इन्दिरा गान्धी भेटेपछि राजा महेन्द्रले भने -आउने दिन सजिला छैनन्


image
अनुभवी कूटनीतिज्ञ तथा पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले राजा महेन्द्रको कार्यकालमा ११ वर्ष सरकारको सचिव र राष्ट्र बैंकका गभर्नरका रूपमा काम गरे । अमेरिकाबाट विद्यावारिधि गरेर फर्किनासाथ ०१७ चैतदेखि सचिवका रूपमा सेवा प्रारम्भ गरेका थापाले राजा महेन्द्रसाग अत्यन्तै निकट भएर काम गरे । नेपाललाई विश्व रंगमञ्चमा उभ्याउन राजा महेन्द्रको योगदान अतुलनीय रहेको थापाको निष्कर्ष छ । नयाँ पत्रिकाका पर्शुराम काफ्ले सँग थापाले अमेरिकी विद्यार्थीकालमा भएको महेन्द्रसँगको भेट र त्यसपछिका घटना यसरी सम्झिए :
सन् १९५९ ताका म अमेरिकाको क्यालिफोर्नियामा विद्यावारिधि गर्दै थिएँ । अप्रिलमा राजा महेन्द्र राजकीय भ्रमणमा अमेरिका जानुभयो । क्यालिफोर्नियामा रहेका नेपालीलाई पनि राजाको स्वागतमा बोलाइयो । हामी गयौँ ।
त्यतिवेला मेरो हैसियत विद्यार्थी मात्रै थियो । प्रतिस्पर्धाबाट छानिएर म छात्रवृत्तिमा पढ्न गएको थिएँ । मेरा प्रोफेसरले राजासमक्ष भनेछन्, ‘नेपालबाट प्रयोगका रूपमा एकजना विद्यार्थी ल्याएका छौँ । नेपालको शिक्षाको स्तरसँग हामी परिचित थिएनौँ, तर उनी उम्दा विद्यार्थी छन्, अमेरिकीलाई पनि जितेका छन् ।’
राजाले भनेछन्, ‘यो को रहेछ, खोजेर ल्याउनू ।’
राजाका एकजना सहयोगी विद्यार्थी खोज्दै मकहाँ आए । उनले भने, ‘ए नानी, यहाँ पहिलो भएका विद्यार्थी छन् रे, तपाईंलाई थाहा छ ?’ मैले भनेँ, ‘थाहा भएन ।’ अमेरिकामा पहिला, दोस्रा विद्यार्थी भन्ने हुँदैन । मैले हासिल गरेको उपलब्धि ‘ए’ हो ।
एकछिनपछि प्रोफेसरले मलाई नै देखाएर भनेछन्, ‘यही हो ।’ मलाई खोज्दै आउने व्यक्ति हुनुहुन्थ्यो, पुष्पराज राजभण्डारी । त्यतिवेला उहाँ काजी वा सरदार के हुनुहुन्थ्यो, बिर्सिएँ । उहाँले भन्नुभयो, ‘तपाईंलाई नै खोज्दै आएको नानी, तर थाहा छैन भन्नुभयो ।’
राजालाई उहाँले भेटाउनुभयो र भन्नुभयो, ‘सरकार हाम्रा विद्यार्थी यिनै हुन् ।’
राजाले बाउ–बाजे सबैका बारेमा सोधे, यो दरबारको चलन नै थियो । म सैनिक परिवारमा हुर्केको कुरा भनेँ । त्यसपछि राजाले सोधे, ‘तिमी कहिले पढाइ सकेर नेपाल फर्किन्छौ ?’
