Monday, 3 March 2025

अमेरिकी राष्ट्रपति कार्यालयमा ट्रम्प–जेलेन्स्की झडप, विश्वमा तरंग आक्रामक ट्रम्प, रक्षात्मक जेलेन्स्की,

काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रवार राती ह्वाइट हाउसमा भएको छलफल तनाबपूर्ण र असफल भएको छ ।  जेलेन्स्कीको भ्रमणमा अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा सम्झौता गर्ने र रूससँग युक्रेनको सम्भावित युद्धविरामको बारेमा छलफल गर्ने अपेक्षा थियो । तर, छलफल दुई पक्षबीच चर्काचर्की र वाकयुद्धमा परिणत भएपनि त्यस्तो कुनै सम्झौता हुन सकेन भने युद्धविरामबारे गम्भीर छलफल पनि हुन सकेन ।
अमेरिकासँग असफल वार्तापछि जेलेन्स्की बेलायत पुगे ।  बेलायतसहित युरोपियन देशले जेलेन्स्कीलाई समर्थन र सहयोग गर्ने उद्घोष गरेका छन् । यसको अग्रसरता बेलायतका प्रधानमन्त्रीले लिएका छन् । यद्यपि उनीहरुले अमेरिकी सहयोग प्राथमिकतामा राखेका छन् । युक्रेनले खोजेको सुरक्षा ग्यारेन्टीमा युरोपियन देशहरुले ऐक्यबद्धता जनाएका छन् तर अमेरिकाले यस्तो पूर्वशर्त स्वीकार्य नहुने स्पष्ट पारिसकेको छ ।
पत्रकारको सामू भएको करिब ४९ मिनेट सवालजबाफमा रक्षामत्मक देखिएका जेलेन्स्कीले रुसी राष्ट्रपति पुटिनले बिगतमा पटकपटक धोका दिएको आरोप लगाउँदै शान्तिका लागि अमेरिकासँग सुरक्षा ग्यारेन्टी मागे ।वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्ति चाहेको तर जेलेन्स्कीले तेश्रो युद्धको जुवा खेलेको आरोप लगाए ।
शुरुमा हार्दिकरुमपा शुरु भएको वार्ताका क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले जेलेन्सीको मागप्रति आलोचना गरे । राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई शान्तिका लागि अग्रसर नभएर तेस्रो विश्वयुद्धको जुवा खेलेको आरोप लगाए ।
ट्रम्पले अचानक बैठक सके, संयुक्त पत्रकार सम्मेलन रद्द भयो । त्यसपछि जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर जान अमेरिकी अधिकारीले सुझाब दिए । ओभल अफिसमा ट्रम्पको स्वागत पाएका जेलेन्स्की त्यहाँबाट एक्लै बाहिरिनु परेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच ओभल अफिस (अमेरिकी राष्ट्रपतिको कार्यालय) मा वाकयुद्धपछि विश्व तरंगित भएको छ ।
सन् २०२२ फेब्रुअरी २२ मा रुसले युक्रेनमाथि हमला गरेको थियो । जारी युद्धका क्रममा दुवैतर्फ ठूलो जनधनको क्षति भएको छ । ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग निकट सम्बन्ध बनाएका छन्  । जेलेन्स्कीसँग बैठकपछि ट्रम्पले सामाजिक सञ्जाल एक्स्मा लेखेका छन्, ‘जेलेन्स्की  शान्तिको लागि तयार भएमा ह्वाइटहाउसमा फर्किन सक्छन् ।’
जेलेन्स्कीले ट्रम्पलाई रूसले फेरि युद्धविराम उल्लङ्घन नगर्ने कुरा कसरी सुनिश्चित गर्ने भन्ने बारेमा थप स्पष्ट हुन खोजेका थिए । यसलाई ट्रम्पले महत्व दिएनन् । ट्रम्पको भनाई थियो, ‘म सुरक्षाका बारेमा होइन, शान्ति सम्झौताका बारेमा चिन्तित छु । यो महत्वपूर्ण कुरा हो ।’
 
