखियो कि रेसको तेस्रो लाईनमा प्रचण्डको मत कनिकुथी दौडिँदै छ । समग्र प्रक्रियाको पहलकर्ताका दृष्टिले प्रचण्डलाई मतपरिणाम स्वीकार गर्न सक्ने अवस्थै रहेन । त्यसपछि एकै दिन ६ मंसिरमा पार्टीका तर्फबाट दुईपटक बक्तव्यबाजी भयो एउटा प्रचण्ड र अर्को प्रबक्ता अग्नि सापकोटाको हस्ताक्षरमा । त्यसअघि प्रचण्डले डा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ प्रकाश र पोष्टबहादुर बोगटीलाई बोलाएर लाजिम्पाटमा बिलौना गरिसकेका थिए । प्रचण्डले सुनेजानेको षड्यन्त्रको बासना तीनै नेताले आत्मसात गरिसकेका थिए । बरू डा. भट्टराईले सुनेजानेका षड्यन्त्रका कथा त्यो वैठकमा थपिएको थियो ।
चुनावमा पराजयको प्रष्ट क्षितिज प्रकट भइरहँदा प्रचण्डहरुले देखे– निर्वाचनअघि अग्रगामी भनिएका सबै मुद्दा आफैँसँग छन् । पहिचान (जातीय) सहितको संघीयता, धर्मनिरपेक्षता, संघीय लोकतान्त्रिक गणतन्त्र आफ्नै पोल्टामा छ । केबल जनमत कांग्रेस र एमालेसँग छ । मुद्दा आफूसँग, आफ्ना मुद्दामा कनिकुथी पछि लाग्ने अपेक्षा गरिएका कांग्रेस एमाले प्रचण्डहरुका दृष्टिमा केबल फड्के किनाराका साक्षी मात्रै हुन् । त्यसकारण प्रचण्डहरुले छलफल गरे– परिवर्तनका एजेन्डा हामीसँग, जनमत कांग्रेससँग । यो कसरी सम्भव हुन्छ ?’ प्रचण्डहरुको दृष्टिगोचरमा यस्तो सम्भव हुने एउटै अवस्था छ त्यो हो धाँधली ।
उनीहरुले मतदान प्रक्रियामा धाँधली देखेनन् (किनभने छिटपुटबाहेक भएकै थिएन) । मध्यरातमा धाँधलीको संकेत उनीहरुले मतगणनामा देखे । अनि प्रचण्ड निवासमा तयार भयो धाँँधलीको मनचिन्ते पहाड । लगत्तै एमाओवादी हेडक्वार्टरले कार्यकर्तालाई सन्देश फर्मायो, ‘मतगणना जहाँ जस्तो अवस्थामा छ, बहिस्कार गरेर बाहिर निस्क । आफ्नो पराजयको रमिता हेरेर नबस । परिवर्तनका एजेन्डा हामीसँग छन् ।’ एमाओवादीले आत्मसात गर्न सकेन कि उनीहरुले देखेका, बुझेका वा पढाएका ‘अग्रगामी मुद्दा (विशेष गरी जातीय आधारमा संघीयता) जनअदालतमा तिरस्कृत भइसकेका थिए । जनताले केबल स्वीकार गरे–संघीय लोकतान्त्रिक गणतन्त्र र सामथ्र्यका आधारमा संघीयता ।
प्रचण्डलाई धक्का
ठूलो विजयको प्रतिक्षामा बसेका प्रचण्डलाई परेको झस्का अन्ततः अध्यक्ष पदसम्म पुगेर ठोक्कियो । नैतिकता भन्ने चीज दिमागको कुनै कुनामा थियो भने प्रचण्डका लागि पार्टीसत्ता हरेक पल प्रतिकुल थियो । तर चुनाबी पराजयसँग जोडिको नेतृत्वको असफलता, पार्टी नीति र पार्टी पंक्तिको शैलीलाई प्रचण्ड टीमले आत्मसात गर्नु अर्को प्रतिगामी कदम ठार ग¥यो । बरू लाजिम्पाटको छलफलमै प्रचण्डटीमले शंकाको यात्रा शुरु ग¥यो । अघिल्लो चुनाबमा गिरिजाप्रसाद कोइरालाले सत्ता हस्तान्तरण गर्न किन समय लगाए ? प्रधानसेनापति रुक्मांगद कटवाल हटाउँदा रोक्ने कोको थिए ? प्रचण्डहरुको आँखा अगाडि पूर्व सेनापति कटवाल, तत्कालीन भारतीय राजदूत राकेश सूद, राष्ट्रपति रामवरण यादब, कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, एमालेका अध्यक्ष झनाथ खनाल क्रमैसँग आउँदै थिए । यतिमात्र होइन, प्रचण्डले यतिसम्म शंका गरे, ‘अघिल्लो माघमा आफूले प्रस्ताब गरे पनि खिलराज सरकारको वास्तविक प्रस्ताबक कुन उपरवाला थियो ? निर्वाचनमा नेपाली सेना परिचालन कसरी भयो ?’ यी सब शंकाको जबाफ प्रचण्डहरुसँग थियो किनभने यो गेममा उनीहरु पनि सहभागी थिए । तर शंकाको यात्रा केही माइल तय गर्दा प्रचण्डहरुले स्पष्टरुपमा षड्यन्त्रको तस्वीर देखे । किनभने एमाओवादी राजनीति धेरै हदसम्म षड्यन्त्रको सिद्धान्त (कन्सपिरेसी थ्यौरी)द्धारा निर्देशित छ । त्यसपछि कथा बुनियो –मतदानसम्म ठिकै थियो । (किनभने मतदान शान्तिपूर्ण भयो भनेर विज्ञप्ति सबैभन्दा पहिले जारी गर्ने प्रचण्ड नै थिए ) मतदानकेन्द्रदेखि मतगणनास्थलसम्म मतपेटिका पु¥याउने केला धाँधली भयो, मतपेटिका साटियो । २४० वटै क्षेत्रमा षड्यन्त्र भयो ।’ तर जितेका २६ सिटमा धाँधली र षड्यन्त्र भएन । किनभने त्यहाँ एमाओवादीका उम्मेदवारले जितेका छन् ।
एमाओवादीको शंकामा सबैभन्दा ठूलो षड्यन्त्र काठमाडौ १० मा भयो । किनभने त्यहीँबाट ‘क्रान्तिनायक प्रचण्ड’ तेस्रो स्थानमा सर्मनाक हार व्यहोर्दै थिए । त्यो क्षेत्रको मुटु कीर्तिपुरलाई प्रचण्डले आफ्नो राजनीतिको आस्थापुन्ज बनाएका थिए । कारण काक्र्स, लेनिन, माओ, स्टालिन, एंगेल्स थिएनन् । थियो– नेपाल एकीकरण कर्ता पृथ्वीनारायण शाहले राज्य एकीकरणका बेला कीर्तिपुरमाथि गरेको आक्रमणका क्रममा भएको भनिएका प्रायोजित कथा । गोर्खाली सेनाले कीर्तिपुरेहरुको १७ धार्नी नाक काटिएको मिथकमा उभिएको जातीवादी चेतना प्रचण्डको ठूलो राजनीतिक आदर्श थियो । गोर्खालीविरोधी त्यो बेलाको प्रतिरोधी मानसिकतालाई उनले अहिले यथार्थमा बदल्न खोजे । अनि आफूलाई प्रचण्डले गोर्खालीहरुसँग लड्ने तत्कालीन कीर्तिपुरेहरुको पछिल्लो उत्तराधिकारी ठाने । प्रचण्डले मतदानको केही दिनअघि ‘कीर्तिपुरले सामन्ती राजा पृथ्वीनारायण शाहको प्रतिरोध गरेको गाथा’ आफ्नो पनि आदर्श रहेको बताउँदै थिए । त्यो बेला भएको अत्याचारको हिसाबकिताब गर्ने, क्षतिपूर्ति दिने प्रचण्डको घोषणा स्वयम् त्यहाँका जनताका लागि हाँसोको बिषय बनेको थियो । किनभने त्यो बेलाको घटना इतिहासको आवश्यक मोड थियो भन्नेमा अहिले कसैलाई पनि सन्देह छैन । तर केही बुद्धिजीविहरु पनि प्रचण्डको त्यो महान् बुद्धिमताको पछि दौडिए । तर प्रचण्डहरुको जातीवादी मान्यतालाई कीर्तिपुरले नै अस्वीकार गरिदियो । प्रचण्डका लागि शान्तिपूर्ण राजनीतिमा आएपछिको यो वैचारिक पनि हार थियो । तर उनले यसलाई षड्यन्त्रका कथातिर मिल्काए र उनको नेतृत्वमा एमाओवादी पुनः एक ढिक्का भयो ।
राजनीतिक मोलतोल
प्रचण्ड यस्ता राजनीतिक खेलाडी हुन् जसले धाँधली प्रकरणको ठूलो पहाड खडा गरेर कमजोरी र जिम्मेबारीबोध गर्नुपर्ने अवस्थाबाट आफूलाई मुक्त गराए । प्रचण्डले पार्टीको सर्मनाक पराजयको जिम्मेबार नेतृत्व होइन भन्ने सन्देश कार्यकर्तामाझ दिएका छन् जसका कारण हल्लिनुपर्ने उनको गद्दि अझ कसिलो हुँदै गयो । सानो संकटलाई ठूलो संकट खडा गरेर पन्छाइदिने प्रचण्ड कलाले एमाओवादीभित्र फेरि पनि सफलता हात पा¥यो । उनले पार्टीका आन्तरिक कमजोरी, एजेन्डाहरुको असफलताको यथार्थभन्दा पार्टीपंक्तिलाई अर्कै डुंगामा सवार गराए । पार्टीपंक्तिको ध्यान धाँधली प्रकरणमा गयो । त्यसपछि प्रचण्डले थाले–राजनीतिक बार्गेनिङको दोस्रो च्याप्टर ।
