पर्शुराम काफ्ले
(नयाँ पत्रिका दैनिकमा १८ पुस २०८१ मा प्रकाशित)
नेपालको पहिलो महिला राजदूत तथा परराष्ट्र सेवाकै पहिलो महिला अधिकृत बिन्देश्वरी शाहको विहीवार ९२ बर्षमा निधन भएको छ । २०१५ सालमा २०१५ सालमा अधिकृतबाट परराष्ट्र सेवामा प्रबेश गरेकी उनले भारतका लागि राजदूत भएर स्वदेश फिर्ता भएलगत्तै २०४७ सालमा अबकास पाएकी थिइन् । लामो समयदेखि उनी विरामी थिइन् । शाहको विहीवारै पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ ।
परराष्ट्रको अतिरिक्त सचिब (राजदूतबाट फिर्ता भएपछि पाउने पदोन्नति)बाट शाहले अबकास पाएकी थिइन् । अहिले अतिरिक्त सचिबको दरबन्दी छैन । शाह नेपालको परराष्ट्र सेवाकी प्रथम महिला अधिकृत, ढाकास्थित नेपाली राजदुतावासमा प्रथम महिला कार्यबाहक राजदूत र अमेरिकास्थित नेपाली राजदुताबासमा प्रथम सचिब हुँदै भारतका लागि नेपाली राजदूत थिइन् ।
‘२०४४ सालमा महिलालाई राजदुत बनाउनु निकै ठूलो बिषय थियो, त्यसमा पनि अत्यन्तै असहज सम्बन्ध भएका बेला भारतका लागि राजदुतका रुपमा शाहलाई पठाउने सरकारी निर्णय सामान्य थिएन’ त्यसबेलाका एक वहालवाला मन्त्रीले भने, ‘महिलालाई भारतजस्तो देशमा राजदूत बनाएर पठाउनुहुन्न भन्ने आवाज दरबारमा पनि नउठेको होइन तर उहाँलाई पठाउन दरबार सहमत भयो । नेपालको परराष्ट्र सम्बन्धको आधुनिक जीवन र उहाँको कूटनीतिक जीवन सँगै शुरु भयो र उहाँले कुलशतापूर्वक जिम्मेबारी पूरा गर्नुभयो ।’
तत्कालिन सरकारले भारतका लागि राजदूत जगदीश शमशेर जबरालाई रुसका लागि राजदुतमा पठाएर विश्देश्वरी शाहलाई भारत पठाएको थियो । भारतीय नाकाबन्दी शुरु हुनुअघि उनी दिल्लीमा जिम्मेबारी सम्हाल्न गएकी थिइन् भने २०४७ मा प्रजातन्त्र पुनस्र्थापनासँगै उनलाई सरकारले फिर्ता बोलाएको थियो । त्यसपछि ३० बर्ष सेवा अबधिमा अनिवार्य अबकास लागू भएसँगै उनले अबकास पाएकी थिइन् । शाहपछि सरकारले भारतका लागि राजदूतमा चक्रप्रसाद बास्तोलालाई पठाएको थियो ।
‘प्रतिस्पर्धाबाट त्यसबेला परराष्ट्र सेवामा प्रबेश गरेर अमेरिका, बंगलादेश, भारतमा कूटनीतिक सेवा गर्नुभयो र उहाँले भारतस्ँग कटुता भएका बेला कुशलतापूर्वक जिम्मेबारी निर्वाह गरेर फर्किनुभएको हो । यो नेपालले सधैँ सम्झिरहनुपर्छ’ पूर्व परराष्ट्रमन्त्री एवं भारतका लागि पूर्व राजदूत डा भेषबहादुर थापाले भने । अप्ठेरो परेका बेला सरकारले शाहलाई भारतमा राजदुत बनाएर पठाएको उल्लेख गर्दै थापाले शाह कर्मठ, प्रतिबद्ध एवं सवल र सक्षम कूटनीतिज्ञका रुपमा आफूलाई प्रमाणित गर्न सफल भएको सुनाए ।
पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले शाहको निधनलाई विलक्षण प्रतिभाको निधन भनेका छन् । ‘नेपालको अन्तराष्ट्रिय सम्बन्ध सञ्चालनको आधुनिक इतिहासमा उल्लेखनीय योगदान भएकी कुशल कूटनीतिज्ञ विन्देश्वरी शाहको निधन नेपालको कूटनीतिक क्षेत्रका लागि अपुरणीय क्षति हो’ शाह भारतका लागि राजदूत हुँदा श्रम मन्त्री रहेका पाण्डेले भने, ‘युवा कूटनीतिज्ञहरुले उहाँबाट संयम, सीप, परिस्कृत लेखाई र वजनयुक्त बोली कूटनीतिज्ञका लागि आवश्यक छ भन्ने कुरा सिक्नुपर्छ ।’
