Monday, 21 October 2013

यस्तो छ मुख्य दलको विदेश नीति

Photo : Google.
-पर्शुराम काफ्ले-
काठमाडौं, कात्तिक ४
प्रमुख दल एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेले आगामी निर्वाचनका लागि फरक फरक विदेश नीति समेटिएका घोषणापत्र तयार गरेका छन् । एमाओवादीले भारतसँग विगतमा भएका ‘असमान सन्धि’ खारेजीलगायतलाई एजेन्डा बनाएको छ भने कांग्रेस र एमालेले भारत र चीनसँग सन्तुलित सम्बन्धमा जोड दिएका छन् । राष्ट्रसंघीय बडापत्र, असंलग्नता, राष्ट्रिय हित, पञ्चशीलको सिद्धान्तलाई तीनै दलले विदेश नीतिको मूल आधार बनाएका छन् ।
एमाओवादीले घोषणापत्रमा ‘आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै र राष्ट्रिय शक्ति सञ्चय गर्दै वैदेशिक हस्तक्षेप र उत्पीडनका साङ्लाहरू चुँडाल्दै जाने प्रगतिशील राष्ट्रवादको आधारमा राष्ट्रिय हितको संरक्षण गर्ने’ उल्लेख गरेको छ । शनिबार जारी एमाओवादी घोषणापत्रमा नयाँ संविधान प्रारम्भ भएको एक वर्षभित्र विगतमा भएका सबै सन्धि–सम्झौताहरूको पुनरावलोकन गर्ने तथा राष्ट्रिय हित प्रतिकूल रहेका सन्धि–सम्झौताहरू खारेज गर्ने उल्लेख गरेको छ । त्यसपछि राज्यले राष्ट्रियहित अनुकूलका नयाँ सन्धि–सम्झौताहरू गर्ने एमाओवादीले जनाएको छ ।
‘भारतसँगको सन् १९५० को शान्ति तथा मैत्रीसन्धि लगायत राष्ट्रियहित प्रतिकूल देखिएका सबै पुराना सन्धि–सम्झौताहरूको पुनरावलोकन गरी तिनलाई आवश्यताअनुरूप परिमार्जन गर्ने, खारेज गर्ने र नयाँ सम्झौता गर्ने कार्य सम्पन्न गरिनेछ’ घोषणापत्रमा उल्लेख छ ।
एमाओवादीले प्रस्तावित स्वायत्त प्रदेशहरूलाई प्रत्यक्ष असर पर्ने वा प्रदेशहरूको क्षेत्राधिकारका बारेमा कुनै मुलुकसँग सन्धि सम्झौता गर्दा परामर्श गर्ने उल्लेख गरेको छ । उसले भनेको छ, ‘कुनै विदेशी राष्ट्र वा संघ–संस्थासँग सन्धि वा सम्झौता गर्ने अधिकार संघीय सरकारमा निहित रहने र स्वायत्त प्रदेशलाई प्रत्यक्ष असर पर्ने वा स्वायत्त प्रदेशको क्षेत्राधिकारभित्रको विषयमा सन्धि वा सम्झौता गर्दा संघले सम्बन्धित प्रदेशको परामर्श लिने ।’
एमाओवादीले संघीय व्यवस्थापिकाको दुई तिहाई बहुमतबाट शान्ति र मैत्री, सुरक्षा एवं सामरिक सम्बन्ध, नेपाल राज्यको सीमाना र राष्ट्रलाई व्यापक, गम्भीर वा दीर्घकालीन असर पर्ने प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँडसम्बन्धी अन्य मुलुकसँग गरिएको सन्धि वा सम्झौताको अनुमोदन गर्नुपर्ने पनि प्रस्ताव गरेको छ ।
भारत र चीनबीचको भूअवस्थितिलाई एमाओवादीले ‘दुई ठूला अर्थतन्त्रबीचको गतिशील पुल’का रूपमा व्याख्या गर्दै कुशलतापूर्वक छिमेकीहरूसँग सम्बन्ध व्यवस्थापन गर्ने उल्लेख गरेको छ । ‘संसारका सबै मुलुक र मुख्यतः दुई ठूला छिमेकी भारत र चीनसँग पञ्चशीलका सिद्धान्तका आधारमा सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध राख्दै राष्ट्रियहितको संरक्षण गर्ने नीति लिइनेछ,’ एमाओवादीले भनेको छ ।
एमाओवादीले नेपाल–भारत खुला सीमाना व्यवस्थित गर्ने पनि उल्लेख गरेको छ । उसले भनेको छ, ‘नेपाल र भारतबीचको खुला सीमानालाई आपसी हितमा व्यवस्थित र नियन्त्रित गर्न आवश्यक कदम चालिनेछ । दुई देशबीचका सीमा विवाद र अतिक्रमणका समस्याहरू सत्यतथ्यका आधारमा र आपसी हितमा यथाशक्य छिटो कुटनीतिक पहलद्वारा समाधान गरिनेछ ।’ नेपाली श्रमिकहरूको ठूलो संख्या भएका देशहरूमा श्रम सहचारीको व्यवस्था गर्ने तथा नेपाली दूतावास र नियोगहरूलाई आर्थिक कुटनीतिको क्षेत्रमा सक्रिय बनाउने पनि एमाओवादीको घोषणापत्रमा उल्लेख छ । यो बुँदा कांग्रेस र एमालेका घोषणापत्रमा पनि उल्लेख छ ।
