Tuesday 29 June 2021

असंलग्न आन्दोलनको सान्दर्भिकता थप बढेको छ

-


असरफ शिखालिएभ

नेपालका लागि अजरबैजानका राजदूत

यतिवेला संयुक्त राष्ट्रसंघपछिको दोस्रो ठूलो बहुपक्षीय संस्था असंलग्न आन्दोलनको अध्यक्षता अजरबैजानले गरेको छ । नेपालले सुरुदेखि नै असंलग्न आन्दोलनमा आफूलाई सहभागी गराउँदै आएको छ । दुई वर्षअघि अजरबैजानको बाकुमा आयोजित असंलग्न आन्दोलनको शिखर सम्मेलनमा प्रधानमन्त्री केपी ओली नेतृत्वको प्रतिनिधिमण्डल सहभागी थियो । परिवर्तित परिस्थितिमा असंलग्न आन्दोलनको औचित्यमाथि प्रश्न उठिरहेका वेला यसको औचित्य तथा नेपाल–अजरबैजान सम्बन्धबारे दिल्लीस्थित अजरबैजानका राजदूत असरफ शिखालिएभसँग नयाँ पत्रिकाका पर्शुराम काफ्लेले गरेको इमेल कुराकानी :


तपाईं एक वर्षअघि नेपालका लागि गैरआवासीय राजदूत नियुक्त भएर काठमाडौं आउनुभयो । नेपालप्रति तपाईंको दृष्टिकोण के–कस्तो छ र नेपालसँग दुई देशबीचको सम्बन्ध कसरी अघि बढाउन खोजिरहनुभएको छ ? 

वास्तवमा नेपालका लागि राजदूत नियुक्त हुनु मेरा लागि सम्मानको विषय हो । मैले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र सन् २०१९ जुनमा बुझाएको थिएँ । म सम्झिन्छु– नेपालको सुन्दरताबाट म असाध्यै मोहित भएको थिएँ । नेपालको प्रकृति, चम्किला हिमाली पर्वतमाला अनि नेपालीको आतिथ्यताको न्यानोपनबाट म प्रभावित भएको छु । वास्तवमा अजरबैजान र नेपाल संयक्त राष्ट्रसंघ र अन्य वैश्विक संस्थाहरूमा नजिकबाट सहकार्य गर्छौँ । हामीले द्विपक्षीय व्यापार र लगानी बढाउने तथा आपसी पर्यटन प्रवद्र्धन गर्नु आवश्यक देखेको छु । अजरबैजान र नेपालमा एक–अर्काका पर्यटकको संख्या बढिरहेको सुन्दा म खुसी भएको थिएँ । म यो कुरा बडो खुसीसाथ भनिरहेको छु कि चर्चित नेपाली चलचित्र वीरविक्रम– २ का केही भाग अजरबैजानमा सुटिङ भएको थियो । वास्तवमा कोभिड– १९ को परिस्थितिपछि आर्थिक सम्बन्धमा के–कस्ता आपसी लाभका अवसर खोज्ने भन्नेमा दृष्टिकोण बनाउनु आवश्यक छ । यस सन्दर्भमा हामीले केही दृष्टिकोण तयार पारेका छौँ ।

नेपालका प्रधानमन्त्री केपी ओली पनि २०१९ अक्टोबरमा असंलग्न आन्दोलनको शिखर सम्मेलनमा सहभागी हुने क्रममा बाकु भ्रमणमा जानुभयो । सम्मेलन सफल बनाउन उहाँको सहभागितालाई हामीले उच्च मूल्यांकन गरेका छौँ । असंलग्न आन्दोलनको संस्थापक सदस्यका रूपमा नेपालको भूमिका महत्वपूर्ण छ । त्यसवेला प्रधानमन्त्री ओलीको भ्रमणमा दुई देशबीच संक्षिप्त भए पनि महत्वपूर्ण द्विपक्षीय बैठक भए । दुई देशका परराष्ट्रमन्त्रीबीच पनि छलफल भयो । यी भ्रमणको परिणाम आउने छ भन्नेमा हामी विश्वस्त छौँ ।

परिवर्तित विश्व परिस्थितिमा धेरैले असंलग्न आन्दोलनको औचित्यमाथि प्रश्न उठाइरहेका छन् । अध्यक्ष मुलुकका रूपमा तपाईंहरूले यसको सान्दर्भिकता कसरी देख्नुहुन्छ ?

