Thursday 22 January 2015

मुक्तकमैया र मुसहर वस्तीमा जे देखियो

 राजनीतिमा हैन, संरक्षणमा चासो

पर्शुराम काफ्ले
....................................

याँ संविधानको ‘नैतिक डेडलाईन’ले राजधानी काठमाडौं तातिएको बेला पश्चिम, मध्यपश्चिम र सुदुरपश्चिमका बिपन्न मुक्त कमैया, मुसहर र बोटेबस्तीमा यसको राप र ताप भेटिएन । पुस १५देखि २०सम्म नवलपरासीको अमलटारी, बर्दियाको डल्ला, दाङको लमही, कैलालीको लालमटिया र कञ्चनपुरको खल्लागोठ पुग्दा स्थानीयले राजनीतिका बारेमा बोल्न वा सरोकार राख्न चाहेनन् । उनीहरुले आफ्ना विकासे समस्या, जंगल र वन्यजन्तु संरक्षणसँगै जीवनमा आएको परिवर्तनका कथा र सपना सुनाए । चितवन, बर्दिया निकुञ्ज आसपासका स्थानीय थारुहरुको जीवनमा एक डेढ दशकमा आएको परिवर्तन र कञ्चनपुरको खल्लागोठमा मुक्त कमैयाले गरीवीलाई दाऊमा राखेर जंगल र बन्यजन्तु जोगाएको कथा रोचक र मार्मिक छ ।  
००००००००००
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको नवलपरासी खण्डमा स्थानीय थारु समुदायले सञ्चालन गरेको अमलटारी मध्यवर्ती होमस्टे प्रायः भरिभराऊ छ । २१ वटा होमस्टेको व्यवस्थापन धनीराम गुराऊले गरेका छन् । यहाँको होमस्टेको आफ्नै कथा छ । २०७० जेठ ५ गते शुरु गरेर अहिलेसम्म होमस्टेबाट स्थानीयले १४ हजार आन्तरिक पर्यटक र ७४ लाख रुपियाँ कमाएका छन् । सरकारको तराई भूपरिधि कार्यक्रम (ताल)ले यसका लागि आर्थिक सहयोग र सञ्चालनका लागि तालिम दिएको छ । यहाँको होमस्टे समुदायले नै चलाउँछ, आम्दानी पनि समुदायले संकलन गर्छ र फाइदा सबैलाई बराबरी बाँड्छ । प्रति परिवारले औसतमा २५ हजार रुपियाँसम्म आम्दानी गरेका छन् ।
होमस्टेमा एउटा बेग्लै सांस्कृतिक हल छ जहाँ हरेक साँझ सांस्कृतिक कार्यक्रम देखाइन्छ । स्थानीयले थारु, बोटे संस्कृति झल्काउने गीत र नृत्यले आगन्तुकलाई मनोरञ्जन दिन्छन् । होमस्टेको गज्जबको नियम के छ भने बस्ने घर रोज्ने अधिकार पाहुनालाई छैन । व्यवस्थापकले जहाँ राख्छन्, त्यहीँ बस्नुपर्छ र त्यही घरमा पाकेको स्थानीय परिकार खानुपर्छ । यसका लागि प्रतिकोठा पाँच सय रुपियाँ र सादा÷मासुखानाको क्रमशः एकसय र दुईसय रुपियाँ तिर्नुपर्छ । त्यसबाहेकको खाजाको बेग्लै शुल्क छ । 
