Tuesday 2 December 2014

मोदीका सुरक्षा सल्लाहकारको दाबी : चीनका कारण मोदीको लुम्बिनी भ्रमण रोकियो, नेपाललाई सुविधा कटौती गर्न सरकारलाई सुझाब

बिजेपी नेता भन्छन् : आन्तरिक कारण
अतिशयोक्तिपूर्ण निष्कर्ष : नेपाली सुरक्षाविद्
=============================

पर्शुराम काफ्ले/नयाँ पत्रिका
काठमाडौं, १५ मंसिर

भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डका सदस्यले नेपाललाई दिने सुविधा कटौती गर्न सरकारलाई सुझाब दिएका छन् । बोर्ड सदस्य जयदेव रानादेले चिनियाँ प्रभावकै कारण प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण स्थगित गर्नुपरेको दाबी गरेका छन् ।
मोदीले भ्रमण गरे भारतको प्रतिष्ठा बढ्ने र लुम्बिनीमा आफ्नो योजना कमजोर हुने चिनियाँ चासोका कारण भ्रमण हुन नसकेको रानादेको तर्क छ । भारतीय मन्त्रिपरिषद्का पूर्वसहसचिव तथा नयाँदिल्लीस्थित सेन्टर फर चाइना एनालाइसिस एन्ड स्ट्राटेजीका अध्यक्षसमेत रहेका उनले नेपालमा चिनियाँ प्रभावले सीमा नाघ्न लागेको भन्दै काठमाडौंलाई जबर्जस्त चेतावनी दिनुपर्ने सुझाब सरकारलाई दिएका छन् ।
‘भारतले नेपालसँग राष्ट्रिय व्यवहार गर्ने विषयमा पनि कडाइ गरी चेतावनी दिनुपर्छ, उसको चीनसँगको सम्बन्धले अस्वीकृत रेडलाइनको घेरा काट्न खोजिरहेको छ,’ भारतको द सन्डे गार्जियनमा शनिबार चिनियाँ दबाबले रोक्यो प्रधानमन्त्रीको लुम्बिनी भ्रमण शीर्षकको लेखमा भनेका छन्, ‘भारतले तत्कालै नेपालमा चीनको बढ्दो प्रभावको कडा जवाफको तयारी गर्न आवश्यक छ । अन्यथा भारतको उत्तरमा पाकिस्तानसमेतले चिनियाँ प्रभावलाई मलजल पुर्‍याउने खतरा बढ्नेछ ।’
‘बुद्धको जन्मस्थल लुम्बिनीमा धेरै वर्षदेखि चीनको विशेष रणनीतिक फोकस छ र यो उसको स्वशासित क्षेत्र तिब्बतलाई अस्थिर बनाउने आधार नेपाल नबनोस् भन्नेतर्फ केन्द्रित छ,’ रानादेले लेखेका छन्, ‘चीन सरकारको लगानी भएका एनजिओहरूले विमानस्थल, गुम्बासहितको निर्माणका नाममा तीन अर्ब अमेरिकी डलरजति खर्च गर्ने सार्वजनिक गरिसकेका छन् ।’
चीन सरकारको लगानी भएका तीनवटा एनजिओले लुम्बिनीमा उपस्थिति जनाउन खोजेको र यसका लागि नेपाली शीर्ष नेताहरूलाई उपयोग गरिरहेको रानादेको आरोप छ । ‘चिनियाँ कम्युनिस्ट पार्टीको युनाइटेट फ्रन्ट वर्क डिपार्टमेन्टअन्तर्गत रहेको एसिया प्यासिफिक एक्सचेन्ज एन्ड को–अपरेसन फाउन्डेसनले एमाओवादी अध्यक्ष प्रचण्डलाई उपाध्यक्षमा नियुक्त गरेको छ । प्रचण्डले नै नेपालका प्रधानमन्त्री पहिलोपटक दिल्ली जाने परम्परा भत्काएर बेइजिङ जाने परम्परा थालेका हुन्,’ उनले लेखेका छन्, ‘चीन सरकारको लगानी रहेको इन्टरनेसनल इकोलोजिकल सेफ्टी कोल्याबोरेटिभ अर्गनाइजेसनले पूर्वप्रधानमन्त्री माधव नेपाल र पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालालाई कार्यकारी अध्यक्ष नियुक्त गरेका छन् ।’
चीनले ‘पेरिफेरल डिप्लोमेसी’का नाममा नेपाल र पाकिस्तानलाई उसको एजेन्डा कार्यान्वयनका लागि ठूलो आर्थिक र अन्य सुविधा प्रदान गरेको पनि रानादेले आरोप लगाएका छन् । सोही लेखमा सांघाई–ल्हासा रेल्वे भारत–नेपाल चीन सम्बन्धको ‘गेमचेन्जर’ रहेको दाबी गर्दै उनले काठमाडौं हुँदै लुम्बिनीसम्म यो रेल्वे विस्तारले भारतको सुरक्षा जोखिम बढ्नेसमेत विश्लेषण गरेका छन् ।
‘यही अक्टोबरबाट सांघाई–तिब्बत रेल्वेलाई नेपाल–तिब्बत सीमानजिकको केरुङसम्म विस्तार गर्ने काम सुरु भएको छ । चिनियाँ रेल्वे टिमले यो रेल्वेलाई काठमाडौं हुँदै लुम्बिनीसम्म लैजाने विषयमा सर्भे पूरा गरिसकेको छ,’ उनले भनेका छन्, ‘निश्चय पनि चिनियाँ सैन्य इन्जिनियरले काठमाडौं र लुम्बिनीसम्मको रेल्वे निर्माण र मर्मत गर्नेछन् र लुम्बिनीमा चिनियाँ उपस्थितिले भारत–हिमालयन क्षेत्रमा सुरक्षा जोखिम थप बढाउनेछ ।’