परिवर्तित परिस्थितिमा संसारका धेरै विकासशील देशले बिस्तारै गतिमा प्रगति गर्दै आर्थिक वृद्धि हासिल गरिरहेका छन् र उनीहरू विश्वव्यापी रूपमा अझ महत्वपूर्ण भूमिका खेल्न इच्छुक छन् । असंलग्न आन्दोलनमा १२० मुलुक सहभागी छन् र यो संयुक्त राष्ट्रसंघपछिको सबैभन्दा ठूलो राजनीतिक संस्था हो । त्यसकारण आज यसको सान्दर्भिकता अझ बढेको छ । असंलग्न आन्दोलन शान्ति, सुरक्षा, विकास, आर्थिक सहकार्य, अन्तर्राष्ट्रिय सम्बन्धहरूको लोकतान्त्रीकरणका विषयमा छलफल गर्नका लागि अहिले पनि महत्वपूर्ण र सान्दर्भिक छ भन्ने हामी ठान्दछौँ । संयुक्त सहकार्यमार्फत विकासशील देशहरूले उनीहरूका साझा महत्वका विषयमा बलियो र ठूलो आवाज बोल्न सक्ने यो फोरम हो । त्यसकारण, असंलग्न आन्दोलनको अध्यक्ष मुलुकका नाताले अजरबैजानले वाङडुङ सिद्धान्तलाई प्रवद्र्धन गर्न, असंलग्न मुलुकहरूबीचको एकता थप सुदृढ गर्न तथा विकाकशील हाम्रा सदस्य मुलुकहरूको हितका लागि आन्दोलनको प्रभावकारिता बढाउन भूमिका निर्वाह गर्ने कुरामा कुनै कमी हुन दिएको छैन । हामी निरन्तर यसमा अघि बढ्छौँ । 

नेपाल र अजरबैजानबीच द्विपक्षीय सम्बन्ध स्थापना भएयता संयुक्त परामर्श संयन्त्रजस्ता संयन्त्र बन्न सकेका छैनन् । यसका लागि किन ढिलाइ भएको हो ? अजरबैजान सरकारले यसका लागि के सोच बनाइरहेको छ ? 

अवश्य, हाम्रा दुई मुलुकबीच तपाईंले भन्नुभएजस्ता संयुक्त संयन्त्र स्थापना गर्नु आवश्यक छ । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भ्रमणका वेला सन् २०१९ को अन्तिमतिर यस विषयमा छलफल पनि भएको हो । सुरुवातमा हामी परराष्ट्र मन्त्रालयबीच छलफल र संवाद स्थापना गर्न सक्छौँ जहाँ दुईपक्षीय सम्बन्धका सबै आयामबारे छलफल हुन सकोस् । यस्तो छलफलले दुई देशबीच सहकार्यलाई अर्को तहमा लैजाने गरी प्राथमिकताका विषयसँग सम्बन्धित विज्ञ समूहहरू निर्माण गर्न दिशानिर्देश गर्न सक्छ भन्ने हामीलाई विश्वास छ ।

वास्तवमा नेपाल र अजरबैजानबीच व्यापार र वाणिज्यको तहमा असाध्यै कम सहकार्य छ । यस सन्दर्भमा के गर्न सकिन्छ भन्ने तपाईंलाई लागेको छ ? 