पूर्व परराष्ट्रसचिब एवं शाह भारतमा राजदूत हुँदा प्रथम सचिबमा कार्यरत डा मदनकुमार भट्टराईले अग्रणी महिला पथप्रदर्शक, जुझारु कूटनीतिज्ञका रुपमा शाहलाई सम्झेका छन् । ‘उहाँले राजदूतको सफल भूमिका निर्वाह गर्नुभयो । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको भ्रमणका बेला उहाँ राजदुत हुनुहून्थ्यो, पछि गिरिजाबाबु प्रधानमन्त्री हुँदा उहाँको भ्रमणभन्दा अघि उहाँलाई सरकारले फिर्ता बोलायो । त्यसबेला उहाँ सहसचिबबाट अतिरिक्त सचिबमा बढुवा हुनुभयो’ भट्टराईले भने, ‘त्यसबेला उहाँको व्याजीहरु जयप्रताप राणा र यादबकान्त सिलवाल पनि अबकासमा पर्नुभयो । तर अबकास पाएपछि सिलवाललाई सरकारले करार सेवामा परराष्ट्रसचबि बनायो ।’
उनी नेपालबाट भारतका लागि अहिलेसम्म परराष्ट्र सेवाबाट गएकी अन्तिम करिअर राजदूत हुन् । उनीपछि भारतमा परराष्ट्र मन्त्रालयबाहिरबाट राजदूत नियुक्त भएका छन् । भट्टराईका अनुसार उनी अमेरिका (कोलम्बिया युनिभर्सिटी) बाट स्नातक गर्ने पहिलो नेपाली महिला थिइन्, सन् १९५८ मा जोन्स हप्किन्स युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय राजनीतिमा डिग्री पूरा गरेपछि अमेरिकाबाट स्नातकोत्तर गर्ने पहिलो नेपाली महिला पनि थिइन् ।
।
परराष्ट्र मन्त्रालयको सहसचिबबाट अबकास पाएका पूर्व राजदूत मधुवन पौडेलले शाहले परराष्ट्रको आन्तरिक अभिलेख प्रणाली व्यवस्थित गर्न भूमिका निर्वाह गरेको बताए । शाह परराष्ट्र मन्त्रालयको भारत शाखा प्रमुख (उपसचिब) हुँदा उनी मातहत पौडेलले शाखा अधिकृतका रुपमा काम गरेका थिए । ‘उहाँको नेपाली भाषा भन्दा अंग्रेजी राम्रो थियो । उहाँको मातहतमा डेढ बर्ष काम गर्दा धेरै सिकेँ । वार्तामा उहाँको प्रस्तुति निकै गहन हुन्थ्यो, हामीले साह्रै काविल कूटनीतिज्ञ गुमाएका छौं’ पौडेलले भने ।
नाकाबन्दीका बेला इन्डिया टुडेलाई जबाफ ................
व्यापार तथा पारवहन सन्धी नवीकरण नभएपछि नेपालमा मार्च २३, १९८९देखि भारतीय नाकाबन्दी शुरु भएको थियो । नेपालले विदेशी कामदारलाई श्रम स्वीकृति अनिवार्य गर्दा भारतीय नागरिक पनि परेको तर भारतले १९५० को सन्धी अनुसार त्यसो गर्न नमिल्ने तर्क गरेको थियो । चीनबाट नेपालले एन्टी एयरक्र्याफ्ट गन खरिद गरेपछि भारत झन चिढिएको थियो ।
त्यही बेला राजदुत रहेकी शाहले अप्रिल ३०, १९८९ मा प्रकाशित इन्डिया टुडेलाई दिएको प्रतिक्रियामा नेपालले भारतीय कामदारलाई मात्र नभएर सबै नेपालमा कार्यरत सबै विदेशीलाई श्रम स्वीकृतिको प्राबधान लागू गरेको र भारतीयलाई विभेद नगरेको बताएकी थिइन् । ‘नेपालमा कार्यरत भारतीयहरुलाई कतै पनि विभेद छैन, श्रम स्वकिृति सबै विदेशीहरुलाई लागू हुन्छ’ उनको प्रतिक्रिया थियो । भारतले नेपालसँगको सम्बन्धमा पुनर्विचार र पुनःसंरचना गर्ने प्रतिक्रिया दिएको जबाफमा शाहले भनेकी थिइन्, ‘यदि मनमुटाबहरु छन् भने लामो समय मनमुटाब नजाने गरी नयाँ ढाँचामा हामीले काम गर्नुपर्छ । सम्बन्धमा पुनःसंचना गर्ने भारत सरकारले जसरी स्पष्ट पारेको छ, त्यसलाई हामीले स्वागत गरेका छौँ’ शाहको प्रतिक्रिया थियो ।
No comments:
Post a Comment