Wednesday 10 December 2014

ज्ञानेन्द्रलाई दिल्लीले के -के दियो ?


-पर्शुराम काफ्ले-
भारत भ्रमणबाट फर्केको एक महिनायता पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थक ‘राजनीतिक’रुपमा सक्रिय छन् । सो भ्रमणपछि पूर्व राजा निकटका विश्वहिन्दु महासंघका संरक्षक भरतकेशर सिंह, ०४७ सालको संविधान पुनस्र्थापना अभियानमा लागेका किशोरबहादुर सिंह, पूर्वमन्त्री श्रीष शमशेर जबरा, होटल सोल्टीका मालिक प्रभाकर शमशेर राणाको सक्रियता बढेको छ ।

भारतीय नेतासँग भएको कुराकानीबारे पूर्वराजाले निकटस्थसँग विस्तृतमा जानकारी दिएका छैनन् । तर उनको हाउभाऊका आधारमा राजावादीहरु राजसंस्थालाई पनि स्पेश दिन भारत तयार रहेको अर्थ लगाउँदै अभियान चलाएका छन् । पूर्व राजा निकटस्थहरुको बुझाईमा हिन्दु राष्ट्र पुनस्र्थापना र २०४७ सालको संविधान जारी गर्नुपर्ने पक्षमा भएका अभियान राजसंस्था फर्काउने उद्देश्यबाट प्रेरित छ । कांग्रेस नेता खुमबहादुर खड्का नेतृत्वको हिन्दु राष्ट्र पुनस्र्थाप्नाका लागि महाअभियानले हिन्दु गणतन्त्र भने पनि त्यसले राजसंस्था पुनस्र्थापनाका पक्षमा नै सहयोग पु¥याउने निर्मल निवासको बुझाई छ । पूर्वराजाको दिल्ली भ्रमणपछि राप्रपा नेपालको रथयात्रा, किशोर बहादुर सिंह नेतृत्वको २०४७ सालको संविधान पुनस्र्थापनाका लागि नागरिक संघर्ष समिति, डा माधव भट्टराई नेतृत्वको सनातन हिन्दु मोर्चा सक्रिय भएको छ । कांग्रेस नेता हरिबोल भट्टराई नेतृत्वको हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि नागरिक संघर्ष समिति, किशोरी महतोले नेतृत्व गरेको हनुमान आराधना मण्डललगायत पनि यसबीचमा सक्रिय छन् ।

किशोर सिंह नेतृत्वको नागरिक संघर्ष समितिले एक साताअघि नेपाल प्रज्ञा प्रतिष्ठानमा गरेको कार्यक्रममा राजावादीहरुको बाक्लो उपस्थिति थियो । ‘केही टिभीबाट पैसा तिरेरै प्रत्यक्ष प्रशारण गरियो जसको खर्चबर्च निर्मल निवासबाटै भएको थियो’ कार्यक्रमका जानकारले  भने । 
दरवारको निकटस्थका अनुसार विश्वहिन्दु महासंघ अन्तराष्ट्रिय समितिका संरक्षक भरतकेशर सिंह पूर्व राजाको दिल्ली भ्रमणपछि भेटवार्तामा सक्रिय छन् । शाही शासनकालका सञ्चारमन्त्री श्रीष शमशेर राणाले पनि राजनीतिक भेटवार्ता तीब्र पारेका छन् । तर उनी देखिने भूमिकामा छैनन् । विश्वहिन्दु महासंघका नेता अर्जुन वास्तोला पनि काठमाडौंदेखि दिल्लीसम्म सक्रिय छन् । राजसंस्था पुनस्र्थापनाका लागि कांग्रेसका महासमिति सदस्य कुमुद लोहनीको पनि सक्रियता बढेको छ ।
‘बिजेपीका अध्यक्ष अमित शाहकै निमन्त्रणामा पूर्वराजा भारत जानुभएकोले उहाँको पनि इज्जत र प्रतिष्ठा बढेको महसुस भएको छ’ पुर्वराजाका एक निकटस्थले भने, ‘विशेषतः अमित शाहजीसँगको कुराकानीबाट उहाँ आफ्नो भूमिका बढ्ने कुरामा आशाबादी हुनुभएको पाइयो । ’