अमल्टारीमा आठवटा पोखरीमा माछापालन गरिएको छ ।  चारवटा पोखरी बोटे र चावटा मुसहरले सञ्चालन गरिरहेका छन् । बोटे समुदायले सहकारी मार्फत् र  मुसहरले समुदायमार्फत माछापालन गरेका छन् । यहाँ बोटेका ६२, मुसहरका ५८ घर छन् । पहिला घरवार नभएका बोटे र मुसहरले घर बनाएका छन् । समाजसँग घुलमिल भएका छन् र छोराछोरीलाई स्कूल पठाउन थालेका छन् । गाउँमै सञ्चालित माझी प्राबिमा बोटे र मुसहर समुदायका बालवालिका पढिरहेका छन् । १२ बर्षअघिदेखि शुरु भएको माछापालनमात्र नभएर हाँस र कुखुरापालन पनि फस्टाएको छ । 
सामुदायिक वन पनि जोगिएको छ । पहिला उजाड थियो । करिब ३५ वटा गैँडा र  ३ वटा वाघको संरक्षण भएको छ । होमस्टेमार्फत् जंगलतिरको निर्भरता हटेको छ । होमस्टेले नै बजारसम्म उनीहरुको पहुँच पु¥याएको छ । अब स्थानीय थारु, मुसहर र बोटेहरु हाँस कुखुरा, माछापालन, धान मकै, बेसार खेतीमा सक्रिय छन् । मुसहर जातिमा डेढ दशकयता आएको परिवर्तनबाट स्थानीय दंग छन् । ताल कार्यक्रमका प्रमुख देवेशमणि त्रिपाठीको शब्दमा स्थानीयहरुको प्रगति विदेशीको अनुदानमुक्त समाजनिर्माण अभियान हो ।
०००००००
पूर्व पश्चिम राजमार्गबाट १८ किलोमिटर दक्षिणको वस्तीका १११ घर धुरीमा ६०० जनाको थारु परिवार बसेको छ । उनीहरुले २२ वटा होमस्टे चलाइरहेका छन् । बर्दियाको खाता कोरिडोरस्थित डल्ला क्षेत्र हो यो ।
बर्दिया निकुन्ज जाने आन्तरिक र वाह्य पर्यटक डल्ला क्षेत्रमा जान्छन् । बाहिरबाट मानिसहरुको आवतजावतले यहाँ आम्दानी बढेको छ, बन्यजन्तु जोगिएका छन् र स्थानीयमा जागरण आउको छ । शिव सामुदायिक बनका अध्यक्ष मंगल थारुकै अनुभव रोचक छ । उनी पहिला मुक्त कमैयाँ थिए ।  होमस्टे सञ्चालन र वन्यजन्तु संरक्षणमा लागेपछि उनले अंग्रेजी सिके, अरुलाई पनि सिक्न प्रेरित गरे । स्थानीय महिलामा पहिला भाषाको समस्या थियो । अहिले स्थानीय थारु महिला विहानै पुग्ने पाहुनालाई अंग्रेजीमा स्वागत गर्छन्–  गुड मर्निङ सर÷म्याडम ।  मंगलले डल्ला क्षेत्रमै पंक्तिकारसँग भने, ‘होमस्टेबाट गुजारा पनि राम्रैसँग भएकोछ, जंगल जोगिएको छ । हाम्रा पुर्खाले छाडेर गएका संस्कृति, रीतिरिवाज संरक्षण गरेका छौँ । गाउँमा ८ कक्षासम्म बोर्डिङ स्कूल चलाएका छौँ । यो सबै यहाँको वन, वन्यजन्तु र हामीलाई जागरण ल्याइदिने सरकारी कार्यक्रमको देन हो ।’
००००००००
कैलालीको देउकीस्थित बनमा लालमटियामा मानिसहरु गिद्ध संरक्षण अभियानमा छन् । त्यसका लागि उनीहरुले २०६५ साल कात्तिक २२ गते पशु बृद्धाश्रम स्थापना गरेका छन् । देउखुरी उपत्यकाका गाईहरु पहिलाजस्तो जथाभावि मर्नुपरेको छैन । मरेका वस्तुको सिनो पनि जथाभावि सड्न पाउँदैन । वन संरक्षणसँगै वन्यजन्तु पुनः आउन थालेका छन् । शुरुमा बन्यजन्तु शुरुमा चित्तलमात्र थियो, अहिले हुँडार, हात्ति, काग, स्याल, चितुवा, मयुर, वनकुखुरा छन् । पहिला सुकेका पाँचवटा मुहान पलाएको छ । त्यसवाहेक दुईवटा मुहान थपिएको छ ।
