भारत–पाक सम्बन्धः के नेपाल तटस्थ छ ?

-पर्शुराम काफ्ले -
( SOURCE-NAYA PATRIKA )
सन् १९५७ अगस्ट ३ मा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री डा. के आई सिंहले भनेका थिए, ‘काश्मिर ‘इस्यु’का सन्दर्भमा हामी भारतलाई समर्थन गर्छौँ । यसमा कुनै शंका छैन । काश्मिर भारतको अभिन्न भाग भएकाले त्यहाँका जनता भारतसँगै रहन चाहन्छन् । उनीहरुको यो चाहनालाई हामी सम्मान गर्छौँ (अवतारसिंह भासिन, नेपाल–इन्डिया–चाइना रिलेसन्स) ।’ उनले २००७ सालमा नयाँ दिल्लीमा राजा त्रिभुवनले प्रजातन्त्र घोषणा गरी राणा एवं कांग्रेसको संयुक्त अन्तरिम सरकार गठन गर्ने सहमति (चलनचल्तीको भाषामा दिल्ली सम्झौता)लाई धोका मानेका थिए । उक्त सहमतिविरुद्ध तत्कालीन सशस्त्र संघर्षलाई निरन्तरता दिएका र भारतीय सहयोगमा पक्राउ परेका उनले प्रधानमन्त्रीको हैसियतमा उक्त दृष्टिकोण प्रस्तुत गरेका थिए । नेपालले जसरी एक चीन नीति अख्तियार गरेर तिब्बत र ताइवानलाई चीनको अभिन्न अंग मान्दै आएको छ । त्यसरी नै नेपालले सिक्किम, जम्मु काश्मिरलाई एक भारत नीतिका रुपमा भारतको अभिन्न अंग मान्दै आएको छ । 
अंग्रेजको उपनिवेशबाट स्वतन्त्र पाएसँगै सन् १९४७ मा भएको भारत–पाकिस्तान विभाजनपछिका सत्तरी वर्षयता काश्मिर दुई देशको तनावको केन्द्रमा छ । तत्कालीन राजा हरि सिंहले सन् १९४७ अक्टोवर २६ मा जम्मु कश्मिरलाई भारतीय गणराज्यमा विलयको प्रस्ताव गरे । भारत सरकार ऐन १९३५ अनुसार भारतका लागि ब्रिटिश गभर्नर जनरल लुइस माउन्टबेटनले भोलिपल्ट (अक्टोबर २७)मा स्वीकृत दिएसँगै जम्मु काश्मिर भारतमा विलय भयो । सिंहका छोरा डा. कर्ण सिंहको समयमा जम्मु र काश्मिरमा भारतीय प्रशासन र सुरक्षा सुनिश्चित भयो र प्रान्त बन्ने प्रक्रिया सम्पन्न भयो । काश्मिरलाई भारतमा मिसाउने प्रक्रियाको अगुवाई त्यो बेला काश्मिरका लोकप्रिय नेता शेख अब्दुल्लाहले  गरेका थिए ।
 राज्य विलय प्रक्रियामा छिमेकी पाकिस्तान र काश्मिरका त्यसबेलाका केही समूह सन्तुष्ट थिएनन् । त्यसयता दिल्ली र इस्लामाबाद आपसी भूराजनीतिक स्वार्थसमेतको पृष्ठभूमिमा काश्मिर अझै शान्त रहन सकेन् । जम्मु, काश्मिर र लद्दाखमध्ये पाकिस्तानको सीमावर्ती काश्मिर अशान्त हुँदै आएको छ । अशान्तिको पछिल्लो घटना २ फागुनमा पुलवामा क्षेत्रमा भएको आतंकवादी घटना हो, जहाँ ४० भारतीय सुरक्षाकर्मीले ज्यान गुमाए । अन्तर्राष्ट्रिय जगतबाट भारतीय सुरक्षाकर्मीलाई सहानुभूति प्राप्त भएसँगै नेपालका प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोनमार्फत दुःखको क्षणमा नेपाल भारतको साथमा रहेको स्पष्ट पारे ।
भारतमा नजिकिँदो निर्वाचनका साथै १९ औं सार्क शिखर सम्मेलन अनिश्चित भएको अवस्थामा आतंकवादी हमलाले भारत पाकिस्तानको सम्बन्धमा थप दरार पैदा भएको छ । सार्कलाई अनिश्चित भविश्यतर्फ धकेलेको छ । आणविक शक्ति सम्पन्न दक्षिण एशियका ठुला मुलुकको बढ्दो तनाव चिन्ताको विषय त छ नै, काश्मिरमा यतिबेला विश्वव्यापी नजर परेको छ । यसमा भिन्न आयामसहित नेपालको चिन्ता र चासो थपिएको छ । 
के नेपाल तटस्थ छ ?