दुई राष्ट्रपतिहरू एउटै सोफामा बसेका थिए । उपराष्ट्रपति भान्सले जेलेन्स्कीलाई कृतघ्न भन्दै शान्तिका लागि मरिमेटेका राष्ट्रपति ट्रम्पलाई धन्यवादसमेत नदिएको भन्दै आलोचना गरे । जेलेन्स्कीले भने ट्रम्प र अमेरिकी जनतालाई पटकपटक धन्यवाद दिएको भन्दै प्रतिबाद गरे ।
रुसको व्यवहारका सन्दर्भमा अमेरिकाले भविश्यमा राम्रोसँग थाहा पाउनेछ र महसुस गर्नेछ भन्दै जेलेन्स्कीले सम्झाउन थालेपछि ट्रम्प रिसाएका थिए । ‘हामी के महसुस गर्छौँ तपाईँले भन्नु पर्दैन ।तपाईं लाखौं मानिसहरूको जीवनसँग जुवा खेल्दै हुनुहुन्छ । तपाईं तेस्रो विश्वयुद्धको जुवा खेल्दै हुनुहुन्छ’ ट्रम्पको प्रतिक्रिया थियो ।
जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी संयुक्त राज्य अमेरिकाबाट प्राप्त सबै प्रकारको सहयोगको लागि धेरै नै आभारी छौं । म राष्ट्रपति ट्रम्प र कंग्रेसप्रति उनीहरूको सहयोगका लागि आभारी छु । साथै अमेरिकी जनता हाम्रो साथमा उभिएकोमा म आभारी छु। युक्रेनी जनताले सधैं यो समर्थनको कदर गरेका छन् ।’
उनले युक्रेनको  अस्तित्वका लागि अमेरिकी सहयोग महत्वपूर्ण रहेको उल्लेख गदै वार्ताको तिक्तताका बाबजुत दुई देश रणनीतिक साझेदार रहेको बताए । यद्यपि ट्रम्पप्रसित लक्षित उनको भनाई थियो, ‘तर हाम्रा साझा लक्ष्यहरूलाई साँच्चै बुझ्नको लागि हामीले एकअर्कासँग इमानदार र स्पष्ट हुनुपर्छ।’
युक्रेनको लागि अमेरिकी सहयोगको आवश्यकता रहेको भन्दै एक्समा जेलेन्स्कीले लेखेका छन्, ‘राष्ट्रपति ट्रम्पको समर्थन प्राप्त गर्नु हाम्रो लागि धेरै महत्त्वपूर्ण छ । उहाँ युद्ध अन्त्य गर्न चाहनुहुन्छ, तर हामी भन्दा बढी शान्ति अरू कसैले चाहेको होला र । हामी युद्धमा युक्रेनमा बाँचिरहेका छौँ । यो हाम्रो स्वतन्त्रता र हाम्रो अस्तित्वको लागि लडाई हो।’
पूर्व अमेरिकी राष्ट्रपति रेगनलाई उद्धृत गर्दै उनले लेखेका छन्, ‘ शान्तिको अर्थ युद्धको अनुपस्थिति मात्र होइन, हामी सबैका लागि न्यायपूर्ण र दिगो शान्ति अर्थात् स्वतन्त्रता, न्याय र मानव अधिकारको कुरा गरिरहेका छौँ ।रूसी राष्ट्रपति पुटिनसँग युद्धविरामको कुनै अर्थ रहने छैन । उनले १० वर्षमा २५ पटक युद्धविराम तोडेका छन्।’
जेलेन्स्कीले शुक्रवार हुन नसकेको खनिद सम्झौताका पक्षमा र यसका लागि तयार रहेको पनि उल्लेख गरेका छन् । यसलाई सुरक्षा ग्यारेन्टीका लागि पहिलो कदमका रुपमा उनले बुझेका छन् ।