मैल भनेँ, ‘६ महिनामा पढाइ सकिन्छ । त्यसपछि ६–८ महिना काम गर्ने र फर्किने पैसा कमाएर काठमाडौं आउने योजना बनाएको छु ।’
राजाले खै के सुरले भने, ‘पढाइ सक्नेबित्तिकै तिमी मलाई एउटा चिठी लेख । म पैसा पठाइदिन्छु, तिमी काठमाडौं फर्किनू । नेपाललाई पढेलेखेको मान्छे चाहिएको छ, तिमीले अमेरिका बस्ने होइन । हामीले देश बनाउनुपर्छ । तिमीजस्ता यहाँ बसेर पढेका र विश्वको प्रगति देखेका व्यक्तिको नेपालमा खाँचो छ ।’
मैले ठानेँ, ‘राजाले भन्ने औपचारिकता पूरा गरे । के गर्लान् र ।’
रुचि राखेर मलाई बोलाएकोमा म खुसी भएँ, तर त्यसको परिणाम के होला भन्नेमा मैले त्यति चासो राखिनँ । अप्रिलमा मैले राजालाई भेटेँ, डिसेम्बरमा राजाले प्रत्यक्ष शासन सुरु गरे ।
०१७ सालको घटना हामीले केही समयपछि थाहा पायौँ । नेपालमा सैनिक ‘कु’ भयो भन्ने चर्चा सुनियो । त्यसवेला अमेरिकामा राजदूत ऋषिकेश शाह थिए । उनी मन्त्री हुन नेपाल आएका रहेछन् । राजाबाट टेकओभर भएको भन्ने कुरा आयो । त्यसवेला टेलिफोनबाट विस्तृतमा बुझ्न सम्भव थिएन ।
पुस १ गतेको घटनाको एक महिनापछि टेलिग्राम आयो । नेपालमा ‘फरेन पोस्ट अफिस’ थिएन । त्यसवेला लैनचौरको भारतीय दूतावासबाटै यो काम हुने गथ्र्यो । हाम्रो अन्तर्राष्ट्रिय हुलाकको संयन्त्र थिएन ।
भारतीय दूतावासमार्फत दरबारबाट आएको सूचना थियो, ‘महाराजाधिराजबाट तपाईंलाई योजना मन्त्रालयको सचिवमा भर्ना गर्न चाहिबक्सेको छ । तपाईंलाई मञ्जुर छ कि छैन, खबर गर्नुस् ।’ प्रिन्सिपल सेक्रेटरी हंसमान सिंहले सही गरेको टेलिग्राम थियो ।
मैले सोचाइ नै नराखेको एक्कासि एउटा मन्त्रालयको सचिव पद प्राप्त भएको थियो । एकछिन पत्यार लागेन । प्रोफेसरलाई सोधेँ, ‘के गर्ने ?’ उनीहरूले भने, ‘यो ठूलो उपलब्धि हो । तिम्रोबारेमा प्रचार–प्रसार गर्ने हो भने तिम्रो नामका आधारमा एसियन विद्यार्थीको छात्रवृत्तिका लागि पैसा उठाउन सजिलो हुन्छ ।’
मैले दरबारको प्रस्ताव स्वीकृत छ भन्ने जवाफ पठाएँ र फर्किने पैसा नभएको पनि उल्लेख गरेँ । दरबारबाट पैसा र जहाजको टिकट पठाए । ०१७ साल चैतमा म काठमाडौं फर्किएँ । र, योजना सचिवमा बहाली भएँ ।
त्यसवेला राजाको प्रत्यक्ष शासन थियो । दरबार सक्रिय हुने नै भयो । मन्त्रीहरू भए पनि प्रत्यक्ष शासनको प्रावधानका कारण राजासँग धेरै सम्पर्क सचिवहरूको हुन्थ्यो ।
मैले फर्केर राजा महेन्द्रलाई भेटेँ । उहाँले मेरोबारेमा परेको छाप, अमेरिकामा भएको भेटघाटका सबै विषयमा भन्नुभयो ।
