Thursday, 28 February 2019

भारत र पाकिस्तानबीच तनाव बढ्दै :युद्ध भए नेपाललाई असर पर्छ ?


                                                               -पर्शुराम काफ्ले -
  • भारत र पाकिस्तानबीच युद्धको खतरा बढेको छ । तीन वटा ठूला युद्ध र अनेकौं पटक द्वन्द्वबाट गुज्रिएका यी दुई छिमेकीबीच तनाव बढ्दै गए त्यसले नेपाल र दक्षिण एसियामै ठूलो असर पार्ने विज्ञहरु बताउँछन् ।
  • –भारत र पाकिस्तान दुवै आणविक शक्तिसम्पन्न राष्ट्र हुन् । त्यसैले यी दुईबीच युद्ध भए त्यसबाट अकल्पनीय मानवीय क्षति हुने र विश्व शान्तिमै नकारात्मक असर पर्ने देखिन्छ ।
  • – नेपाल र भारतबीच खुला सीमाना छ । युद्ध भए सीमा बन्द हुने भारतीय रक्षा अध्ययन एवं विश्लेषण संस्थानका निहार नायक बताउँछन् । सीमा बन्द भए दुवै देशका नागरिक कष्ट बेहोर्न बाध्य हुनेछन् । भारतले विगतमा पटकपटक नेपालसँगको खुला सीमाना आफूविरुद्ध प्रयोग भएको भनेर नेपाललाई दबाब दिँदै आएको छ । पाकिस्तानसँगको युद्धको अवस्थामा उसले फेरि त्यस्तै मुद्दा उचाल्न सक्छ ।
  • नेपालको आयात–निर्यातमा असर पर्न सक्छ 
  • –नेपालको अधिकांश वैदेशिक व्यापार भारतको बाटोबाट हुन्छ । त्यसैले भारत युद्धमा संलग्न हुँदा त्यसले नेपालको अर्थतन्त्रलाई पनि असर गर्छ । ‘नेपाल आउने र यहाँबाट बाहिरिने मालवस्तुको ढुवानीमा भारतले नियमन गर्नसक्छ,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैँजु भन्छन्, ‘त्यसो भयो भने हाम्रो आयात निर्यातको समय र लागत बढ्नसक्छ ।’ यसबाट तेस्रो देशसँगको नेपालको आयात निर्यात पनि प्रभावित हुनसक्छ ।
  • – नेपाल केही इन्धनलगायत अत्यावश्यक आपूर्तिहरुमा भारतसँग निर्भर छ । भारत ‘फुल स्केल वार’ मा ‘इन्गेज’ हुँदा आपूर्ति अवरुद्ध हुने वा महंगी बढ्ने हुनसक्छ । 
  • –नेपालमा ठूलो संख्यामा भारतीय पर्यटक आउँछन् । युद्धको असामान्य अवस्थामा नेपालको पर्यटन उद्योगमा नकारात्मक प्रभाव पर्न सक्छ । 
  • सार्कको भविष्य अनिश्चित हुनेछ 
  • –सार्क मरणासन्न छ, वर्षौंदेखि सम्मेलन रोकिएको छ । पछिल्लो समय भारतले सार्कलाई नजरअन्दाज गरेर पाकिस्तानबाहेकका क्षेत्रीय पहलहरुमा सहभागिता र सक्रियता बढाएको छ । सार्कको स्थापना नै आफूलाई घेर्न गरिएको भारतीय पक्षको बुझाइ रहँदै आएको छ । भारत–पाक युद्ध भए सार्क ब्यँुतिने सम्भावना क्षीण हुनेछ । यसले दक्षिण एसिया क्षेत्रीय सहकार्य र यसमा नेपालको चासो समेत ओझेलमा पर्नसक्छ । 
  • –भारतीय गोर्खा फौजमा करिब ३२ हजार नेपाली कार्यरत रहेको भारतीय विदेश मन्त्रालयको तथ्यांक छ । यसअघिका सबै युद्धमा भारतले गोर्खाहरुलाई खटाउँदै आएको छ । युद्ध बढ्दै गए नेपालीले ज्यान समेत गुमाउनेछन् । भारतमा लाखौं नेपाली रोजगारी गर्छन् । युद्धबाट ती पनि प्रभावित हुनेछन् ।