‘हामी खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार छौं र यो सुरक्षा ग्यारेन्टीतर्फको पहिलो कदम हुनेछ। तर यो पर्याप्त छैन र हामीलाई यो भन्दा बढी चाहिन्छ। सुरक्षा ग्यारेन्टी बिनाको युद्धविराम युक्रेनको लागि खतरनाक छ। हामी तीन वर्षदेखि लडिरहेका छौं र युक्रेनी जनताले अमेरिका हाम्रो पक्षमा छ भनेर जान्न आवश्यक छ’ उनको भनाई छ, ‘ म रुसप्रति युक्रेनको अडान परिवर्तन गर्न सक्दिन । रुस शत्रु हो र हामी यो वास्तविकताको सामना गरिरहेका छौं। युक्रेन शान्ति चाहन्छ तर यो स्थायी हुनुपर्छ। शान्ति तब मात्र आउनेछ जब हामीले सुरक्षा ग्यारेन्टी पाउँछौं, जब हाम्रो सेना बलियो हुन्छ र हाम्रा सहयोगीहरू हामीसँग हुन्छन् ।’
ट्रम्पले जेलेन्स्कीमाथि कडा आलोचना गर्दै लाखौंको जीवन खतरामा पारेको आरोप लगाए ।  
जेलेन्स्कीको पहिरन  चर्चामा
शुक्रबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पहिरनबारे चर्चा भयो । ओभल अफिसमा एकजना अमेरिकी पत्रकारले प्रश्न सोधे, ‘ तपाईं किन सुट लगाउनुहुन्न? के तपाईंसँग सुट छ?’ कोठामा रहेका ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र कोठामा रहेका अधिकारीहरु हाँसे । जेलेन्स्कीले पत्रकारलाई प्रतिप्रश्न गरे, ‘यसमा के तपाईंलाई समस्या छ?’
पत्रकारले भने, ‘धेरै अमेरिकीहरूलाई ओभल अफिसको ड्रेस कोडको सम्मान नगर्नेहरूसँग समस्या छ।’
जेलेन्स्कीले जबाफ दिए, ‘म युक्रेनको रूससँगको युद्ध समाप्त भएपछि मात्र आफ्नो पोशाकमा पुनर्विचार गर्नेछु । युद्ध समाप्त भएपछि (सूट) पोशाक लगाउनेछु । सायद तपाईंको जस्तै केहि, सायद अझ राम्रो । अझ केही सस्तो ।’ त्यसो त, वार्ताअघि  ओभल अफिस बाहिर ट्रम्पले जेलेन्स्कीलाई स्वागत गर्ने क्रममा जेलेन्स्कीको पहिरनको चर्चा गरे । ‘तपाईँले चिटिक्क पहिरन लगाउनुभएको छ’ ट्रम्पले भने ।
रुसले भन्यो ः जेलेन्स्की कूटनीतिकरुपमा असफल
शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी जेलेन्स्कीबीच ओभल अफिसमा भएको संवादलाई रुसले युक्रेनको कूटनीतिक असफलता भनेको छ । शनिवार रुसको विदेश मन्त्रालयले युक्रेनी राष्ट्रपतिको वाशिंगटन भ्रमण कूटनीतिकरुपमा पूर्ण असफल भएको टिप्पणि गरेको छ ।
‘फेब्रुअरी २८ मा वाशिंगटनको भ्रमण  कीभ शासनको पूर्ण राजनीतिक र कूटनीतिक असफलता हो,’ क्रेमलिन विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले शनिवार जारी विज्ञप्तिमा भनिन् । जाखारोभाले युक्रेनी राष्ट्रपति युद्ध लम्ब्याउन चाहेको आरोप लगाइन् । रुसले युक्रेनको निशस्त्रीकरण र हाल नियन्त्रणमा रहेका सबै क्षेत्रहरु रुसमा बिलय नै आफ्नो लक्ष्य रहेको बताएको छ ।
‘वाशिंगटन बसाइँको क्रममा आफ्नो अत्यन्तै असभ्य व्यवहारको साथ, जेलेन्स्कीले पुष्टि गरे कि उनी युद्ध उक्साउने  गैरजिम्मेवार व्यक्तिको रूपमा विश्व समुदायको लागि सबैभन्दा खतरनाक व्यक्ति हुन्’ रुसी विज्ञप्तिमा भनिएको छ ।