photo from google
सुगर र मुटु रोगबाट पीडित पूर्वराजाको दिल्ली बसाई र फर्केपछिको सक्रियताबारे राजावादीहरुमाझ एकैखालको विश्लेषण छैन । भारतीय प्रधानमन्त्री मोदीले ९ मंसिरमा ट्रमा सेन्टर उद्घाटनका बेला गरेको सम्बोधनले अस्पष्टता थपिदिएको राजालाई निकटबाट चिनेका एकजना बुद्धिजीविको विश्लेषण छ । पहिलो नेपाल भ्रमणमा मोदीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्नुपर्ने धारणा राखेका थिए ।
..................................................
कोर्स करेक्सन गर्छौँ :डा दिनेश उपाध्याय, बिजेपी नेता
कांग्रेस आईले भारतलाई विगारेर गएको छ, हाम्रो सरकारले पुनर्निर्माण गर्दैछ । मैले दिल्लीमा पनि राजासँग भेटेँ, यहाँ आएर पनि भेटेँ । राजा ज्ञानेन्द्रले दिल्लीमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीसहित बरिष्ठ नेताहरुसँग सरसल्लाह गर्नुभयो । मेरो पनि लामो कुराकानी भयो । मैले प्रचण्ड, कृष्ण सिटौला, सूर्यबहादुर थापा, सुनिल थापा, शेरबहादुर देउवा प्रकाशमान सिंह, राजा ज्ञानेन्द्रसँग भेटेँ । हामी अहिले पर्ख र हेरको अवस्थामा छौँ । कंग्रेस आईले नेपालमा गरेको गल्ती हामीले सच्याउनैपर्छ । त्यसका लागि जे गर्नुपर्ने हो, हामी गर्छौँ । हिन्दु राष्ट्र, राजसंस्थाका बारेमा अहिले म बोल्दिन । तर भारतको नेपाल नीति हामी करेक्सन गर्छौँ । नेपाली जनताको भलो जसरी हुन्छ, त्यसकै लागि हामी पनि काम गर्छौँ । 
..............................................................

‘मोदीले माओवादी र मधेशीलाई किटेरै सहमतिका पक्षमा भाषण गरे तर परम्परागत शक्तिसँग पनि सहमति खोज्नुपर्छ भन्ने कुरा गरेनन् । त्यसपछि उनले कमल थापालाई बोलाएरै पनि भेट गरेनन्’ ती बुद्धिजीविले  भने, ‘चुनावमा ज्ञानेन्द्रले भारतका रजौटामार्फत् बिजेपीलाई भोट हाल्न गरेको आग्रहको गुन तिर्नका लागि मात्रै इन्गेज गर्न खोजेका हुन् कि साँच्चै नै उनलाई सम्बोधन गर्न खोजेका हुन् भन्ने कुरामा भारत स्पष्ट देखिएन ।’
दरबार निकटस्थ अर्का बुद्धिजीवि भने पछिल्लो भारतीय भूमिका अहिलेकै राजनीतिक प्रक्रियाबाट नेपालमा स्थायित्व ल्याउनेतिर केन्द्रित नभएको तर्क गर्छन् । ‘माघ ८ मा संविधान जारी हुँदैन, यदि जारी भयो भने पनि सबैले मान्दैनन् । अन्ततः अराजकता उत्पन्न हुन्छ भन्नेमा भारतीयहरु ढृक्क छन्’ ती बुद्धिजीविको विश्लेषण छ, ‘अराजकताको अवस्थामा नेपाललाई सम्हाल्ने अवस्थामा राजसंस्थाको भूमिका रहने नै भएकोेले अहिले यो कोर्सको बिपक्षमा गएको नदेखिन भारतले अर्कै भूमिका खेलेजस्तो देखिएको हो । यथार्थमा यो कोर्स सफल हुन्छ भन्नेमा भारत छँदैछैन, हुँदा पनि हुँदैन ।’
राप्रपा नेपालका एक नेता भने माघ ८ मा संविधान नबन्ने विश्लेषणमा टेकेर यतिबेला राजसंस्था र हिन्दुधर्मका पक्षपातीहरु सक्रिय रहेको बताए । ‘संविधान नआएपछि राजा पनि आउँछन्, हिन्दु राष्ट्र पनि आउँछ भन्ने विश्लेषणमा अहिले सबै गतिविधि भइरहेका छन्’ उनले भने, ‘यदि संविधान जारी भयो भने कसरी जाने, राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा के हुन्छ भन्ने कुरामा कसैले शोचेका छैनन्, हाम्रो पार्टीले पनि शोचेको छैन ।’
दिल्लीमा के के भयो ?
कात्तिक २१ देखि १ मंसिरसम्मको दिल्ली बसाईमा पूर्व राजाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, सत्तारुढ भारतीय जनता पार्टी अध्यक्ष अमित शाह, बरिष्ठ नेता लालकृष्ण आडवाणीका नेतासँग भेटेका थिए । पूर्वराजाले नयाँ दिल्लीमा २३ कात्तिकमा प्रधानमन्त्री मोदीसँग भेटेका थिए । २०६६ सालमा गुजरात पुगेका बेला मोदीले पूर्व राजा ज्ञानेन्द्रलाई स्वागत गरेका थिए । ज्ञानेन्द्र निकटस्थहरुका अनुसार उनीहरुबीच व्यक्तिगत सम्पर्क र सम्बन्ध छ ।
ज्ञानेन्द्र फर्केपछि  काठमाडौं आएर उनलाई भाजपा नेता डा. दिनेश उपाध्याय र राष्ट्रिय स्वयम्सेवक संघका नेता उपानन्द ब्रह्मचारीले भेटेका थिए । भाजपाका संगठन विभाग प्रमुख उपाध्यायले नयाँ दिल्ली र काठमाडौंमा पूर्वराजासँग लामो भेटवार्ता गरेको बताए ।
‘नेपालका महाराजासँग मेरो नयाँ दिल्ली र काठमाडौंमा लामो छलफल भयो’ उपाध्यायले भने, ‘कांग्रेस आईले भारतलाई मात्र होइन, नेपाललाईसमेत बर्बाद पारिदिएको छ, हामी त्यसलाई करेक्सन गर्दैछौँ । त्यही सिलसिलामा राजा ज्ञानेन्द्रले प्रधानमन्त्री नरेन्द्र मोदीसहित बरिष्ठ नेताहरुसँग दिल्लीमा भेट गर्नुभयो, मैले पनि भेट्ने सौभाग्य पाएँ ।’  भेटको पुष्टि गरे पनि भाजपा नेता उपाध्यायले के बिषयमा मोदीसँग छलफल गरेको भन्नेबारे विस्तृतमा खुलाएनन् । काठमाडौं आएका बेला ४ मंसिरमा उपाध्यायले पूर्वराजासँग निर्मल निवासमा दुईघण्टा कुराकानी गरेको बताए ।
उनले सोही दिन एमाओवादी अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपप्रधानमन्त्री प्रकाशमान सिंह, कांग्रेस महामन्त्री कृष्ण सिटौला, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, आपूर्तिमन्त्री सुनिलबहादुर थापासँग भेटेका थिए । ‘कंग्रेस आईले नेपालमा गरेको गल्ती सच्याउनका लागि हामी जे गर्नुपर्छ, केही पनि बाँकी राख्दैनौँ’ उपाध्यायले भने, ‘भारतको नेपाल नीति हामी करेक्सन गर्छौँ । नेपाली जनताको भलो जसरी हुन्छ, त्यसमै काम गर्छौँ ।’
दिल्ली गएको भोलिपल्ट पूर्वराजाले हरियाणस्थित कालीवावा आश्रमको भ्रमण गरी कालीवावाबाट आशिर्वाद लिएका थिए । ज्ञानेन्द्र दिल्ली रहेकै बेला कालीवावाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्वहालीका लागि जम्मुस्थित वैष्णुदेवी मन्दिर पुगेर पूजापाठ गरेका थिए । कालीवावाले चार बर्षअघि पशुपतिनाथ परिसरमा हिन्दु राष्ट्रका लागि संकल्प महायज्ञ लगाइसकेका छन् ।