  •  कास्मिर नजिकको हवाइमार्ग हुँदै नेपाल आवतजावत गर्ने उडान प्रभावित भयो । टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकियो । युद्धको परिस्थितिमा नेपाल आउजाउका केही हवाइमार्ग परिवर्तन गर्नुपर्ने हुनसक्छ । 

 भारतले पाकिस्तान शासित कास्मिरमा हवाई हमला गरेको एक दिनपछि पाकिस्तानले दुईवटा भारतीय सैन्य विमान खसाएको दाबी गरेको छ । २ फागुनमा कास्मिरको पुलवामामा आतंककारी आक्रमणमा ४० भारतीय सुरक्षा सैनिक मारिएपछि विगतमा ठुल्ठूला युद्ध लडिसकेका यी दुई छिमेकीबीच तनाव बढेको हो । 
औपचारिक रूपमा भने दुवै देशले युद्ध नचाहेको बताएका छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पुलवामा घटनाको छानबिनका लागि आफ्नो देश तयार रहेको भन्दै भारतसँग वार्ताको आह्वान गरेका छन् । उनले दुवै देश आणविक शक्ति भएको भन्दै उनले बुद्धिमानी अपनाउनुपर्ने बताए । पाकिस्तानले खसाएको लडाकु विमानका एक पाइलटलाई नियन्त्रणमा लिएको बताएको छ । भारतले भने आतंकवादी शिविर बन्द नभएसम्म वार्ता हुन नसक्ने बताउँदै आएको छ ।
दुवैतर्फ हवाई सेना सतर्क, विमानस्थल बन्द
दुवैले आफ्ना क्षेत्रमा हवाई सैनिकलाई लडाइँका लागि सतर्क राखेका छन् । भारतले जम्मु–कास्मिरका तीन विमानस्थल र पञ्जाबको अमृतसरलगायत विमानस्थल अर्को सूचना नभएसम्म नागरिक उडान प्रयोजनका लागि बन्द गरेको छ । पाकिस्तानले पनि लाहोर, कराँची र पेसावरमा घरेलु तथा बाह्य व्यावसायिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ । 

नेपालको अडान : वार्ताबाट समाधान 
नेपालले बुधबार भारत र पाकिस्तानबीच जारी तनावको शान्तिपूर्ण समाधान हुनुपर्ने धारणा सार्वजनिक गरेको छ । २ फागुनमा कास्मिरमा भारतीय सैनिकमाथि भएको आतंकवादी हमलाको निन्दा गरेको नेपालले वार्ताबाट समाधान खोज्न र संयमता अपनाउन आग्रह गरेको हो । ‘दक्षिण एसियामा शान्ति र स्थिरताको महŒवलाई ध्यानमा राख्दै नेपाल दुवै पक्ष (भारत र पाकिस्तान) लाई यो क्षेत्रको शान्ति र सुरक्षालाई चुनौती दिने कुनै कार्यमा सामेल नहुन र अधिकतम संयम अपनाउन आग्रह गर्दछ,’ नेपालले भनेको छ । परिस्थितिलाई सामान्यीकरण गर्न र तनाव घटाउँदै शान्तिपूर्ण संवादमार्फत समाधान खोज्न पनि आग्रह गरेको छ ।