Friday, 3 January 2025

नेपालकी प्रथम महिला राजदुत विन्देश्वरी रहिनन्



पर्शुराम काफ्ले 

 (नयाँ पत्रिका दैनिकमा १८ पुस २०८१ मा प्रकाशित) 

नेपालको पहिलो महिला राजदूत तथा परराष्ट्र सेवाकै पहिलो महिला अधिकृत बिन्देश्वरी शाहको विहीवार ९२ बर्षमा निधन भएको छ । २०१५ सालमा २०१५ सालमा अधिकृतबाट परराष्ट्र सेवामा प्रबेश गरेकी उनले भारतका लागि राजदूत भएर स्वदेश फिर्ता भएलगत्तै २०४७ सालमा अबकास पाएकी थिइन् । लामो समयदेखि उनी विरामी थिइन् । शाहको विहीवारै पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ ।
परराष्ट्रको अतिरिक्त सचिब (राजदूतबाट फिर्ता भएपछि पाउने पदोन्नति)बाट शाहले अबकास पाएकी थिइन् । अहिले अतिरिक्त सचिबको दरबन्दी छैन । शाह नेपालको परराष्ट्र सेवाकी प्रथम महिला अधिकृत, ढाकास्थित नेपाली राजदुतावासमा प्रथम महिला कार्यबाहक राजदूत र अमेरिकास्थित नेपाली राजदुताबासमा प्रथम सचिब हुँदै भारतका लागि नेपाली राजदूत थिइन् ।  
‘२०४४ सालमा महिलालाई राजदुत बनाउनु निकै ठूलो बिषय थियो, त्यसमा पनि अत्यन्तै असहज सम्बन्ध भएका बेला भारतका लागि राजदुतका रुपमा शाहलाई पठाउने सरकारी निर्णय सामान्य थिएन’ त्यसबेलाका एक वहालवाला मन्त्रीले भने, ‘महिलालाई भारतजस्तो देशमा राजदूत बनाएर पठाउनुहुन्न भन्ने आवाज दरबारमा पनि नउठेको  होइन तर उहाँलाई पठाउन दरबार सहमत भयो । नेपालको परराष्ट्र सम्बन्धको आधुनिक जीवन र उहाँको कूटनीतिक जीवन सँगै शुरु भयो र उहाँले कुलशतापूर्वक जिम्मेबारी पूरा गर्नुभयो ।’
तत्कालिन सरकारले भारतका लागि राजदूत जगदीश शमशेर जबरालाई रुसका लागि राजदुतमा पठाएर विश्देश्वरी शाहलाई भारत पठाएको थियो । भारतीय नाकाबन्दी शुरु हुनुअघि उनी दिल्लीमा जिम्मेबारी सम्हाल्न गएकी थिइन् भने २०४७ मा प्रजातन्त्र पुनस्र्थापनासँगै उनलाई सरकारले फिर्ता बोलाएको थियो । त्यसपछि ३० बर्ष सेवा अबधिमा अनिवार्य अबकास लागू भएसँगै उनले अबकास पाएकी थिइन् । शाहपछि सरकारले भारतका लागि राजदूतमा चक्रप्रसाद बास्तोलालाई पठाएको थियो ।
‘प्रतिस्पर्धाबाट त्यसबेला परराष्ट्र सेवामा प्रबेश गरेर अमेरिका, बंगलादेश, भारतमा कूटनीतिक सेवा गर्नुभयो र उहाँले भारतस्ँग कटुता भएका बेला कुशलतापूर्वक जिम्मेबारी निर्वाह गरेर फर्किनुभएको हो । यो नेपालले सधैँ सम्झिरहनुपर्छ’ पूर्व परराष्ट्रमन्त्री एवं भारतका लागि पूर्व राजदूत डा भेषबहादुर थापाले भने । अप्ठेरो परेका बेला सरकारले शाहलाई भारतमा राजदुत बनाएर पठाएको उल्लेख गर्दै थापाले शाह कर्मठ, प्रतिबद्ध एवं सवल र सक्षम कूटनीतिज्ञका रुपमा आफूलाई प्रमाणित गर्न सफल भएको सुनाए ।
पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले शाहको निधनलाई विलक्षण प्रतिभाको निधन भनेका छन् । ‘नेपालको अन्तराष्ट्रिय सम्बन्ध सञ्चालनको आधुनिक इतिहासमा उल्लेखनीय योगदान भएकी कुशल कूटनीतिज्ञ विन्देश्वरी शाहको निधन नेपालको कूटनीतिक क्षेत्रका लागि अपुरणीय क्षति हो’ शाह भारतका लागि राजदूत हुँदा श्रम मन्त्री रहेका पाण्डेले भने, ‘युवा कूटनीतिज्ञहरुले उहाँबाट संयम, सीप, परिस्कृत लेखाई  र वजनयुक्त बोली कूटनीतिज्ञका लागि आवश्यक छ भन्ने कुरा सिक्नुपर्छ ।’
पूर्व परराष्ट्रसचिब एवं शाह भारतमा राजदूत हुँदा प्रथम सचिबमा कार्यरत डा मदनकुमार भट्टराईले अग्रणी महिला पथप्रदर्शक, जुझारु कूटनीतिज्ञका रुपमा शाहलाई सम्झेका छन् । ‘उहाँले राजदूतको सफल भूमिका निर्वाह गर्नुभयो । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको भ्रमणका बेला उहाँ राजदुत हुनुहून्थ्यो, पछि गिरिजाबाबु प्रधानमन्त्री हुँदा उहाँको भ्रमणभन्दा अघि उहाँलाई सरकारले फिर्ता बोलायो । त्यसबेला उहाँ सहसचिबबाट अतिरिक्त सचिबमा बढुवा हुनुभयो’ भट्टराईले भने, ‘त्यसबेला उहाँको व्याजीहरु जयप्रताप राणा र यादबकान्त सिलवाल पनि अबकासमा पर्नुभयो । तर अबकास पाएपछि सिलवाललाई सरकारले करार सेवामा परराष्ट्रसचबि बनायो ।’
उनी नेपालबाट भारतका लागि अहिलेसम्म परराष्ट्र सेवाबाट गएकी   अन्तिम करिअर राजदूत हुन् । उनीपछि भारतमा परराष्ट्र मन्त्रालयबाहिरबाट राजदूत नियुक्त भएका छन् । भट्टराईका अनुसार उनी अमेरिका (कोलम्बिया युनिभर्सिटी) बाट स्नातक गर्ने पहिलो नेपाली महिला थिइन्, सन् १९५८ मा जोन्स हप्किन्स युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय राजनीतिमा डिग्री पूरा गरेपछि अमेरिकाबाट स्नातकोत्तर गर्ने पहिलो नेपाली महिला पनि थिइन् ।