मुख्य रूपमा दुई देशबीच सूचना सञ्चार प्रविधि, ई–गभर्नेन्स, पेट्रोकेमिकल सामानहरूको व्यापार, पर्यटन, कृषि उत्पादन, मेडिकल प्लान्ट र औषधिजस्ता क्षेत्रहरूमा सहकार्यको राम्रो अवसर छ । अजरबैजान यी विषयमा नेपालसँग काम गर्न इच्छुक र तत्पर छ । यसका लागि हामीहरूबीच व्यापारिक प्रतिनिधिमण्डलहरूको भ्रमण आदान–प्रदान हुनु जरुरी छ । व्यापार मेला तथा प्रदर्शनीहरू आयोजना गर्नु जरुरी छ जसले एक–अर्को मुलुकमा निर्यात गर्ने वस्तुहरू तथा एक–अर्को मुलुकमा लगानीका परियोजनाहरूको पहिचान हुन सकोस् । यसका लागि दुई देशका निजी क्षेत्रका कम्पनी, चेम्बर अफ कमर्स एवं औद्योगिक निकायहरूबीच सहकार्यका लागि दूतावासले भविष्यमा समन्वय गर्नेछ । त्यसपछि निजी क्षेत्रले आफ्ना रुचिका विषयको पहिचान गर्ने अवसर पाउनेछ र आपसी हितमा आधारित आर्थिक सहकार्यको विस्तारमा पनि टेवा पुग्नेछ । 

अजरबैजानको मुख्य आयस्रोत पेट्रोलियम उत्पादनको राजस्व हो भनिएको छ । यस सन्दर्भमा नेपालमा लगानीको सम्भावना तपाईं देख्नुहुन्छ ? 

अजरबैजानबाट नेपालले पेट्रोकेमिकल तथा अन्य उत्पादन किन्न सक्छ । कोभिडपूर्वको अवस्थामा नेपालमा निर्माणका क्षेत्रले निकै गति लिएको थियो । कोभिड महामारीपछि जब आर्थिक गतिविधिले गति लिन्छ, त्यसवेला नेपालका विभिन्न परियोजनामा लगानीका लागि अजरबैजनी कम्पनीहरूले रुचि दिनेछन् भन्नेमा मलाई विश्वास छ । 

पेट्रोलियम पदार्थ त तपाईंहरूको विज्ञताको विषय नै भयो, जलविद्युतलगायत नवीकरणीय ऊर्जामा लगानीको सम्भावना हुन सक्ला ? 

अरू देशहरूजस्तै अजरबैजान पनि नवीकरणीय ऊर्जा क्षेत्रको विकास गर्न उत्सुक छ । हाम्रा विज्ञहरूले यस सन्दर्भमा विभिन्न प्रस्तावहरू तयार गरेका छन् र विभिन्न अध्ययनहरू पनि गरेका छन् । यो क्षेत्रलगायत ऊर्जा क्षेत्रमा सहकार्यका लागि ठूलो सम्भावना छ भन्ने म ठान्दछु । यसका लागि दूतावासका तर्फबाट हामीले गर्ने समन्वयका प्रयास जारी राख्नेछौँ ।

अजरबैजानले अर्मेनियासँगको विवादका सन्दर्भमा विशेष गरी भौगोलिक अखण्डताको प्रश्नमा नेपालसँग पनि ऐक्यबद्धताका लागि आग्रह गरेको थियो भन्ने खबर आएको थियो, यसबारे केही बताइदिनुस् न ?

अर्मेनियाको जबर्जस्त हस्तक्षेपको प्रतिरोध गर्ने क्रममा हामीले धेरै मित्रदेशबाट सदभाव पायौँ । त्यसका लागि हामी आभार व्यक्त गर्दछौँ । 

नेपालमा राजदूतावास वा अवैतनिक महावाणिज्य दूतावास खोल्ने योजना छ कि ? 

यो महत्वपूर्ण विषय हो । कोभिड– १९ को समाप्तिपछि हामी यस सम्बन्धमा गम्भीरतापूर्वक अध्ययन गर्नेछौँ । 

https://nayapatrikadaily.com/news-details/66262/2021-06-27

No comments:

Post a Comment

top sidebar ads

समाचार

समाचार

recent posts comments tab