मंगलबार भारतीय विदेश मन्त्रालयमा आयोजित ब्रिफिङमा भारतका लागि नेपाली दूतावासका उपनियोग प्रमुख भरत रेग्मी सहभागी थिए । भारतले छिमेकी र दक्षिण एसियाली देशबाट आतंकवादविरुद्ध ऐक्यबद्धता खोजेको भारतीय विदेशसचिव विजय गोखलेको भनाइ थियो । नेपालले आतंकवादविरुद्ध अडान स्पष्ट पारेको छ भने भारतसँग पछिल्लो परिस्थितिबारे असमझदारी नभएको एक उच्च कूटनीतिक अधिकारीले बताए । ‘भारत र पाकिस्तानबीच युद्ध नै हुने परिस्थिति हामीले देखेका छैनौँ । किनभने दुवैले युद्धको मूल्य अनुभव गरेका छन्,’ एक उच्च कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘यद्यपि केही दिन तनाव बढ्ने अवस्था छ । पठानकोट हमलापछि नेपालसँग भारतले ऐक्यबद्धताको अपेक्षा गरेको हो, हामीले आतंकवादविरुद्ध अडान स्पष्ट पार्दै आएका छौँ । आवश्यक परे कुनै फोरममार्फत थप स्पष्ट पार्न सक्नेछौँ ।’ 
नेपाली अर्थतन्त्रमा कस्तो प्रभाव ?
भारत र पाकिस्तानबीचको द्वन्द्वले अहिले नै नेपाली अर्थतन्त्रमा कुनै असर नपारे पनि स्थिति खराब हुँदै गयो भने विभिन्न क्षेत्रमा प्रभाव पर्नसक्ने सरोकारवालाले बताएका छन् । छिमेकका दुई मुलुकबीच देखिएको द्वन्द्वले अहिलेसम्म नेपालको व्यापारमा कुनै असर नपरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैँजु बताउँछन् । नेपालको अधिकांश वैदेशिक व्यापार भारतको बाटोबाट हुन्छ । ‘द्वन्द्व बढ्दै जाँदा नेपाल आउने र यहाँबाट बाहिरिने मालवस्तुको ढुवानीमा भारतले नियमन गर्नसक्छ,’ सैँजुले भने, ‘त्यसो भयो भने हाम्रो आयात निर्यातको समय र लागत बढ्नसक्छ ।’ 
कथम् कथाचित भारत र पाकिस्तानबीच युद्ध भइहाले त्यसले भारतकै अर्थतन्त्रलाई समस्या पर्ने र त्यसले स्वाभाविक रुपमा नेपाललाई असर पर्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका बताउँछन् । ‘नेपालको दुई तिहाइ व्यापार भारतसँग छ, त्यसो हुँदा युद्ध नै भएको अवस्थामा नेपालको आयात निर्यात प्रभावित भई अर्थतन्त्रलाई नै असर पर्न सक्छ । त्यस्तै, भारतबाट  र तेस्रो मुलुकबाट हुने ढुवानीमा अवरोध आउन सक्छन्,’ उनले भने, ‘ठूलो मात्रामा नेपालीहरु भारतमा काम गरिरहेका छन्, उनीहरु पनि प्रभावित बन्नेछन् ।’ भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने पर्यटक पनि प्रभावित हुनेछन् ।’
दुई दिनदेखि रोकियो टर्किस एअरलायन्सको जहाज
भारत र पाकिस्तानबीच कास्मिर बमबारी र युद्ध विमान ओहोरदोहोर गरेका कारण मंगलबार नेपाल आएको टर्किस एअरलायन्सको जहाज फर्कन सकेको छैन । नेपालबाट इस्तानबुलसम्मको उडान कास्मिर नजिकैको रुटबाट हुने कारणले जहाज फर्कन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । ‘दैनिक उडान हुने टर्कीबाट बुधबार पनि नेपाल जहाज आएन,’ उनले भने, ‘नेपालमा रहेको जहाज बिहीबार फर्कने तालिका छ, सम्भव भए त्यही रुटबाट नभए अन्य रुटबाट जाने छ ।’ अन्य उडानलाई भने त्यहाँको समस्याले प्रभावित नपारेको पनि क्षेत्रीले जानकारी दिए । 
के भन्छन् विज्ञ ?