प्रचण्डले मोहन बैद्यलाई भेटेर भने–गल्ती गरिएछ । अहिले थाहा भयो ।’ बैद्यले भने –संविधानसभामा जाँदैनौ भने कार्यगत एकता हुनसक्छ ।’ त्यसपछि प्रचण्ड र उनको टीमले सन्देश दिए– शान्तिप्रक्रियाको एउटा पक्ष माओवादी हो । एउटा माओवादी शुरुदेखि नै बाहिर छ, एमाओवादी पनि बाहिर बस्दैछ । दुवै माओवादीलाई बाहिर राखेर कसरी संविधान बन्दोरहेछ, हामी पनि हेर्छौँ ।’ तर बैद्यहरुलाई चुनाबमा आउन नदिने प्रचण्डहरु नै हुन् भन्ने कुरा लोकले जानिसकेको छ ।
प्रचण्डले बार्गेनिङकै लागि मधेश आन्दोलनको उठानकर्ता उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतो, जनजाति सेन्टिमेन्ट बोकेका अशोक राईहरुलाई समेटेर मोर्चाबन्दीको शुरुवात गरे । जातीय संघीयताका पक्षपोषक, तराईलाई एक प्रदेश बनाउने मुद्दाका पक्षपोषकले राजनीतिक सुरक्षाका लागि पनि एमाओवादीको धुरी समात्नुपर्ने बाध्यता थियो । उपेन्द्र यादब, महन्थ ठाकुर, राजेन्द्र महतो, अशोक राईहरु एमाओवादीसँग हतारिए र बक्तव्यबाजी पनि गरे । जातीय मुद्दामा बैद्य माओवादी पनि एमाओवादी भन्दा भिन्न नभएका कारण अहिले प्रचण्डको कसरत अबको संविधानसभा भित्र र बाहिरबाट आफ्ना पराजित मुद्दा जबर्जस्त लागू गराउनतिर केन्द्रित छ । संविधानसभामा उनीहरु सहभागी हुने निश्चित भए पनि त्यहाँको ‘विजनेस’ प्रचण्डहरुबाट प्रभावित हुने धरातल बन्दै गएको छ ।
तर बैद्यको समग्र एजेन्डामा प्रचण्ड प्रवेश गर्ने सम्भावना अहिले छैन । पराजयको आवेशमा जे प्रतिक्रिया दिए पनि केन्द्रिय समितिको वैठकबाट एमाओवादीले स्पष्ट सन्देश दिएको छ, ऊ संविधानसभा बाहिर बस्नेछैन । सातौँ महाधिवेशनले लिएको ‘पहिचान सहितको संघीयता, संघीयतासहितको संविधान, संविधानसभाबाटै संविधान ’ भन्ने नारामा उसले पुनः प्रतिवद्धता जनाएको छ । बैद्य माओवादीले नै यो अवस्थामा प्रचण्डहरुसँग सहकार्य गर्न नसक्ने भनिसकेको छ । तर स्मरण रहोस् –जातीय मुद्दामा उनीहरुबीच भविश्यमा मोर्चाबन्दी हुने खतरा टरिसकेको छैन ।
र, अन्त्यमा
एमाओवादीले आफूलाई अझै पनि शान्ति प्रक्रियाको एउटा पक्ष दाबी गर्नु र सत्ताको अर्को पक्षका रुपमा स्थापित गर्न खोज्नु अत्यन्त अस्वभाविक छ । विस्तृत शान्ति सम्झौता अनुसार लडाकुको समायोजन र व्यवस्थापन सम्पन्न भइसकेको छ । दुईपटक सरकारको नेतृत्व समेत उसले लिइसकेको छ । अब एमाओवादी कांग्रेस, एमाले, नेकपा माले, राप्रपाजस्तै एउटा राजनीतिक दल मात्र हो । यो यथार्थबाट कांग्रेस र एमालेका नेतृत्व विचलित भएनन् भने आगामी प्रक्रिया सहज हुनेछ । उत्तेजनामा आएर एमाओवादीको प्रतिक्रिया जे जस्तो भए पनि उनीहरु यो प्रक्रियामा सहभागी हुनुको विकल्प छैन । विशेष गरी नेपाली कांग्रेसका शीर्ष नेतामा एमाओवादीलाई समेत समेटेर जाने गरी धैर्य र परिपक्वता अपेक्षित छ । किनभने जनताले आगामी राजनीतिको स्पष्ट मार्गचित्र मतमार्फत् प्रस्तुत गरिसकेका छन् ।
TARUN WEEKLY, २०७०, मंसिर १७
pkaphle@gmail.com
so different between Chunbang Rukum and Kirtipur.
ReplyDeleteम श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete