Thursday 30 April 2015

भूकम्प पीडितलाई उद्धार र राहतको प्रयास , ३५ सय पशुपंक्षी पनि मरे

काठमाडौं, १७ बैशाख । गत शनिबार गएको विनासकारी भूकम्पका पीडितहरुको उद्धारका लागि अति संकटग्रस्त १२ जिल्ला सहित देशभर स्थानीय निकायको परिचालनलाई तीव्र बनाइएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आज एक विज्ञप्ती जारी गरी अति प्रभावित १२ जिल्लाहरु गोरखा, सिन्धुपाल्चोक, धादिङ, काभ्रे, दोलखा, नुवाकाट, रामेछाप, सिन्धुली,  रसुवा, काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका सबै जिविस,गाविस, नगरपालिका र वडाहरु क्रियाशील भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तीमा सार्वजनिक विदाका दिन समेत कार्यालय खोली राहत तथा उद्धारको कार्यमा सहयोग पु¥याउन सम्बद्ध कार्यालयहरुलाई निर्देशन गरिएको जनाइएको छ ।
रसुवा जिल्लामा आफ्नो कार्यस्थलमा जान अटेर गर्ने कर्मचारीलाई कारबाही गरिएको तथा उद्धार कार्यमा कर्मचारीहरु परिचालन गरी उद्धार तथा राहत कार्यमा समन्वयात्मक प्रयास गरिएको जनाइएको छ ।
 अति प्रभावित १२ जिल्लामा १८ हजार ४९२ त्रिपालरटाट, ५० वोरा चामल, २६ वोरा चिउरा, दुई हजार ४७ कार्टुन चाउचाउ वितरण गरिएको छ ।
गोरखा तथा धादिङ जिल्लाका प्रभावित क्षेत्रमा हेलिकप्टरबाट राहत सामाग्री र उद्वारको कार्यमा तीवता दिइएको छ । दोलखा जिविसले आफ्नै स्रोेतबाट पछि सोधभर्ना लिने गरी पिडितलाई प्रति परिवार रु. २ हजार राहत गाविस सचिव मार्फत वितरण गर्न खटाइएको विज्ञप्तीमा उल्लेख छ ।
 रामेछाप जिल्लामा प्रति मृतक रु. ४० हजार, मृृतकका प्रति परिवार १० केजी चिनी र एक वोरा चामल वितरण गर्न थालिएको छ ।
नुवाकोट जिल्लामा घर क्षति भएकाको लागि प्रति परिवार रु. पाँच हजार रुपैयाँ र खाद्यान्न तथा अन्य सहयागेको लागि दुई हजार रुपैयाँ गरी सात हजार रुपैयाँको दरले राहत वितरण गर्न थालिएको छ । केन्द्रबाट प्राप्त दुई करोड र जिविसको श्रोत दुई करोड रुपैयाँ गरी चार करोडबाट राहत तथा उद्धारको काम सुरुवात गरिएको तर यो रकम ज्यादै न्यून हुने अवस्था रहेको विज्ञप्तीमा उल्लेख छ
 सिन्धुपाल्चोकमा ८०५ शिविर र रसुवामा पाँच शिविर संचालनमा रहेको र अन्य जिल्लामा समेत शिविर सञ्चालनमा ल्याइएको छ ।
 विभिन्न जिल्लाका ३० स्थानमा सडक वाटोको अवरोध हटाउने तथा १० स्थानमा थप विजुली आपूर्तिको व्यवस्था मिलाइएको छ भने रसुवामा ८०० जना भन्दा बढीलाई औषधोपचार गरिएको छ
काठमाडौ महानगरपालिकाले प्रभावितलाई आकस्मिक सहयोगका लागि प्रत्येक वडामा रु. ५० हजारका दरले उपलव्ध गराएको छ ।
 काठमाडौ १११३, ललितपुर ६८, भक्तपुरमा ३७ गरी जम्मा १२१८ भन्दा वढी शिविर संचालन भएको र ती शिविरहरुमा ३,६८४ पोका खाद्यान्न वितरण गरिसकिएको जनाइएको छ । यसबीचमा काठमाडौ महानगरले ५१०० विरामीहरुको उपचार गरेको छ ।
कीर्तिपुर नगरपालिकाले ३६ जना मृतकका परिवारलाई पाँच हजार रुपैयाँका दरले एक लाख ८० हजार रुपैयाँ राहत वितरण गरिसकेको छ । काठमाडौं महानगरपालिका, नेपाली सेना लगायतका थुप्रै ट्याङकरले नगरक्षेत्रमा शुरु देखि नै निरन्तर पानी वितरण गरिरहेका छन् ।
शिविरहरुमा पानी ट्यांकी समेत राखी खानेपानी आपूर्ति गरिएको छ । काठमाडौ महानगरपालिकाले २०० टन फोहर संकलन गरेको जसमा ४५ टन प्रभावितहरु रहेका शिविर र अस्पतालको फोहर संकलन गरिएको छ ।
 काठमाडांैमा १२ हजार लिटर फिनेल सहितको औषधी स्प्रे गरिएको छ भने भक्तपुरले १२ वटा ट्याङकरबाट नियमित पानी वितरण गरेको छ ।
भक्तपुरले प्रत्येक वडामा १२ र १२ बोराका दरले चुन र ५र५ लिटर फिनेल वितरण गरेको र बेवारिसे शवहरु विभिन्न स्थानमा अझै रहेकाले त्यसको व्यवस्थापनका लागि आवश्यक समन्वय भैरहेको मन्त्रालयले जनाएको छ ।
सिन्धुली जिल्लामा राहतको लागि विवरण संकलन गर्न गाविस सचिवको संयोजकत्वमा विषयगत कार्र्यालयहरु कृषि, स्वास्थ्य, सेवाकेन्द्र, राजनैतिक दलको स्थानीय प्रतिनिधि र शिक्षकलाई प्रत्येक गाविसमा परिचालन गरिएको छ । नुवाकोट जिल्लामा क्षतिको विवरण संकलन गर्न गाविस सचिवलाई निर्देशन दिइएको छ ।
 बैशाख १६ गतेको निर्णयानुसार जिल्ला दैवी प्रकोप उद्धार समितिको समन्वयमा तत्काल उद्धार तथा राहत कार्य गर्न संकटग्रस्त मध्ये सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, रसुवा, र धादिङ जिल्लाका सबै गाविस (२५३) लाई प्रति गाविस नौ लाख रुपैयाँका दरले, संकटग्रस्त मध्ये ललितपुर, काभ्रेपलान्चोक, दोलखा, रामेछाप र सिन्धुली जिल्लाका सबै गाविस लाई चार लाख लाख ५० हजार रुपैयाँ तथा संकटग्रस्त १२ जिल्ला मध्ये नगरपालिका रहेका ११ जिल्ला (सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, धादिङ, काठमाडौ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, दोलखा, रामेछाप र सिन्धुली) का सम्पूर्ण नगरपालिकाका सबै वडालाई प्रतिवडा दुई लाख रुपैयाँका दरले जम्मा ४५ करोड २२ लाख रकम पठाइएको जनाइएको छ ।
 
 
 
३५ सय पशुपंक्षी मारिए, ९ करोड १२ लाख ६५ हजारको क्षति
 काठमाडौं, १७ बैशाख । गत शनिवार गएको विनासकारी भूकम्पका कारण देशका विभिन्न भागमा मृत्यु भएका पशुपंछीको मृत्युका कारण करिब ९ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
 भूकम्पका कारण विभिन्न ११ जिल्लामा ३३०९ ठूला र १०१९ साना पशुहरु र २१२२ संख्याका पंछीहरुको मृत्युभएको कृषि विकास मन्त्रालयले जनाएको छ ।
 मन्त्रालयका उपसचिव श्रीराम घिमिरेका अनुसार भूकम्पबाट विशेष गरी काभ्रे र रसुवामा धेरै संख्यामा पशुपंछी हताहत भएका छन् । यसबीचमा विभिन्न किसिमका ५००० पशुपंछीको उपचार तथा ७५ मृत पशुपंछीको व्यवस्थापन गरिएको छ ।
 मन्त्रालयले खाद्य वस्तुको सहज आपूर्तिका लागि मन्त्रालयका सचिव डा. दिनेशप्रसाद पराजुलीको संयोजकत्वमा सरोकारवालाहरु सहभागी १७ सदस्यीय समिति गठन गरी सहजीकरण गरिरहेको जनाएको छ ।
 मन्त्रालयले दूध, तरकारी, फलफूल र अण्डाको आपूर्तिलाई व्यवस्थित गर्न लागेको घिमिरेले जानकारी गराउनुभयो ।
उपचार पाउने घाइते तथा विरामीको संख्या १४ हजार ७६४ पुग्यो
 काठमाडौं, १७ बैशाख । गत शनिवारको विनासकारी भूकम्पका कारण घाइते भएका मध्ये उपचार पाउने घाइतेहरुको संख्या १४ हजार ७६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा मन्त्रालयले भूकम्प प्रभावित व्यक्तिहरु मध्ये धादिङमा ३४८, सिन्धुपाल्चोकमा १२००, दोलखामा ११६, नुवाकोटमा २५३३, गोरखामा २३६, रसुवामा ७५०, मकवानपुरमा ४३८, लम्जुङमा १९३, बीर अस्पतालमा ५७५, काठमाडौं मेडिकल कलेज दुवाकोटमा ८९८, निजामती अस्पतालमा २२००, भक्तपुरमा २२५८, रामेछापमा १९ र काठमाडौंका सञ्चालित खुला शिविरमा ३००० भन्दा बढी घाइते तथा विरामीहरुको उपचार गरिएको उल्लेख गरिएको छ ।
 मन्त्रालयका प्रवक्ता डा.गुणराज लोहनीद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार भूकम्प प्रभावित जिल्लाहरुमा स्वास्थ्योपचारका लागि विभिन्न ३२ वटा मेडिकल टिम परिचालन गरिएको छ ।
 मन्त्रालयले भूकम्पका कारण फैलन सक्ने माहामारीलाई ध्यानमा राखी आवश्यक नमूना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउन सम्पूर्ण स्वास्थ्य संस्था एवम् स्वास्थ्यकर्मीहरुलाई अपिल गरेको छ ।
 स्वास्थ्योपचारको प्रभावकाारिताका लागि भोलिदेखि नै मन्त्रालयमा टोल फ्रि टेलिफोन सेवा सुरु गर्ने समेत विज्ञप्तीमा उल्लेख भएको छ ।
 

No comments:

Post a Comment

top sidebar ads

समाचार

समाचार

recent posts comments tab