Tuesday, 10 February 2026

पूर्व गोर्खा सैनिकको पेन्सनमा राष्ट्रपति पौडेलको चासो


काठमाडौं, २६ माघ
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व ब्रिटिश गोर्खाको समान पेन्सन लगायतका बिषयमा नेपाल र बेलायतबीच भइरहेका छलफलबारे चासो राखेका छन् । उनले पूर्व ब्रिटिश गोर्खा सैनिकका जायज गुनासोलाई द्धिपक्षीय कूटनीतिक संयन्त्रको माध्यमबाट टुंगोमा पु¥याउनुपर्नेसमेत बताएका छन् । बेलायती सेनाका मेजर जनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीबाट सोमवार गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन बुझ्ने क्रममा राष्ट्रपति पौडेलले अबकास पाएका गोर्खा सैनिकको पेन्सन लगायतका बिषयमा चासो राखेका थिए ।
‘पूर्व ब्रिटिश गोर्खाका केही जायज गुनासाहरू सम्बोधन गर्न कूटनीतिक तहमा  छलफल भइरहेको र यो विषय द्विपक्षीय संयन्त्रको माध्यमबाट छिट्टै टुंगोमा पु¥याउन उचित हुने आफूलाई लागेको राष्ट्रपतिले बताउनुभयो’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।  राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र बेलायतले   विकास, मानव कल्याण र शान्तिसँग सम्बन्ध राख्ने विषयहरूमा सहकार्य गर्दै आएको, राष्ट्रसंघीय शान्तिसेना मार्फत् विश्वशान्ति स्थापनाबारे समान धारणा राखिरहेको समेत बताएका थिए ।
सन् १९९७ भन्दा अघि बेलायती सेनाबाट अवकाश पाएका गोर्खा सैनिकले  बेलायती सैनिकसरह पेन्सन र कल्याणकारी सुविधा तथा क्षतिपूर्ति दिलाउनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।
भुतपूर्व गोर्खा सैनिकलाई बेलायती सरह पेन्सन लगायतका सुविधाका सम्बन्धमा नेपाल–बेलायत वार्ता हुँदै आए पनि अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन । हाल बेलायतस्थित कार्यवाहक नेपाली राजदूत विपिन दवाडीले बेलायती अधिकारीहरुसँग यो बिषयमा चरणबद्ध छलफल गरिरहेको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ ।  भुपु गोर्खाका प्रतिनिधिसहित दुई देशबीच बिगतमा भएका मन्त्रीस्तरीय वार्तामा बेलायतले कानूनी र व्यवहारिक अड्चन देखाउँदै गोर्खा पूर्व सैनिकलाई बेलायती सरह पेन्सन दिन नसक्ने अडान राखेपछि त्यो स्तरमा वार्ता हुन सकेको छैन । तर, पेन्सन लगायतका बिषयमा एकैपटक कुनै वैकल्पिक प्याकेजमा समाधान गर्न सकिने बिषयमा नेपाली र बेलायती अधिकारीबीच छलफल हुँदै आएको छ ।  
भूपू गोर्खा सैनिकका माग समाधानका लागि सुझाव कार्यदलले गोर्खालाई पनि बेलायतीसरह समान पेन्सन र सुविधा उपलब्ध गराउनुपर्ने प्रतिवेदन १८ चैत ०७४ मा नेपाल र बेलायत सरकारलाई दिएको थियो । भूपू गोर्खा सैनिकले त्यही प्रतिवेदन कार्यान्वयनमा जोड दिँदै आएका छन् ।
सोमवार प्रतिबेदन बुझ्ने क्रममा राष्ट्रपति पौडेलले ब्रिटिस गोर्खाले आफ्नो प्रशंसनीय कार्यहरूको माध्यमबाट नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्ध थप मजबूत बनाएको पनि बताएका थिए । बेलायतमा  नेपालीहरूको उपस्थितिले दुई देशबीच रहिआएको जनस्तरको सम्बन्ध थप सुदृढीकरण भएको राष्ट्रपतिको भनाई थियो ।
गोर्खा विग्रेडको  सन् २०२५ को वार्षिक प्रतिवेदन प्रस्तुत भएकोमा राष्ट्रपति पौडेलले बेलायत सरकारलाई धन्यवाद दिएका थिए । बेलायती सेनाका मेजर जनरल  जेरल्ड एम स्ट्रिकलेण्डले ब्रिटिश गोर्खा सेना सँधै अग्रपंक्तिमा रहेको बताउँदै प्रशंसा गरेका थिए । ‘ब्रिटिश गोर्खामा भर्ना भएका युवाहरूलाई तपाईँहरू  नेपालका छोरा, छोरी हो भनेर मैले  सम्झाउने गरेको छु’ जेरल्डले भने, ‘बेलायती जनताले गोर्खा नेपालीहरूप्रति  मायाँ र सम्मान प्रकट गर्ने गरेका छन् ।’


पूर्व गोर्खा सैनिकको पेन्सनमा राष्ट्रपति पौडेलको चासो

काठमाडौं, २६ माघ राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व ब्रिटिश गोर्खाको समान पेन्सन लगायतका बिषयमा नेपाल र बेलायतबीच भइरहेका छलफलबारे चासो राखे...