Thursday, 23 April 2020

डा करण सिंहसँग पाँच बर्षअघिको अन्तर्वार्ता-सात दल र राजाबीच समझदारी बनाउने मेरो प्रयास थियो


Posted by: nayapatrika July 6, 2015 
डा. करण सिंह, वरिष्ठ नेता, भारतीय कंग्रेस
भारतीय कंग्रेसका वरिष्ठ नेता, विदेश विभाग प्रमुख डा. करण सिंहको नेपालसँग राजनीतिक चासोका अतिरिक्त पारिवारिक सम्बन्ध छ । ०६२/६३ को जनआन्दोलन उत्कर्षमा पुगेका वेला ०६३ वैशाख ८ गते बिहान पूर्वराजा ज्ञानेन्द्र शाहसँग नारायणहिटीमा भेटेर डा. सिंहले भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहको चिठी बुझाएका थिए । त्यही साँझ राजा ज्ञानेन्द्रले आन्दोलनकारी सात दललाई सरकार गठनको आह्वान गरे । तर, पार्टीहरूले उनको प्रस्ताव मानेनन् । आन्दोलन लम्बियो र राजाले संसद् पुनस्र्थापना गरेपछि आन्दोलन साम्य भयो । त्यो वेला भारतको प्रस्ताव के थियो ? उनी दिल्ली फर्केपछि नेपालको राजनीतिक परिस्थिति कसरी बदलियो ? नरेन्द्र मोदीको नेतृत्वमा नयाँ सरकार गठनपछि नेपाल मामिलामा भारतको चासो र सद्भाव पहिलाभन्दा कुन अर्थमा फरक छ ? वा छैन ? यसबारे डा. सिंहसँग नयाँ पत्रिकाका पर्शुराम काफ्लेले नयाँदिल्लीको चाणक्यपुरीस्थित निवास सरोवर भवनमा केही दिनअघि अन्तर्वार्ता लिएका थिए ।

नौ वर्षअघि जनआन्दोलनको आखिरीमा तपाईं भारत सरकारको सन्देश लिएर नेपाल जानुभयो र राजा ज्ञानेन्द्रलाई भेटेर चिठी दिनुभयो । राजाले सत्ता छाडे र अर्को एक वर्षमा नेपालको राजनीतिक परिवर्तन भयो । तर, अहिलेसम्म राजनीतिक संक्रमण कायम छ । यो राजनीतिक कोर्सका बारेमा भारत सरकारले केही पूर्वानुमान गरेको थियो ?
म जतिवेला नेपाल गएको थिएँ, त्यो समयमा त्यहाँ एक क्रान्तिकारी माहोल थियो । म त केवल भारत सरकारको प्रधानमन्त्री डा. मनमोहन सिंहको सन्देश लिएर गएको थिएँ । राजालाई सन्देश थियो कि, परिस्थितिको राम्ररी मूल्यांकन गरेर तत्कालीन सातदलीय आन्दोलनकारी गठबन्धनका नेतालाई शक्ति हस्तान्तरण गरिदिनुस् । भारतीय प्रधानमन्त्रीको सन्देश त्यो वेला यति मात्रै थियो । मैले महाराजा ज्ञानेन्द्रलाई भेटेर यही सन्देश उल्लिखित चिठी दिएको हुँ । त्यसपछि के भयो, के भएन, त्यो छर्लंग छ । त्यो समय नेपालमा एउटा भयंकर परिस्थिति थियो । के होला, कसो होला भन्ने अन्योल थियो । मैले बिहान (०६३ वैशाख ८ गते) चिठी दिएँ र कुराकानी गरेँ, राजा ज्ञानेन्द्रले साँझ सातदलीय गठबन्धनका नेतालाई सत्ता हस्तान्तरण गर्ने घोषणा गर्नुभयो । म त दिल्ली फर्किएँ । त्यसयता नेपालमा जे राजनीतिक परिस्थिति विकसित भयो, तपाईं मभन्दा बढी जान्नुहुन्छ । संविधानसभाको चुनाव भयो । संविधान भएन । दोस्रोपटक चुनाव भयो । अहिले पनि संक्रमणकाल छ । यसमा मलाई जरुर निराशा छ । नौ वर्षअघि यति धेरै आशा थियो कि, नयाँ परिस्थिति बन्नेछ, राजनीतिक स्थायित्व होला, सर्वसम्मतिबाट संविधान बन्ला । तर, यो परिस्थिति बनेन । भारत वर्षको चाहना यही छ कि, नेपाल स्थिर, सम्पन्न र मित्रवत् (स्टेबल, प्रस्पोरस एन्ड फ्रेन्ड्ली) बनोस् । हाम्रो चाहना यही हो ।
भारत सरकारको विशेष दूतका रूपमा नेपाल जाँदा तपाईंको सदिच्छा थियो, राजा र सात दलको बीचमा सहमति गराउने । तर, दुई दिनपछि परिस्थिति अर्कै बन्यो । राजाले अर्को घोषणा गर्नुपर्‍यो । कसरी आयो त्यो परिस्थिति, तपाईंले के देख्नुभयो ?