उहाँले त्यसवेला मसँग भनेको अहिले पनि सम्झिरहेको छु, ‘हेर, म त दरबारमा हुर्केको । हामीले स्कुलको अनुहार देख्न पाएनौँ । पढाउनका लागि मास्टर घरमा आउँथे । उनीहरूलाई हामी दर्शन गथ्र्यौँ, सर भन्थ्यौँ । तर, स्कुलसँग परिचित हुने अवस्था भएन । यो देश बनाउने मेरो अभिरुचि छ र यो काम पढेलेखेका मानिसले मात्रै गर्न सक्छन् । त्यसैले मैले खोजी–खोजी छानेका व्यक्तिमध्ये तिमी पनि हौ । तिमीले काम गर्ने क्रममा मेरो मुख हेर्नुपर्दैन, मुलुकको मुख हेर ।’
एउटा काँचो सचिव भएकाले मलाई राजाको थप भनाइ थियो, ‘मन्त्रीप्रति तिमी उत्तरदायी हुनैपर्छ । उनीहरूप्रति तिम्रो सम्मान हुनैपर्छ । तर, राष्ट्र र राष्ट्रियतामा आघात पर्ने कुनै त्यस्तो काम हुन लाग्यो भने तिमीले टेर्नुपर्दैन । त्यस्तो दबाब आयो भने सोझै तिमी आउनू, दरबारको ढोका खुला छ । अपर्झट कुरा गर्नुपर्ने भयो भने दिउँसोको समयमा प्रमुख सचिव र रातिको समयमा सैनिक सचिवलाई सम्पर्क गर्नू । २४ घन्टाभित्र खबर आउँछ । यदि आएन भने सोझै मकहाँ आए हुन्छ । यही रीतमा मैले ११ वर्ष सरकारी सेवामा व्यतीत गरेँ । सचिवको स्तरमा जागिर सुरु गरेँ, ११ वर्षसम्म सचिव मात्रै रहेँ । अर्थसचिव, योजना सचिव, राष्ट्र बैंकको गभर्नर भएँ ।
राजा त्रिभुवनका पालामा छिमेकीको प्राय: हेपाहा प्रवृत्ति थियो । बाह्य जगत्सँग नेपालको सम्पर्क सीमित थियो । यातायातका साधन थिएनन् । गौचरणमा दिल्लीबाट एउटा प्लेन ल्यान्ड गथ्र्यो । अरू सञ्चारका माध्यम थिएनन् । कुण्ठित परिस्थितिमा राष्ट्र जोगाउने र राष्ट्रिय हित प्रवद्र्धन गर्ने दृढता थियो त्यतिवेला ।
बाँकी विश्वमा नेपाललाई चिनाउने र विकासमा सहभागी गराउने प्रक्रियाको सुरुवात राजा महेन्द्रका पालादेखि भयो । वाङ्दुङ सम्मेलन नेपालको विदेश नीतिको कोसेढुंगा हो । चीनका चाउ एन लाई, भारतका जवाहरलाल नेहरू, इन्डोनेसियाका सुकार्तो, इजिप्टका नासेर नै असंलग्न आन्दोलनका प्रणेता हुन् । त्यस सम्मेलनमा राजा महेन्द्र सहभागी भएर सबैसँग सम्बन्ध राख्ने र कूटनीतिक फाइदा लिने कार्यको सुरुवात भयो । त्यसवेला राजालाई परराष्ट्र मामिलामा सल्लाह दिने प्रोफेसर यदुनाथ खनाल, प्रोफेसर रामप्रसाद मानन्धर थिए । विश्वविद्यालयका दिग्गज व्यक्तित्वलाई प्रशासकीय संयन्त्रमा पनि तानेर बौद्धिक अभ्यासमा लगानी भएको थियो त्यसवेला । भारतसँग असन्तुलित वा परावलम्बनमुखी विदेश सम्बन्धलाई सन्तुलित बनाउने कार्य त्यही वेला भयो । असंलग्न आन्दोलनको संस्थापक सदस्यका रूपमा हाम्रो परिचय चानचुने थिएन । बाँकी विश्वसँग नेपालको परिचय थियो । यो विदेश नीतिको कोसेढुंगा नै थियो ।
०००