परराष्ट्र मन्त्रालयको सहसचिबबाट अबकास पाएका पूर्व राजदूत मधुवन पौडेलले शाहले परराष्ट्रको आन्तरिक अभिलेख प्रणाली व्यवस्थित गर्न भूमिका निर्वाह गरेको बताए । शाह परराष्ट्र मन्त्रालयको भारत शाखा प्रमुख (उपसचिब) हुँदा उनी मातहत पौडेलले शाखा अधिकृतका रुपमा काम गरेका थिए । ‘उहाँको नेपाली भाषा भन्दा अंग्रेजी राम्रो थियो । उहाँको मातहतमा डेढ बर्ष काम गर्दा धेरै सिकेँ । वार्तामा उहाँको प्रस्तुति निकै गहन हुन्थ्यो, हामीले साह्रै काविल कूटनीतिज्ञ गुमाएका छौं’ पौडेलले भने ।
नाकाबन्दीका बेला इन्डिया टुडेलाई जबाफ ................
व्यापार तथा पारवहन सन्धी नवीकरण नभएपछि नेपालमा  मार्च २३, १९८९देखि भारतीय नाकाबन्दी शुरु भएको थियो । नेपालले विदेशी कामदारलाई श्रम स्वीकृति अनिवार्य गर्दा भारतीय नागरिक पनि परेको तर भारतले १९५० को सन्धी अनुसार त्यसो गर्न नमिल्ने तर्क गरेको थियो । चीनबाट नेपालले एन्टी एयरक्र्याफ्ट गन खरिद गरेपछि भारत झन चिढिएको थियो ।
त्यही बेला राजदुत रहेकी शाहले अप्रिल ३०, १९८९ मा प्रकाशित इन्डिया टुडेलाई दिएको प्रतिक्रियामा नेपालले भारतीय कामदारलाई मात्र नभएर सबै नेपालमा कार्यरत सबै विदेशीलाई श्रम स्वीकृतिको प्राबधान लागू गरेको र भारतीयलाई विभेद नगरेको बताएकी थिइन् । ‘नेपालमा कार्यरत भारतीयहरुलाई कतै पनि विभेद छैन, श्रम स्वकिृति सबै विदेशीहरुलाई लागू हुन्छ’ उनको प्रतिक्रिया थियो । भारतले नेपालसँगको सम्बन्धमा पुनर्विचार र पुनःसंरचना गर्ने प्रतिक्रिया दिएको जबाफमा शाहले भनेकी थिइन्, ‘यदि मनमुटाबहरु छन् भने लामो समय मनमुटाब नजाने गरी नयाँ ढाँचामा हामीले काम गर्नुपर्छ । सम्बन्धमा पुनःसंचना गर्ने भारत सरकारले जसरी स्पष्ट पारेको छ, त्यसलाई हामीले स्वागत गरेका छौँ’ शाहको प्रतिक्रिया थियो ।


अमेरिकी राष्ट्रपति कार्यालयमा ट्रम्प–जेलेन्स्की झडप, विश्वमा तरंग आक्रामक ट्रम्प, रक्षात्मक जेलेन्स्की,

काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रवार राती ह्वाइट हाउसमा भएको छलफल तनाबपूर्ण र ...