Friday, 14 December 2018

अमेरिका जाँदै परराष्ट्रमन्त्री, डेढ दशकपछि उच्चस्तरीय औपचारिक वार्ता


  • पर्शुराम काफ्ले , Source : www.nayapatrikadaily.com

काठमाडौं, २८ मंसिर
..............................................
नेपालबाट करिब डेढ दशकपछि नेपाल र अमेरिकाबीच उच्चस्तरीय द्धिपक्षीय औपचारिक वार्ता हुन लागेको छ । अमेरिकी विदेशमन्त्री माइक आर पोम्पियोको निमन्त्रणामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली औपचारिक भ्रमणका लागि आइतवार राती प्रस्थान गर्दैछन् । एक साताका लागि अमेरिका जान लागेका परराष्ट्रमन्त्रीले ३ र ४ पुसमा उच्चस्तरीय भेटवार्ता गर्नेछन् । 
नेपालका परराष्ट्रमन्त्रीलाई अमेरिकी समकक्षीको निमन्त्रणा १६ बर्षपछि आएको हो । परराष्ट्रमन्त्रालयले आइतवार सार्वजनिक गर्ने कार्यतालिका अनुसार मन्त्री ज्ञवालीले   ३ र ४ पुसमा अमेरिकी उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन् । परराष्ट्रमन्त्री ज्ञवालीले ३ पुसमा समकक्षी माइक आर पोम्पियोसँग द्धिपक्षीय वार्ता गर्ने कार्यक्रम छ । ज्ञवालीसँगै परराष्ट्रसचिव शंकरदास बैरागी, परराष्ट्रमन्त्रालयको युरोप अमेरिका महाशाखा प्रमुख घनश्याम भण्डारीसहित अधिकारी अमेरिका जाने कार्यक्रम छ । भ्रमणदलमा वासिंटनस्थित नेपाली राजदूत डा अर्जुन कार्की सहभागी हुनेछन् । 
सन् १९४७ मा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । बेलायतपछि नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको दोस्रो मुलुक अमेरिका हो । विगतमा नेपाल र अमेरिकाबीच उच्चस्तरीय भ्रमण हुने गरेपनि नेपालको घरेलु द्धन्द्धपछि रोकिएको थियो । नयाँ सरकार गठनपछि अमेरिकाले नेपाललाई प्राथमिकतामा राखेको अर्थमा ज्ञवालीको भ्रमणलाई लिइएको छ । 
ज्ञवालीले अमेरिकी अधिकारीसँग नेपालको शान्ति प्रक्रिया र विकासको प्राथमिकताबारे छलफल गर्ने परराष्ट्र अधिकारीले बताए । अमेरिकाबाट नेपालमा ७ अर्ब ४० करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआइ) आएको छ  । परराष्ट्रमन्त्रालयका अनुसार युएसएडबाट नेपाललाई १३ करोड ४० लाख ६ हजार रुपियाँ विकास सहायता प्राप्त भएको छ । नेपाल र अमेरिकाबीच सन् १९५१ जनवरी २३मा अमेरिकी सहयोगसम्बन्धी पहिलो सम्झौतामा हस्ताक्षर भएको थियो । स्रोतका अनुसार दीगो विकास लक्ष्य अन्तर्गत र भुकम्पपछिको पुनर्निर्माणमा अमेरिकाले दिएको सहयोगप्रति ज्ञवालीले धन्यवाद दिँदै नेपालमा थप अमेरिकी लगानीका लागि आग्रह गर्नेछन् ।  
१६ बर्षअघि देउवा अमेरिकामा, पावेल नेपालमा 
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५८ वैशाख २३ देखि २८ सम्म अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । अमेरिकी सरकारको निमन्त्रणामा उनीपछि प्रधानमन्त्रीस्तरमा अमेरिकाको औपचारिक भ्रमण भएको छैन ।   गते अमेरिकी विदेशमन्त्री कोयिलन पावेलले डेढ दशकअघि नेपाल भ्रमण गरेका थिए । त्यसयता विदेशमन्त्री वा माथिल्लोस्तरमा अमेरिकाबाट नेपाल भ्रमण भएको छैन । उपप्रधानमन्त्री कमल थापासँग अमेरिकामा केही अघि भएको भेटवार्तामा विदेशमन्त्री जोन केरीले यही अंग्रेजी बर्षको अन्तिम (आगामी पुस)सम्म नेपाल भ्रमण गर्नसक्ने बताएका थिए । तर भ्रमण भएन । 
शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा २०५८ साल माघ ५ गते विदेशमन्त्री पावेल नेपाल भ्रमणमा आएका थिए । माओवादीविरुद्ध सेना परिचालित भएको त्यो बेला ‘पावेलले आतंकवादविरुद्ध अमेरिकी सहयोग रहने’ घोषणा गरेका थिए । सन् २००१ सेप्टेम्बर ११ मा अलकायदाले अमेरिकाको ट्विन टावरमा हवाई हमला गरेपछि अमेरिकाले आतंकवादविरुद्ध अभियान घोषणा गरेको थियो । दक्षिण एशियाको अफगानिस्तानमा तालिवानविरुद्ध अमेरिकामा आक्रमण चलेका बेला नेपालमा माओवादीविरुद्ध तत्कालीन सरकारले सेना परिचालन गरेको थियो । त्यही बेला भारत र पाकिस्तानको भ्रमण सकेर पावेल नेपाल भ्रमणमा आएर पावेलले माओवादीविरुद्ध सरकारको कारबाहीमा ऐक्यवद्धता जनाउँदै थप सहयोगको आश्वासन दिएका थिए । त्यसबेला पावेललाई नेपाली सैनिक हेडक्वार्टरमा गार्ड अफ अनर दिएको बिषयमा विवाद भएको थियो । उनीपछि अमेरिकाबाट नेपालमा हाइप्रोफाइल भ्रमण भएको छैन । 
तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री केपी शर्मा ओली तथा साहना प्रधानले अर्कै सन्दर्भमा अमेरिका जाँदा अमेरिकी तत्कालीन विदेशमन्त्री कोन्डोलिजा राइससँग भेटेका थिए । २०७३ वैशाख पहिलो साता तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले पनि अमेरिकामा तत्कालीन विदेशमन्त्री जोन केरीसँग भेटेका थिए । थापाले सन् २०१६ मै केरीको भ्रमण हुने बताएका थिए । देउवापछि नेपालका प्रधानमन्त्री अमेरिका गएका छैनन् । 
बेलायतपछि नेपालको दोस्रो कूटनीतिक सम्बन्ध
सन् १९४७ मा नेपाल र  अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । बेलायतपछि नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको दोस्रो मुलुक अमेरिका हो । 
सन् २००० मा एक साता दक्षिण एशियाली मुलुकको भ्रमणमा आएका अमेरिकी राष्ट्रपति विल क्लिन्टन नेपाल आएनन् । तर, अमेरिकी उपराष्ट्रपति स्पाइरो एग्नेउ सन् १९७० मा नेपाल भ्रमणमा आएका थिए जतिबेला अमेरिकी गुप्तचर एजेन्सी सीआइएको सहयोगमा तिब्बती खम्पाहरु नेपालको उत्तरी सीमानामा संगठित भएर चीनविरोधी गतिविधि सञ्चालन गरेका थिए । पछि, सेनाले उनीहरुलाई नियन्त्रणमा लिएर खम्पा बिद्रोह साम्य पारेको थियो । 
तत्कालीन राजा महेन्द्र दुईपटक र राजा वीरेन्द्र एकपटक अमेरिकाको राजकीय भ्रमणमा गएका थिए । त्यसपछि राष्ट्रप्रमुखस्तरमा भ्रमण भएको छैन । तत्कालीन प्रधानमन्त्री डा. तुल्सी गिरी र शेरबहादुर देउवाबाहेक नेपाली प्रधानमन्त्रीको औपचारिक अमेरिका भ्रमण भएको छैन । 
NAYAPATRIKA ONLINE

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...