भारतीय रक्षा विश्लेषक : यसै भन्न सकिने अवस्था छैन 
 हर्ष काकर, पूर्वमेजर जनरल, भारतीय सेना
-भारतीय सेनाका पूर्वमेजर जनरल हर्ष काकरले लखनउबाट नयाँ पत्रिकासँग भने–
तत्कालै युद्धको सम्भावना म देख्दिनँ । दुवै पक्षले आफ्ना जनतासामु शक्तिको प्रदर्शन गरिरहेका छन् । उनीहरू चाँडै नै शान्त हुनेछन् । जनताले जे चाहेका छन्, दुवैले त्यही गरेका छन् । पाकिस्तानले आफूमाथि ‘आक्रमण’ भएको भनेको छैन, ‘लाइन अफ कन्ट्रोल (सीमारेखा) उल्लंघन’ भनेको छ । उसले भारतलाई ‘जस्तालाई तस्तै’ जवाफ दिएको जनतालाई देखाएको छ । त्यसैले परिस्थिति युद्ध होइन, गतिरोधतर्फ गएको छ । यसबाट नेपाललाई फरक पर्दैन । केबल उत्तर–पश्चिमी सीमामा केही असर पर्ने सम्भावना देख्छु ।’ 
डा. निहार नायक, नेपाल मामिलाविज्ञ, भारतीय रक्षा अध्ययन एवं विश्लेषण संस्थान 
-अहिले त जम्मु–कास्मिर क्षेत्रमा द्वन्द्व मात्रै छ, युद्धको अवस्था छैन । तर, भविष्यमा पाकिस्तानका कारण युद्ध हुन सक्छ । पारम्परिक युद्धको अवस्था आइप¥यो भने त्यसले दुई हिमाली देश नेपाल र भुटानलाई असर गर्नेछ । तेलको र अन्य सामग्रीको आपूर्तिमा यसले अवरोध ल्याउन सक्छ । खुला सिमाना बन्द हुन सक्छ किनभने खुला सिमानाबाट भारतविरोधी तŒवले विगतमा फाइदा लिँदै आएका छन् । भारतले पूर्वसावधानी अपनाउनैपर्छ । आणविक युद्ध भयो भने त समग्र दक्षिण एसिया नै प्रभावित हुनेछ । 
नेपालले जसरी सजिलै परिस्थितिलाई लिएको छ, त्यसबाट भारत अचम्मित छ । पाकिस्तानलाई उसले स्पष्ट रूपमा आतंकवादी शिविर बन्द गर्न कुनै पनि वक्तव्यमा भनेको छैन । नेपालले नियमित खालको र परम्परागत धारणा दिएको छ, जसको कुनै अर्थ छैन । पाकिस्तानले त्यसलाई सुन्नेवाला छैन । नेपालबाट भारतले स्पष्ट धारणा चाहेको छ । संकटका वेला नेपालबाट सहयोग होस् भन्ने भारतीय चाहना अन्यथा होइन । टाढाका अस्ट्रेलिया र फ्रान्सको स्पष्ट धारणा आइसकेको छ, नेपाल अझै स्पष्ट हुन सकेको छैन । 
भारतले पाकिस्तानको विरोध गरेको होइन । केवल आतंककारी शिविर उसले बन्द गरोस् र वार्तामार्फत समस्याको समाधान गरौँ भन्ने भारतको चाहना हो । 