मैले अघि नै भनेँ कि, मैले महाराजा ज्ञानेन्द्रलाई भेटेर भारत वर्षका प्रधानमन्त्रीको सन्देश दिएँ । त्यसपछिको परिस्थितिका बारेमा त म पनि भन्न सक्नेवाला थिइनँ । किनभने, नेपालको माहोल अर्कै थियो । राजाले घोषणा गरे पनि घटनाक्रम अर्कै भयो । म यसबारे धेरै टिप्पणी गर्न चाहन्नँ । तर, एकाध वर्षमा नेपालमा नयाँ परिस्थिति आउला, स्थायित्व होला भन्ने अपेक्षा थियो, त्यो आएन । मेरो चिन्ता त्यसमा हो । नेपालमा अलगअलग राजनीतिक शक्ति छन् । अरू दलको एउटा बाटो थियो, माओवादीको अर्को थियो । शान्ति प्रक्रियाको आफ्नै कोर्स थियो । म अझै पनि आशा राख्छु कि, नेपाल राजनीतिक स्थायित्वतर्फ जानेछ । पछिल्लो राजनीतिक परिस्थिति नै हेरौँ । सर्वोच्च अदालतले अन्तरिम फैसला गरेको छ, राजनीतिक दलले गरेको समझदारी कार्यान्वयन नगर्नका लागि । संविधान निर्माणमा योलगायत व्यवधान त चलिरहेको छ ।
नेपालको एउटा वृत्तमा यस्तो बहस छ कि, तपाईं राजा र दलहरूबीच सम्झौताको प्रस्ताव लिएर त्यो वेला नेपाल जानुभयो । त्यो विनविन प्रस्ताव थियो । तर, परिस्थिति बदलिएर गणतन्त्रसम्म आइपुग्यो । यो तपाईंले सोचेभन्दा फरक थियो हैन ?
म तपाईंलाई स्पष्ट रूपमा भन्न चाहन्छु कि मैले नेपाल गएर त्यतिवेला अगाडिको राजनीतिक ढाँचा के हुने भन्ने कुनै छलफल गरेको थिइनँ । भारत सरकारको त्यसमा केही पनि थिएन । परिस्थिति अत्यन्तै जटिल बनिरहेको थियो । त्यो परिस्थिति देखेर त्यसलाई डिफ्युज गर्न हामीले राजालाई आग्रह गरेका थियौँ । त्यसपछि के गर्ने, के नगर्ने भन्ने ढाँचाका बारेमा हाम्रो केही पनि कुराकानी भएन । परिस्थिति कस्तो थियो, तपाईं आफैं बुझ्नुहुन्छ । म के भनौँ ? म नेपालबाट फर्केपछि हामीले सोचेभन्दा परिस्थिति फेरियो । सात दल आएसँगै माओवादीहरू पनि आए । परिस्थिति फेरियो त हामीले के भन्ने ?