पाकिस्तान तथा चीनसँग भारतको सम्बन्ध द्विपक्षीय आन्तरिक मामिला हो । तर, उनीहरुबीच विगतका द्वन्द्वमा नेपाल सामेल हुँदै आएको छ । नेपालको विशिष्ट भौगोलिक अवस्थिति र भारतीय सुरक्षा फौजमा नेपाली नागरिक कार्यरत रहेकाले नेपालको चिन्ता चासो रहनु स्वभाविक छ ।  नेपाल सार्कको सदस्य मुलुक (हाल अध्यक्ष) भएकाले क्षेत्रीय शान्ति र स्थायित्वका सन्दर्भमा विकसित घटनाक्रमलाई नियाल्ने र विवेचना गर्नु पर्ने स्वभाविक छ । तर, भारतीय सेनामा मात्रै ३२ हजार नेपाली नागरिक कार्यरत रहेको र अर्धसैनिक दस्तामा समेत जोड्दा ४० हजारभन्दा बढी संख्या रहेको अवस्थामा नेपाल निरपेक्ष वा तटस्थ रहन सक्दैन । 
यद्यपि भारत र पाकिस्तानबीच सन् १९६६ जनवरी १० मा तत्कालीन सोभियत संघको तासकन्द सम्मेलनमा भएको शान्ति सम्झौता तथा सन् १९७२ जुलाई २ मा भएको सिमला सम्झौताको कार्यान्वयनमा नेपालले जोड दिँदै छ । 
चीन र पाकिस्तानसँग विभिन्न समयमा भारतको लडाई हुँदा नेपालले काठमाडौंबाट सैद्धान्तिक तटस्थता व्यक्त गरे पनि व्यहारिक रुपमा गोर्खा सैनिकमार्फत नेपाली नागरिक भारतका तर्फबाट लडाईमा आबद्ध हुँदै आएका छन् । सन् १९६२ मा चीनसँगको युद्ध, १९६५, १९७१ र १९९९ मा पाकिस्तानसँग युद्ध हुँदा भारतका तर्फबाट नेपाली गोर्खा लडाईमा सामेल भएका छन् । गोर्खा सैनिकले प्राप्त गरेका ३ परमवीर चक्र, ३३ महावीर चक्र ८४ वीर चक्र पुरस्कार तीनै लडाईमा सामेल हुँदाका प्रतिफल हुन् । 
सन् १९४७ नोभेम्बर ७ मा नेपाल, भारत र बेलातबीचको त्रिपक्षीय सम्झौताअनुसार आजसम्म गोर्खा भर्ती चलिरहेको छ । नेपाली नागरिकका हैसियतले नै गोर्खा सैनिक भारतका संवेदनशील सीमानामा कार्यरत छन् । दोक्लाम घटनामा नेपाली नागरिकता भएका गोर्खा सैनिक भारतका तर्फबाट परिचालित थिए । यो सन्दर्भमा नेपाल भारत र पाकिस्तान होस्, वा भारत र चीनका बीचमा, तटस्थ छैन । गोर्खा भर्ती यथावत रहेसम्म नेपाल सैद्धान्तिक अवस्थामा तटस्थ होला तर व्यवहारिक रुपमा भारतसँगै रहन्छ । भारतले मूलतः यही धरातलमा नेपालसँग ‘विशेष सम्बन्ध’ सञ्चालन गर्दै आएको छ । 