सार्कले आतंकवादविरुद्ध साझा ऐक्यबद्धता व्यक्त गरिसकेको छ । सार्कका अध्यक्षका रूपमा नेपालले यो सन्दर्भलाई उठाउनुपर्ने हो कि होइन ? भारतमा पारम्परिक युद्ध भएको अवस्थामा गोर्खा सैनिक आवश्यकताअनुसार परिचालित हुन्छन् । पाकिस्तान र चीनसँगका युद्धमा गोर्खा सैनिक खटिएका छन् र उनीहरूले असाधारण बहादुरी देखाएका छन् । त्यस हिसाबले अब पनि उनीहरूको भूमिका आउन सक्छ । स्वाभाविकै हो । योसँगै नेपालले भारतलाई अहिले ‘डिप्लोम्याटिक जेस्चर’ देखाउनुपर्छ । युद्धमा नेपाल भारतको साथमा सामेल हुनुपर्छ भन्न खोजिएको होइन । 
नेपालले सार्कको पुनस्र्थापना चाहेको हो भने आतंकवादविरुद्ध स्पष्ट हुनुपर्छ । र त्यसमा सबै सदस्य मुलुकलाई सहमत गराउनुपर्छ । सार्कको आगामी बाटो आतंकवादको भविष्यले निर्धारण गर्दछ । यदि आतंकवादविरुद्ध नबोल्ने र साथ नदिने हो भने सार्क सदाका लागि बन्द हुन सक्छ । भारतले बिमस्टेक र बिबिआइएनमार्फत उपक्षेत्रीय सहकार्यको बाटो समातिसकेको छ । सार्क नहुँदा भारतलाई केही फरक पर्दैन । भारतको अर्थतन्त्र सार्क वा दक्षिण एसियाली मुलुकमा निर्भर छैन । वास्तवमा भारतलाई घेराबन्दीमा पार्नका लागि सार्क स्थापना गरिएको हो । 
आतंकवादी समूह विघटन वा उन्मूलनपछि मात्रै पाकिस्तानसँग वार्ता हुन सक्छ । भारतले पाकिस्तानमा कहिले आतंककारी पठाएको छ ? हामीविरुद्ध युद्ध छेडेपछि वार्ता कसरी हुन्छ ? 
 राकेशकुमार मिना, नेपाल मामिलाविज्ञ, भारत विश्व सम्बन्ध परिषद्
अहिले भारत र पाकिस्तान थप एक्सनको तयारीमा देखिन्छन् । सैनिकलाई पूर्ण सतर्क गराइएको छ । एयरपोर्ट बन्द गराइएको छ । यो एयर बेसमा मात्र सीमित भयो वा युद्ध रोकियो भने त ठीक छ, सेना नै संलग्न भएर पारम्परिक युद्ध भयो भने परिस्थिति क्षेत्रीय रूपमा पनि भयावह हुनेवाला छ । दुवैतर्फबाट आक्रमण र प्रत्याक्रमणका लागि तयार भएको सन्देश प्रवाह भइरहेको छ । 
यो परिस्थितिलाई दुवैतर्फ (भारत र पाकिस्तान सरकार)ले आफ्नो फाइदामा बदल्न खोजेजस्तो देखिन्छ । यो संकटको लाभ भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीलाई जानेछ भने पाकिस्तानमा इमरान खान र उनको पार्टीलाई । अहिले युद्ध भएको छैन, युद्धको खतरा देखाइएको छ । अन्तर्राष्ट्रिय समुदायले शान्तिपूर्ण समाधानमा जोड दिइरहेका छन् । सञ्चारमाध्यममा भारतविरोधी वा पाकिस्तानविरोधी भावना उचालिएको छ । यो दक्षिण एसियाकै भविष्यका लागि गलत छ । यसको असर साना देशमा पर्नेवाला छ । 