गिद्धले असोजदेखि जेठसम्मको ९ महिनामा फुलपार्ने, ओथारा बसेर बच्चा कोरल्ने र उडाउनेसम्मको काम सक्छ । हरेक बर्ष जेठको अन्तिमतिर गिद्धले बच्चालाई उडाइसक्छ ।
००००००
कञ्चनपुरको जनहित महाकाली सामुदायिक बनका अधिकांश उपभोक्ता मुक्त कमैया छन् । उनीहरुकै नेतृत्व छ । उनीहरु विजयसालको संरक्षणमा सक्रिय छन् । यो वहमूल्य काठ हो ।  बाणी गाविस २, खल्लागोठमा पुग्दा मुक्त कमैया परिवारका अगुवाहरु सफलताका कथा सुनाउँदै थिए ।
उनीहरुको वनमा चरिचरन निषेधित र आगलागी नियन्त्रीत छ । वन मासिनुको प्रमुख कारणहरु यिनै हुन् । देशभरिका २० हजार सामुदायिक बनमध्ये चरिचरन नियन्त्रीत गरिएको एक मात्र वन यही हो । वनका अध्यक्ष तुलसीराम चौधरीका अनुसार यो वन २०७० चैत ८ गते घोषणा भयो । यसका लागि स्थानीय अगुवाहरुको १० बर्ष मेहनत लाग्यो ।
पहिला मासिँदै गएर ६०बोट बाँकी रहेकोमा अहिले विजयसालको संख्या बढेको छ । ६ सात फिट अग्लो भएको छ । वन जोगाउँदै गएपछि वनमा पाटेवाघ आएको छ । दुईवटा निलगाई खाएको पत्ता लाग्यो ।
पहिला हरेक घरमा १हजारदेखि १२००सम्म गौरीगाई (स्थानीय जातका) लगाइन्थ्यो, अहिले उन्नत जातका थोरै गाई पालन गर्न थालिएको छ । अहिले खेतीपाती ट्याक्टर लगाएर हुन थालेको छ ।
२०५७ साउन २ गते सरकारले मुक्त  कमैया घोषणा गरेपछि चारसय मुक्त कमैया घर खल्लागोठ आए । सडक छेउमा चारचार कठ्ठा र गाउँमा पाँच पाँच कठ्ठा जमिन सरकारी जमिन उनीहरुलाई मिल्यो । सबै जमिन सार्वजनिक वनक्षेत्रबाट दिइएको थियो । शुरुमा स्थानीयले र वन कार्यालयले उनीहरुको बसोबासस्थलको विरोध गरे ।
साउनको बर्षात्मा जमिन्दारको घरबाट निस्किएका उनीहरु शुरुमा टेन्ट हालेर बसे ।  सरकारी बनमाक्षेत्रमा राखिएका कमैयाले बन मास्लान् भन्ने त्रासदी सबैको थियो । तर त्यस्तो भएन । मुक्त कमैयाले बन मासेनन्, बरु जोगाउने अभियानमा नेतृत्वदायी भूमिका खेले । अहिले उनीहरुले बचाएको वन देशभरकै नमूना छ ।
तुलसीरामका अनुसार शुरुमा त्यो ठाउँमा कञ्चनपुरको शुक्लाफाँटा आरक्ष विस्थापित थिए । मुक्त कमैयालाई व्यवस्थित गरेपछि उनीहरुलाई अन्तै सारियो । प्राप्त भएको ६० हेक्टर जमिनमध्ये आधामा उनीहरुले प्रतिघर १५ वटाका दरले बाँस रोपे । यहाँ जम्मा ६०० घर परिवार छन् । यीमध्ये मुक्त कमैयाका मात्रै ५६८ घर छन् । पुनस्र्थापित माओवादी लडाकुका ८ परिवार पनि यहाँ छन् । उनीहरु पनि पूर्वकमैया परिवारका हुन् ।