भारतले आजसम्म गोर्खा बिना कुनै युद्ध जितेको छैन । त्यस अर्थमा नेपाली गोर्खा सैनिकलाई भारतका लागि ‘लाइफलाइन’ हुन् । अंग्रेजसँग स्वतन्त्रता पाएसँगै हैदराबादलाई भारतमा मिलाउन नेपालको सहयोग उसले संस्थागत सम्झनामा राखेको छ । डिसेम्वर १४, १९४८ मा नेहरुले प्रधानमन्त्री मोहन शमशेरलाई केबलमार्फत् धन्यवाद दिएका थिए । मार्च १७ मा नेहरुले प्रधानमन्त्री पद्म शमशेरलाई सांस्कृतिक निकटताका हिसाबले ‘हाम्रा लागि नेपाल विदेश होइन’ भन्ने भावुक चिठी लेख्दै हैदराबादमा सैन्य सहयोग मागेका थिए । अंग्रेजलाई मात्रै सहयोग गरेको आरोप लागेको नेपालले त्यसबेला स्वतन्त्र भारतलाई गरेको पहिलो सैन्य सहयोगलाई धेरैले बिर्सन थालका छन् । 
भारतको योजना र सामथ्र्यमा पाकिस्तानबाट बंगलादेशको विभाजनमा नेपाली कांग्रेससहित हाम्रा राजनीतिक दलहरुको समर्थन थियो । कांग्रेसले त बंगलादेशको मुक्ति बाहिनीलाई हतियार नै वितरण गरेको थियो भने भारतका तर्फबाट गोर्खा फौज नै प्रत्यक्ष सामेल थिए ।  
कान्दाहारदेखि काश्मिरसम्म
घटनाको योजनाकार भनिएका व्यक्ति मसुद अजरको पृष्ठभूमिले हामीलाई झस्काइदिएको छ । सन् १९९९ डिसेमबर २४ मा नेपालबाट उडेको इन्डियन एयरलाइन्सको जहाज अपहरण गरेर अमृतसर, दुबई हुँदै कान्दाहार पुर्‍याइएको र बन्धक भएका यात्रुको रिहाईका लागि काश्मिरको जेलबाट मसुदलाई रिहा गरिएको घटना मानिसहरुले सम्झिन थालेका छन् । नेपालको भूमिबाट उडेको जहाज भारतीय आकाशबाट अपहरण भएको थियो तर त्यसले नेपाल र भारतबीच सुरक्षा शंकाको वातावरण सिर्जना गरेको थियो । त्यसको बाछिटा अझै बाँकी छ । त्यसयता नेपालबाट भारत जाने भारतीय निजी तथा सरकारी विमानमा भारतीय सुरक्षाकर्मीले चेकिङ गर्दै आएका छन् । दक्षिण एशियामा नेपाल र अफगानिस्तानबाट भारत जाने यात्रुको हकमा यो व्यवस्था लागू भएको छ । 
नेहरुका चिठीपत्र  
नेपाल र भारत सन् १९५० को शान्ति तथा मैत्री सन्धीको धारा २ अनुसार भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले काश्मिरका घटनाक्रमबारे सन् १९६५ डिसेम्बरमा राजा महेन्द्रलाई जानकारी दिएका थिए । सन्धीमा एक अर्काको देशमाथि तेस्रो देशबाट हुने आक्रमण वा तेस्रो देशसँग हुने लडाईबारे जानकारी दिने उल्लेख छ ।  डिसेम्बर २० मा नेहरु र महेन्द्रको पत्रकार सम्मेलन भयो । नेहरुले पाकिस्तानबाट व्यापक रुपमा काश्मिरमा घुसपैठा भइरहेको जानकारी दिएका थिए । राजा महेन्द्रले जवाफ दिए, ‘भारत र पाकिस्तानका मतभेद द्विपक्षीय र शान्तिपूर्ण समाधान हुनुपर्छ र यसमा तेस्रो पक्षको हक्ष्तक्षेप हुनु हुँदैन ।’ 
त्यसो त, सन् १९४८ मा नेहरुले प्रधानमन्त्री मोहन शमशेरलाई काश्मिरबारे चिठी लेखेर जानकारी दिएका थिए । अबतारसिंह भासिनद्वारा सम्पादित पुस्तकका अनुसार नेहरुको भनाई थियो, ‘केही सातादेखि काश्मिरमा हाम्रो फौजविरुद्ध पाकिस्तानले ठुलो संख्यामा सेना बृद्धि गरेको छ । उरीमा त हरेक रात मानिस र सामानसहित २ सय ट्रक आउन थालको छन् । हामीले पूरै सैन्य परिस्थितिको अध्ययन गेका छौँ । हामीले पूर्वी पाकिस्तान (हालको बंगलादेश)मा १५ बटालियन फौज पठाएका छौँ तर कम छ ।’ 
नेपालले दोस्रो विश्वयुद्धमा १० बटालियन भारतको आन्तरिक सुरक्षा सुदृढीकरणका लागि पठाएको नेहरुको चिठीमा उल्लेख छ । नेहरुको चिठीमा यो पनि उल्लेख छ, ‘विगतको जस्तै सहयोग प्राप्त हुने भए हामी आभारी हुने छैनौँ । नेपाली सैनिकलाई सैन्य अपरेसनमा पठाउने हाम्रो मनसाय छैन । पशिचम बंगाल, उत्तरुप्रदेश र विहारमा आन्तरिक सुरक्षा बन्दोबस्तका लागि उनीहरुलाई जिम्मा दिने हाम्रो शोच हो । यहाँको यसमा स्वीकृति भए कार्यान्वयनको ढाँचा चाँडै तय गरौँ ।’ सोहीअनुसार नेपालले भारतलाई सैन्य मद्दत गरेको पृष्ठभूमि यहाँ स्मरणीय छ । 
डा. कर्ण सिंहको अपुरो सपना
कश्मिरका तत्कालीन युवराज (हाल भारतीय राष्ट्रिय कंग्रेसका नेता) डा कर्ण सिंहले आफ्नो आत्मकथा ‘मेरो कथा’को भूमिकामा लेखेका छन्, ‘म क्षेत्रीय राजनीतिबाट राष्ट्रिय राजनीतिमा पुगिसकेको र अन्तर्राष्ट्रिय मुद्दाहरुका जोडिएको भए पनि सायद मैले आफ्ना पूर्वजहरुले स्थापना गरेको यस अत्यन्त सुन्दर राज्य (जम्मु काश्मिर)को कर्मऋण चुक्ता गर्न अझै बाँकी छ । त्यो ऋण चुक्ता गर्ने प्रक्रियामा सायद मैले भारत र पाकिस्तानबीचको सम्बन्धमा सुमधुरता ल्याउन योगदान दिन सकेँ भने यी दुवै देशमा बस्ने अर्बौँ मानिसको कल्याण हुनेछ । ’१८ वर्ष काश्मिरको राजकाज चलाएर दिल्लीमा सांसद, मन्त्री हुँदै अवकास जीवन व्यतित गरिरहेका सिंहको यो सपना अनिश्चयको गर्भमा छ । डा सिंंहले आत्मकथामा नै उल्लेख गरेको यो पंक्ति पनि उल्लेखनीय छ, ‘जबसम्म हामी आफ्ना छिमेकी देश पाकिस्तान र चीनसँगको झगडामा अल्झिरहन्छौँं तबसम्म हामीले तीब्र रुपमा प्रकट भइरहेको विश्व समाजको नेतृत्व गर्ने भूमिका निर्वाह गर्न सक्दैनौँ । यी झगडाहरुको समाधान जम्मु काश्मिर समस्याको शान्तिपूर्ण एवं मान्य समाधानमा निर्भर छ ।’ नेपाली ज्वाई डा सिंहको सपना उल्लेखित घटनाक्रमको गर्भमा रुमल्लिएका छन् ।

Comments

Popular posts from this blog

Importance of Pharm. D study in Nepal

Climate and Clean Air Coalition (CCAC) meets in Kathmandu to tackle air pollution

डा.भट्टराई, 'क्रान्ति'को कार्यकाल कति हो ?