म त्यतिवेला सरकारको विदेशमन्त्री त थिइनँ नि । प्रधानमन्त्रीको विशेष दूतका रूपमा गएको थिएँ । मैले राजा ज्ञानेन्द्रलाई जस दिनैपर्छ कि भारतवर्षको प्रस्ताव उनले तुरुन्तै स्वीकार गरे । प्रधानमन्त्री डा. मनमोहन सिंहले जुन प्रस्ताव पठाएका थिए, राजाले कार्यान्वयन गरिदिए । मनमोहन सिंहको सन्देश यत्ति थियो– ‘प्लिज ह्यान्डओभर द पावर टु द सेभेन पार्टिज (शक्ति सात पार्टीलाई हस्तान्तरण गरिदिनुस्) । योभन्दा धेरै भारतको चासो केही थिएन । सात पार्टीका नेतालाई उनले शक्ति हस्तान्तरण गरिदिए । मैले भनेको थिएँ कि सात दलले जसलाई नेता छनोट गर्नेछन्, उनैलाई सरकार हस्तान्तरण गरिदिनुस् । तपाईं आफैँ नेता नचुन्नुस्, किनभने परिस्थिति भयंकर छ । म साँझ फर्किएँ, राजाले कार्यान्वयन त्यही साँझ गरिदिए ।
तपाईंको सेटलमेन्ट संवैधानिक राजतन्त्रसहितको थियो । तर, जनताले आन्दोलन गरे र गणतन्त्र आयो । राप्रपा अध्यक्ष पशुपति शमशेरले एकपटक भन्नुभएको थियो कि तपाईंले जुन राजनीतिक व्यवस्थापनको प्रस्ताव लिएर जानुभएको थियो, त्यसलाई विदेश सचिव श्यामशरणले उल्टाइदिनुभयो र परिस्थिति बदलियो । के भन्नुहुन्छ यसबारेमा ?
श्यामशरणको नेपालका बारेमा बेग्लै विचार थियो होला । किनभने, नेपालका विभिन्न पक्षसँग उनको आफ्नै सम्बन्ध थियो र त्यो पक्षप्रति उनको आफ्नै अलग धारणा पनि । मेरो रिडिङ यो थियो कि नेपालमा दुई खम्बा (पिलर)का रूपमा राजसंस्था र सात पार्टी छन् । तर, पब्लिक ओपिनियन के थियो, अरू पक्ष के थियो, त्यसमा श्यामशरणले के बुझे, गरे ? त्यो उनलाई नै बढी थाहा होला ।
म पहिलोपटक एउटा कुरा तपाईंलाई भन्दै छुु । नारायणहिटी दरबारमा मलाई ८ वैशाख ०६३ मा महाराजा ज्ञानेन्द्रले भने, ‘ठीक छ, म सत्ता हतान्तरण त गरौँला । तर, हेर्नुहोला कि एक वर्षभित्र नेपालमा माओवादीहरू छाउनेछन् ।शतप्रतिशत नै माओवादीको प्रभाव बढ्ला भन्ने उनले सोचेका थिएनन् होला । तर, माओवादीहरू शक्तिमा उदाएको त सही हो । राजाको रिडिङ त्यो रहेछ । पहिलो संविधानसभामा माओवादीले सबैभन्दा बढी सिट हासिल गरे । तर, माओवादीहरू जसरी छाउँछन् भन्ने राजाको रिडिङ थियो, त्योचाहिँ भएन । किनभने उनीहरू आएर तात्त्विक रूपमा फरक परेन ।
त्यतिवेला आन्दोलनकारी सात दल, दरबार र भारतका बीचमा लिखित/अलिखित समझदारी भएको, भारतका तर्फबाट तपाईंले भूमिका निर्वाह गरेको र त्यसपछि राजाले संसद् पुनस्र्थापना गरेको भनिन्छ नि । स्वयं राजा ज्ञानेन्द्रले पनि सात दल हुँदासम्म ठिकै थियो, माओवादी आएपछि परिस्थिति आफ्नो प्रतिकूल भयो भन्नुभएको छ । के भन्नुहुन्छ ?