अहिले पाकिस्तान ऋणको धरापमा फसेको छ । ऊ युद्ध चाहँदैन र थेग्न पनि सक्दैन भन्ने कुरा भारतले बुझेको छ । पाकिस्तानको भारतसँग लड्ने पैसा छैन । भारत पनि युद्धको मूल्य चुकाउन चाहँदैन । त्यसकारण यो राजनीतिक खेल हो, युद्धको परिस्थिति होइन भन्न पनि सकिन्छ । भारतीय मिडियाले परिस्थितिलाई बढाइचढाइ गरिरहेका छन् । सामाजिक सञ्जालहरूले पनि युद्धको पृष्ठपोषण गरिरहेका छन् । यसले झडपको वातावरण पैदा भएको छ ।
गोर्खा राइफल्स, जो भारत–पाकिस्तान युद्धमा सामेल भए 
भारतीय गोर्खा फौजमा ३२ हजार नेपाली कार्यरत रहेको भारतीय विदेश मन्त्रालयको तथ्यांक छ । भारतका अन्य अर्धसैनिक बलमा थप ८ देखि १० हजार नेपाली नागरिक कार्यरत छन् । भारत र पाकिस्तानबीच सन् १९४८, १९६५, १९७१ र सन् १९९९ मा लडाइँ भयो । ती सबैमा गोर्खा सैनिक सामेल थिए । पहिलो, तेस्रो, चौथो, पाँचौँ, आठौँ र नवौँ र ११औँ गोर्खा राइफल्समा आबद्ध नेपाली गोर्खा सैनिक युद्धमा सामेल भएका थिए । १९६५, १९७१ र १९९९ मा पाकिस्तानसँग युद्ध हुँदा भारतका तर्फबाट सहभागी गोर्खा सैनिकले ३ परमवीर चक्र, ३३ महावीर चक्र ८४ वीर चक्र पुरस्कार प्राप्त गरेका छन् । सन् १९४७ नोभेम्बर ७ मा नेपाल, भारत र बेलायतबीचको त्रिपक्षीय सम्झौताअनुसार भारतको स्वतन्त्रतापछि भारत र बेलायतमा गोर्खा भर्ती निरन्तर हुँदै आएको छ । 
सन् २०१६ मा चीन र भुटानको सीमाक्षेत्रस्थित दोक्लममा भारतका तर्फबाट गोर्खा सैनिक खटिएका थिए । भारत र चीनबीच सन् १९६२ को युद्धमा पनि गोर्खा सैनिक खटाइएको थियो ।

भारत–पाकिस्तान सामरिक सामथ्र्य
स्थल सेना 
भारत ः १२ लाख स्थल सेना, ३५६५ ब्याटल ट्याङ्क, ३१ सय इन्फेन्ट्री फाइटिङ भेइकल, ३३६ आम्र्ड पर्सनल क्यारिअर (एपीसी), ९७१९ आर्टिलरी, आणविक हतियार–११० देखि १२० वारहेड्स, रक्षा बजेट ः ५८ अर्ब अमेरिकी डलर, ५ हजार किलोमिटर सम्म हान्न सक्ने क्षेप्यास्त्र, एयरफोर्स तर्फ, भारत ः १लाख२७ हजार सैनिक, ८१४ कम्ब्याट एयरक्राफ्ट (रसियन एमआइजी–२१सहित)
पाकिस्तान ः ५ लाख ६० हजार सेना, २४९६ ब्याटल ट्यांक, १६०५ आम्र्ड पर्सनल क्यारिअर (एपीसी), ४४७२ आर्टिलरी गन 
आणबिक हतियार ः १२० देखि १३० वार हेड्स,  रक्षा बजेट ः ११ अर्ब १० करोड अमेरिकी डलर , ३ हजार किलोमिट सम्म हान्न सक्ने क्षेप्यास्त्र
एयरफोर्स तर्फ, पाकिस्तानः  ४२५ कम्व्याट एयरक्राफ्ट, ७ एयरबोर्न अर्लि वार्निङ एण्ड कन्ट्रोल एयरक्राफ्ट गन  
(स्रोत ः इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज)

(NAYA PATRIKA DAILY, काठमाडौं, १५ फागुन 2075)

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...