एमाओवादीले भारतको नाम नलिई ‘विदेशी कुटनीतिक नियोगहरूले सिधै आर्थिक सहायता वितरण गर्ने कार्यलाई नियन्त्रण गरिने’ उल्लेख गरेको छ । २०६० सालमा सूर्यबहादुर थापा नेतृत्वको तत्कालीन क्याबिनेटले भारतीय राजदूतबाट तीन करोड रुपियाँसम्म सोझै आर्थिक सहायता वितरण गर्न पाउने व्यवस्था गरेको थियो । एमाओवादीले अन्तर्राष्ट्रिय गैररकारी संस्थाहरूबाट प्राप्त हुने वैदेशिक सहयोग रकम एकद्वार प्रणालीबाट जाने व्यवस्था मिलाउने पनि घोषणापत्रमा उल्लेख गरेको छ ।
अर्को मुख्य दल नेपाली कांग्रेसले मुलुकलाई ‘विश्व समुदायको सक्षम र प्रतिष्ठित सदस्यका रूपमा स्थापित गर्ने’ अठोट गरेको छ । सार्वजनिक हुन बाँकी घोषणापत्रमा कांग्रेसले पनि अन्य दललेझैँ ‘संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशील, असंलग्नता, राष्ट्रिय हित एवं सुरक्षा’लाई अन्तर्राष्ट्रिय सम्बन्धको मूल आधारका रूपमा व्याख्या गरेको छ ।
‘छिमेकी राष्ट्रहरू भारत र चीनसँगको सम्बन्धलाई अन्तर्राष्ट्रिय सम्बन्धका मूल्य र मान्यता अनुरूप व्यावहारिक र वस्तुनिष्ठ आधारमा मैत्रीपूर्ण बनाइनेछ,’ कांग्रेसले अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा घोषणापत्रमा उल्लेख गरेको छ । कांग्रेसले सार्कको ‘सृजनात्मक रूपान्तरण’मा जोड दिएको छ । तर त्यसबारे उसले स्पष्ट व्याख्या गरेको छैन । उसको घोषणापत्रमा आन्तरिक स्रोत वृद्धि गर्ने र वैदेशिक सहायतामाथि निर्भरता घटाउने पनि उल्लेख गरिएको छ ।
नेकपा एमालेले तयार पारेको घोषणापत्रमा ‘राष्ट्रिय हित, स्वाधीनता र सार्वभौमसत्ता रक्षा गर्दै छिमेकी मित्र राष्ट्रहरूसँग सुमधुर र सन्तुलित सम्बन्ध कायम गर्ने’ उल्लेख गरेको छ । ‘एक अर्काका जायज चासो र सरोकारप्रति संवेदनशील हुने । नेपालको भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिने कुराको प्रत्याभूति गर्ने,’ एमालेले भारत र चीनलाई लक्षित गर्दै भनेको छ । एमालेले घोषणापत्र भने सार्वजनिक गरिसकेको छैन ।
एमालेले ‘विश्वशान्ति, मानवता, सद्भाव र मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्दै नेपालको विकास र नेपाली जनताको समृद्धिका लागि ठोस योगदान पु¥याउने अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीतिको मूल लक्ष्य हुने’ उल्लेख गर्दै ‘संयुक्त राष्ट्रसंघको वडापत्र, पञ्चशील, असंलग्नता, क्षेत्रीय सम्बन्ध र सहयोगको नीतिलाई मूल आधार बनाउने’ पनि जनाएको छ । अन्य मुख्य दलले पनि यिनै विषयलाई विदेश सम्बन्धको मूल आधारका रूपमा व्याख्या गरेका छन् ।
‘साम्राज्यवाद, प्रभुत्ववाद, नवउपनिवेशवाद, सशस्त्रीकरण, जातिवाद, रंगभेद तथा आतंकवाद जस्ता जनविरोधी प्रवृत्तिहरूकोे विरोध गर्दै विश्वशान्ति, निशस्त्रीकरण, राष्ट्रिय तथा सामाजिक मुक्ति आन्दोलनहरूलाई समर्थन गर्ने’ एमालेको नीति छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई थप प्रभावकारी बनाउने, विश्वशान्ति स्थापक सेनामा नेपालको सहभागिता बढाउने पनि एमालेको विदेश नीति छ । एमालेले भारतसँग कायम रहेको ‘सीमासम्बन्धी समस्याको समाधान र सीमा–नाकाहरूको व्यवस्थापनका लागि प्रभावकारी कुटनीतिक पहल र दुईपक्षीय वार्ता प्रक्रिया अगाडि बढाउने’ पनि उल्लेख गरेको छ  ।
हिमालय टाइम्स, कात्तिक ४, २०७०

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...