तपाईंले श्यामशरणको कुरा गर्नुभाथ्यो । उनी विदेश सचिव थिए । श्यामशरणकै राय ज्यादा चल्थ्यो । त्योवेला नेपाल सरकार र भारत सरकारका बीचमा औपचारिक रूपमा केके कुरा भयो, समझदारी भयो, त्यसबारेमा सम्बन्धित पक्षलाई नै जानकारी होला । समझदारी भए/नभएको बारेमा म भन्न सक्दिनँ । तर, मेरो प्रयास स्वाभाविक रूपमा राजा र सात दलबीच समझदारी बनाउने नै थियो । दुवै पक्षको समझदारी भयो भने नेपाल राजनीतिक स्थिरतातर्फ जानेछ र संकटको हल हुनेछ भन्ने मेरो विश्वास थियो । मैले आफ्नो तर्फबाट त्यही प्रयास गरेको हुँ । तर, माओवादी शक्तिशाली भएर आयो । पशुपति (पशुपतिशमशेर जबरा)ले के भनेका थिए रे ?
डा. करण सिंहले राजनीतिक सेटलमेन्टको जे प्रस्ताव लानुभाथ्यो, श्यामशरणले उल्टाइदिनुभयो र अहिलेको विषम परिस्थिति आएको हो भन्ने पशुपतिशमशेर राणाको तर्क थियो । उहाँले एउटा पत्रकार सम्मेलनमा योभन्दा म पनि उपस्थित थिएँ । तपाईं इतिहासको साक्षी भएको हिसाबले मैले सोधिरहेको छु ।
म त धेरै इतिहासको साक्षी हुँ । जम्मुकाश्मिरको इतिहासको साक्षी हुँ । मेरो किताब सायद पढ्नुभयो होला । नेपालको पनि त्यो इतिहासको साक्षी हुँ । देशविदेशका धेरै घटनाक्रमको साक्षी छु । पशुपतिले भनेको जुन विषय छ, मेरो विचारमा श्यामशरणको पनि यसमा केही बाध्यता भएको हुन सक्छ । त्यो वेला जनसाधारणको प्रतिक्रिया, राजनीतिक माहोल उनले के बुझे । मैले अघि नै भनेँ कि विदेश सचिवका रूपमा स्वाभाविक रूपमा सरकारमा उनको सुझाब बढी चल्नेवाला थियो । तर, म दोहोर्‍याएर भन्न चाहन्छु कि मेरो प्रयास राजा र सात दलबीच समझदारी बनाउने थियो । त्यसका लागि राजालाई पावर छाडिदिनुस् भन्ने आग्रह गरेँ । मनमोहनजीको पनि त्यही आग्रहसहितको लिखित सन्देश थियो । तर, त्यसअगाडिको राजनीतिक कोर्स के हुने ? कुन सिस्टममा जाने ? हाम्रो बीचमा केही कुरा भएन । हाम्रो प्राथमिकता थिएन पनि ।
अहिले नेपाल गणतन्त्र संस्थागत गर्ने राजनीतिक कोर्सको निरन्तरतामा छ । नेपालमा नयाँ संविधान जारी गर्ने प्रयास भइरहेको छ । यसबारेमा तपाईं के भन्नुहुन्छ ?