त्रिभुवनका पालामा भारतीय राजदूतको चलखेलले पराकाष्ठा नै नाघेको थियो । जलस्रोतमा कोसी–गण्डक सम्झौता भएका थिए । यसको गहिरो नाकारात्मक छाप राजा महेन्द्रमा थियो । त्यसवेला चीनसँग सम्पर्क बढाएर कोदारी राजमार्ग निर्माण गर्ने अठोट भयो । राजा महेन्द्रको आँट नभएको भए अरूले यो काम गर्न सक्दैनथे । त्यतिवेला युरोपियन र अमेरिकनले चीनलाई हेर्ने दृष्टिकोण वैरभावपूर्ण थियो । शीतयुद्धको पूर्वाग्रहको पराकाष्ठा थियो ।
यही सन्दर्भमा एक दिन राजा महेन्द्रले मलाई बोलाएर भने, ‘तिमी अमेरिका जाऊ, त्यहीँ पढेको हुनाले भाषा पनि राम्रो छ । खासमा चीनसँग हामीले बाटो खोलेको कारण कम्युनिजमलाई निम्ताका लागि होइन । विश्वमा नेपालका लागि अर्को विकल्प चीनसँगको सम्पर्कबाट मात्रै सम्भव छ । किनभने, हाम्रा भारत र चीनबाहेक अरू छिमेकी छैनन् । राष्ट्रियताको जगेर्नाका लागि पनि यो आवश्यक छ । यसको राजनीतिसँग सम्बन्ध छैन, राष्ट्रहितका लागि छ भनेर अमेरिकीलाई सम्झाउने काम तिमीले गएर गर्नू ।’
म २७–२८ वर्षको मात्रै थिएँ । त्यसवेलाको वातावरणमा काम गर्ने व्यक्तिमा राष्ट्रको अखण्डता र राष्ट्रियता सधैँ माथि थियो । अमेरिका गएर मैले अधिकारीहरूसँग भेटेँ, छलफल गरेँ । उनीहरूले कोदारी राजमार्ग खोल्दा चिन्ता व्यक्त गरे । उनीहरूको भारतप्रति झुकाब थियो, चीनसँग सम्बन्ध राम्रो थिएन । वास्तवमा भारतको विकल्प खोजेको भन्न अप्ठ्यारो थियो, तर हाम्रो वास्तविकताचाहिँ त्यही नै थियो र कोदारी राजमार्ग बनाइएको हो । कूटनीतिक अभ्यासमा अभिव्यक्ति दिँदा कुन भाषा प्रयोग गर्ने र विश्वासको वातावरण कायम गर्ने भन्ने महत्त्वपूर्ण कुरा हो । मैले आफ्ना कुरा राखेँ । अमेरिकीहरूको चासो चीनभन्दा पनि तिब्बत थियो । मैले तिब्बतलाई विषय बनाएर संवाद गर्ने कुरा थिएन । तर, हामीले कसैको विरुद्ध होइन, नेपालको स्वार्थअनुसार काम गरेको हो भन्ने कुरा गरेर म फर्किंएँ । त्यसपछि राजा महेन्द्रको दोस्रो राजकीय भ्रमण पनि सफल भयो ।
०००
राजसंस्था वा महेन्द्रका बारेमा हाम्रा भिन्न मत हुन सक्छन् । तर, मेरो नजरमा सीमित क्षेत्रमा लुकेर, अस्तित्व लुकाएर बसेको नेपाललाई विश्वको अग्रभागमा लैजानका लागि महत्त्वपूर्ण योगदान गर्नेहरू तीनजना हुन्– राजा महेन्द्र, बिपी कोइराला र टंकप्रसाद आचार्य । कुण्ठामा हुर्किएका हाम्रा लागि त्यो कार्य ठूलो थियो । नेपालमा भारतको सैनिक मिसन, उत्तरी सीमा नाकामा भारतीय सैनिक थिए । सबै कुराबाट पार पाउन जुन साहस र मुलुकप्रति समर्पणसाथ काम भएको हो, नेपाललाई बाह्य जगत्सँग पुर्याउने काम यी तीनजनाले गरे । त्यो पुस्ताको व्यक्ति भएकाले मलाई लाग्छ कि त्यो पुस्तामा काम गरेका सबैजसो राष्ट्रियताप्रति पूर्ण बफादार थिए ।
०००