तीनजना मन्त्रीमाथि पनि आरोप
भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डका सदस्य जयदेव रानादेले चीनपरस्त भन्दै नेपालका तीनजना मन्त्रीको पनि आलोचना गरेका छन् । सार्क सम्मेलनअघि नेपालका तीनजना मन्त्रीले चीनलाई सार्कको सदस्यता दिनुपर्ने विषयमा सिन्ह्वाको १२ पेज विशेषांकमा लेख लेखेको आरोप लगाउँदै रानादेले असन्तुष्टि जनाएका छन् ।
सिन्ह्वाको नेपाल संस्करण एसिया प्यासिफिक डेलीलाई परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, अर्थमन्त्री डा. रामशरण महत र सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले अन्तर्वार्ता दिएका थिए । तीनै मन्त्रीले चीनलाई दीर्घकालीन रूपमा सार्कको सदस्य बनाउन सकिने उल्लेख गरेका थिए ।
रानादेले चीनलाई सार्कको सदस्य बनाउनुपर्छ भन्ने अभिप्रायबाट मन्त्रीहरूले अभिव्यक्ति दिएको आरोप लगाएका छन् । ‘चीनले पनि त्यस (सदस्य बन्ने अभिप्राय)का लागि सन् २०१८ सम्म वार्षिक १६ लाख ३० हजार अमेरिकी डलरका दरले सहयोग गर्ने अफर गर्‍यो,’ रानादेको दाबी छ ।
तीन मन्त्रीलाई रानादेले ‘बेइजिङपरस्त ओरिन्टेसन भएको’ आरोप लगाएका छन् । संस्कृतिमन्त्री हुँदा रिजालले लुम्बिनीमा दलाई लामालाई भ्रमण गर्नबाट रोकेको पनि उनको दाबी छ । ‘रिजालले चीन र दलाई लामाबीच कुराकानी गर्ने वातावरण तयार भएपछि मात्र चिनियाँ जनताको सम्मान हुने गरी लामालाई लुम्बिनी आउन दिने भनेका थिए,’ रानादेको आरोप छ ।
रानादेले चिनियाँ सेनापतिलाई पनि नेपाली सेनाको मानार्थ महारथी दिन लागिएको उल्लेख गरेका छन् । ‘सन् २०११ मा चीनका सेनापति छेन विङ्दे काठमाडौं आउँदा उनलाई नेपाली सेनाको महारथीको दज्र्यानी चिह्न दिन खोजिएको थियो,’ उनले लेखेका छन्, ‘भलै यो कार्यान्वयन भएन, तर यसमार्फत पनि चीनले नेपालमा भारतलाई विस्थापित गर्न चाहन्थ्यो भन्ने स्पष्ट हुन्छ ।’ नेपाल र भारतका सेनापति एक–अर्काका मानार्थ महारथी बन्ने परम्परा छ । चीनले क्षेत्र विस्तारका लागि नेपालका १५ वटा सीमावर्ती जिल्लालाई शिक्षा, स्वास्थ्य, सडक पूर्वाधारलगायतमा १६ लाख डलर अनुदान दिन लागेको पनि उनले बताएका छन् ।
मन्त्रिपरिषद्को सहसचिवबाट सन् २००८ मा अवकाश पाएका रानादे नयाँदिल्लीस्थित सेन्टर फर चाइना एनालाइसिस एन्ड स्ट्राटेजीका अध्यक्षसमेत हुन् । उनी सदस्य रहेको राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्ड भारतको छिमेक रणनीति, सीमा व्यवस्थापन, आन्तरिक सुरक्षा, सैन्य उद्योग, रणनीतिक संवादलगायत आठवटा विषयमा सरकारलाई सल्लाह दिने वैधानिक निकाय हो । सन् २०१३ देखि २०१५ सम्मका लागि बोर्डको अध्यक्ष पूर्वविदेशसचिव श्यामशरण छन् । १७ सदस्यीय बोर्डमा अधिकांश अवकाश प्राप्त उच्चपदस्थ सैनिक, प्रहरी र कर्मचारी छन् ।