उनीहरुको जनसंख्या करिब २५सय छ । कञ्चनपुरका १९ गाविसबाट मुक्त भएका कमैयाको पहिलो समूह यही हो । उनीहरुलाई पर्याप्त जमिन छैन । तर बन फाँडेर जमिन विस्तार गर्ने सपना उनीहरुले देखेनन् । बाहिर मजदुरी गरेर परिवार पाले । अवैतनिक काम गरेर भए पनि वन संरक्षणमा उनीहरु लागे । उनीहरुलाई घर बनाउन सरकारले प्रतिघर ३५ क्युविक फिट काठ दिने घोषणा गरे पनि दिएन । तर अहिले उनीहरुको गुनासो छैन ।
मुक्त कमैयाका आफ्नै गुनासा छन् । उनीहरु तरकारी उत्पादन गर्छन् तर नजिकको बजारसम्म पुग्ने माध्यम छैन । बल्लतल्ल अत्तरिया, धनगढी, नेपालगञ्ज पु¥याउँदा भनेको भाऊमा विक्दैन । गरेको ज्याला पनि उठ्तैन । उनीहरुले लगाएको अर्गानिक तरकारी आलु काउली, रायो, धनिया, रेला, लसुनका तुलनामा भारतबाट आउने तरकारी सस्तो हुन्छ । भारतबाट एकाविहानै  बनबासा नाका हुँदै तरकारी धनगढी बजारमा आउँछ । भारतीय सब्जी सस्तोमा पाइन्छ, स्थानीय उत्पादन कुहिएरै जानुको विकल्प छैन ।
मुक्त कमैया परिवारका युवाले हेयर कटिंग, बाँस र बेतका फर्निचरको तालिम, डकर्मी, वायरिंग, मोटर मर्मन गर्ने, बिजुलीका काम गर्ने तालिम लिएका छन् । तर सिपको सदुपयोग छैन । करिब १०० जना स्थानीय युवा विदेशमा छन् । यो देशैभरिको समस्या हो । देशमै रोजगारी नपाएकोमा अन्तजस्तै त्यहाँ पनि पीडा छ । तर उनीहरुको धेरै गुनासो छैन ।
मुक्त कमैया शिविरभित्र वालकल्याण निमावि छ । आठजना शिक्षकमध्ये चारजनाको तलब निजि श्रोतबाट दिनुपर्छ । सामुदायिक वनको आम्दानीबाट उनीहरुलाई खुवाउनु परेको छ , सरकारले एउटा पनि स्थायी दरवन्दी दिएको छैन । यसमा उनीहरुको ठूलो गुनासो छ ।
चुरेबाट पाँच किलोमिटर दक्षिणमा रहेको खल्लागोठमा मुक्त कमैयाको अगुवाईमा तालतलैया, सौन्दर्य र जंगली जनावरको संरक्षण भइरहेको छ । शुक्लाफाँटामा बन्यजत्नु हेर्न आउने पर्यटक त्यहाँ कम्तिमा एक रात रोकिए आम्दानी गर्न सकिन्छ कि भन्ने स्थानीयलाई लागेको छ । त्यसका लागि उनीहरु होमस्टे चलाउन चाहन्छन् ।
स्थानीय मुक्त कमैया त्यो क्षेत्रलाई चरा अनुसन्धान केन्द्र स्थापना भएको हेर्न चाहन्छन् । त्यसका लागि पहल गरिदिन उनीहरुले आग्रह गरे । स्थानीय समाजसेवी महेशदत्त जोशीका अनुसार सिस्ने क्षेत्रमा सीमसार र घाँसे मैदान छ । १२ मास पानी रहन्छ । धेरै प्रजातिका चराको बसोबासस्थल छ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

top sidebar ads

समाचार

समाचार

recent posts comments tab