जवाहरलाल नेहरू र राजा महेन्द्रबीच पारस्परिक मर्यादा थियो । नेहरूले भारतको सीमा हिमालयसम्म भन्दा बिपीले प्रतिवाद गरे, नेहरूले त्यसलाई सहज रूपमा लिए । लालबहादुर शास्त्री आएपछि नेपाल–भारत सम्बन्धले नयाँ मोड लिन लागेको थियो । उनले नेपालका सन्दर्भमा भनेका थिए, ‘म हस्तक्षेपमा विश्वास गर्दिनँ ।’ उनी पनि हिन्दू परम्परामा विश्वास गर्ने व्यक्ति थिए । तर, उनी चाँडै नै बिते । इन्दिरा गान्धी आएपछि भारतको नेपालप्रतिको धारणा बदलियो । सुरक्षा र प्रशासकीय यन्त्रमा साम्राज्यको मुखुण्डो देखियो । त्यो वेलादेखि नेपाल–भारत सम्बन्ध चिसियो । भारतीय पक्षको हठपन देखियो ।
मलाई एउटा घटना याद छ । लुसाकामा असंलग्न मुलुकहरूको सम्मेलन थियो । त्यसमा राजा महेन्द्र सहभागी थिए । परराष्ट्रमन्त्री थिए भने परराष्ट्र सचिवको ठाउँमा मलाई राजाले पठाए । भारत र नेपालको बीचमा व्यापार–वाणिज्य सन्धिका बारेमा छलफल भइरहेको थियो, चिसोपन पर्याप्त थियो । त्यहाँ राजा र इन्दिरा गान्धीको भेट भयो । उनीहरू दुईजनाको बेग्लै भेट भयो । परराष्ट्रमन्त्री र हामी बाहिर बस्यौँ । डेढ घन्टाको छलफलपछि राजा र इन्दिरा गान्धी बाहिर निस्किए । राजाले गान्धीलाई ढोकासम्म पुगेर बिदाइ गरे । त्यसपछि राजाले भने, ‘हामी सचेत हुनुपर्छ । अब आउने दिन सजिला छैनन् । छिमेकीको व्यवहारमा साम्राज्यवादको गन्ध छ ।’ डेढ घन्टा लामो वार्ताको सार यही थियो ।
०००
राजा महेन्द्र सोभियत संघबाट फर्किने क्रममा अफगानिस्तानका राजासँग भेट्ने कार्यक्रम थियो । म विदेशमा अन्तर्राष्ट्रिय रोजगारीमा जाने तयारीमा थिएँ । यो १९७१ को कुरा हो । अफगान राजा जाहिर शाहको जहाजमा हामी फर्किंदै थियौँ । राजाले त्यस क्रममा भने, ‘तिमी त अब बाहिर जान लागेका छौ । मेरो उमेर धेरै नभए पनि हाम्रो परिवारमा पुरुषहरूको आयु लामो छैन । मलाई हर्टअट्याक भइसकेको छ । त्यसकारण मेरो ठेगान छैन । तर, म नभए पनि तालिम पाएका अनुभवी व्यक्तिहरू छन् । राष्ट्रिय भावना भएका व्यक्तिहरू भएका वेला र केही हुन्छ भनेर आस भएका वेला तिमी जान लाग्यौ । ठिकै छ, राम्रो काम गरेर फर्क ।’ राजाले यसो भन्दा म अलिकति झस्किएँ । नमज्जा लाग्यो । क्यानडाका भूपू प्रधानमन्त्रीले बोलाएका आधारमा म विश्व बैंक जाँदै थिएँ । मैले भनेँ, ‘सरकारलाई त्यस्तो लाग्छ भने म जान्नँ नि ।’ राजाले भने, ‘वाचा गरिसकेको कुरामा पछाडि नहट, तर तिमी विदेशमा धेरै नबस ।’ म क्यानडा गएँ । दुई वर्षपछि राजा महेन्द्र स्वर्गारोहण भएको समाचार क्यानडामै सुनेँ । राजा महेन्द्रसँग मेरो त्यो नै अन्तिम भेट रहेछ ।

Comments

Popular posts from this blog

Importance of Pharm. D study in Nepal

Climate and Clean Air Coalition (CCAC) meets in Kathmandu to tackle air pollution

डा.भट्टराई, 'क्रान्ति'को कार्यकाल कति हो ?