नेपालको आन्तरिक राजनीतिक मामिलामा हामी हस्तक्षेप गर्न सक्दैनौँ । नेपालको शुभचिन्तक र त्योभन्दा पनि ज्वाइँ, नातेदार हुनुका नाताले मेरो चाहना सधैँ छ कि नेपाल र नेपालीको कल्याण होस् । यो कसरी प्राप्त गर्ने, यसमा कुन राजनीतिक पद्धति अँगाल्ने, कसरी अघि बढ्ने ? यो हाम्रो हातमा छैन, नेपालकै नेता र सम्बन्धित पक्षको हातमा छ । मैले आरम्भमा पनि भनेँ कि ठूलो राजनीतिक परिवर्तनको नौ वर्षसम्म नेपालमा राजनीतिक स्थायित्व आउन सकेको छैन । यसमा हामी पनि निराश र चिन्तित छौँ । अहिले पनि नेपालको राजनीतिक परिस्थिति निश्चिन्त हुन सकिने खालको छैन । नेपालको राजनीतिक पक्षले यसमा सोचिरहेका होलान् । यसबारेमा म के सल्लाह दिऊँ ।
भारतमा नयाँ सरकार गठन भएको एक वर्ष भएको छ । यसबीचमा नयाँ परिस्थिति बनेको छ । भाजपाको सरकारभन्दा पहिला र अहिले नेपाल भारत सम्बन्धमा केही परिवर्तन आएको छ कि छैन ?
निश्चय पनि भारतमा नयाँ परिस्थिति बनेको छ । यो एकप्रकारको नयाँ राजनीतिक क्रान्ति नै भन्दा पनि हुन्छ । नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि दुईपटक नेपाल गइसकेका छन् । मोदी पहिलोपटक नेपाल जाँदा नेपाली जनताले उनलाई भव्य स्वागत गरे । तर, यो स्पष्ट हुनु आवश्यक छ कि भारत र नेपालको सम्बन्ध सधैँ राम्रो छ । हिजो पनि राम्रो थियो, आज पनि छ र भविष्यमा पनि रहन्छ नै । यसमा दुईमत हुनुपर्ने जरुरी म देख्दिनँ । जस्तो, हामीबीचमा आध्यात्मिक सम्बन्ध छ । पशुपतिनाथ, लुम्बिनीजस्ता महत्त्वपूर्ण स्थान नेपालमा छन्, जसको महत्त्व सारा भारतवर्षमा छ । सामाजिक सम्बन्ध उत्तिकै प्रगाढ छ । नातेदारको सम्बन्ध व्यक्तिगत रूपमा मेरो मात्र होइन, विहार र उत्तरप्रदेशको सीमावर्ती दुवै ठाउँमा वैवाहिक सम्बन्ध छ दुवैतिर । अर्थ व्यवस्थाका सन्दर्भमा पनि नेपाल र भारतको सबैभन्दा निकट सम्बन्ध छ । तपाईंहरूले जति बिजुली निकाल्नुहुन्छ, बजार भारतमा छ । पानी, बिजुलीको विकास गर्ने मामलामा नेपालभारत सम्बन्ध नै दिगो र भरपर्दो हो । दुवैतर्फ राजनीतिक सम्बन्ध पनि उत्तिकै निकट र प्रगाढ छ । धार्मिक, सामाजिक, आर्थिक, राजनीतिक चार आयाममा भारतनेपालको सम्बन्ध सुमधुर छ, यो अझ सुमधुर बनाउनु आवश्यक छ । यसमा नेपाल र भारत दुवैको भलाइ छ ।
म यहाँलाई राजनीतिक सम्बन्धका बारेमा सोध्न चाहन्छु । मोदी सरकार बन्नुभन्दा अघि र पछि राजनीतिक सम्बन्धको आयाम बदलिएको मान्नुहुन्छ कि मान्नुहुन्न ?