संविधान हैन, राजसंस्था आउँछ : उपानन्द ब्रह्मचारी, आरएसएस नेता
मैले ४मंशिरमा दिउँसो निर्मल निवास पुगेर आधाघण्टा छलफल गरेँ । नेपालको हिन्दु संस्कृतिमात्र हैन, नेपालको अस्तित्व नै खतरामा छ । हिन्दु अधिराज्य हुनुपर्छ । धर्म निरपेक्षतावादीहरु धर्मका रक्षक हुँदैनन् । त्यसका लागि राजतन्त्र चाहिन्छ । मेरो सुझाब छ कि त्यसका लागि २०४७ को संविधान पुनस्र्थापित गरेर अघि बढ्नुपर्छ ।
राजा चिन्तित हुनुहुन्छ । देश गलत दिशातिर गयो भन्ने उहाँलाई लागेको छ जुन स्वभाविकै हो । मैले जनतासँग मिलेर अघि बढ्न राजालाई सुझाब दिएँ ।
योगी आदित्यनाथ र निश्चलानन्द सरस्वतीलाई बोलाएर नेपाल हिन्दुराष्ट्र महायज्ञ लगाउनुस् भनेर सल्लाह दिएको छु । उहाँले पनि ठीक छ भन्नुभएको छ । सन् २०२५सम्म भारत हिन्दुराष्ट्र कायम हुन्छ । हिन्दु जनजागृति समितिले नेपालमा हिन्दुराष्ट्र पुनस्र्थापना हुनुपर्छ भनेर यही बर्ष गोआको सम्मेलनबाट प्रस्ताब पारित गरिसकेको छ । समितिका अगुवा डा चारुदत्त पिङ्ले पनि चाँडै नै नेपाल आउँदै हुनुहुन्छ र राजासँग पनि भेट गर्दैहुनुहुन्छ । जे होस्, जनवरी २२ (माघ ८)गते नयाँ संविधान बन्नेवाला छैन । त्यसपछि आन्दोलन हुन्छ । राजसंस्था आउँछ ।
.........................................................................

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

top sidebar ads

समाचार

समाचार

recent posts comments tab