अतिशयोक्तिपूर्ण निष्कर्ष : सुरक्षाविद्
नेपालका सुरक्षामामिला विज्ञ तथा अन्तर्राष्ट्रिय सामरिक मामिला जानकार गेजा शर्मा वाग्लेले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डका सदस्य जयदेव रानादेको निष्कर्ष अतिशयोक्तिपूर्ण भएको बताएका छन् । यसबारे सरकारले कुनै जवाफ दिनु आवश्यक नभएको उनको भनाइ छ ।
‘भारत र चीन दुवैले नेपाललाई उच्च प्राथमिकता दिएका छन् । जसका कारण दुवैको चासो बढ्नु स्वाभाविकै हो,’ वाग्लेले नयाँ पत्रिकासँग भने, ‘तर नेपालमा चीनको प्रभाव बढेको निष्कर्ष अतिशयोक्तिपूर्ण हो । यो नेपालप्रति भारतीय खुफिया एजेन्सीको पुरानो मानसिकताको प्रतिविम्ब हो ।’
भारतको नीतिनिर्माण प्रक्रियामा रानादेको भनाइको आंशिक प्रभाव हुने, तर यो भारतकै लागि प्रत्युत्पादक हुनसक्ने वाग्लेको विश्लेषण छ । ‘वर्तमान राजनीतिक नेतृत्व सकारात्मक भइरहेका वेला यस्तो अतिरञ्जितपूर्ण विचार आउनु भारतकै लागि पनि प्रत्युत्पादक हुनसक्छ,’ वाग्लेले भने ।


भारतकै कारण स्थगित : बिजेपी नेता
भारतीय जनता पार्टीका नेता डा. दिनेश उपाध्यायले आन्तरिक व्यस्तताकै कारण प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंबाहिरको तीर्थाटन स्थगित गरेको बताएका छन् । यसमा नेपालको आन्तरिक राजनीति वा अन्य बाह्य कारण नभएको उनले स्पष्ट पारेका छन् ।
‘प्रधानमन्त्री भारतको चुनावी व्यस्तताका कारण आउन नसक्नुभएको हो, निकट भविष्यमा जनकपुर, लुम्बिनी र मुक्तिनाथ दर्शनमा आउनुहुन्छ,’ उपाध्यायले टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘यसमा अन्यथा कुनै कारण छैन । नेपाली जनता कुनै भ्रममा पर्नु जरुरी छैन ।’ डा. उपाध्याय दुई साताअघि काठमाडौं आएर फर्केका थिए ।
nayapatrika daily, Mansir 16, 2071

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

top sidebar ads

समाचार

समाचार

recent posts comments tab