म त्यसरी हेर्दिनँ । राजनीतिक सम्बन्ध त्यो वेला पनि थियो । प्रधानमन्त्री मनमोहन सिंह नेपाल गएनन् । दश वर्षसम्म प्रधानमन्त्री हुँदा पनि मनमोहनजी नेपाल नजानु एउटा विषय हो । मोदी अहिलेसम्म दुईपटक गइसकेका छन् । यो यथार्थ हो । तर, नेपालभारत सम्बन्धको मूल विषयमा के परिवर्तन भयो, मैले देखेको छैन । मनमोहनजीको सरकारका पालामा राजनीतिक इन्गेजमेन्ट अलिकति कम देखिएको हो । तर, यसअघिको राजनीतिक कालखण्ड हेर्नुहुन्छ भने इन्गेजमेन्ट पहिला धेरै थियो, त्यो स्तरमा अहिले छैन । जस्तो, गिरिजाप्रसाद कोइराला र चन्द्रशेखरको बीचमा कति राम्रो सम्बन्ध थियो । हाम्रो कंग्रेसका शीर्ष नेता र नेपालका तत्कालीन नेताका बीचमा कति नजिकको सम्बन्ध थियो । तर, अहिले त्यो तहको सम्बन्ध म पाउँदिनँ । दुईचारजना बिजेपीका सांसद नेपाल गए होलान् । तर, विशेष पहलकदमी उनीहरूले केही लिएजस्तो मलाई लाग्दैन र त्यो मैले अहिलेसम्म देख्न, महसुस गर्न पाएको छैन ।
नेपाल भारतको प्राथमिकतामा पहिला थिएन, अहिले छ भन्ने कुरा म मान्दिनँ । नेपाल सधैँ हाम्रो प्राथमिकतामा थियो, छ र भविष्यमा पनि हुनेछ । अहिले मोदी दुईपटक नेपाल जानुभएको मात्र हो । २५ अप्रिलमा आएको ठूलो भूकम्पपछि मोदीले सहयोगका लागि राम्रो पहलकदमी लिए । हेलिकोप्टर पठाए । राहत सामग्रीदेखि धेरै सहयोग जेजति गर्न सकिन्थ्यो, त्यो उनले गरे । नेपालमा केही तहमा असन्तुष्टि भयो । मिडियाको भूमिकाको आलोचना भयो । तर, भारत सरकार र जनताले नेपाल र नेपालीलाई ठूलै मद्दत गरे । विदेशमन्त्री सुष्मा स्वराज नेपालको दाता सम्मेलनमा गएकी थिइन् र सहयोगको ठूलो राशि घोषणा गरिन् । मेरो विचारमा यो सरकारले नेपाल मामलामा गरेको यो नै ठूलो सहयोग हो । तर, यो सही होइन कि पहिलेका सरकारले नेपाललाई संकट पर्दा केही गरेनन् । नेपालभारत सम्बन्धका जे आयाम निरन्तर चलिरहनुपर्ने खालका थिए, ती चलिरहेका छन् । दुईपक्षीय मामलाका बारेमा छलफल चलिरहेको होला, पहिला पनि चलिरहेका थिए । यो के नयाँ भयो र ।
भारत र चीनको आर्थिक सम्बन्ध सुमधुर भइरहँदा नेपालमा चीनको पनि चासो पहिलाभन्दा बढेको देखिन्छ । विशेष गरी चीन र भारतको सुमधुर सम्बन्धबाट नेपालले कसरी फाइदा लिन सक्छ ? नेपाललाई तपाईंको सुझाब के छ ?
भारत र चीनको मजबुत सम्बन्ध नेपालका लागि लाभ मात्रै हुन्छ । भारत र चीन सम्बन्ध राम्रो भएन, तनाव बढिरहेको अवस्थामा त नेपाल त बीचमा पिसिन्छ, नेपाललाई नोक्सान मात्रै हुन्छ । सम्बन्ध सुमधुर भएको अवस्थामा भारतका तर्फबाट पनि र चीनका तर्फबाट पनि नेपाललाई लाभ हुन्छ । तर, नेपाल दुवै देशको अर्थ व्यवस्थासँग कहीँ न कहीँ जोडिनु आवश्यक छ । र, त्यहीअनुसारको नीतिनियम नेपालले बनाउनुपर्छ । अहिले भारतचीन सम्बन्ध सुमधुर भइरहेको छ । नेपालले बुद्धिमतापूर्वक लाभ उठाओस् भन्ने मेरो सदिच्छा, कामना र चाहना छ ।

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...